Blog

  • हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

    हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

    आज मिति २०८२ कार्तिक २५ गते तदनुसार ११ नोभेम्बर २०२५ मंगलवार, मार्ग कृष्णपक्ष षष्ठी तिथि, प्रातः ६ः२४ बजेपछि सप्तमी। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।

    हेर्नुस आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनकाे साथ–सहयाेग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    हिम्मत गर्दा लक्ष्यकाे उचाइ प्राप्त गर्ने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्याेगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्ला। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले समस्यामा परिनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। साथीभाइसँग असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवहार चलाउन कर्जाको रकम जुटाउनुपर्ने हुन सक्छ। आवश्यकताका वस्तु जुटाउन केही समय लाग्नेछ। सरसापटमा केही धन बाहिरिने देखिन्छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्य रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेत गर्दा लक्ष्यप्राप्ति हुनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर, विवादास्पद क्षेत्रमा हात हाल्नाले केही समस्या पनि आउन सक्छन्। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। प्रेम र दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। काममा साथीभाइको सहयोग जुट्नेछ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मनग्य नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    लगनशीलताले काममा फाइदा दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। साथ दिनेहरू बढ्नेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

  • एमालेमा फर्किए रामकुमारी झाक्रीसहित नेताहरू

    एमालेमा फर्किए रामकुमारी झाक्रीसहित नेताहरू

    काठमाडौं, कात्तिक २४-
    एकतामा नगएका रामकुमारी झाक्री सहितका नेताहरू एमालेमा फर्किएका छन्।

    सोमबार अपराह्न ४ बजेतिर राष्ट्रिय सभा गृहमा एमालेले चलाएको ‘घर फर्क राष्ट्रिय अभियान’ मार्फत् उनीहरू एमालेमा फर्किएका हुन्।

    एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, अर्जुन राई, गम्भीरलाल श्रेष्ठ सहितका नेता एमाले फर्किएका हुन्।

    उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्।

  • पशुपतिमा राजनीतिको छायाँ पर्न दिनु हुँदैन : प्रधानमन्त्री कार्की

    पशुपतिमा राजनीतिको छायाँ पर्न दिनु हुँदैन : प्रधानमन्त्री कार्की

    २४ कात्तिक, काठमाडौं-
    प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएकी छन् ।

    कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् ।

    कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ ।

    प्रधानमन्त्री कार्कीले पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् ।

  • भोलि एमालेको पालिका स्तरीय प्रदर्शन : चितवनका सात वटै पालिकामा हुँदै (समय र स्थानसहित)

    भोलि एमालेको पालिका स्तरीय प्रदर्शन : चितवनका सात वटै पालिकामा हुँदै (समय र स्थानसहित)

    चितवन, कार्तिक २४ –
    नेकपा (एमाले) केन्द्रीय कमिटीले भोलि देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनका सात वटै पालिकामा भोलि प्रदर्शन हुने एमाले चितवनका अध्यक्ष कमल पाठकले जानकारी दिए ।

    प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जन प्रदर्शन हुने उनले बताए । प्रदर्शनमा व्यापक जनसहभागिता गराउन विभिन्न नेताहरुलाई समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ ।

    जन प्रदर्शनमा नाराहरु पनि तय गरिएको छ । नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर भन्ने नारा प्रदर्शनका क्रममा लगाइने तय भएको अध्यक्ष पाठकले जानकारी दिए । यही नारा लगाएर शान्तिपूर्ण जनप्रदर्शनमा उत्रन उनले पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् ।

    कुन पालिकाले कहाँ र कतिबेलाबाट सुरु गर्दैछन् प्रदर्शन :

    १. भरतपुर महानगरपालिकाले बिहान ११ बजे चनौलीबाट
    २. खैरहनी नगरपालिकाले दिउँसो १२ बजे मगनी चोकबाट
    ३. कालिका नगरपालिकाले बिहान ११ बजे क्लव चोक चौताराबाट
    ४. माडी नगरपालिकाको दिउँसो १२ बजे बबईबाट
    ५. रत्ननगर नगरपालिकाले बिहान ११ बजे पालिका कमिटीको पार्टी कार्यालय अगाडिबाट
    ६. राप्ती नगरपालिकाले बिहान ११ बजे भण्डारा माविबाट
    ७. इच्छाकामना गाउँपालिकाले दिउँसो १२ बजे मुग्लिङ् बजारबाट

    त्यसैगरी कार्तिक २९ गते देशका सबै जिल्लाहरुमा एकसाथ जनसभा गर्ने निर्णय एमालेले गरेको छ । उक्त जनसभाको तयारी समेत भइरहेको एमाले चितवनका अध्यक्ष पाठकले जानकारी दिए ।

  • कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

    कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

    काठमाडौँ, २४ कात्तिकः 
    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभएको छ ।

    आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भन्नुभयो, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।”

    उहाँले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उहाँको सालिकमा माल्याार्पण गरेका थिए ।

  • भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

    भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

    काठमाडौँ, २४ कात्तिक :
    भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्।

    नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए।

    नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको थियो।

  • चार दिनदेखि मेलम्ची खानेपानी ठप्प

    चार दिनदेखि मेलम्ची खानेपानी ठप्प

    २४ कात्तिक, काभ्रेपलाञ्चोक-
    मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ ।

    पटक-पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् ।

    विभिन्न चरणका आन्दोलनमा गरिएको सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।

     

  • राजस्व कार्यालय भरतपुरले ५ हजार बढी ग्राहकको बक्यौता उठाउन बाँकी

    राजस्व कार्यालय भरतपुरले ५ हजार बढी ग्राहकको बक्यौता उठाउन बाँकी

    चितवन, २४ कात्तिक :
    आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो ।

    कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ ।

    उनले भने, “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।” कर सङ्कलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, सङ्कलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उनले बताए ।

    बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।

    यस कार्यालयले असोज मसान्तसम्म रु ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उनले बताए ।

    उनका अनुसार विभागले रु ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उनले बताए ।

  • सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

    सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

    काठमाडौँ, २४ कात्तिकः
    नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

  • मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

    मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

    धनुषा २४ कात्तिक
    मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

    अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् ।

    त्यस्तै दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन् ।

    प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।