Blog

  • लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै

    लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै

    लमजुङ, मङ्सिर ६ –
    पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ ।

    सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ ९मनाङ० कार्यालयमार्फत व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी यतिका क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताउनुभयो ।

    यस आर्थिक वर्ष २०८२÷०८३ मा यतिका प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०/५० प्रतिशत लगानीमा प्याज खेती सुरु गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको सम्मान नौ हजार ८७५ खर्च हुने भएको छ । कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ ।

    यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु भएको छ । कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ । एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यवसायीक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ । त्यस्तै आर्थिक वर्ष २०८१/२०८२ मा समेत ५० रोपनी जमीनमा प्याज खेती विस्तार गरेको थियो । गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो ।

    यस प्याज प्रवद्र्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ । बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङ बासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने छ । प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यवसायीक प्याज प्रवद्र्धन कार्यकम प्रभावकारी बन्दै आएको छ । रासस

  • एनपीएल-२ः लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै

    एनपीएल-२ः लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै

    काठमाडौं,मंसिर ६-
    नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा कर्णाली पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली चितवनसंग पराजित भएको थियो ।

    लुम्बिनी भने दोस्रो जितको खोजीमा हुनेछ । लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो ।

  • चितवनकोे माडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवनकोे माडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन, मङ्सिर ६-
    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • एनपीएलः आज पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै

    एनपीएलः आज पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै

    काठमाडौं,मसिर ६-
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११ः१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३ः३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

    सोमपाल र रोहितको प्रतिस्पर्धा

    शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार पौडेलका टिमको हो । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने सोमपाल नियमित खेलाडी हुन्। पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार पहिलो जितको खोजीमा हुनेछ । कर्णालीको प्रतिस्पर्धी टिम लुम्बिनी लायन्सका कप्तान पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् । पहिलो खेलमा चितवलाई ६ विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

    दोस्रो खेलमा करण केसी र सन्दीप लामिछानेको भिडन्त

    शनिबारको दोस्रो खेलसमेत महत्त्वपूर्ण छ । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण काठमाडौंका कप्तान हुन् भने सन्दीपले विराटनगरको कप्तानी गरेका छन् । करण नेतृत्वको काठमाडौंले दुई खेल खेलिसक्दा एक हार र एक जित गर्दै दुई अंक मात्र जोडेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको छ ।

    एक खेल मात्र खेलेको विराटनगरको दुई अंक छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको हो । आजको खेलबाट काठमाण्डु पुनरागमन गर्न चाहन्छ भने विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

    एनपीएल सिजन–२

    एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

    एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

    प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ। एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं मङ्सिर ६
    हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-गमा भने मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ ।

    आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान हिमपात

  • आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले

    आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले

    काठमाडौँ मङ्सिर ६
    नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।

    यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

    एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि वपार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।

  • हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

    आज मिति २०८२ मंसिर ६ गते (२२ नोभेम्बर २०२५) शनिवार, मार्ग शुक्लपक्ष द्वितीया तिथि, १५ः१९ बजेपछि तृतीया। ज्येष्ठा नक्षत्र, १६ः०३ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १६ः०३ बजेपछि धनु।

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजाेरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। प्रयत्न गर्दा नियमित कामबाट लाभ उठाउन सकिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।साँझतिर अवसरवादीहरू जाग्नेछन् र आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा असल काम गर्न सकिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजाेर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    आत्मबलका साथ राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कामको मेसो नमिल्दा केही अलमल हुनेछ। स्वास्थ्य कमजाेर हुनाले अध्ययनमा साेचेकाे प्रगति नहुन सक्छ। आँटेकाे काम पनि बीचैमा राेकिएला। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। आफन्तसँग वैरभाव बढ्नाले मन खिन्न हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुन सक्छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट थाेरै लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा साेचेकाे प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ। काम बने पनि सानाे त्रुटि सच्याउन निकै मेहनत गर्नुपर्ला। पारिवारिक माहाेल केही कमजाेर बन्ने देखिन्छ। खानपानको साेखले स्वास्थ्य कमजाेर बन्न सक्छ। उपहारकाे माेहले कर्मक्षेत्र प्रभावित बन्न सक्छ। साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्छ। आत्मसम्मानका लागि बाेली–व्यवहारमा सावधान रहनुहाेला। किनमेलमा खर्च हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    खर्च गरीकन साेचेकाे प्रगति नहुन सक्छ। फाइदाकाे अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने साइत जुर्न सक्छ। मनपर्ने वस्तु उपहारका रूपमा प्राप्त हुनेछ। स्वादिष्ट भाेजनकाे आनन्द प्राप्त हुनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नाे रकम अरूका लागि खर्चनुपर्ला। साँझतिर अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। आँटेको काम राेकिन सक्छ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजकाे दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजाेर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।

  • विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

    विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

    ५ मंसिर रौतहट।
    रौतहटमा विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

    माधवनारायण नगरपालिका वडा नम्बर ३ सखुआवामा रहेको ओम एकेडेमीको बसले जयनगरमा शुक्रबार बिहान दुई वर्षीय बालकलाई ठक्कर दिएको हो।

    गरुडा नगरपालिका वडा नम्बर १ जयनगर बस्ने रंजन साहका दुई वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ। बसको ठक्करबाट बालक आदित्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए।

    उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो।इलाका प्रहरी कार्यालय गरुडाले बालकलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको छ।

    घटनापछि बसका चालक फरार रहेकाले पक्राउ गर्नको लागि खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। यस दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

  • एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्छ : महेश बस्नेत

    एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्छ : महेश बस्नेत

    काठमाडौं , मंसिर ५
    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शनिबार काठमाडौँमा पार्टीको कार्यक्रममा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्।

    पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले भोलिको प्रदर्शन हुने विश्वास आजैको र्‍यालीले देखाइसकेको बताएका छन् ।

    उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ,सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौँ।’

    उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी गरे। उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए । एमालेले शनिबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।

  • सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

    सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

    काठमाडौँ, मङ्सिर ५ –
    सङ्घीय राजधानी काठमाडौँ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

    काठमाडौँ महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले सबै सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्न पहल गर्दै आएको बताउनुभयो ।

    “महानगरपालिकाको निर्णयपछि केही सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि बसपार्क भित्रबाटै सञ्चालन हुनुपर्छ,” उहाँले भन्नुभयो । नगर प्रहरी प्रमुख पाण्डेले महानगरले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो । सबै क्षेत्रको साथ र सहयोगले निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    हाल काठमाडौँको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायतका चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् । महानगरपालिकाले गोँगबुस्थित विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरेर लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको छ ।

    महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यातायात व्यवसायीको अटेरीका कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको बताउनुभयो । “हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौँ तर यातायात व्यवसायी अटेर गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

    महानगरपालिकाले सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएर आएसँगै महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद ९सरोज० सिटौलाले राजधानीभित्रको सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताउनुभयो । “यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने ढङ्गले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो । हाल गोँगबुस्थित नयाँबसपार्कबाट दैनिक लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि गुड्छन् । रासस