Blog

  • डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

    डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

    ९ मंसिर,काठमाडौं ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय नेपाल टिमद्वारा मंगलबार आयोजित ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ को औपचारिक शुभारम्भ गर्दै मन्त्री खरेलले महिला र बालिकाहरूविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

    यस वर्षको विश्वव्यापी नारा ‘युनाइट टु एन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गर्ल्स’ (सबै महिला र बालिकाहरूविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि एक होऔँ) निकै सान्दर्भिक रहेको भन्दै मन्त्री खरेलले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको उल्लेख गरे। उनले प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको औंल्याए।

    मन्त्री खरेलले डिजिटल हिंसालाई वास्तविक हिंसाकै रूपमा परिभाषित गरे। “अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमतिबिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ,” उनले भने‚ “यसले महिलाको आवाज बन्द गराउने, उनीहरूलाई डिजिटल स्थानबाट बाहिर धकेल्ने र अभिव्यक्ति तथा सूचनाको मौलिक हक कुण्ठित गर्ने काम गर्छ।”

    सञ्चार मन्त्रालयको मिसन पूर्वाधार निर्माण र सेवा विस्तारमा मात्र सीमित नभई प्रत्येक नेपाली नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तीकरण गर्ने डिजिटल इकोसिस्टम निर्माण गर्नु रहेको पनि उनको स्पष्टोक्ति छ। उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनचेतनाका लागि काम गरिरहेको र हालै राष्ट्रिय एआई सेन्टरको स्थापनाले भविष्यमुखी डिजिटल नेपाल निर्माणप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरे। प्रविधिको क्षमतासँगै यसको जिम्मेवार प्रयोग सुनिश्चित गर्नु मन्त्रालयको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।

    डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता जनाए। उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए। साथै शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तकलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनै तहका सरकार, संयुक्त राष्ट्रसंघ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि उनले अघि सारे।

    मन्त्री खरेलले डिजिटल नेपाल सबैका लागि सुरक्षित हुनुपर्नेमा जोड दिए। उनले भने, “डिजिटल स्थानलाई सुरक्षित र उज्यालो बनाउन हामी संकल्प गरौँ। हामी यस्तो इन्टरनेट निर्माण गरौँ जहाँ आवाजहरू दबाइने होइन, बुलन्द पारियोस्‚ जहाँ सम्भावनाहरू डरले थुनिने होइन, खुला गरियोस् ।”

  • सुर्खेतमा महेश बस्नेत सहभागी कार्यक्रम बाहिर जेनजीको विरोध प्रदर्शन

    सुर्खेतमा महेश बस्नेत सहभागी कार्यक्रम बाहिर जेनजीको विरोध प्रदर्शन

    दाङ, मंसिर ९-
    सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज नेकपा एमालेको युवा जागरण कार्यक्रम चलिरहेको छ।

    जहाँ एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेता छन्।

    त्यसको केहीपर भने जेनजी समूहका आबद्ध केही युवाहरूले बस्नेतको विरोध गरिरहेका छन्।

    जेनजी समूहका युवा झन्डै पाँच सय मिटर पर बस्नेतको विरोधमा हातमा प्लाकार्ड लिएर उभिएका छन्।

    युवा जागरण कार्यक्रम स्थलको सुरक्षार्थ डिएसपी मोहनजंग बुढथापाको नेतृत्वमा प्रहरी खटिएको छ।

    जिल्ला प्रहरी प्रवक्तासमेत रहेका बुढथापाले झन्डै पाँच सय मिटर दुई चार जना जेनजी युवाहरू उभिएर विरोध गरे पनि त्यसको कार्यक्रममा कुनै असर नपुगेको तथा भित्र शान्ति पूर्ण रूपमा कार्यक्रम भइरहेको जानकारी दिए।

    त्यसअघि बस्नेतको विरोधमा जेनजी समूहका युवाले घन्टाघर क्षेत्रमा पनि प्रदर्शन गरेका थिए।

    एमाले नेता बस्नेत सुर्खेत आउने भएपछि प्रहरीले त्यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ।

    घण्टाघर आसपासको सडकमा प्रहरीको बाक्लो तैनाथी छ। त्यहाँ सर्वसाधारणलाई हिँड्डुल गर्न समेत रोक लगाइएको छ।

    यसअघि पनि नेता बस्नेत लगायतका नेता सिमरामा पुग्दा जेनजी समूहसँग लफडा भएको थियो। स्थिति तनावपूर्ण बन्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनु परेको थियो।

    एमाले नेता बस्नेत जहाँ पुगे पनि भदौ २३ र २४ को जेनजी आन्दोलनको चर्कौ विरोध गर्दै आएका छन्।

  • राष्ट्रपतिसँग साउदी अरबका राजदूतको बिदाइ भेट

    राष्ट्रपतिसँग साउदी अरबका राजदूतको बिदाइ भेट

    काठमाडौँ, मङ्सिर ९-
    राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो ।

    त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो । रासस

  • ललितपुरको कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    ललितपुरको कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    ९ मंसिर, काठमाडौं ।
    ललितपुर महानगरपालिका–१३ कुसुन्तीहाइटस्थित रिङरोडमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

    मंगलबार बिहान पौने १० बजेति ना ६ ख ४९१७ नम्बरको ट्रकले बागमती प्रदेश–०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ घर भइ सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल गम्भीर घाइते भएकी थिइन् ।

    उपचारका लागि पाटन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेश राज सुवेदीले बताए ।

    ट्रक चालक धादिङको धार्के गाउँपालिका–२ का २५ वर्षीय सनम तामाङलाई नियन्त्रणमा लिएरु जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

  • एमाले महाधिवेशन तयारीका लागि गठित समितिहरू सक्रिय

    एमाले महाधिवेशन तयारीका लागि गठित समितिहरू सक्रिय

    काठमाडौँ, मङ्सिर ९ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठित विभिन्न समितिले आफ्नो कामलाई गति दिएका छन् ।

    एमालेको यही मङ्सिर ४ गतेको केन्द्रीय सचिवालयको ६०औँ बैठकले विभिन्न १४ समिति गठन गरेको थियो । यसबीचमा जनपरिचालन समिति र प्रचार कमिटीको बैठक भई आफ्नो कार्ययोजनमाथि छलफल गरी कार्यविभाजन गरेको छ । नयाँ नेतृत्व चयनमा केन्द्रित हुने एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    जनपरिचालन समितिको संयोजक पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा सोमबार बसेको बैठकले महाधिवेशनको उद्घाटन सत्र (भदौ २७ गते) पालिका र वडा तहसम्म व्यापक जनसहभागिताका लागि कार्ययोजना पारित गरेको बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । सोमबार नै प्रचार समितिको बैठकले महाधिवेशनको ऐतिहासिक महत्व र पार्टीको नीतिका आधारमा सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममा प्रचारप्रसारका लागि योजना बनाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    महाधिवेशनका लागि देशभर एकै दिन यही मङ्सिर १३ गते प्रतिनिधि चयनको निर्णय गरेको एमालेले चयन प्रक्रियालाई व्यवस्थिति बनाउन पाँचबुँदे निर्देशन दिएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने बताउनुभयो । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

    यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।

    विभागले प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन दिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन दिएकोे छ । एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी ९खुल्ला०, जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट समेत गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।

    एमालेले आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने निर्णय पनि गरेको छ । प्रवासी नेपाली सङ्घ भारत र प्रवासी नेपाली सङ्घ अन्तरराष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा दुई महिलासहित पाँच जना चयन गर्ने तय गरेको छ ।

    एमालेले १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशिताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने एमालेका केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो । उहाँले न्यूनतम एक हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठ÷आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् । रासस

  • ‘निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

    ‘निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

    देवदह (रुपन्देही),मङ्सिर ९ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु हो भन्नुभएको छ ।

    आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताउनुभयो ।

    केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान सुझाव दिनुभयो ।

    “राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रुपमा औँल्याउनुभएको छ, हामीले धेरै परिमाणमा विशेष अपरेशनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौंँ धेरै कैदी पनि फिर्ता भइसकेका छन्”, गृहमन्त्री अर्यालले भन्नुभयो ।

    सङ्घीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको बताउनुभयो । रासस

  • एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गर्‍यो दल दर्ता

    एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गर्‍यो दल दर्ता

    ८ मंसिर, काठमाडौं ।
    नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

    आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

    दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए ।

    प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।

    दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए ।

    निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये जुन-जुन दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्छन उनीहरूले निर्वाचनमा भाग लिन पाउँछन् ।

  • नवलपरासीमा छ हजार मतदाता थपिए

    नवलपरासीमा छ हजार मतदाता थपिए

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मङ्सिर ९ –
    पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

    राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए । रासस

  • भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

    भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

    चितवन , मंसिर ९ –
    भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

    आज मंगलबार बिहान ७ बजेतिर भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल नगरपालिका–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ समान्य घाइते भएका छन् भने पछाडि सवार उनकी छोरी १८ वर्षीया राईना श्रेष्ठ गम्भिर घाइते भएकि थिइन् ।

    गम्भिर घाइते भएकी राईना श्रेष्ठको उपचारका क्रममा बिहान ८:४७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    राजकुमारको भने पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ। दुबै सवारी साधन र बुलेट चालक जि.प्र.का. चितवनको नियन्त्रणमा छन्। श्रेष्ठको शव पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ ।

  • काठमाडौँबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

    काठमाडौँबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

    झापा मङ्सिर ९ –
    जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ ।

    पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो ।

    प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए । त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो । थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो ।

    त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ । बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस