Blog

  • चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुवात

    चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुवात

    चितवन, मंसिर ४ –
    एनपिएलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले आफ्नो विजयी सुरुवात गरेको छ ।

  • चितवन राइनोजले लुम्बिनी लायन्सलाई दियो १४३ रनको लक्ष्य

    चितवन राइनोजले लुम्बिनी लायन्सलाई दियो १४३ रनको लक्ष्य

    चितवन, मंसिर ४ –
    एनपिएलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई दियो १४३ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याउँदै अब लुम्बिनी लायन्सले जवाफी ब्याटिङ् गर्ने छ ।

  • नेताहरूलाई निर्वाध हिँडडुल गर्ने वातावरण बनाइयोस्ः प्रचण्ड

    नेताहरूलाई निर्वाध हिँडडुल गर्ने वातावरण बनाइयोस्ः प्रचण्ड

    काठमाडौं,मंसिर ४-
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूलाई निर्वाध रुपमा हिँडडुल गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बाराको सिमरामा जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रचण्डले स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन पनि आग्रह गरेका छन्।

    ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन।’ उनले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भनेका छन्, ‘त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

    उनले घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षलाई आग्रह पनि गरेका छन्। स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न पनि प्रचण्डले निर्देशनसमेत दिएका छन्।

  • बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

    बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

    म्याग्दी, मङ्सिर ४ –
    म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ ।

    बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

    मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालवालिका छन । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु.१५ का दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा रु. ११ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।

    ४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन् । एक वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ । तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि शुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

    बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । गत वर्ष यस कार्यक्रमबाट तीन सय ७३ जना बालबालिका लाभान्वित भएका थिए । विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ ।

    विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन् । स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको छ । रासस

  • जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

    जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

    ४ मंसिर, काठमाडौं ।
    बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन् । दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    बुधबार सिमरामा भएको वादविवादको क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई पक्राउ गरेको हो ।

    आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए ।

    प्रहरीले बाँकी चारजना पक्राउ नगरेको भन्दै जेनजी युवाले आज बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर पुन: प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको कारण यातायात ठप्प छ ।

    एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए ।

    सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा सम्राट उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।

    सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए। त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।

    जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट ढालिदिएका थिए ।

    उनीहरूले विमानस्थलभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नारावाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।

  • नारायणी पुलमा दुई रात सवारी चलाउन रोक

    नारायणी पुलमा दुई रात सवारी चलाउन रोक

    मंसिर ४, भरतपुर ।
    नारायणी नदीको पुलमा दुई रात सवारीसाधन चलाउन रोक लगाइएको छ ।

    नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने नारायणी पुलको पश्चिम (नवलपुर) तर्फको एप्रोच सडक कालोपत्रका लागि मंसिर ५ र ६ गते राति सवारीसाधन चलाउन रोक लगाइएको छ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने नारायणगढ बुटवल सडक (पूर्वी खण्ड) ले जनाएको छ ।

    बुटवलबाट नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू थुम्सीदेखि भेडाबारीमा र ठूला मालबाहक सवारीसाधनहरू बेल्डिहादेखि प्रगतिनगरमा रोकिने छ ।

    मुग्लिन–नारायणगढ सडकको रामनगरदेखि जुगेडी र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङमा रोकिने छ ।

    मालबाहक सवारीसाधनको हकमा मुग्लिन–नारायणगढ सडकको जुगेडीदेखि दासढुंगा र पूर्वपश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीमा रोकिने छ ।

  • बर्खे धानको समर्थन मूल्य नपाएको चितवनका किसानको गुनासो

    बर्खे धानको समर्थन मूल्य नपाएको चितवनका किसानको गुनासो

    चितवन, मङ्सिर ४ –
    यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।

    प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् । माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरुले प्रतिक्विन्टल मोटा धान रु दुई हजार ६०० र मध्यम धानको रु तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गर्नुभयो ।

    भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भन्नुभयो, “मोटा धान रु तीन हजार र मध्यम धान रु तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।”

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउनुहुन्छ । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ । रासस

  • एनपिएलः आज चितवन र लुम्बिनी भिड्दै

    एनपिएलः आज चितवन र लुम्बिनी भिड्दै

    काठमाडौँ, मङ्सिर ४ –
    काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ ।

    पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।

    गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

  • हेर्नुस आज मिति २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल

    हेर्नुस आज मिति २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल

    काठमाडौं । आज २०८२ साल मंसिर ४ गते बुधबार। तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

    मेष : दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम भने सफल बन्नेछ ।

    वृष : दिन राम्रो छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै रोजगारीको विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ ।

    मिथुन : दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

    कर्कट : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफ्नो काममा गोपनीयता कायम राख्नु उचित हुनेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

    सिंह : दिन सामान्य छ । बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

    कन्या : दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । तपाईंको काममा सहयोगी बढ्नेछन् । समाजसेवाको अवसर मिल्नेछ । आफ्नो काममा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

    तुला : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शनी गर्ने दिन छ । साथीको साथ मिल्नेछ । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

    वृश्चिक : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । तपाईंका योजनामा परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।
    मकर : दिन राम्रो छ । पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ ।

    कुम्भ : दिन राम्रो छ । तपाईंको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मीन : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । परिवारभित्र मेलमिलाप हुनेछ ।

  • टाइटन घडीको स्टोर चितवनको नारायणगढमा

    टाइटन घडीको स्टोर चितवनको नारायणगढमा

    चितवन, मंसिर ३ –
    टाइटन घडीको स्टोेर चितवनको नारायणगढमा खुलेको छ । लायन्स चोकमा खुलेको टाइटन स्टोरको आज बुधबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले उद्घाटन गरे ।

    उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले टाइटन ब्राण्डको घडीको स्टोर चितवनको बजारमा आउनुले यहाँले सोभा बढाएको बताए ।

    चितवन स्टोरका सञ्चालक रोशन कुमार गुप्ताका अनुसार स्टोरमा १ हजार भन्दा बढी डिजाइनका आकर्षक र बजेट–मैत्री घडीहरू उपलब्ध छन् ।

    स्टोरमा पुरुष र महिलाहरूका लागि विभिन्न वर्गका घडीहरु उपलब्ध छन् । २ हजार देखि ५८ हजारसम्मका घडीहरु हाल स्टोरमा उपलब्ध छन् । त्यसैगरी स्टोरमा टाइटनको चस्मा र परफ्र्युम पनि उपलब्ध छन् । उद्घाटनको अवसरमा १० प्रतिशत छुट र ३ हजार ५ सय भन्दा माथिको खरिदमा १ हजार पर्ने टाइटनकै एउटा परफ्र्युम उपहार पाइने सञ्चालक गुप्ताले बताए ।

    थप कुराका लागि, यो प्रेस विज्ञप्ति हेर्नुहोस् :