Blog

  • एनपीएलः सोमबार दुई खेल हुने

    एनपीएलः सोमबार दुई खेल हुने

    काठमाडौँ, मंसिर ७-
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।

    भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

    हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

    मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ । रासस

  • निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

    निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

    गण्डकी, मंसिर ७-
    हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा पोेखराको बाटुलेचौरमा शनिबार सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।

    दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गर्नुुभएको थियो । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिनुुभयो । मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समवन्यमा उपचार गरिने जनाइएको छ ।

    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक सङ्घसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्ने बताउँदै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिनेमा जोड दिनुुभयो ।

    क्लबका अध्यक्ष थापाले समाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको जानकारी दिनुुभयो । अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखालाई सुरक्षित राख्न नियमित परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    बिरामीलाई निःशुल्क औषधि वितरण र सहुलियत दरमा चश्मा वितरण गरिएको शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलामलगायत आसपासका क्षेत्रका बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ । यसअघि क्लबले मुटुसम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ टेस्ट’ लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । रासस

  • व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध आयात

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध आयात

    चितवन, मङ्सिर ७-
    अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो ।

    किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय ९० कायम गरिएको छ ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु ५५ ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उहाँले बताउनुभयो ।

    सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु सात दशमलब ८० मा बिकेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो । कँडेलले भन्नुभयो, “नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो ।” अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलब ५७ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उहाँले बताउनुभयो ।

    नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताउनुभयो । उहाँका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो । तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु पाँच सय ३० पुगेकामा क्रमशः रु चार सयमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

  • चितवनका २० आ‍ैषधि पसलमा अनुगमन, एउटा बन्द गरियो

    चितवनका २० आ‍ैषधि पसलमा अनुगमन, एउटा बन्द गरियो

    चितवन,कात्तिक ६-
    आ‍ैषधि व्यवस्था विभागको वीरगन्ज शाखा कार्यालयले बिहीबार र शुक्रबार चितवनका २० आ‍ैषधि पसलमा निरीक्षण अनुमगन गरेको छ । अस्पतालका ८ र अन्य १२ वटा आ‍ैषधि पसलमा अनुगमन गर्दा एउटामा अनधिकृत व्यक्तिले आ‍ैषधि बिक्री वितरण गरेको हुँदा हाललाई उक्त पसल बन्द गरेको विभागको वीरगन्ज शाखा कार्यालयका प्रमुख शम्भु शाहले बताए । प्रायः आ‍ैषधि पसलहरूमा केही न केही कमजोरी फेला परेका छन् ।

    विभागका निरीक्षक रवि चौधरी थारूले १५ वटा औषधि पसलले लागू तथा मनोद्वीपक आ‍ैषधिको दुरूस्त रेकर्ड नराखेको बताए । त्यसै गरी अस्पताल फार्मेसीले मात्र बेच्न पााउने ६ प्रकारका एन्टिबायोटिक खस्पताल बाहिरका अन्य सातवटा आ‍ैषधि पसलले पनि राखेको चौधरीले जानकारी दिए । दुईवटा आ‍ैषधि पसलमा फार्मेसिष्ट अनुपस्थित थिए ।

    ुप्रायजसो आ‍ैषधि पसलमा आ‍ैषधिजन्य खाद्य पूरक (फुड सब्लिमेन्ट्री) रहेको देखियो । यी खाद्य आ‍ैषधि व्यवस्था विभागमा होइन खाद्य विभागमा दर्ता हुन्छन् । त्यसैले फार्मेसीमा औषधि व्यवस्था विभागमा दर्ता भएका आ‍ैषधि मात्र रहनुपर्छ,निर्देशक रवि चौधरी थारूले भने ।

  • तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्ः ओली

    तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्ः ओली

    काठमाडौं, मंसिर ६-

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेका छन्।

    भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउनु कुनै अधिकार छैन। तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र।’

    उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए। उनले संसद् पुनर्स्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए।

  • नेपाल प्रिमियर लिगः मार्क वाटको शतकमा कर्णालीको सहज जित

    नेपाल प्रिमियर लिगः मार्क वाटको शतकमा कर्णालीको सहज जित

    काठमाडौं,मंसिर ६-
    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा मार्क वाटको शतकको मद्दतमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको हो ।

    लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कर्णालीका लागि वाटले ११४ रनको शतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरे । २९ बलमा अर्धतक पूरा गरेका उनले थप ४१ बलमा शतक पूरा गरेका थिए । कर्णालीका ओपनर प्रियांक पञ्चाल १२ रनमा आउट भए भने विलियम वोसिस्टो २९ रनमा अविजित रहे । लुम्बिनीका लागि एक मात्रै विकेट शेर मल्लले लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । लुम्बिनीले टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै तीन प्रभावशाली विकेट गुमाइसकेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एकरएक विकेट लिए ।

    आजको दोस्रो खेल काठमाण्डू गोर्खाज र विराटनगर किङ्सबीच हुँदैछ ।

  • नारायणगढको शुभम् ईन्टरप्राईजेज छापाखानामा आगलागी, १ करोड बराबरको क्षति

    नारायणगढको शुभम् ईन्टरप्राईजेज छापाखानामा आगलागी, १ करोड बराबरको क्षति

    चितवन, मंसिर ६-
    चितवनको नारायणगढ स्थित शुभम ईन्टरप्राईजेज् (छापाखाना)मा आगलागी भएको छ । गएराती एक बजे विद्युत सट हुँदा छापाखानाका तीन वटा सटरमा आगलागी भएको हो ।

    आगलागीबाट करिव एक करोड बराबरको क्षति पुगेको सञ्चालक अमन देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार आगलागीबाट तीन वटा सटरका सामानमा पुर्ण रुपमा क्षती पुगेको छ ।

    आगलागी भएपछि प्रहरी, भरतपुर महानगरपालिकाको दमकल, खैरहनी नगरपालिकाको दमकल र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविद्र खनालको अनुसार विद्युत सट भएर आगोलागी भएको हो ।

  • ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

    मंसिर ६,ताप्लेजुङ-
    ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो ।

    हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले समेत जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ ।

    हिमपातका कारण सामान्य प्रभाव परेको बताइएको छ । हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको बताइएको छ । रातभर हिउँ परेपछि बिहान पुगेका तीर्थयात्रीले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने मौकासमेत पाएका छन् । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

  • मौलाकाली केवलकार आजदेखि पुनः संचालनमा आयो

    मौलाकाली केवलकार आजदेखि पुनः संचालनमा आयो

    चितवन, मंसिर ६–
    नवलपुरको गैंडाकोटमा अवस्थित मौलाकाली केवलकार आज (शनिबार)देखि पुनः संचालनमा आएको छ । गत भाद्र २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा २ महिनाभन्दा लामो समयपछि पुनः सुचारु गरिएको हो ।

    भाद्र २४ गते जेनजीको प्रदर्शनको क्रममा तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केवलकारको सेवा बन्द थियो । केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आई केवलकार पुननिर्माण गरेका हुन् । पुननिर्माण पछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टीमले लामो समय चेकजाँच गरेपछि केवलकार संचालनमा ल्याईएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए । “केवलकार संचालनमा आएर करीब एक हप्तासम्म विभिन्न सुक्ष्म परीक्षणहरु गरी सम्पूर्ण रुपमा ठीक भएको पाइएपछि बल्ल हामीले आम सर्वसाधारणका लागि खुल्ला गरेका हौं”–पौडेलले भने, “सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले केवलकार चल्न थालेको एक हप्तासम्म धेरै सुरक्षा जाँचहरु गरेर बल्ल संचालनमा ल्याएका छौं” ।

    स्टेशन म्यानेजर पौडेलका अनुसार अब केवलकार पूर्ववत तालिका अनुसार बिहान ६ बजेदेखि राती १० बजेसम्म संचालन हुनेछ । केवलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो । होटलको सेवा यथावत नै भए पनि केवलकार नै नचलेपछि सेवाग्राही ग्राहकहरु नै कम आउने गरेका थिए । अब केवलकार संचालनमा आएपछि होटलका सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिन सकिने इला रिसोर्ट तथा मौलाकाली केवलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताए । “यो अवधिमा पनि होटल त खुल्ला नै थियो तर पनि केवलकार नै नभएपछि सेवाग्राहीहरू निकै नै कम आउनुहुन्थ्यो” केसीले भने । अब भने केवलकार पुनः संचालनमा आएसंगै होटलमा पनि धेरै सेवाग्राही आउने र आफूहरुले अझै गुणस्तरीय सेवा प्रदान गर्ने केसीको भनाई छ ।

    केवलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको पाइएको छ । केवलकार संचालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा पछिल्लो समय केवलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल नै निकै कम देखिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । “मन्दिरमा धेरै भक्तजनहरु आउने दशैं तिहारको बेलामा पनि यसपालि भक्तजन धेरै आएनन् । अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा भेटी पनि निकै कम चढ्यो”–सापकोटाले भने ।

    २०८० साल वैशाखदेखि संचालनमा आएको मौलाकाली केवलकारबाट करीब ६ लाख सेवाग्राहीले सेवा लिईसकेका केवलकारको तथ्यांक छ । केवलकार संचालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै आर्थिक रुपमा समेत यसले मौलाकालिका मन्दिर, सामाजिक संघसंस्था तथा विभिन्न सरकारी निकायमा उल्लेख्य योगदान गरेको छ ।

  • शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो

    शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो

    नवलपुर (नवलपरासी), मङ्सिर ६ –
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेका छ । विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले जलीय जैविक विविधताको प्रव्रद्धन, खाद्य तथा पोषण सुरक्षाको संवद्र्धन भन्ने नारासहित माछाका भुरा छोडिएको जानकारी दिनुभयो । प्राकृतिक हिसाबले स्थानीय प्रजातिका माछाका भुरा यहाँको वातावरणमा बढ्न र हुर्कन मद्दत पुग्ने भएकाले राहु, नैनी र कमन प्रजातिका माछाका भुरा छोडिएको कुमालको भनाइ छ । यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले पर्यटनसँगै संरक्षणलाई जोड दिने आफूहरुको प्रयास रहेको डा कुमालले बताउनुभयो ।

    मत्स्यविकास केन्द्र भण्डारा चितवनमा हुर्काइएको माछाका भुरा ल्याएर प्राकृतिक तालमा छोडिएको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा नारायणी नदीमा माछाका भुरा छोड्ने गरिएको भए पनि यसपटक तालमा छोड्नुको मुख्य उद्देश्य भनेको संरक्षण र पर्यटनलाई जोड्नु नै भएको उहाँले बताउनुभयो । “संरक्षणसँगै पर्यटकीय गतिविधिलाई अगाडि बढाउँदा दिगो हुन्छ”, उहाँले भन्नुभयो, “यो ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेकाले हामीले संरक्षणमा जोड दिएका हौँ ।”

    नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यकपर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको उहाँले बताउनुभयो ।

    किसानले भने नेपालका सबै ठाउँमा सबै सिजनमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् । नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले माछापालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताउनुभयो ।

    सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेसिन, माछालाई चाहिने अक्सिजन, पोखरी खन्न अनुदान दिँदै आएको भए पनि पर्याप्त नभएको किसानको भनाइ छ । रासस