Blog

  • मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप

    मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप

    बागमती, मङ्सिर ७-
    मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौँडाका अनुसार गत शुक्रबारसम्म जिल्लामा १४ हजार ६०३ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन् ।

    जिल्लामा बायोमेट्रिक विधिबाट छ हजार ९७० र राष्ट्रिय परिचयपत्रका आधारमा सात हजार ६३३ गरी १४ हजार ६०३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि जिल्लाको मतदाता सङ्ख्या तीन लाख दुई हजार २४३ थियो ।

    सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउनसक्ने व्यवस्था छ ।

    उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेनजी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । रासस

  • हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

    हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

    काठमाडौँ, मङ्सिरः७ –
    सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ ।

    दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्तर्गत खोप लगाइएको छ ।

    बारा र पर्सामा असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । शाखा प्रमुख डा गौतमले ति दुई जिल्लामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताउनुभयो ।

    “अहिलेसम्म हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशतलाई लगाइने गरिएको थियो”, उहाँले भन्नुभयो, “घरघर गएर खोप लगाएइकाले ९० प्रतिशत खोप कभरेज रह्यो ।” उहाँले लगाउन छुटेका १० प्रतिशतलाई नियमित खोप कार्यक्रमअन्तर्गत खोप लगाइएको जानकारी दिनुभयो । गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका छ र पर्साका १४ स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।रासस

  • पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

    पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

    ललितपुर, मङ्सिर ७-
    धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी कोन्ज्योसोम डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९र८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि अलपत्र भएको हो ।

    सङ्घीय मन्त्रालयले कोन्ज्योसोम गाउँपालिकामा बजेट पठाएर मन्दिर पुनःनिर्माण सुरु गरेको थियो । उक्त बजेट सकिएपछि मन्दिर पुनःनिर्माण अलपत्र बनेको छ । अर्को वर्ष बजेट नआएकाले तीन वर्षदेखि मन्दिर अलपत्र बनेको हो । यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलमध्ये बालेश्वरी मन्दिर पनि एक पर्दछ । नख्खु खोलाको मुहानमा पर्ने यो मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सरोकार भएका कुनै पनि निकायले ध्यान नदिएका स्थानीयको गुनासो छ ।

    गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले पालिकाका तर्फबाट दुई पटक गरी रु नौ लाख बजेट छुट्याइए पनि उपभोक्ता समितिबाट काम हुन नसकेको बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर जीर्ण भएको थियो । मन्दिर पुरानै स्वरुपमा बनाउनुपर्नेमा मापदण्ड नमिलेर रोकिएको उहाँको भनाइ छ ।

    कोन्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष विजय लामाले समितिले मन्त्रालयमार्फत् विनियोजन गरेको रकमबाट किनेको काठ अलपत्र भएको बताउनुभयो । उहाँका अनुसार पुरातात्विक महत्वको यो मन्दिर नबन्दा यहाँ भएका ऐतिहासिक एवं धार्मिक महत्वका सामग्री पनि नष्ट हुन थालेका छन् ।

    यहाँको बाघको पञ्जा भएको ढुङ्गा संरक्षणस्थलको अभावमा फुटेको स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभयोे । उहाँका अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरमा प्रत्येक वर्ष पुस मसान्तमा बत्ती बाल्नेको घुइँचो लाग्दछ भने माघ १ गते यहाँ मेला लाग्ने गरेको छ ।

    समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा अवस्थित फूलबारी डाँडाको फेदीमा रहेको यो मन्दिरमा पुग्ने सबै आन्तरिक एवं बाह्य पर्यटक अलपत्र संरचनाका कारण पुग्न समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो । माथिको डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले आन्तरिक एवं बाह्य पर्यटकको यस क्षेत्रमा घुइँचो हुन थालेको हो ।

    कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्दछ । नगरकोटबाट भन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा पनि छ ।

    फूलबारीडाँडामा पनि केही वर्षअघि बौद्ध दर्शन अनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्रस्थलका रुपमा यो ठाउँ स्थापित भएको छ । प्राचीनकालदेखि यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए । भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी प¥यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

    प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोन्ज्योसोममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीयवासी पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरू जुटेका हुन् ।

    सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुगिन्छ । बालेश्वरी मन्दिर, फूलबारीडाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरवास होमस्टे खुलेका छन् । त्यसमध्येको १२७ वर्ष पुरानो एक पुरातात्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ ।

    यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पूर्खाले बनाएको यो घर अहिले पनि उही स्वरुपमा छ । विसं १९९०, २०४५ र २०७२ सालको तीन, तीन वटा भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ । यही घरमा उहाँलगायत सात जनाको समूहले होमस्टे चलाउनुभएको हो । यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ ।

    कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवर्द्धनमा लागिपर्नुभएको छ । उहाँलगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गर्नुभएको हो । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरुपमा यसलाई सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    सिङ्तान नेतृत्वको धार्मिक पर्यटन विकास समितिले गाउँपालिकासँग सम्झौता गरी फूलबारीडाँडामा निर्माण भएको त्रिदेव प्रतिमा र गुप्तेश्वर महादेव मन्दिर क्षेत्रको रेखदेख एवं सञ्चालन गर्ने भएको छ । गुप्तेश्वर सामुदायिक वन रहेको यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यहाँ पुग्ने सडक पूर्वाधारलाई सुधार गरिनुपर्ने स्थानीयवासीको माग छ । राजधानीबाट करिब डेढ घण्टामा पुग्न सकिने यस स्थानमा सडक सुधार गर्न सके धेरैले सप्ताहान्तको छुट्टी मनाउने स्थलका रुपमा विकास गर्न सकिन्छ ।

    रातोघर र पहेँलोघर नामबाट अरु दुई होमस्टे पनि यहाँ सञ्चालनमा छन् । शुक्रबार यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यी होमस्टेले मात्र नधान्ने भएपछि खाली रहेका २०–२५ वटा पुराना घरमा सामुदायिक होमस्टे सञ्चालनका लागि यहाँका स्थानीयवासीले तयारी गरेका स्थानीय ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो ।

    राजधानीको धुँवा, धुलोमा दिक्क भएकालाई यहाँको पदमार्गले आकर्षण गर्ने गरेको छ । गोदावरीबाट फूलचोकी हुँदै कोन्ज्योसोमसम्म पदमार्ग रहेको छ । यो मार्ग पुरानो हो । पछिल्लो समय फूलचोकी जङ्गलमा वृद्धि भएको चितुवालगायत वन्यजन्तुका कारण यो मार्गको कम प्रयोग भए पनि १५ देखि २० जनासम्म पदयात्रीका लागि भने उपयुक्त हुने स्थानीय मोक्तानले बताउनुभयो ।

    कोन्ज्योसोम डाँडाबाट काभ्रेपलान्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म अर्को पदमार्ग पर्दछ । कोन्ज्योसोम डाँडाबाट महाङ्काल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको उहाँले सुनाउनुभयो । काठमाडौँ उपत्यकामा राजधानीबाट नजिक रहेको यो ठाउँको प्रचारप्रसार नभएकैले अहिलेसम्म ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

    कोरोनाअघिसम्म कोन्ज्योसोम क्षेत्रको पर्यटकीय आकर्षणका बारेमा चर्चासम्म पनि हुन्थेन । कोरोनाका समयमा गाउँपालिकाले स्थानीयवासीलाई रोजगारी दिने गरी भारदेउबाट फूलबारी डाँडासम्मको सडक खनेपछि यसको महत्व जनसमक्ष आएको हो । फूलबारीडाँडा अहिले धेरै युवायुवतीको पनि घुमफिर गर्ने आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

    कोन्ज्योसोमबाट बिहान ७ बजे लगनखेल जाने सार्वजनिक यातायातको व्यवस्था छ । चापागाउँबाट प्रत्येक दिनको दिउँसो ३ः०० बजे कोन्ज्योसोमका लागि सार्वजनिक यातायात छुट्ने गरेको छ । अरु यातायातको सुविधा नहुँदा भने यहाँ जान समस्या हुने गरेको छ । यहाँ जाने सडक विभिन्न स्थानमा कच्ची भएकाले यात्रुलाई केही असहज हुने गरेको छ । सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको जनाइएको छ । वाग्मती प्रदेश सरकारले यहाँको सडक कालोपत्र गर्न बोलपत्र गरेको हो ।

    फूलबारी डाँडाको त्रिदेव प्रतिमास्थल र गुप्तेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शनका लागि पनि दैनिक सयौँ ललितपुर बाहिरका पर्यटक आउने गरेका छन् । यहाँको गुप्तेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षको साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशीलगायत पर्वमा मेला लाग्ने गरेको छ ।

    यसैगरी त्रिदेव बुद्ध प्रतिमास्थलमा सोनाम ल्होसार, वैशाख १ गते नयाँ वर्ष र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर, माछापुच्छ्रे, मनास्लु, धवलागिरि, गणेश, लामाटाङ, जुगललगायत दर्जन बढी हिमाल देखिन्छ । शुक्रबार बेलुकी गएर भारदेउका होमस्टेमा बसेका आन्तरिक एवं बाह्य पर्यटक शनिबार भने बिहान ७ बजे नै फूलबारीडाँडामा हिमाल हेर्न जाने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार र शनिबार यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो हुने गरेको छ । पर्यटक अनुसार यहाँ होमस्टेलगायत पूर्वाधार भने छैन । रासस

  • म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

    म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

    गलकोट (बागलुङ),मङ्सिरः ७ –
    थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदैछ ।

    सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुतगतिमा काम अघि बढाएको छ । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेको र कामको प्रगति नभए कारबाहीमा लैजाने भनेपछि कामले गति लिएको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि तीन वर्षमा ६५ प्रतिशत प्रगति भएको र कालोपत्र सकिएमा एकैपटक धेरै प्रगति देखिने आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो ।

    गौतमले बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौताअगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकको भने थपिएको म्याद सकिनै लाग्दा बल्ल कामले तीव्रता पाएको छ ।

    “सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मङ्सिर मसान्तमा सम्झौता सकिन्छ, हामीले काममा नआए कारबाही हुन्छ भनेका थियौँ, अहिले स्थलगतरुपमा काम धेरै नै भइरहेको छ, बलेवा क्षेत्रबाट कालोपत्रको तयारी भइरहँदा मालढुङ्गा क्षेत्रबाट ढलान भइरहेको छ”, गौतमले भन्नुभयो, “मङ्सिर मसान्तसम्म कामको प्रगति हेरेर मात्रै म्याद थपको प्रक्रिया अघि बढ्छ ।”

    गौतमका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा दुई वर्षमा आधासमेत काम भएको थिएन । पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रका लागि समय नलाग्ने निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिनुभयो ।

    अहिले ठूला उपकरण परिचालन गरेर कालोपत्रका लागि तयारी भइरहेको जनाउँदै कामले तीव्रता पाएको बताउनुभयो । सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भए पनि सडक कालोपत्रमा भने ढिलाइ नै भएको छ । विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भुक्तानी समस्या तथा कच्चा सामग्रीको अभाव देखाउँदै काममा ढिलाइ भएको जनाएको छ ।रासस

  • आफैँले चलाएको गाडी भिरबाट खसेपछि ज्यान गुमाएका थिए समाजसेवी न्यौपानेले,देवघाटमा गरियो अन्त्येष्टि

    आफैँले चलाएको गाडी भिरबाट खसेपछि ज्यान गुमाएका थिए समाजसेवी न्यौपानेले,देवघाटमा गरियो अन्त्येष्टि

    चितवन, मङ्सिर ७ –
    दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उहाँको निधन भएको थियो ।

    कङ्काली सामुदायिक वनका पूर्वअध्यक्ष एवं संरक्षण क्षेत्रमा क्रियाशील न्यौपाने आफैँले चलाउनुभएको बोलेरो सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घाइते न्यौपानेको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । ६२ वर्षीय न्यौपाने खैरहनी नगरपालिका–४ निवासी हुनुहुन्थ्यो । न्यौपानेको आज तीर्थस्थल देवघाटमा हिन्दू परम्पराअनुसार दाहासंस्कार गरिएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

    नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहनुभएको न्यौपाने यसअघि प्रदेशसभा सदस्यमा वागी उम्मेद्वार हुनुहुन्थ्यो । उहाँ रोटरी, रेड्क्रससँगै विभिन्न सामाजिक सङ्घ संस्थामा क्रियाशील हुनुहुन्थ्यो । खैरहनी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ । रासस

  • क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

    क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

    ७ मंसिर,काभ्रेपलाञ्चोक।
    पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

    गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो।

    क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो।

    ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ। अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ। “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने।

    उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ। डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनःनिर्माणका लागि खानी-एवन-कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ।

    यस्तै, चारसयबेंसीदेखि भकुन्डेबेंसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनःनिर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो। नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुंगा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ। यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए।

    उनका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ।

    कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए। उनले भने, “निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनःनिर्माण थालिएको हो।”

    क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३-०५४ बाट बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियाे।

    उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ।

  • हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

    हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

    सिमकोट, (हुम्ला) मङ्सिरः७ –
    जिल्ला सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उहाँकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आउनुभएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् ।

    आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उहाँहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । उहाँका अनुसार आक्रमणबाट लक्ष्य र उहाँकी श्रीमतीको टाउकामा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।

    घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पु¥याइएको जनाउँदै प्रनाउ पोखरेलले अहिले घाइतेको उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार लक्ष्य र बाँचुको अवस्था गम्भीर छ भने रजनीको अवस्था खतरामुक्त छ ।

    स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएका छन् । सदरमुकाम सिमकोटमा भने भालुले आक्रमण गरेको यो पहिलो घटना हो । घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन् ।

    भालुको गाउँमा प्रवेश गर्नेक्रम बढिरहेकाले स्थानीयलाई सतर्क भएर दैनिक कामकाज गर्न प्रहरी प्रमुख पोखरेलले आग्रह गर्नुभयो । आगामी दिनमा वन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जङ्गली जनावर नियन्त्रण तथा सुरक्षाका उपाय अपनाइने उहाँले बताउनुभयो ।रासस

  • एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

    एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

    विराटनगर,मंसिर ७-
    नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आज हुने युवा संघको कार्यक्रमका लागि सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो । बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई जेन–जी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् ।

    उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् । गौतमले बताएअनुसार जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्यायको पक्षमा भन्दा जेन–जी आन्दोलनको विरुद्धमा एमाले सक्रिए भएका कारण सांकेतिक विरोधका लागि रातो मसी छ्यापिएको हो । ‘हामीले उहाँको कार्यक्रमलाई रोक्न खोजेको होइन, सांकेतिक विरोधका लागि सचेत गराएका हौँ, तर हामीलाई धरपकड गर्‍यो’, गौतमले भने ।

     

  • रेखा खोलामा शव फेला, दुई जना पक्राउ

    रेखा खोलामा शव फेला, दुई जना पक्राउ

    सुरुङ्गा (झापा), मङ्सिर ७ –
    बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ ।

    अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले बताउनुभयो ।

    घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, मङ्सिर ७ –
    बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु तीन हजार १०० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस