Blog

  • फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारको नयाँ खाका, दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइने

    फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारको नयाँ खाका, दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइने

    हेटौंडा, कात्तिक २१-
    बढ्दो सहरीकरणसँगै स्थानीय तहका लागि चुनौती बनेको फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारले महत्वाकांक्षी र रणनीतिक कदम चालेको छ। प्रदेश सरकारले ‘क्लस्टर मोडेल’ र ‘पाइलट प्रोजेक्ट’ मार्फत दिगो समाधान खोज्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाको नेतृत्वमा एक विशेषज्ञ कार्यदल गठन गरी काम अगाडि बढाएको छ।

    बिहीबार सम्पन्न कार्यदलको पहिलो बैठकले फोहोर व्यवस्थापनमा प्रदेशले अभिभावकीय र सहजकर्ताको भूमिका खेल्दै स्थानीय तहहरूलाई एकीकृत प्रणालीमा जोड्नुपर्नेमा जोड दिएको छ।

    दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइनेःमन्त्री देवकोटा बैठकलाई सम्बोधन गर्दै मन्त्री डा.दिनेशचन्द्र देवकोटाले काठमाडौँको दक्षिणकाली नगरपालिकालाई ‘पाइलट प्रोजेक्ट’का रूपमा विकास गरी स्रोतबाटै फोहोर व्यवस्थापनको नमुना तयार गर्ने योजना सुनाउनुभयो। “हामी दक्षिणकालीलाई एउटा ‘सो पिस’ परियोजनाको रूपमा विकास गर्नेछौँ,” उहाँले भन्नुभयो, “यो परियोजना सफल भएमा यसलाई प्रदेशका ११९ वटै पालिकामा विस्तार गरिनेछ।”

    उहाँका अनुसार कार्ययोजना दुई चरणमा कार्यान्वयन हुनेछ। पहिलो, आगामी २–३ महिनाभित्र प्रदेशस्तरीय वैज्ञानिक कार्यविधि तयार गर्ने र दोस्रो, सोही कार्यविधिका आधारमा दक्षिणकालीमा नमुना परियोजना सञ्चालन गर्ने। यो परियोजनालाई बहुवर्षीय र साझेदारीमा आधारित बनाइनेछ, जसमा प्रदेश र स्थानीय तहको संयुक्त लगानी रहनेछ।

    मन्त्री देवकोटाले विगतका प्रयासहरूबाट पाठ सिक्दै अब ठोस परिणाम दिने गरी काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विगतमा काम नहुँदा आउने निराशालाई हामीले सकारात्मक दबाबका रूपमा लिएका छौँ। अब शंका गर्ने ठाउँ छैन, यो काम अगाडि बढ्छ।” मन्त्री देवकोटाले आगामी ८–१० महिनाभित्रै यसबाट ठोस नतिजा आउने विश्वास व्यक्त गर्नुभयो।

    ‘क्लस्टर मोडेल’ नै दिगो समाधानः विज्ञ
    बैठकमा फोहोरमैला व्यवस्थापन विज्ञ डा. ढुण्डी पाठकले अधिकांश पालिकाहरूसँग स्रोत र प्राविधिक क्षमता नभएकाले एकल प्रयास असम्भव रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक पालिकाले छुट्टाछुट्टै ल्यान्डफिल साइट बनाउनु आर्थिक र वातावरणीय दुवै दृष्टिकोणले असम्भव छ। दुई वा सोभन्दा बढी पालिका मिलेर साझा पूर्वाधार बनाउँदा लागत घट्छ र व्यवस्थापन प्रभावकारी हुन्छ।” उहाँले प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर कुन पालिकाले कस्तो अवस्थामा सहयोग पाउने भन्ने मापदण्ड तोक्नुपर्ने तथा पालिकाहरूलाई प्राविधिक मार्गदर्शनका लागि एक समर्पित इकाई स्थापना गर्नुपर्ने सुझाव दिनुभयो।

    ‘सिस्डोल मानसिकता’को वैज्ञानिक समाधान आवश्यक : सचिव मरहठ्ठा
    मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो चुनौती ‘सिस्डोल मानसिकता’ रहेको बताउनुभयो । उनले फोहोर देख्नेबित्तिकै घृणा गर्ने र व्यवस्थापन केन्द्र स्थापना हुँदा आफ्नो ठाउँ नै बर्बाद हुने मानसिकताको वैज्ञानिक समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

    ‘फोहोर समस्या होइन, अर्बौंको स्रोत हो,’ उनले भने, ‘तर यसलाई व्यवस्थापन गर्न नसकेर हामीले ठूलो आर्थिक भार बोकिरहेका छौँ ।’ एकल प्रयास सम्भव नभएकाले एकीकृत क्षेत्रीय व्यवस्थापन मोडेलमा जान प्रदेश सरकाले सहजीकरण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

    दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले प्रदेश सरकारले विनियोजन गरेको बजेट सुनिश्चित भएमा नगरपालिका तत्काल काम अगाडि बढाउन तयार रहेको बताउनुभयो । ‘बजेट सुनिश्चित हुने हो भने हामी तत्काल योजना बनाएर काम गर्न सक्छौँ,’ उहाँले भन्नुभयो, ‘तर विगतमा जस्तै यता योजना बनाउँदा उता विनियोजित बजेट काटिने हो कि भन्ने चिन्ता छ ।’

    उनले दिगो समाधानका लागि पहिलो चरणमा फोहोर संकलन र वर्गीकरण केन्द्रजस्ता आधारभूत पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । ‘पहिलो कुरा त संरचना बनाउनुप¥यो । कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिनेलाई मल बनाउनेतर्फ जान सकियो भने मात्र यो दीर्घकालीन हुन्छ,’ उहाले भन्नुभयो ।

    प्रदेश सरकारसँग मिलेर काम गर्न पालिका उत्सुक रहेको नगर प्रमुख बस्नेतले बताए । उनले पूर्वाधारसँगै फोहोर व्यवस्थापनका लागि आवश्यक मेसिन तथा औजारहरू पनि चाहिनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    कार्यदलका संयोजक एवं मन्त्रालयका सहरी विकास महाशाखा प्रमुख इन्जिनियर भुपेन्द्रकुमार यादवले फोहोरमैला व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकालाई ‘मोडेल पालिका’ बनाउन बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले २ करोड विनियोजन गरेको जानकारी दिनुभयो ।

  • खेलकुद महोत्सव : भलिवलको उपाधि मन्जिल र मनिष तथा आशिका र स्वीकृतिको जोडीलाई

    खेलकुद महोत्सव : भलिवलको उपाधि मन्जिल र मनिष तथा आशिका र स्वीकृतिको जोडीलाई

    चितवन, २१ कात्तिक-
    भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी महोत्सव परिसरमा आज महिला र परुष दुबैतर्फको फाइनल खेल सम्पन्न भएको हो ।

    प्रतियोगिताको पुरुषतर्फको उपाधि मन्जिल/ मनिषको भरतपुर – १८ ले जितेको छ । सन्दिप र अनिशको भलिवल ट्रेनिङ सेन्टरलाई हराउँदै उपाधि जितेको हो । फाइनल खेल मन्जिल र मनिषको जोडीले २-१ को सेटमा जित्यो ।

    उता महिलातर्फको उपाधि जानकी स्कुलका आशिका र स्वीकृतिको टिमले जितेको छ । आशिका र स्विकृतीको टिमले फाइनलमा जानकी स्कुलकै नितिशा र सीमाको जोडीलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

    नितिशा र स्वीकृतिको जोडिले फाइनलमा नितिशा र सीमाको जोडीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । विजेताहरुलाई मंसिर २ गते समापनको दिन पुरस्कार बितरण गरिने आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

    विकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम भलिवलको समापन कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्याललय प्रमुख एसपी गोविन्द पुरी रहेका थिए । कात्तिक १८ देखि मंसिर २ सम्म चल्ने महोत्सवमा शनिबारदेखि कराते खेल हुनेछन् । खेल बिहान ७ बजे सुरु हुनेछ ।

    महोत्सवमा भलिवल र कराँतेसँगै तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ ।

  • इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

    काठमाडौँ, २१ कात्तिक :
    ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ ।

    पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ ।”

    रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेका निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

    निजलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

  • हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौँ, २१ कात्तिकः
    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएको विषयमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    शुक्रबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    नयाँ अन्तरिम सरकार भएपछि ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई सो जिम्मेवारीबाट हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका थिए।

    सो निर्णय कानुन विपरित भएको भन्दै शाक्यले अदालतमा रिट दायर गरेका थिए।

  • कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छः नेता शाही

    कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छः नेता शाही

    काठमाडौँ, कात्तिक २१ –
    नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताउनुभएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, “पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुनेगरी मिति प्रस्ताव गर्दा उपयुक्त हुन्छ ।”

    जेनजी आन्दोलनको भावनाअनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नेता शाहीले कांग्रेसको आगामी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउन सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    यही कात्तिक १८ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै दुई तालिकासहितका व्यक्तिगत प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

    कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्नेगरी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । रासस

  • सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    काठमाडौँ, कात्तिक २१ –
    आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।

    सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    “मुद्दाका मिसिलहरु नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरुको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रुपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,” अदालतको सूचनामा भनिएको छ, “अन्य पेसी नचढेका मुद्दाहरुको कानुनबमोजिम अङ्ग पु¥याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

    बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहो(याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो । रासस

  • पर्वतमा १३ वर्षअघि हत्या गरेर दुबई पुगेका रेशमबहादुर समातिए

    पर्वतमा १३ वर्षअघि हत्या गरेर दुबई पुगेका रेशमबहादुर समातिए

    काठमाडौं कात्तिक २१ ,
    १३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पर्वतको बेउलीबासका रेशमबहादुर राना छन् । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ परेर शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।

    राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको १५ माघ २०६९ को फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भएको थियो । हत्यापछि भने उनी फरार हुँदै आएका थिए ।

    उनको खोजीका लागि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १९ जेठ २०८१ मा रेड नोटिस जारी भएको थियो ।

    उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारवाहीका लागि पर्वत पठाइएको इन्टरपोल शाखाले बताएको छ

  • रास्वपाको चितवन बैठकमा यी विषयमा हुनेछ छलफल

    रास्वपाको चितवन बैठकमा यी विषयमा हुनेछ छलफल

    चितवन , २१ कात्तिक
    पार्टीको आगामी कार्यदिशा र चुनावी रणनीति तय गर्न चितवनको सौराहामा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठकमा आगामी निर्वाचन रणनीति, पार्टी सङ्गठन विस्तार, पार्टीको विचार सिद्धान्तको बारेमा थप स्पष्ट गर्नेबारे छलफल हुनेछ ।

    रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले वैधानिकता, एजेन्डा र अपेक्षित परिणामबारे बैठकमा विस्तृत छलफल हुने बताए । उपसभापति वाग्लेका अनुसार पार्टीको विधानले पहिलो महाधिवेशन नहुन्जेलसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय समितिलाई विशेष अधिकार दिएको छ। सोही अधिकार प्रयोग गर्दै र फराकिलो दायरामा छलफल गर्न केन्द्रीय समितिले यो विस्तारित बैठक आयोजना गरेको गरिएको उनले बताए ।

    ‘यो बैठक कर्तव्य बोध र उदारताका साथ आयोजना गरिएको हो ।’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो ६० जनाको सामूहिक विवेकभन्दा पनि अझ फराकिलो ढङ्गले राय, विमर्श र चिन्तन गरौँ भन्ने उद्देश्य हो।’

    डा. वाग्लेले बैठकमा मुख्यतया पाँचवटा प्रस्तावमाथि घनिभूत छलफल हुने जानकारी दिए । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको वर्तमान राजनीतिक अवस्था, सुशासनको पक्षमा भएका हस्तक्षेप र आगामी रोडम्याप समेटिएको प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको वर्तमान साङ्गठनिक स्वरूपको समीक्षा र सुधारका प्रस्तावहरू प्रस्तुत गर्नेछन्।

    सभापति रवि लामिछानेविरुद्ध भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रगति र त्यसबाट प्राप्त जनसमर्थनबारे संयोजकले प्रतिवेदन पेस हुने उपसभापति डा. वाग्लेले बताए । आगामी संघीय निर्वाचनलाई लक्षित गरी तयार पारिने वाचापत्रको प्रारम्भिक खाका र मोडालिटी उपसभापति डा. स्वर्णिम वाग्ले आफैँले प्रस्तुत गर्नेछन् । बैठकले निर्वाचनका लागि उमेदवार छनोटको विधि र प्रक्रियाबारे सहमहामन्त्रीले प्रस्ताव पेस गर्नेछन्।

    डा. वाग्लेले यो बैठकले पार्टीलाई २१ सिटबाट बहुमतको लक्ष्यतर्फ अघि बढाउन बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, बैठकमा उठेका राय, सुझावहरूलाई वैज्ञानिक र लोकतान्त्रिक ढङ्गले सङ्कलन गरी पार्टीको रणनीति परिमार्जन गरिनेछ। हाल देश असामान्य राजनीतिक र संवैधानिक अवस्थाबाट गुज्रिरहेको र विभिन्न शक्तिबिच ध्रुवीकरण चलिरहेको सन्दर्भमा रास्वपाले वैकल्पिक शक्तिको अगुवाइ गर्नेबारे पनि बैठकमा छलफल हुनेछ। बैठकको अन्त्यमा ‘चितवन घोषणापत्र’ जारी गर्ने प्रारम्भिक लक्ष्य रहेको पनि डा. वाग्लेले बताए ।

    ‘न्याय र एकताको सन्देश दिँदै हामी एकढिक्का छौँ । रास्वपा नै मुलुकको नयाँ, सशक्त र जिम्मेवार शक्ति हो भन्ने सन्देश दिनेछौँ ।’ उनले भने ।

  • रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी

    रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी

    चितवन कात्तिक,२१
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ ।

    स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ ।

    पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन ।

    ७७ जिल्ला मध्ये ७४ जिल्लामा मात्रै पार्टीका संरचना बनेका छन् । ७५३ मध्ये ५५० पालिका र ४ हजार वडामा समिति बनेको सो पार्टीले जनाएको छ ।

    देशका २ हजार ५ सय वडा र ५० पालिकामा मात्रै पार्टीको अधिवेशन भएको छ ।

    ३५ देशमा रास्वपा विस्तार भएको दाबी रास्वपाको छ । रास्वपाको अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू छन् ।

    पार्टीमा जतिसुकै उत्साहित भएर लाग्दा पनि देशका सबै पालिका र जिल्लामा पार्टी संरचना ग्रासरुटसम्म लैजान नसकिएको यर्थाथता रहेको रास्वपाले जनाएको छ ।

    पार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दा लगाइनु, लान्छना र अफवाह फैलाउनु, बदनाम गरिनु तथा राजनीतिक र व्यक्तिगत प्रतिशोध गरिँदा पार्टी कमजोर नभई बलियो भएर फैलिएको विष्लेषण रास्वपाको छ ।

  • नुहाउन नदीमा पसेका १४ वर्षीया बालक २ दिनपछि मृत फेला

    नुहाउन नदीमा पसेका १४ वर्षीया बालक २ दिनपछि मृत फेला

    जनकपुरधाम, कात्तिक २१-
    बागमती नदीमा एक बालकको शव फेला परेको छ । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि आज (शुक्रबार) मृत फेला परेका हुन्।

    सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा पसेका थिए।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले खोजतलासको क्रममा बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।