Blog

  • भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि चितवनमा डेरी मार्ट सञ्चालन

    भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि चितवनमा डेरी मार्ट सञ्चालन

    चितवन, मङ्सिर २ –
    जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो ।

    सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित समग्रीको बिक्री बितरण गर्दै आएको छ । सङ्घका अध्यक्ष किसोर वगालेकाअनुसार सङ्घले यहाँ घ्यू, नौनी, पनिर, खुवा, दूध, दहीलगायतका उत्पादन सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।

    जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसको बजारीकरणका लागि सङ्घले आफ्नै लगानीमा रत्ननगर नगरपालिका–५ मा उद्योग स्थापना गरी दूग्धजन्य वस्तुको उत्पादनसुरु गरेको हो । त्यहाँ उत्पादित सामग्रीलाई बजारीकरणका लागि मार्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित दूध र दूग्धजन्य वस्तुको प्रवर्द्धनका लागि सङ्घले काम अघि वढाएको छ ।”

    उद्योगलाई बिक्री गरिएको दूधको भुक्तानी समयमा नपाउँदा किसान र सहकारीले समस्या झेल्दै आएका छन् । यहाँका किसानले दूग्ध विकास संस्थान र निजी क्षेत्रको गरी रु ७० करोड बढी भुक्तानी पाउन सकेका छैनन् । – रासस

  • कर्णाली याक्सले दियो चितवन राइनोजलाई १६७ रनको लक्ष्य

    कर्णाली याक्सले दियो चितवन राइनोजलाई १६७ रनको लक्ष्य

    काठमाडौं, २ मङ्सिरः
    नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १६६ रन बनाएको हो ।

  • चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

    चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

    चितवन, २ मङ्सिरः 
    क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।
    राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभयो । खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो ।
    बस चितवन मेडिकल कलेज (सीएमसी)को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ । चितवन राइनोजको पहिलो खेल आज ११ः४५ बजे कर्णाली याक्ससँग हुँदैछ । यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११ः४५ बजे काठमाडौँ गोर्खाजसँग चितवन राइनोज खेल्दैछ । यसैगरी मङ्सिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन् ।
    खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवन राइनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन् ।
  • एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

    एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

    काठमाडौँ, १ मङ्सिरः

    नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो ।

    जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।

    काठमाडाँैको जितमा बेन चाल्र्सवर्थले ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे ।

    बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, सञ्जय कृष्णमूर्ति र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रनको योगफल बनाएको थियो ।

    जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए ।

    काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए ।

    यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो ।

    आजदेखि सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले रु करोड १० लाख पाउने छ । दोस्रो हुनेले रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।

    मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे हुनेछ ।

     

  • सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

    सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

    काठमाडौँ, १ मङ्सिरः
    जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज जीउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुन भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौँका ३३ वर्षीय मङ्गल महर्जनलाई पक्राउ गरेको हो ।

    लामालाई ललितपुर महानगरपालिका–३ धोबिघाट र महर्जनलाई काठमाडौँ महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    लामा जगनथदेवल (महिला बन्दीगृह)बाट फरार भएकी थिइन् । २२ वर्ष कैद सजाय फैसला भएकी उनी २०७६ मङ्सिर १९ गते कारागार चलान भएकी थिइन् ।

    एक वर्ष कैद र एक करोड आठ लाख ३९ हजार सात सय ४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भएका महर्जन गत चैतदेखि कैद भुक्तान गरिरहेको थिए । दुवै कैदी कारागार कार्यालय जगन्नाथदेवल चलान भएका छन् ।

  • नारायणी किनारमा जारी खेलकुद महोत्सव भोलि सकिँदै, सविन राई आउने

    नारायणी किनारमा जारी खेलकुद महोत्सव भोलि सकिँदै, सविन राई आउने

    चितवन, मंसिर ०१
    चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव भोलि (मंगलबार) सकिदैछ । कार्तिक १८ गतेबाट सुरु भएको महोत्सवको भोलि समापन हुने भएको हो ।

    महोत्सवको समापन समारोह बिहान ११ बजे सुरु हुनेछ । चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार महोत्सवको भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले समापन गर्ने कार्यक्रम रहेको छ ।

    यसैबीच महोत्सवको समापन समारोहपछि भोलि बिशेष साँस्कृतिक कार्यक्रम हुनेछ । जसमा सविन राई एण्ड दि फेरोह ब्याण्डको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा सबै खेलकुद प्रतियोगिताहरु आज (सोमबार) नै सम्पन्न भएको छ । महोत्सवकै दौरान ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठसहित कीर्तिमानी पदक विजेता कराँतेकी एरिका गुरुङ सम्मानित भएका थिए । उनीहरुलाई जनही ५०-५० हजार रुपैयाँले सम्मान गरिएको थियो ।

    महोत्सवमा तीन सय भन्दा बढी स्टल रहेका छन् । दर्शकहरुका लागि बनाईएको लन्डन ब्रिजले सबैलाई आकर्षित गरेको छ । दर्शकहरुले लन्डन ब्रिज चढेर महोत्सव परिसर भित्रै बुर्ज खलिफा, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाएका छन् ।

  • यी हुन् पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

    यी हुन् पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा

    काठमाडौँ , १ मङ्सिरः
    पित्तथैली कलेजोको ठ्याक्कै पछाडि रहेको सानो, नासपाती आकारको अंग हो । यसको काम बोसो पचाउन सानो आन्द्रामा पित्त छोड्नु हो । यदि यसले छाडेको पित्त कडा हुन थाल्यो भने यो पत्थरीमा परिणत हुन्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ ।

    धेरैजसो अवस्थामा पित्तथैलीमा पत्थरी भएका बिरामीहरूको लागि शल्यक्रिया एक मात्र विकल्प हो । यसको सबैभन्दा ठुलो कारण यही हो कि लगभग ७० प्रतिशत बिरामीमा पित्तथैलीको पत्थरीको लक्षण प्रारम्भिक चरणमा स्पष्ट देखिँदैन । तपाईं पनि अस्पताल गएर पित्तथैलीको शल्यक्रियामा ५०/६० हजार बर्बाद गर्न चाहनु हुन्न भने अहिलेदेखि नै सावधानी अपनाउन सुरु गर्नुस् । आफ्नो आहारमा यी चार खानेकुराहरूको मात्रा नियन्त्रण गरेर तपाईंले पित्तथैलीमा पत्थरीको सम्भावना घटाउन सक्नुहुन्छ ।

    प्रशोधित खानाहरू
    प्रशोधित खानाहरू आजकल सबैको पहिलो रोजाई बनेको छ । धेरैजसो मानिस हरेक दिन केही मात्रामा प्रशोधित खानेकुरा खान्छन् । स्वादबाहिर गएर तपाईंले आफ्नो स्वास्थ्यलाई विचार गर्नुभयो भने यी खानेकुरा विषभन्दा कम छैनन् । यसको थोरै मात्राले पनि मुटु, कलेजो, मिर्गौला र आन्द्रा जस्ता महत्त्वपूर्ण अङ्गलाई हानि पुर्‍याउन सक्छ । यसमा पित्तथैलीको पत्थरीको जोखिम पनि छ । प्रशोधित खानेकुरामा अस्वस्थ चिल्लो त हुन्छ नै उच्च मात्रामा चिनी पनि हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउन योगदान पुर्‍याउँछ ।

    उच्च चिनी भएका खाना
    चिनी चिनीको रूपमा मात्रै नभएर प्याकेट वा बोतलमा आउने खाद्य वा पेय वस्तुहरूबाट पनि तपाईंको पेटमा पुगिरहेको छ । त्यसैले तपाईं घर बाहिरको खानेकुरा खाना बढी खाइरहनु भएको छ भने तपाईंमा प्रतिकूल प्रभावहरूको जोखिम द्रुत रूपमा बढ्दै गइरहेको छ । उच्च चिनीले बोसो र कोलेस्ट्रोल बढाउन जानिन्छ, जसले पित्तथैलीको पत्थरी निम्त्याउन सक्छ ।

    रातो मासु
    रातो मासुमा उच्च मात्रामा स्याचुरेटेड चिल्लो र कोलेस्ट्रोल हुन्छ । ठुलो मात्रामा यसको सेवन गर्दा पित्तथैलीको पत्थरीको जोखिम बढाउँछ । यसबाहेक, यी खानेकुराहरूले पित्तथैलीको पत्थरीका लक्षणहरूलाई अझ खराब बनाउँछन् ।

    तारेका खानेकुरा
    तेलमा तारेको वा भुटेको खानेकुराहरू अस्वस्थ बोसो, उच्च चिनी र उच्च कोलेस्ट्रोल हुन्छ । तपाईंलाई तेलमा फ्राइ गरिएका खानेकुरा मन पर्छ भने आफूलाई नियन्त्रणमा राख्नु आवश्यक छ । यी खानाहरूले मुटु र कलेजोलाई त हानी पुर्‍याउँछन् नै पित्त रसलाई ढुङ्गामा परिणत गराउने काम पनि गर्छन् ।

    अस्वीकरण: यो जानकारी अनलाइन सामाग्रीका आधारमा तयार पारिएको हो ।

  • मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?

    मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?

    काठमाडौँ, १ मङ्सिरः
    बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको निर्णयको कडा निन्दा गरेकी छिन् । उनले अदालतको निर्णयलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भनेकी छिन् ।

    अदालतको निर्णयपछि शेख हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गरेकी छिन् । त्यसमा भनिएको छ- ‘मृत्युदण्ड भनेको राजनीतिक शक्तिको रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो ।’

    अवामी लिग शेख हसिनाको पार्टी हो । यसअघि, शेख हसिनाले मुद्दालाई ‘प्रहसन’ भनेर वर्णन गरेकी थिइन् र आफूमाथि लगाइएका सबै आरोपहरूलाई अस्वीकार गरेकी थिइन् । उनले भनिन्- ‘मलाई उचित न्यायाधिकरणमा मेरा अभियुक्तहरूको सामना गर्ने कुनै डर छैन, जहाँ प्रमाणहरूको वस्तुनिष्ठ रूपमा मूल्याङ्कन र जाँच गर्न सकिन्छ ।’

    उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यी आरोपहरू ल्याउन चुनौती दिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

    गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा शेख हसिनामाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो । भारतमा निर्वासनमा बस्दै आएकी शेख हसिना विरुद्धको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो ।

  • पोखरा एभेन्जर्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिमी नीशम

    पोखरा एभेन्जर्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिमी नीशम

    १ मंसिर, काठमाडौं-
    न्युजिल्याण्डका अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।

    नीशमले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्नेछन् । उनी अघिल्लो सिजनमा पनि जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नका लागि आएका थिए ।

    उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

    नेपाल आएपछि नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए ।

  • खेलकुद महोत्सवमा कबड्डी : पुरुषमा कालिका र महिलामा भरतपुरलाई उपाधि

    खेलकुद महोत्सवमा कबड्डी : पुरुषमा कालिका र महिलामा भरतपुरलाई उपाधि

    चितवन, १ मङ्सिरः
    नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । दुई दिन चलेको अन्तरपालिका कबड्डी प्रतियोगितामा पुरुषतर्फ कालिका नगरपालिकाले उपाधि जितेको छ ।

    आज (सोमबार) भएको फाइनलमा खैरहनी नगरपालिकालाई हराउँदै कालिकाले उपाधि जितेको हो । योसँगै खैरहनीले उपविजेतामा चित्त बुझाएको छ । उता महिला तर्फको उपाधि भने भरतपुर महानगरपालिकाले जितेको छ ।

    आजै भएको फाइनलमा राप्ती नगरपालिकालाई हराउँदै भरतपुर महानगरपालिकाले महिलातर्फको उपाधि जितेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि न. १७ शशस्त्र प्रहरी गणका प्रहरी नायव निरिक्षक सुदन भारती, सभापति चितवन जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा चितवनबाट पालिकाहरुबाट ९ टोली सहभागी भएको महोत्सवका खेल संयोजक छविरमण तिमल्सिनाले जानकारी दिए । जसमा पुरुष ५ र महिलाका ४ टिम थिए । यससँगै महोत्सवमा सबै खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् । मंगलबार खेलकुद प्रतियोगिताको समापन गरिने तिमल्सिनाले बताए ।