Blog

  • नसर्ने रोगले आँखाको समस्या बढाउँदैः एक अध्ययन

    नसर्ने रोगले आँखाको समस्या बढाउँदैः एक अध्ययन

    काठमाडौँ, ८ मङ्सिरः
    एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

    अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या रहेकामा उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७.३ प्रतिशतमा ‘डायबेटिक रेटिनोप्याथी’ पाइएको छ । रेटिनोप्याथी भन्नाले आँखाको रेटिनामा देखिने समस्या हो जसले अन्धोपना पनि निम्त्याउन सक्छ ।

    अध्ययनले सन् २०२२ देखि २०२४ सम्म काठमाडौँ जिल्लामा ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा देखिने आँखाका रोगहरू, जोखिम कारकहरू, सेवासुविधामा रहेको पहुँच, जनचेतना तथा आँखादानप्रति जनमानसको धारणा जस्ता विषयहरूमा महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको हो ।

    ‘एन एपेडिमियोलोजिकल स्टडी अफ ओकुलर डिजिज इन काठमाडौँ डिस्ट्रिक्ट अफ नेपालः काठमाडौँ आइ स्टडी’ नामक अध्ययनमा चार हजार ९९० जना सहभागी थिए । सहभागीहरूमध्ये ९७.७ प्रतिशत कुनै न कुनै प्रकारको आँखा रोगबाट पीडित रहेको पाइएको थियो । अध्ययनले मोतियाविन्दु र दृष्टि दोष दृष्टिविहीनता र अन्धोपनका प्रमुख कारणहरू रहेको देखाएको छ जसमा ४१.७ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण थियो र लगभग ८० प्रतिशत दृष्टिविहीनता दृष्टिदोषका कारण थियो ।

    अध्ययनले आँखा दानबारे जानकारी भए तापनि दानमा रुचि कम भएको देखाएको छ । २५२ उत्तरदातामध्ये ५६ प्रतिशत आँखा दानबारे सचेत देखिएका छन्भने ४५ (१७.९ प्रतिशत) उत्तरदाताहरूले मात्र आँखा दानमा रुचि देखाएका छन् । सहभागीहरूको चार हजार ४६७ अर्थात् ९१ प्रतिशतले आँखा स्वास्थ्य परामर्श लिएका थिए जसमध्ये अधिकांश तीन हजार २१४ (७१.१९ प्रतिशत) आँखा अस्पताल गएका थिए । परामर्श नलिनेहरूमध्ये धेरैले आवश्यकता महसुस नहुनु, समयको अभाव, वैकल्पिक औषधिमा निर्भरता, साथीको अनुपस्थिति र सहभागीहरूको आर्थिक बाध्यताहरू रहेको बताएका थिए ।

    स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले यो अध्ययनले आँखा स्वास्थ्यमा अझै पनि सचेतना पुग्न नसकेको बताउनुभयो । उहाँले यो अध्ययन आँखा स्वास्थ्य सेवाका लागि नीति तथा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ केन्द्रित महत्वपूर्ण आँखा अध्ययन सार्वजनिक भएको छ । अध्ययनले प्रारम्भिक जाँचले कतिपय आँखाको समस्याहरु हल भएर जाने हुनाले जनचेतनाको आवश्यकता रहेको देखाएको छ ।”

    तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत तथा अध्ययनकी प्रमुख अनसुन्धानकर्ता डा रीता गुरुङले काठमाडौंमा आँखा स्वास्थ्यलाई सुदृढ गर्न व्यापक स्वास्थ्य प्रणालीभित्र आँखा हेरचाहलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नसर्ने रोगको जोखिमजस्तै मोटोपना, उच्च रक्तचाप, मधुमेहलाई सम्बोधन गर्न ध्यान दिनुपर्ने धारणा राख्दै  प्रमुख आँखा रोगहरूबारे जागरूकता बढाउन, प्रारम्भिक हेरचाह खोज्न प्रोत्साहन गर्न, र आँखा दानप्रतिको बुझाइ र इच्छा सुधार गर्न सामुदायिक संलग्नता बढाउनुपर्ने बताउनुभयो ।

  • पूर्वी चितवनमा मानव बेचबिखन विरुद्धको जनचेतनामुलक कार्यक्रम

    पूर्वी चितवनमा मानव बेचबिखन विरुद्धको जनचेतनामुलक कार्यक्रम

    राप्ती,मंसिर ८-
    पुर्वी चितवनको राप्तिमा मानव बेचबिखन विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

    राप्ती-१,लोथरस्थित थ्री एन्जल नेपाल, पूर्वी चितवनको आयोजना रहेको सो कार्यक्रममा अस्थायी प्रहरी चेक पोष्ट राप्तिका प्रमुख गोपि बहादुर ब्लोन प्रमुख अतिथिको रुपमा रहेका थिए।

    त्यस्तै,लोथर टोल बिकास संस्थाको अध्यक्ष होम बहादुर रुम्बा ,समाजसेवी डम्बर बहादुर ढुंगाना,ट्राफिक प्रहरी बलराम थापा मगर लगायत अतिथिको रुपमा रहेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोल्नले भने,” मानव बेचबिखन ओसार पोसार न्यूनीकरण गर्न राज्य मात्रै नभएर तीन वटा तह नै गम्भीर रुपमा लाग्नुपर्छ। यस्ता जघन्य अपराध दिनानुदिन मौलाउँदै जानुमा लैंगिक हिंसा पनि प्रमुख कारण हो।जनस्तर बाट नै बेलैमा सजगता नअपनाए यसले समाजमा ठुलो असर पर्ने देखिन्छ।”

    राप्ती नगरपालिकाका महिला,यातायात व्यवसायी र होटल व्यवसायीका प्रतिनिधिहरु सहभागी रहेको सो कार्यक्रममा प्रहरी ब्लोनले मानव बेचबिखन तथा ओसार-पोसारले निम्त्याउने जोखिम, रोकथामका उपाय तथा कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए।

    त्यस्तै, कार्यक्रमका सहभागीहरुले समाजमा देखा पर्ने कुनै पनि आपराधिक गतिबिधी बारे समाजलाई सजग बनाउँदै सोको न्यूनीकरणका लागि प्रहरी सङ्ग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरे।

    परेवाश्वरी सामुदायिक वनका उपाध्यक्ष प्रेम बहादुर खुलालको सभाध्यक्षता रहेको सो कार्यक्रम थ्री एन्जल नेपाल पूर्वी चितवनकी संयोजक सुनिता सिल्वालले संचालन गर्नुभएको थियो।

  • एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    काठमाडौँ, ८ मङ्सिरः 
    कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज  कर्णाली याक्सविरुद्ध जीत निकालेको छ ।
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव  दुई ओभरमा ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ चार विकेट लिए ।
    कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झाले १३ रन बताए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
    सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए भने हर्मित सिंह र अभिनास बोहराले समान दुई÷दुर्य विकेट लिए ।
    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेखले २७ रन जोडे ।
    कर्णालीका लागि कप्तान कामीले तीन विकेट लिँदा ३, नन्दन यादवले दुई विकेट लिएका थिए ।
    –––
  • सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, ८ मङ्सिरः 
    जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन ।

    अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उहाँले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताउनुभयो । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो ।

    परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ । त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत÷व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।

    आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । त्यसमध्ये सात जनाको अझैसम्म पहिचान छैन । सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ ।

    “चुच्चेपाटीको भाटभटेनीमा सात वटा कङ्काल फेला परेका हुन्, जसले आशङ्का गर्नुभएको छ, फेला परेको शव पूर्णरुपले जलेकाले डिएनएनको नमुना पाउन सकिएन”, उहाँले भन्नुभयो, “पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छाँै, सो शवको पहिचान नभएसम्म त्यसको यकीन गर्ने आधार देखिएन ।”

    यसबीचमा विभिन्न कसुरमा १५४ वटा दर्ता भएको, २६७ जनालाई पक्राउ गरिएको, ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेको, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

  • प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

    प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

    चरिकोट, ८ मङ्सिरः 
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन यहाँका कार्यालय प्रमुखलार्ई निर्देशन दिनुभएको छ ।

    जिल्ला समन्वय समितिको सभा हलमा आज भएको कार्यक्रममा उहाँले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

    मन्त्री खरेलले भन्नुभयो, “चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ । आवश्यक स्रोतसाधनदेखि जनशक्ति जुटाउने काम भइरहेका छन् । त्यसैले भ्रम र कसैको दबाब एवं प्रभावमा नपरी मतदान केन्द्रमा गइ मत दिन वातावरण बनाउन लाग्नुस् । यसमा सबैको सहयोग आवश्यक छ ।”

    उहाँले फागुन २१ गते चुनाव होला र ! भनेर कुनै संका नगर्न कर्मचारी, राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालयहरूलाई आग्रह गर्नुभयो । मन्त्री खरेलले जनताले कुनै गुनासो नगर्ने गरी नियमित सेवा प्रवाहमा समेत ध्यान दिन सबै कार्यालय प्रमुखलाई आग्रह गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मतदान हुने स्थलको अनुगमन गरी अवस्था बुझ्ने काम निरन्तर भइरहेको बताउनुभयो । उहाँले जिल्लामा हाल  एक लाख ६३ हजार १३३ जना मतदाता रहेका र विगतमा ९४ वटा मतदान केन्द्र रहेका जानकारी गराउनुभयो ।

  • चितवनमा थपिए २२ हजार मतदाता

    चितवनमा थपिए २२ हजार मतदाता

    ८ मंसिर, चितवन
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् ।

    बायोमेट्रिक ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार बायोमेट्रिकबाट थपिएका मतदातामध्ये छ हजार ३११ पुरुष, चार हजार ७७६ जना महिला र तीन तेस्रो लिङ्गी रहेका छन् ।

    उनका अनुसार अन्य जिल्लाका दुई हजार १२३ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएका हुन् ।

    यस्तै त्रुटि सच्याउने ३४४ जना र ठाउँसारीका एक हजार ७२८ जनाले निवेदन दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख २१ हजार ३९२ मतदाता थिए । त्यो बेला तेस्रो लिङ्गी मतदाता एक जना थिए ।

    निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा सम्म यो सङ्ख्यामा केही थप हुनसक्ने प्रमुख कार्कीले बताए ।

    बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो सङ्ख्यामा थपघट हुने उनले बताए ।

    यससँगै फागुनमा हुने निर्वाचनका लागि जिल्लामा १६२ वटास्थल यथावत राखिने भएको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र हुने भएकाले थपिएका मतदाताको आधारमा मतदान केन्द्र थप गरिने छ ।

  • चितवनका महिला पत्रकारको स्तन क्यान्सरको निःशुल्क परीक्षण

    चितवनका महिला पत्रकारको स्तन क्यान्सरको निःशुल्क परीक्षण

    चितवन, मंसिर ७-
    नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी)को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।

    महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३७ जना महिला पत्रकारहरु लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् । केहि पत्रकारहरुको आवश्यकता अनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम समेत गरिएको उनले बताइन् ।

    स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरेमा सिएमसीले ५० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए ।

    अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सिएमसीका सिईओ प्रताप देवकोटाले जानकारी दिए ।

    क्यान्सर रोग विशेषज्ञ डा सुदिप थापाले स्तन क्यान्सर लाग्दैमा विरामीको मृत्यु नहुने बताए । छिटो पहिचान भएमा स्तन क्यान्सर निको हुने उनले जानकारी दिए ।

    समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनी बताउँछन् ।

  • बलिउड अभिनेता  धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    बलिउड अभिनेता  धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    काठमाडौं मंसिर,८
    बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

    सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

    बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्ति गरेका छन् ।

    उनले भनेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’

    यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् ।

    यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।

     

  • शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    ८ मंसिर, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।

    स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

    विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।

    ‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै क्रममा छ,’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूनिकट नागरिक समाजका मान्छेहरूसँग विभिन्न तवरले सूचना आदानप्रदान भइरहेको छ ।’

    शीर्ष नेताहरूसँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउनसक्ने उक्त स्रोतको दाबी छ ।

    ‘यही हप्ताभित्रमा निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइराखेको छ, मिति तय भइसकेको छैन’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

  • विद्युत् आयातमा ४३ करोड गडबडी : महँगोमा नकिनेको भए ३ अर्ब घाटा हुने कुलमानको दाबी

    विद्युत् आयातमा ४३ करोड गडबडी : महँगोमा नकिनेको भए ३ अर्ब घाटा हुने कुलमानको दाबी

    ८ मंसिर, काठमाडौं ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इन्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गरेका छन् ।

    राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार ऊर्जामन्त्री घिसिङले यस्तो यस्तो दाबी गरेका हुन् ।

    नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको विषयमा अनलाइनखबरले समाचार प्रकाशित गरिरहेको छ ।

    सोही विषयमा राष्ट्रिय सभाका सांसद्हरूले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गराएको हास्यास्पद तर्क गरेका हुन् ।

    तर, प्रतियुनिट २१ भारतीय पैसा महँगोमा बिजुली किन्दा के आधारमा ३ अर्ब नाफा गराएको हो भन्ने विषयमा भने उनले बताएनन् ।

    ‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं,’ उनले भने ।

    दोस्रो, भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइदिएको तर्क उनले गरे ।

    ‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपर्थ्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’

    आफूहरूले राज्यको पक्षमा रही निर्णय गरेको उनको दाबी थियो । ‘राइट डिसिजन राइट टाइममा गरेका छौं,’ उनले भने ।