Blog

  • बस दुर्घटनामा २० जना घाइते

    बस दुर्घटनामा २० जना घाइते

    ५ मंसिर, नवलपुर (नवलपरासी) ।
    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

    नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालकाअनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।

    प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

  • भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’ जडान

    भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’ जडान

    चितवन, मङ्सिर ५ –
    भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।

    महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच लिङ्क सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान सञ्चालन भइरहेको महानगर प्रमुख दाहालले बताउनुभयो । रासस

  • सिमरा घटना : आज दुवै पक्षबीच वार्ता हुने

    सिमरा घटना : आज दुवै पक्षबीच वार्ता हुने

    ५ मंसिर,रौतहट।
    बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ। नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो।

    जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन्।

    उनले शुक्रवार हुने वार्ताले स्थायी समाधान निकाल्ने विश्वास व्यक्त गरे।वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने भएका छन्। उनीहरू बिहीबार साँझ नै सिमरा आइपुगेका छन्।

    प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए।पक्राउ पर्नेमा जितपुरसिमरा–२ का ३८ वर्षीय अरविन्द साह, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमद्विन अन्सारी रहेका छन्।

    उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रजिअ मिश्रले बताए। घटनामा ६ प्रहरी र ४ जेन-जी युवा घाइते भएका छन्।

    स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक-पटक कफ्र्यु आदेश जारी गरेको थियो। जेन-जी समर्थकहरूले आज (शुक्रवार) सम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। अहिले सिमराको जनजीवन सामान्य बनेको छ।

  • आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ कारोबार ?

    आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ, मङ्सिर ५ –
    अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १०० कायम भएको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते

    दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते

    मंसिर ५,तानसेन–
    विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।

  • नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन रोक

    नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन रोक

    भरतपुर,मंसिर ५-
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको छ ।

    आयोजनाका अनुसार शुक्रबार र शनिबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न पाइने छैन । आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ ।

  • भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

    भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

    भरतपुर,मंसिर ५-
    चितवनको भरतपुर महानगरपालिका १४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहिबार १२ः२० बजेको समयमा भरतपुर महानगरपालिका १४ बरौजी चोकमा भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्वरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०६ ००२ प ७४१९ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भरतपुर २२ पटिहानीका २६ वर्षिय कबिन महतो गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र.०६-००१ क ०२०६ नम्वरको सेन्ट्रल कलेजको बसको पछाडीको टायरमा ठोक्किएर गम्भिर घाइते भएका थिए । उनको उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    स्कुटर चालक भरतपुर १४ सुन्दरबस्तीका ४३ बर्षिय भिम परियार घाइते भएका छन । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारीसाधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • एनपीएलः आज पोखरा र सुदूरपश्चिम भिड्दै

    एनपीएलः आज पोखरा र सुदूरपश्चिम भिड्दै

    काठमाडौं,मंसिर ५-
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। पोखरा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ भने सुदूरपश्चिम राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ। नेपाली क्रिकेटमा कुशल राम्रो ब्याट्सम्यानको रुपमा चिनिन्छन्। अघिल्लो खेलमा कुशलले हिर्काएको सिक्सले स्टार स्पोटर्सको कमेन्टेटर बक्सको सिसासमेत फुटेको छ।

    सुदूरपश्चिमका कप्तान दीपेन्द्र अलराउन्डर हुन्। उनको बल, ब्याट र फिल्डको गतिलाई रोक्न विपक्षीलााई धौधौ पर्छ। यी दुई कप्तान रहेको टिमको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ। एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ। जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन्। पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ।

    एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

    प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ। एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

    आज मिति २०८२ मंसिर ५ गते (२१ नोभेम्बर २०२५) शुक्रवार, मार्ग शुक्लपक्ष प्रतिपदा तिथि, १३ः२८ बजेपछि द्वितीया। अनुराधा नक्षत्र, १३ः३३ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहाेला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। केही भौतिक सुविधा पनि जुटाउन सकिनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछव भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत पाइनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। तापनि टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

  • काठमाडौंमा एमाले निकट अनेरास्ववियुको मसाल जुलुस

    काठमाडौंमा एमाले निकट अनेरास्ववियुको मसाल जुलुस

    काठमाडौं, ४ मंसिर –
    नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

    सरकारले दललाइ निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।

    स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको उनीहरूको आरोप छ । उनीहरूले राजनीतिक गतिविधिमा लगातार निषेध भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।

    अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले सुरक्षा दिन नसक्ने सरकारले निर्वाचनको नाटक गरिरहेको समेत बताएका छन् ।