Blog

  • एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

    एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

    काठमाडौँ, मङ्सिर ९ –
    यहाँ जारी नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ ।

    लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ ।

    चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ । बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन् ।

    कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडीको सबैभन्दा बढी एक सय ४७ रन बनाएका छन् । उनी हालसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले प्रतियोगितामा शतकसमेत बनाएका थिए । जुन जारी सिजनको एकमात्र शतक हो ।

    त्यसैगरी, उच्च स्कोर बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन् । चिनवन राइनोजका रवि बोपरा एक सय १८ रन बनाउँदै दोस्रो उच्च स्कोर बनाउने खेलाडीको सूचीमा छन् । रविले जारी प्रतियोगितामा दुई अर्धशतकसमेत हिर्काइसकेका छन् ।

    प्रतियोगितामा तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा भने नेपाली खेलाडी रहेका छन् । हालसम्म एक सय १४ रन बनाएका विराटनगर किग्ङ्सका लोकेश बम तेस्रो स्थानमा छन् । उनले एक अर्धशतक प्रहार गरिसकेका छन् । चौथो नम्बरमा रहेका पोखरा एभन्जर्सका कप्तानसमेत रहेका कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन् । यसमा उनले दुई अर्धशतक जोडेका थिए ।

    यसैबीच हालसम्मको बलिङ प्रदर्शन हेर्ने होभने नेपाली खेलाडी प्रथम स्थान रहेका छन् । विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन् । दोस्रो नम्बरमा भने विदेशी खेलाडी रहेका छन् । सुदूरपश्चिमबाट खेलिरहेका हर्मित सिंह छ विकेटसहित दोस्रो स्थानमा छन् ।

    सर्वाधिक विकेट लिने तेस्रो, चौथो नम्बरमा भने नेपाली खेलाडी अगाडि छन् । छ विकेट लिएका कर्णली याक्सका सोमपाल कामी तेस्रो र समान छ विकेट नै लिएका काठमाडौँका कप्तान करण केसी चौथो नम्बरमा छन् । पाँच विकेट लिएर पाँचौँ स्थानमा भने कर्णाली याक्समा अनुवन्धित विदेशी खेलाडी मिलिन्द कुमार छन् । उच्च रन बनाउनेको पाँचौँ नम्बरमा १०२ रन बनाएका कर्णाली याक्समा अनुबन्धित प्रियान्क पन्चाल रहेका छन् । उनले एक अर्धशतकसमेत प्रहार गरेका छन् ।

    प्रतियोगितामा एक शतक, दश अर्धशतक

    जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन् । यसमा विदेशी खेलाडी नै अगाडि छन् । प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हिर्काएका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक शतकीय इनिङ खेलेका थिए । लुम्बिनीविरुद्ध एक सय १४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् ।

    मार्क वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । उनीअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले एक सय चार रनको शतकीय इनिङ खेलेका थिए । यसक्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

    प्रतियोगितामा कुल १० अर्धशतक बने पनि नेपालबाट भने तीन ब्याटरले मात्रै एक इनिङमा ५० रन पूरा गरेका छन् । नेपालका कुशल भुर्तेल, लोकेश बम र आसिफ सेखले अर्धशतक बनाएका छन् । यसमध्ये पोखरा एभेन्जर्सका भुर्तेल लगातार दुई खेलमा अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटर हुन् ।

    कुशलसँगै चितवन राइनोजका रवि बोपाराले पनि दुई अर्धशतक बनाएका छन् । यसबाहेक कर्णाली याक्सका प्रियाङ्क पन्चाल, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गप्टिल, सुदूरपश्चिम रोयल्सका जोस ब्रोन, हर्मित सिंह र जनकपुर बोल्ट्सका सेखले अर्धशतक बनाएका छन् ।

    कीर्तिमानी टिमको स्कोर बनाउने विराटनगर, कम बनाउने कर्णाली

    जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध दुई सय २० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउने टिमको सूचीमा भने सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध नै एक सय ९३ रन जोडेको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो । उक्त स्कोर प्रतियोगिताकै कम हो । रासस

  • सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो

    सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो

    काठमाडौँ ०९ मङ्सिर
    मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

     

  • प्रधानमन्त्री कार्की जेनजीलाई नभेटी कार्यालयबाट बाहिरिएपछि लफडा

    प्रधानमन्त्री कार्की जेनजीलाई नभेटी कार्यालयबाट बाहिरिएपछि लफडा

    ९ मंसिर, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि केही जेनजी युवाहरु प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार सिंहदरबार पुगे ।

    बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै अलग कोठामा कुराइयो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले प्रधानमन्त्रीसँग भेट्नुअघि हामी अलग्गै कुरा गरौं न भनेर छलफल गर्न थाले । त्यहाँ कुर्दाकुर्दै साँझ ४ बज्यो । तर प्रधानमन्त्रीलाई भेट्ने पालो उनीहरुले पाएनन् ।

    त्यतिबेला प्रधानमन्त्री कार्की कार्यकक्षबाट बाहिरिसकेको सूचना पाएपछि उनीहरु आक्रोशित भए । प्रधानमन्त्रीलाई भेट्न बोलाउने तर नभेटाउने भन्दै उनीहरु प्रेस संयोजक राम रावलमाथि खनिन थाले ।

    जेनजी पुस्ताको आन्दोलनको बलमा बनेको प्रधानमन्त्रीले जेनजीलाई नै ‘भेट्न नचाहेको’ भन्दै आक्रोशित केही युवाले त्यहीँ राजीनामा माग्न थाले ।

    त्यहाँको भिडियो क्लिपमा देखिएका एक युवकले आक्रोशित हुँदै भनेका छन्, ‘जेनजीको माग र मर्म कदर गर्न नसक्ने प्रधानमन्त्रीले के काम गर्छ ? यो प्रधानमन्त्रीको अब राजीनामा चाहियो ।’

    अर्का एक युवकले थपे, ‘हाम्रो खुनमा, शहीदको, घाइतेको रगतमा सरकार बन्ने, हामीलाई भेट्न नदिने कस्तोखाले सरकार हो यो ?’

    तनावको स्थिति सिर्जना भएपछि प्रेस संयोजक रावलले सम्झाउने कोसिस गरे । तर पनि उनीहरुको आक्रोश थामिएन । स्थिति अप्रिय नबनोस् भनेर प्रहरी टोली नै बोलाउनु पर्‍यो ।

    को–को गएका थिए ?

    जेनजीका अलग-अलग समूहका प्रतिनिधिहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले दिलाएको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न भन्दै सुदन गुरुङ समूहका युवाहरु पुगेका थिए । मिराज ढुंगाना र कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाही पनि त्यहाँ पुगेकी थिइन् ।

    रविकिरण हमाल समूहबाट विजय शाह, टेकेन्द्र जोशी, अजय सोडारी लगायतका युवा पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए । रविकिरणलाई भने सिंहदरबारको मुख्य गेटमै रोकिएको थियो

    प्रधानमन्त्री कार्यालयको ढोका अगाडि जेनजी युवा र सुरक्षाका लागि खटिएका प्रहरीहरु ।
    सिंहदरबार पुगेका अर्का एक जेनजनी युवा सोम शर्माका अनुसार प्रधानमन्त्री भेट्न भनेर करिब ५० जनाको समूह पुगेको थियो । ‘सबैले भेट्ने र कुरा राख्ने अवस्था नहुने भन्दै प्रधानमन्त्रीको सचिवालयले आठ-दश जनाको प्रतिनिधि मण्डल छान्न भनेको थियो । प्रतिनिधिमण्डल छानिसकेपछि पनि हामीलाई गुमराहमा राखिर प्रधानमन्त्रीलाई भेट्न दिइएन,’ शर्माले भने ।

    सुप्रिया राज्यलक्ष्मी शाहीले पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले अर्को कोठामा बसेर छलफल गर्दै गरौं, त्यसपछि प्रधानमन्त्रीकहाँ जाउँला भनेको तर कुराएर भेट्न नदिएको बताइन् । ‘हामीलाई अर्को कोठामा बोलाएर त्यही मौकामा प्रधानमन्त्रीलाई सुटुक्क कार्यकक्षबाट निकाल्नुभएछ’, शाहीले भनिन् ।

    शाहीले आफूहरुलाई बिहान १० बजे नै प्रधानमन्त्री कार्यालय बोलाइएको तर ४ बजेसम्म कुराएर भेट्न नदिइएको बताइन् ।

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्ने, उहाँले पारिवारिक सदस्यलाई गरेको नियुक्ति खारेज गर्नुपर्ने र महान्यायाधिवक्ता सबिता भण्डारीलाई पनि पदबाट हटाएर छानबिन गरी कारबाही गर्नुपर्ने मुख्य माग लिएर हामी प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन सिंहदरबार गएको उनले बताइन् । तर आफूहरुलाई बेवास्ता गरिएको उनले बताइन् । ‘प्रधानमन्त्री व्यस्त भएको भए आदर्श सरले आफ्नोबारे स्पष्टीकरण दिएको भए पनि हामी चुप लाग्थ्यौं होला । तर त्यति पनि नगरेर हामीलाई जुन खालको व्यवहार गरियो त्यो खेदजनक छ ।’

    प्रधानमन्त्रीको सचिवालय भन्छ- व्यस्तताका कारण समय मिलाउन सकिएन

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले आदर्श कुमार श्रेष्ठले नियुक्ति गरेको विषयमा समाचार आएजस्तो पूर्ण सत्य नभएको बताए । जेनजीले उठाएका कतिपय माग भने जायज भएको उनले बताए । जेनजीका मागका विषयमा छलफलको क्रममा रहेको उनले जानकारी गराए।

    प्रधानमन्त्रीका प्रेस संयोजक रावल भने प्रधानमन्त्रीको व्यस्तताका कारण भेट मिलाउन नसकिएको बताउँछन् । ‘हामी निस्किने बेला भएको थियो,’ उनले भने, ‘सबैलाई भेट मिलाउन सकिएन कतिपयलाई आज बोलाइएको छ ।’

    कर्णाली जेनजीका सुप्रिया शाहीले प्रधानमन्त्रीलाई भेट्न आज पनि सिंहदरबार जाने बताइन् । आज पनि भेटेर ज्ञापनपत्र बुझाउन नपाए धर्नामा बस्ने उनले चेतावनी दिइन् ।

    ‘आज फेरि चार बजे हामी जान्छौं । आज पनि भेट्न दिइएन भने धर्नामा बस्छौं,’ उनले भनिन् ।

  • हात्तीको आक्रमणबाट मृत्यु

    हात्तीको आक्रमणबाट मृत्यु

    ९ मंसिर,महेन्द्रनगर।
    कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ स्याउलेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका-१४ का ४५ वर्षीया धाना विष्टको आज विहान मृत्यु भएको हो।

    हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

    जंगली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।

  • भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी अझै फरार

    भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी अझै फरार

    बागमती, मङ्सिर ९ –
    मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् ।

    गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताउनुभयो ।

    प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताउनुभयो । रासस

  • चितवनमा दुर्घटनामा वृद्धि स्गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

    चितवनमा दुर्घटनामा वृद्धि स्गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

    चितवन, मङ्सिर ९ –
    गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन् ।

    उहाँका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका छन् । तीमध्ये दुई सय एक मोटरसाइकल छन् । यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ रहेका छन् । यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार छन् ।

    गत आवको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ । गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए ।

    दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताउनुभयो । फराकिला सडकमा तीव्रगतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चालउँदा अहिले दुर्घटना बढेको उहाँले बताउनुभयो । सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उहाँले जानकारी दिनुभयो । रासस

  • मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

    मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

    काठमाडौँ, मङ्सिर ९-
    मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उहाँ नियुक्त हुनुभएको थियो । मुख्यसचिवका रूपमा उहाँले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गर्नुभयो ।

    उहाँको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पार्नुभयो । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ ।

    एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उहाँको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उहाँको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ ।

    उहाँको कार्यकालमा अन्तरराष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।रासस

  • कस्तो रहला देशभर आजको मौसम ?

    कस्तो रहला देशभर आजको मौसम ?

    काठमाडौँ मङ्सिर ९
    हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

    आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
    आज राति देशभर मौसम मुख्यतया सफा रहने
    महाशाखाले जनाएको छ ।

  • हेर्नुस तपाईंको आजको राशीफल

    हेर्नुस तपाईंको आजको राशीफल

    आज मिति २०८२ मंसिर ९ गते (२५ नोभेम्बर २०२५) मंगलवार, मार्ग शुक्लपक्ष पञ्चमी तिथि, १९ः१६ बजेपछि षष्ठी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि मकर।

    आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरू समेत टाढा हुने सम्भावना देखिन्छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। तर कामका लागि केही दौडधुप गर्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।

  • अझै फर्किएनन् चितवन कारागारका १२४ कैदीबन्दी

    अझै फर्किएनन् चितवन कारागारका १२४ कैदीबन्दी

    चितवन, ८ मङ्सिर: 
    ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते यहाँको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।

    कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् । कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अङ्गभङ्ग मुद्दाका तीन÷तीन जना,  ठगी कृते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई÷दुई जना फरार रहेका छन् । डाँका, हातहतियार तथा खरखजना, विद्युतीय कारोबार, अभद्र व्यवहार, अपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, मानव बेचविखन र अपहरण मुद्दामा एक÷एक जना फरार रहेका छन् ।

    हालसम्म कारागारमा सम्पर्कमा नआएकामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । उनीहरूसहित दुई जना बालबालिका सम्पर्कमा आएका छैनन् । ढुङ्गानाका अनुसार हालसम्म ६१५ जना कैदीबन्दी फर्किएका छन् । उनीहरूसँग आश्रित दुई बालबालिका पनि छन् ।

    फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीले दैनिकजसो फरार कैदीबन्दी पक्राउ गरेर ल्याउने गरेको सुनाउनुभयो । मातहतका सबै जनशक्तिले फरार रहेकाको खोजीलाई तीव्रता दिएको उहाँले बताउनुभयो।

    कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ५७४ जना फर्किएका थिए । सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले जिल्ला कारागारमा हाल बाहिरी जिल्लाका छ र चितवनका पाँच जना कैदीबन्दी अन्य कारागारमा रहेका बताउनुभयो ।

    कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ । फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले जनाएको छ ।