Blog

  • तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

    तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

    दमौली (तनहुँ), कात्तिक २६ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् । असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो । गत मङ्गलबारसम्म जिल्लामा सात सय ६५ जना मतदाता थपिएकामा पछिल्लो पाँच दिनमा दोब्बर मतदाता थपिएको लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनयता कार्यालयमा मतदाता नामावली दर्ताका लागि अत्यधिक भीड छ । अब केही दिनमात्रै बाँकी रहेकाले अझै बढ्ने अनुमान गरिएको छ ।”

    कार्यालयमा नामावली दर्तासँगै ठाउँसारीको काम समेत भइरहेको छ । तनहुँभित्रै एउटा वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका र तनहुँबाट बाहिरी जिल्लामा ठाउँसारीका लागि निवेदन दिने पनि रहेको लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले युवाहरू नामावली दर्ता गराउनुपर्छ भनेर स्वतःस्फूर्त रूपमा आउने क्रम बढेको पाएको छु । युवामा चेतनाको विकास भएको छ ।”

    नयाँ मतदाता नामावली दर्ताका लागि नलाइनबाट वा नागरिक एपबाट फर्म भरी नागरिकता लिएर निर्वाचन कार्यालयमा बायोमेट्रिक दिन सकिने व्यवस्था छ । जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने लम्सालले बताउनुभयो ।

    विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार नौ सय १५ महिला रहेको कार्यालयले जनाएको छ ।

    व्यास नगरपालिका–१ गल्वुवेशीका २८ वर्षीय अशोक रुचालले मतदाता नामावलीमा नाम दर्ता गराएसँगै आगामी निर्वाचनमा मत हाल्न उत्सुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला खासै चासो थिएन, अब एउटा मतले भए पनि केही परिवर्तन हुने आशले नाम दर्ता गराएको छु ।”

    रुचालले निर्वाचनमा नयाँ युवाले प्राथमिकता पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो पार्टीमा पनि राम्रो मान्छेहरू छन् । अब हुने निर्वाचनमा राम्रो मान्छे छान्नुपर्छ । मत हाल्ने युवाले बुढाबुढीलाई पनि सम्झाएर राम्रो मान्छेलाई निर्वाचित गराउन बुझाउनुपर्छ ।”

    कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । निर्वाचन अधिकारी लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदान स्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले कुनैपनि वडामा मतदान केन्द्रमा थप गर्नुपर्ने, मतदाता सार्नुपर्ने भएमा वडामा रहेको वडा मतदान स्थल तथा मतदान केन्द्रको सिफारिसमार्फत् कार्य अगाडि बढाउने निर्णय गरेको छ ।” रासस

  • दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

    दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

    काठमाडौं, कात्तिक २६-
    मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहसँग सरकारले गर्ने भएको छ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयमा गृह मन्त्रालयले वार्ता गर्न लागेको हो ।

    वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित छ जना रहनेछन् । प्रसाईं भने वार्तामा सहभागी छैनन् । खतिवडाले संक्षिप्त कुरा गर्दै आफूहरु वार्ताका लागि गृह मन्त्रालय पुगिसकेको बताए ।

  • सुन तोलामा २१ सय घट्यो, चाँदी बढ्यो

    सुन तोलामा २१ सय घट्यो, चाँदी बढ्यो

    काठमाडौँ, कात्तिक २६ –
    बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

    मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।

  • चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    मुग्लिन,कात्तिक २६-
    मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

    दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • टर्कीको सैन्य विमान अजरबैजानको सीमा नजिक दुर्घटना

    टर्कीको सैन्य विमान अजरबैजानको सीमा नजिक दुर्घटना

    २६ कात्तिक, काठमाडौं ।
    टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिक दुर्घटना भएको छ । सो विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका छैनन् ।

    टर्कीका समाचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडेको देखिन्छ ।

    टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

    मन्त्रालयका अनुसार, विमानमा चालक दलसहित २० जना सैनिक थिए । टर्कीका गृहमन्त्री अली येरलिकायाका भनाइअनुसार, जर्जियाली अधिकारीहरू बेलुकी करिब ५ बजे दुर्घटनास्थलमा पुगेका थिए र खोज तथा उद्धार कार्य जारी रहेको छ ।

    जर्जियाको गृह मन्त्रालयले विमान अजरबैजान सीमासँग नजिकै रहेको सिघनाघी नगरपालिका क्षेत्रमा खसेको र घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

    टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुले उद्धृत गरेको जर्जियाली विमान प्राधिकरणको भनाइअनुसार, विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटमै सम्पर्क विच्छेद भएको थियो । विमानबाट आपतकालीन सन्देश भने प्राप्त भएको थिएन ।

  • वामदेव नेतृत्वको पार्टी निर्वाचन आयोगले गर्‍यो खारेज

    वामदेव नेतृत्वको पार्टी निर्वाचन आयोगले गर्‍यो खारेज

    काठमाडौँ २६ कात्तिक
    वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ ।

    गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।

    नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।

    आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।

  • आज देशभरको मौसम सफा रहने

    आज देशभरको मौसम सफा रहने

    काठमाडौं कार्तिक २६

    आज देशभरको मौसम सफा रहने छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।
    त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

    हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन

  • हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

    हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

    आज मिति २०८२ कार्तिक २६ गते (१२ नोभेम्बर २०२५) बुधवार, मार्ग कृष्णपक्ष अष्टमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

    हेर्नुस तपाइको आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा रकम बाहिरिन सक्छ। लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। केही रकम खर्चिएर पनि तारिफयोग्य काम सम्पादन गरिनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    माहोल रमाइलो रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आम्दानी बढाउने काम थालनी हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। भाग्यले विशेष अवसर दिलाउनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।

  • चितवनको इच्छाकामना बलेरो दुर्घटनाः ४ जना घाइते

    चितवनको इच्छाकामना बलेरो दुर्घटनाः ४ जना घाइते

    चितवन, कार्तिक २५–

    चितवनका इच्छाकामना गाउँपालिकामा आज साँझ बलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

    इच्छाकामना–२ हपनी स्थित भित्री सडक खण्डमा फिस्लिङबाट हपनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६६२ नम्बरको हपनी कृषिको बलेरो सडक देखी अन्दाजी ५०० मिटर तल खसेको हो । बलेरोमा सवार रहेका ४ जना घाइते भएका छन् । घाइते हुनेमा बलेरो चालक इच्छाकामना–२ बस्ने २५ का विकास प्रजा, सोही स्थानका ८० वर्षका बीर बहादुर प्रजा, वर्ष १९ का विष्णु प्रजा र वर्ष ३४ का कर्ण बहादुर प्रजा रहेका छन् । घाइते मध्ये ८० वर्षीय बीरबहादुरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेको बलेरोलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो ।

  • लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे

    लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे

    विराटनगर, २५ कात्तिक :

    कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।

    कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा देखिएको थियो ।

    प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीनको रोग देखिएको निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । भाइरसबाट हुने यो रोगबाट बच्न निर्देशनालयले चौपायामा सुई लगाएको थियो र रोगलाई समयमै नियन्त्रणमा लिन सफल भएको थियो ।

    खासगरी कोभिडको समयमा अष्ट्रेलियाबाट भित्रिएको यो रोग यस वर्ष कोशी प्रदेशको सोलुखुम्बु जिल्ला बाहेक सबै जिल्लाका चौपायामा देखिएको थियो भने पाँचथर र तेह्रथुम जिल्लामा यो रोगबाट कुनै पनि चौपायाको मृत्यु नभएको चिकित्सक पाण्डेले बताउनुभयो । गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जीउमा गिर्खा जस्तो देखिने, ज्वरो आउने, घाउ हुने फुट्ने, तौल घट्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छ ।