Blog

  • देवघाटधाममा शतबीज छर्ने घुइँचो

    देवघाटधाममा शतबीज छर्ने घुइँचो

    दमौली (तनहुँ), मङ्सिर ३-
    पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।

    देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताउनुभयो ।

    हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ । रासस

  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    मंसिर ३, काठमाडौँ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    प्रवक्ता मनिष झाका अनुसार आज दिउसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय,बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल, सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै बैठकमा वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा, मिडिया अध्ययन कार्यदल, अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने, राजनीति अध्ययन कार्यदल । र उम्मेदवार छनौट सिफारिस समिति विस्तार गर्ने जस्ता एजेण्डामा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

  • पाशुपत क्षेत्रमा शतबीज छरियो

    पाशुपत क्षेत्रमा शतबीज छरियो

    काठमाडौँ, मङ्सिर ३ –
    मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

    ‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौँ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

    मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ । पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो छ । आज पाशुपत क्षेत्रमा आउनेले वासुकी र गुह्येश्वरीमा पनि विशेष पूजा गर्ने प्रचलन छ ।

    पाशुपत क्षेत्रका साथै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ । रासस

  • ताप्लेजुङको तेम्बा बजारका चार घर जले

    ताप्लेजुङको तेम्बा बजारका चार घर जले

    फुङ्लिङ (ताप्लेजुङ), मंसिर ३ –
    मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

    गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।

    चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।

  • आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

    आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

    काठमाडौँ मङ्सिर ३
    आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजकाे दिन पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

    हिजो (मंगलबार) रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

    यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ ।

    बाला चतुर्दशीसँग जोडिएको कथा

    यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

    माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आज त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

  • एनपीएलमा १ हजार ५ सय सुरक्षाकर्मी परिचालन

    एनपीएलमा १ हजार ५ सय सुरक्षाकर्मी परिचालन

    काठमाडौँ, २ मङ्सिरः

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    एनपीएल सुरक्षाको नेतृत्व गरेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए ।

    त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

  • जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

    जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

    काठमाडौँ, २ मङ्सिरः
    सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता खरेलले बताए ।

  • एनपिएलः रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

    एनपिएलः रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

    काठमाडौँ, २ मङ्सिरः
    काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन् ।

    चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

    उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने । रवि ३६ बल खेलेर ५२ रनमा आउट भए ।

    बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपिएल खेल्दैछन् ।

    यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो ।

    यसअगाडि यो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियाङ्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।

    पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।

  • जेनजी आन्दोलनमा आगजनी भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा

    जेनजी आन्दोलनमा आगजनी भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा

    नवलपुर (नवलपरासी),मङ्सिर २-
    गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो ।

    मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने कुनै समस्या नआएमा केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ ।

    गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो ।

    “आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको थियो”, उहाँले भन्नुभयो, “क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो ।”

    प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताउनुभयो । केबलकारको आन्तरिक परीक्षणपश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ ।

    “मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ”, स्टेसन म्यानेजर पौडेलले भन्नुभयो, “अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ ।” मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताउनुभयो ।

    मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताउनुभयो । जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ ।

    धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ । “केबलकार सञ्चलनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरु उल्लेख्य रुपमा देखिनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृतरुपमा भक्तजनको उपस्थिति देखिएन ।” अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताउनुभयो ।

    पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताउनुभयो । “हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिरमुनि बजार क्षेत्रमा हुस्सु ९कुहिरो० र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ ।”

    समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्छ । – रासस

  • चितवन राइनोजको विजयी सुरुवात : कार्णाली याक्स ४ विकेटले पराजित

    चितवन राइनोजको विजयी सुरुवात : कार्णाली याक्स ४ विकेटले पराजित

    चितवन, मंसिर २–
    कार्णली याक्सलाई ४ विकेटले हराउँदै चितवन राइनोजले एनपिएलमा आफ्नो विजयी सुरुवात गरेको छ ।