Blog

  • म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

    म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

    काठमाडौँ, ३ मङ्सिरः
    आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज   स्वदेश फर्काइएको छ ।

    विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाईन डेटिङ’, ‘अनलाईन क्यासिनो’, ‘गेमिङ’ तथा ‘फिसिङ’, ‘क्रिप्टो’ ठगीलगायतका काममा लगाइएका र स्क्यामिङ केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भागेर थाइल्याण्ड प्रवेश गरेका उनीहरुलाई स्वदेश फर्काइएको हो ।

    नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एयरलाइन्सको उडान नं आरए–४०२मार्फत नेपाल फर्काएको हो ।

    म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।

  • काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

    काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

    काठमाडौँ, ३ मङ्सिर :
    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट जित निकालेको छ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ।

    पहिलो खेलमा साविक विजेता जनकपुर बोल्टलाई हराएको काठमान्डुको यो पहिलो हार हो।

    सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रनमै अलआउट भयो।

    उसका लागि ओपनर आकाश त्रिपाठीले सबैभन्दा बढी ३४ रन जोड्न सके।

  • मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    ३ मंसिर भरतपुर
    नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखा, चितवन उद्योग वाणिज्य संघ र चेम्बर बहुउद्देश्यीय सहकारी संस्था लि. को सयुक्त आयोजनामा आज चितवन उद्योग वाणिज्य संघको सभाहलमा मुटु तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    हरेक धड्कन जिवन हो ख्याल गरौ भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जीवन व्यस्त रहेकाले व्यक्तिगत स्वास्थ्यसम्बन्धी पनि ध्यान दिलाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । उहाँले व्यवसायीहरू धेरै समय व्यावसायिक कार्यमा व्यस्त हुने हुनाले र आप्mनो स्वास्थ्य सम्बन्धमा ध्यान नदिइरहेकोले हामी स्वास्थ्य भए मात्र आर्थिक, सामाजिक विकास गर्न सक्षम हुने बताउँदै उहाँले व्यवसायी एवम् सबैलाई स्वास्थ्यलाई ख्याल राखेर कार्य गर्न अनुरोध गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख बक्ता मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले मुटु तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिदै मुटुरोगबाट बच्ने उपायहरू, हृदयघात हुने कारण, मुटुरोगका लक्षण, समस्याका बारेमा जानकारी गराउँदै सहभागिहरूको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमका चितवन मुटु अस्पतालका विशेषज्ञ डा. शंकर लौडारीले मुटु तथा मुटुरोगका बारेमा जानकारी गराउँदै मुटुरोगको सबैभन्दा राम्रो प्रभावकारी उपचार सचेतना भएको बताउनुभएको थियो ।

    कार्यक्रममा चेम्बर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भोजराज कौडाल, चितवन उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष महेन्द्रलाल प्रधान, देशीराम प्रधान, प्रचण्डलाल प्रधान, राजु श्रेष्ठ नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका निवर्तमा अध्यक्ष अशोक अधिकारी, नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका पूर्व अध्यक्षहरु, पदाधिकारी कार्यसमिति, चितवन उद्योग वाणिज्य संघका पदाधिकारी लगायत संघका कार्यसमिति वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, चेम्वर बहुउद्देश्यीय सहकारी संस्था लि. का कार्यसमिति पदाधिकारी गरी करिब ७० जनाको सहभागिता रहेको थियो ।

    नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका सभापती लिलाराज खरेलको अध्यक्षता सम्पन्न कार्यक्रम चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

  • इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

    इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण

    चितवन, मंसिर ३–
    शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नं.६ का वडा अध्यक्ष लक्ष्मण प्रजा, एक्सपर्ट एजुकेशन चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाल, शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीलगायतले विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

    सो क्रममा बोल्दै वडा अध्यक्ष प्रजाले पहाडी क्षेत्रका विद्यालयहरु भौतिक पूर्वाधारको अभावसंगै विद्यार्थीहरुलाई विभिन्न सामग्री अभाव हुने गरेको स्मरण गर्दै यस्तै सहयोगको आवश्यकता रहेको बताए । जेसीजकी अध्यक्ष केसीले जेसीजले यस ठाउँमा विगतदेखि नै विभिन्न सहयोगहरु गर्दै आएकोमा यसपटक पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको बताइन् । उनले सहयोगका लागि एक्सपर्ट एजुकेशनलाई धन्यवाद दिइन् ।

    एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले विपन्न समुदायको शिक्षामा एक्सपर्टले विगतदेखि नै सहयोग गर्दै आएको भन्दै यस ठाउँमा पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि एक्सपर्टले विपन्न समुदायको शिक्षामा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

    कक्षा ८ सम्म अध्यापन हुने यस विद्यालयमा अध्ययनरत १ सय ५९ मध्ये १ सय ५५ जना चेपाङ रहेको प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिनुभयो । उहाँले त्यस क्षेत्रमा विद्यार्थीलाई भन्दा बढी अभिभावकलाई सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

  • अझै रोकिएन झडप, तस्वीरमा हेर्नुहोस् सिमरा विमानस्थल बाहिरको अवस्था ? (तस्वीरहरू)

    अझै रोकिएन झडप, तस्वीरमा हेर्नुहोस् सिमरा विमानस्थल बाहिरको अवस्था ? (तस्वीरहरू)

    मंसिर ३,काठमाडौं ।
    बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत सिमरा जान लागेका थिए । आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो ।

    दुई नेतालाई स्वागत गर्न विमानस्थलको मुल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ ।

    प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

    जेन–जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।

  • सिमरा जान एमाले नेताहरू रोकिएपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- यसरी चुनाव हुन्छ ?

    सिमरा जान एमाले नेताहरू रोकिएपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- यसरी चुनाव हुन्छ ?

    मंसिर ३,काठमाडौं ।
    नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेताहरूलाई सिमरा जान रोक लगाउनु दु:खद् भएको बताएका छन्।

    एमाले नेताहरू जाने भएपनि विमानस्थल आसपासमा जेनजी समूहले प्रदर्शन गरेपछि काठमाडौंमै रोकिएका थिए।

    त्यसबारे उनले भनेका छन्, ‘सिमरा घटना दुःखद ! प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’ मधेस प्रदेशमा एमालेले सही कर्म नगरेको भएपनि आफ्ना कुरा राख्न हिँड्न रोक्न नहुने उनको तर्क छ।

    उनले थपेका छन्, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौँ मधेस प्रदेशमा सही कर्म गरेन त, त्यस विरुद्ध दबाब दिऊँ जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो।’

    सामाजिक सञ्जाल निषेध विरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने बताए।

    उनले भने, ‘सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौँ ।

  • १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

    १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

    चितवन, मङ्सिर ३ –
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो ।

    संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्समध्ये करिब ८० प्रतिशत १० वर्ष पुराना रहेका जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये १० हाराहारी क वर्गका, १५० हाराहारी ख वर्गका र बाँकी ग वर्गका एम्बुलेन्स छन् । ग वर्गका ८० प्रतिशतभन्दा बढी एम्बुलेन्स १० वर्ष पुराना रहेका उहाँले बताउनुभयो ।

    लामिछानेका अनुसार ग वर्षका ८० प्रतिशत हाराहारी एम्बुलेन्स नवीकरणसमेत हुन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरेको छ । यससँगै सङ्घले विज्ञप्ति जारी गरेर तत्काल एम्बुलेन्स रोकिएमा बिरामी बोक्न अभाव हुने जनाएको छ । साथै अधिकांश शववाहन १० वर्ष पुराना भएका भन्दै दैनिक २०–२५ वटा शव राजधानी बाहिर पठाउने गरेकामा समस्या हुने जनाएको छ ।

    स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्थाबाहेक अन्यलार्ई एम्बुलेन्स खरिदको अनुमति नदिने उल्लेख गरेसँगै अभाव हुने भन्दै विज्ञप्तिमा एम्बुलेन्स सञ्चालनमा गैरसरकारी संस्था, सामुदायिक सङ्घ, सङ्गठन तथा सहकारीलाई समान अधिकार दिन माग गरिएको छ । एम्बुलेन्स क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार लगाउन नहुने विज्ञप्तिमा जनाइएको छ ।

    भूगोल, सडक अवस्था, आर्थिक पृष्ठभूमि र आम नागरिकको पहुँचलाई नहेरी गरिएको यस निर्णय व्यवहारिक, न्यायिक तथा मानवीय दृष्टिले अनुपयुक्त भएको भन्दै सङ्घले तत्काल पुनर्विचार र संशोधन गर्न माग गरेको छ । सङ्घले यसअघि यससँगै अन्य मागहरु राख्दै मन्त्री र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो । रासस

  • भारतमा मावबादि र प्रहरी बिच भिडन्त, ६ जना माओवादीको मृत्यु

    भारतमा मावबादि र प्रहरी बिच भिडन्त, ६ जना माओवादीको मृत्यु

    मङ्सिर ३,काठमाडौं।
    भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन्।

    यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो। इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ।

    १७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए। यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई पक्राउ गरेको छ, जसमा स्पेशल जोनल कमिटी सदस्यदेखि लिएर प्लाटुन, डिभिजन र क्षेत्रीय समिति सदस्यसम्म सामेल छन्।

    उनीहरूबाट ठूलो मात्रामा हतियार र विस्फोटक समेत बरामद गरिएको छ। छत्तीसगढका सुकमा, विजापुर, नारायणपुर र बस्तर जिल्लामा बढ्दो सुरक्षा दबाब तथा हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश प्रवेश गरी शहरी क्षेत्रमा लुकिएर पुनः संगठन निर्माण र भविष्यका कारबाही योजना बनाउन खोजेको प्रहरीले जनाएको छ।

    डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको दाबी गरिएको छ।

  • दक्षिणपश्चिमी जापानमा भीषण आगलागी :१७० घर नष्ट, सयौँ विस्थापित

    दक्षिणपश्चिमी जापानमा भीषण आगलागी :१७० घर नष्ट, सयौँ विस्थापित

    टोकियो, मङ्सिर ३ –
    दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

    जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

    आगलागी मङ्गलबार साँझ ओइटा सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जङ्गलमा समेत पुगेको थियो । ओइटा दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ ।

    दिउँसो प्रसारित जापानी टेलिभिजन दृश्यहरूमा विस्तृत क्षेत्रभरि जलेका र क्षतिग्रस्त घरहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो । यद्यपि प्रत्यक्ष ज्वाला भने धेरैजसो निभिसकेको देखिन्थ्यो ।

    एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग कुरा गर्दै भने, “आगो आँखा झिम्क्याउँदा फैलियो । मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ ।”

    आगो नियन्त्रणमा लिन दर्जनौँ फायर इन्जिन प्रयोग गरिएको छ र २०० भन्दा बढी अग्निनियन्त्रक खटिइरहेका छन् । तर आगलागी सुरु भएको करिब २० घण्टा बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

    ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स ९जिएसडिएफ० ले पनि सहयोगस्वरूप दुई वटा युएच–१ सैन्य हेलिकप्टर परिचालन गरेको छ । ती हेलिकप्टरले आकाशबाट निरन्तर पानी छर्केर आगो निभाउने प्रयास गरिरहेका छन् ।

    प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया व्यक्त गर्दै आगलागीबाट पीडित भएका सबैप्रति हार्दिक सहानुभूति प्रकट गर्नुभयो । उहाँले प्रभावित नागरिकहरूलाई आवश्यक सबै प्रकारका राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन दिनुभएको छ । रासस

     

  • आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

    आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

    काठमाडौँ, मंसिर ३-
    आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए ।त्यस्तै सानो अण्डाको प्रति पेटी २६ सय मूल्य पर्ने छ ।

    यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो ।