Blog

  • छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं मङ्सिर ८
    काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

    कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

    काठमाडौं । आज २०८२ साल मंसिर ८ गते सोमबार। तदनुसार सन् २०२५ नोभेम्बर २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ त हेरौं ।

    मेष : दिन सामान्य छ । राज्यको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    वृष : तपाईंका लागि आजको दिन सामान्य छ । कार्यक्षेत्रमा थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । कृषि क्षेत्रमा नाफा हुने योग छ ।

    मिथुन : दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । परोपकार गर्दा मन शान्त हुनेछ । राम्रो कामको प्रशंसा हुनेछ । स्वदेशमा विकल्प देखेर मन खुशी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    कर्कट : राम्रो छ । खर्च कम गर्नु राम्रो हुनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ काम गर्न शरीरमा ऊर्जा थपिनेछ । शिक्षाको क्षेत्रमा झुकाव रहनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

    सिंह : दिन राम्रो छ । बौद्धिक साथीले साथ दिनेछन् । दीर्घकालीन योजनाको तय गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा भन्दा शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्नाले धोका हुने जोखिम रहेको छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

    कन्या : दिन राम्रो छ । व्यवहार गर्न नजानेमा सञ्चित धन खर्च हुनेछ । ठुला योजनाको सुरुवात गरेमा प्रगति हुनेछ । दाजुभाइ र बन्धुले साथ दिनेछन् । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । राज्यको लाभको पद प्राप्त हुने योग छ ।

    तुला : दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । राम्रो कमाइ भए पनि इज्जतमा भने प्रश्न उठ्ने खतरा देखिन्छ । कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ ।

    वृश्चिक : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ । धन जम्मा गर्नेक्रममा इज्जतको ख्याल गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारमा भने समस्या हुने जोखिम रहेको छ ।

    धनु : दिन राम्रो छ । तपाईंको गला र कलाको प्रशंसा हुनेछ । साथीभाइको साथमा सुरुवात गरेको काम सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ ।

    मकर : तपाईंका लागि दिन सामान्य छ । अचानक धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

    कुम्भ : सानो कुराले झन्झट आइपर्नसक्छ । हरेक काममा जोखिम बढ्नेछ । शुभग्रहको बहुमत भएकाले तपाईंले गरेका प्रयास सफल हुनेछन् । परिवारले राम्रो साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मीन : साढेसाती दशा चल्दैछ । साना कुराले मन अशान्त बन्नसक्छ । बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ । औषधी नियमित नगरेमा रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

  • सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छः अध्यक्ष साम्पाङ

    सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छः अध्यक्ष साम्पाङ

    टक्सार (भोजपुर), ७ मङ्सिरः 
    श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

    स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राख्नुभयो । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    “युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छाँै भन्ने बुझन आवश्यक छ”, अध्यक्ष साम्पाङले भन्नुभयो ।

    युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताउनुभयो ।

  • सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ

    सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, ७ मङ्सिरः
    नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत भदौ २४ गते जेनी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

  • विद्यार्थीको रगत परीक्षण र खाद्यन्न सहयोग

    विद्यार्थीको रगत परीक्षण र खाद्यन्न सहयोग

    चितवन, ७ मङ्सिरः
    कालिका नगरपालिका ९ शक्तिखोरस्थित चतुर्मुखी माध्यामिक विद्यालयका विद्यार्थीहरुको नि:शुल्क रगत परीक्षण गरिएको छ ।

    यात्रा ग्रुप र ग्रीनल्याण्ड पब्लिक स्कुलको इको क्लबको आयोजना तथा सिआरएलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको नि:शुल्क रगत परीक्षण गरिएको हो ।

    विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका दुई सय जना विद्यार्थीको रगत परीक्षण गरिएको यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रगत परीक्षण कार्यक्रम आयोजना गरिएको कार्कीको भनाइ थियो ।

    यस्तै सोही दिन सिद्धी छात्रावासलाई खाद्यन्न सहयोग पनि गरिएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य ईन्दिरा पन्त र ग्रीनल्याण्ड इको क्लबका विद्यार्थीहरुले खाजा खर्च कटौती गरेर छात्रावासलाई १० बोरा चामल गरेका हुन् । यस अघि स्कुलले सोही छात्राबासका एक विद्यार्थीलाई आवासिय सुविधासहित ११ र १२ नि:शुल्क रुपमा पढाईरहेको छ ।

  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, ७ मङ्सिरः
    सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

    प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

     

  • नारायणी किनारको आधारभूत विद्यालयका विद्यार्थीले पाए टाई बेल्ट

    नारायणी किनारको आधारभूत विद्यालयका विद्यार्थीले पाए टाई बेल्ट

    चितवन, ७ मङ्सिरः –
    भरतपुर महानगरपालिका १ नारायणी नदी किनारस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

    चितवन जिल्ला खेलकुद बिकास समिति र रेड रक्स ईभेन्ट्सले आज विद्यालयलाई टाई र बेल्टलगायत ३० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको हो । उक्त सामग्री समितिका अध्यक्ष राजन कार्की र ईभेन्ट्सका प्रवन्ध निर्देशक बिकल क्षेत्रीले विद्यालयकी प्राचार्य शान्ता अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम पियामार्फत विद्यार्थीहरुलाई हस्तान्तरण गरे ।

    सो क्रममा बोल्दै समितिका अध्यक्ष कार्कीले हालै सम्पन्न खेलकुद तथा वृहत व्यापारिक महोत्सवको तर्फबाट विद्यालयलाई सहयोग गरिएको बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले टाई र बेल्ट लगाउने ईच्छा व्यक्त गरेकोले सहयोग गरिएको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    विद्यालयकी प्राचार्य अधिकारीले निम्न वर्गका बालबालिकाहरु विद्यालयमा अध्ययनरत रहेको जानकारी दिईन् । विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका लागि बिभिन्न संघ संस्थाहरुसँग सहयोग माग्नुपर्ने अवस्था रहेको उनले सुनाईन् । उनले विद्यार्थीहरुको ईच्छा अनुसार टाई, बेल्टलगायतका शैक्षिक सामग्रीहरु सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । यस्तै उनले विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा आवश्यक रहेको पनि बताईन् । सहयोग हस्तान्तरण कार्यक्रमका समितिका सदस्य, रेड रक्स ईभेन्ट्सका प्रतिनिधि तथा विद्यालयका शिक्षकहरुलगात सहभागी थिए ।

  • एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    काठमाडौँ, ७ मङ्सिरः 
    नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बल्खुबाट पक्राउ गरिएको हो ।

    निजहरूका साथमा फेला परेका १५ थान मोबाइलको प्रविधियुक्त अनुसन्धान गरी मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

  • वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

    वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

    – हिरालाल आचार्य ‘डायमण्ड’

    चितवन, मंसिर ६ –
    वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका पूर्व विद्यार्थी (व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका) ले हाम्रो घरका बालबालिकालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।

    व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीहरुले आफ्नो समूह बनाएर भरतपुर महानगरपालिका ३ मा रहेको हाम्रो घर नामक बाल संरक्षण तथा पुनःस्थापना केन्द्रमा सहयोग गरेका हुन् । ५५ जना विद्यार्थीले आर्थिक सहयोग गरेका थिए भने हस्तान्तरण गर्नका लागि एक दर्जनभन्दा बढी विद्यार्थीहरु हाम्रो घर पुगेका थिए ।

    पूर्व विद्यार्थी समुहका एक अगुवा सपन न्यापानेका अनुसार हिजो शनिबार विद्यार्थी समुहले न्यानो कपडा (तलमाथि लगाउने ट्रयाक सेट), खाद्यान्नहरुमा बिस्कुट, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका हुन् । हाम्रो घरमा रहेका सबै २४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

    न्यापानेले समाजप्रतिको जिम्मेवारी वहन गर्दै भविष्यमा पनि यस्ता सहयोगमुलक कार्यहरु निरन्तर गर्ने बताए । उनी भन्छन्, ‘सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यका साथ यो पहल गरेका हौं ।’

    हाम्रो घर संस्थाका गंगा सिग्देलले पूर्व विद्यार्थीहरुले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै बालबालिकाको हेरचाह र संरक्षणका लागि यस्ता सहयोगहरुले थप ऊर्जा मिलिरहने बताइन् ।

    बिछोडिएका साथीहरु पुनः एकाकार भई यस किसिमका सामाजिक गतिविधि गर्नु निकै प्रसंशनीय कार्य हो । यस कार्यको अहिले क्याम्पसमा चर्चा भइरहेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीले क्याम्पसका युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउन तथा समुदायमा सकारात्मक सन्देश फैलाउनका लागि एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

       

  • चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

    चितवन, मंसिर ७–
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो ।

    एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइदैछ । यही खण्डमा पर्ने टिकौली जंगल खण्डमा नेपालकै पहिलो आकर्षक फ्लाइओभर समेत बन्ने भएको छ । बरण्डाभार क्षेत्रमा पर्ने सडक खण्डमा फ्लाइओभर बनाउन लागिएको हो । आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको जानकारी दिए । दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

    ‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ ढकालले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ जुन पुलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकले फोटो र भिडियो खिच्न पाउने उनले सुनाए ।

    फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन् । ‘फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ‘वन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् ।’

    आयोजनाले नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा रहेको र निर्माणका लागि तयार पारिएको डिजाइन पनि स्वीकृत हुने चरणमा रहेको ढकालले जानकारी दिए । जसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए ।