Blog

  • सुनको मुल्य प्रति तोला ९०० रुपैयाँले वृद्धि

    सुनको मुल्य प्रति तोला ९०० रुपैयाँले वृद्धि

    काठमाडौँ , मंसिर १० –
    स्थानिय बजारमा सुनको मुल्य प्रति तोला ९०० रुपैयाँले वृद्धि भएको छ ।

    छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको थियो भने सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

    यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।

  • आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

    काठमाडौं । आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको पष्ठी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।

    मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । दाजुभाइबाट असहयोग हुनेछ । नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ । रोगसँग लड्ने क्षमताको विकास हुनेछ ।

    वृष : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ । साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

    मिथुन : सानो कुराले दुःखी बनाउने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ ।

    कर्कट : दिन सहज छ । बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ । साथीसँगको सम्बन्ध सामान्य रहनेछ ।

    सिंह : दिन राम्रो छ । साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

    कन्या : दिन राम्रो छ । बोलीका प्रभावले राम्रो काम बन्नेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । पुरुषसँगको भन्दा समाजका महिलासँगको सहकार्य सफल हुनेछ ।

    वृश्चिक: दिन सामान्य छ । मिहिनेत गरेमा आम्दानीका स्रोत सुदृढ रहेका छन् । मसिना कुरामा अल्झिनाले समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारले भने साथ दिनेछ ।

    धनु : दिन राम्रो छ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

    मकर : दिन सामान्य छ । अन्त्य साढेसाती दशा भोग्दै हुनुहुन्छ । तपाईंले गरेको राम्रो कामको जस अरुले लिनसक्छन् । राज्यले तपाईंमाथि अन्याय गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ ।

    कुम्भ : खर्च बढ्नेछ । जुनसुकै काममा झन्झट आइपर्न सक्छ । खानपानमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ । सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ । परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ ।

    मीन : दिन सामान्य छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

  • एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    काठमाडौं मङ्सिर १०
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

    खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

    सन्दीप लामिछानेको कप्तानी रहेको विराटनगर प्रतियोगितामा तीन खेल खेल्दै अपराजित छ। दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ।

    तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।

    शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनालाई कायम राख्न चितवनका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ।

  • एकै दिन एमालेसहित १५ दल दर्ता, दलको संख्या ८० पुग्यो

    एकै दिन एमालेसहित १५ दल दर्ता, दलको संख्या ८० पुग्यो

    ९ मंसिर, काठमाडौं ।
    फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।

    आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् । आजमात्रै १६ दल दर्ता भएको भट्टराईले बताए ।

    बुधाबारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।

  • टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो भिडन्त इंग्ल्यान्डसँग

    टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो भिडन्त इंग्ल्यान्डसँग

    ९ मंसिर, काठमाडौं ।
    आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।

    भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ ।

    नेपाली टोली २-२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।

    यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।

  • लुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित

    लुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित

    ९ मंसिर, काठमाडौं ।
    काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ ।

    मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

    चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।

    लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

  • महोत्सवको फोहोर जलाएको प्रकरण : अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आयोजकको माग

    महोत्सवको फोहोर जलाएको प्रकरण : अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आयोजकको माग

    चितवन, ९ मङ्सिरः
    नारायणी नदी किनारमा आयोजित खेलकुद तथा वृहत खेलकुद तथा व्यापारिक महोत्सवको फोहोरमा आगो लगाएको घटनाप्रति आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले ध्यानाकर्षण जनाएको छ ।

    समितिले आज (मंगलबार) विज्ञप्ति मार्फत सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै घटनामा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो ।

    व्यवस्थापनका लागि संकलन गरेर राखेको फोहोर जलाएको बिषय सञ्चार   माध्यममा प्रकाशित समाचारबाट जानकारी पाएको समितिका अध्यक्ष राजन कार्कीले बताए । केही अज्ञात व्यक्तिहरुले समितिलाई बदनाम गराउने नियतले फोहोर जनाएको हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

    जनस्वास्थ्यमा असर गर्ने यस्तो कार्यमा समितिको कुनै संलग्नता नरहेको जनाउदै घटनामा संलग्नलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

    अध्यक्ष कार्कीले संकलित फोहोर जलाउदै गरेको भिडियो वा तस्विर भए उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । यस्तै यस घटनाको अनुसन्धानका लागि प्रशासनलाई आवश्यक सबै किसिमको समन्वय गर्न आफूहरु तयार रहेको उनले बताए । बातावरण प्रदुषण र जनस्वास्थ्यको बिषयमा आफूहरु सचेत रहेको पनि उनको भनाइ छ ।

    घटनामा संलग्नको खोजीमा समितिले प्रशासनलाई सहयोग गरिरहेको पनि उनले बताए । यसैबीच घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय नारायणगढको जिम्मा लगाईएको छ ।

    कार्तिक १८ देखि मंसिर २ गतेसम्म नारायणी नदी किनारमा आयोजित महोत्सवको फोहोर व्यवस्थापन नगरी जलाएको भन्दै सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । फोहोर व्यवस्थापनको जिम्मा बिक्रम गुरुङको नेतृत्वलाई दिईएको र ठूलो महोत्सव आयोजना भएकोले संकलित फोहोर व्यवस्थापनमा समय लागेको आयोजकको भनाइ छ ।

  • एनपिएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

    एनपिएलः लुम्बिनीलाई काठमाडौँको १५८ रनको चुनौती

    काठमाडौँ, ९ मङ्सिरः 
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल)अन्तर्गत आजको खेलमा  काठमाडौं गोर्खाजले  लुम्बिनी लायन्सलाई  १५८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा  कप्तान करण केसीले अविजित ३४,  आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे ।

    लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई÷दुई विकेट लिए । काठमाडौँले तीन खेल खेलेको छ, जसमा दुई हार र  एकमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौँथो नम्बरमा छ ।दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि  सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • एमाले अध्यक्षमा ईश्वर पोखरेलले गरे उम्मेदवारी घोषणा

    एमाले अध्यक्षमा ईश्वर पोखरेलले गरे उम्मेदवारी घोषणा

    ९ मंसिर, काठमाडौं ।
    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

    यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।

    मंगलबार भने उनले विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

    पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

    साथै, उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको पनि बताएका छन् ।

    मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रोपटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए ।

    तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन् ।

  • जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग: दोषीमाथि अविलम्ब कारबाही होस्

    जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग: दोषीमाथि अविलम्ब कारबाही होस्

    नेपालगन्ज, मङसिर ९ –
    गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौँमा मृत्युवरण गरेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोजी निवासी सहिद आयुष थापाका परिवारले दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ ।

    सहिद आयुष थापाका बुबा ४५ वर्षीय सुशील थापाले भन्नुभयो, “जसले मेरा छोरा लगायतका छोराछोरी माथि गोली हाने त्यसका दोषीलाई छानबिन गरेर कारबाही हुनुपर्छ ।” उहाँले एक मात्र छोराको स्मरण हुँदा आफूलाई एक्लो भएको महसुस हुने गरेको बताउँदै दोषीमाथि कारबाही भए छोराको आत्माले शान्ति पाउने बताउनुभयो । “मेरो छोरो त मैले पाउँदिन तर दोषीमाथि कारबाही भए हामीलाई पनि सन्तोष हुन्थ्यो”, थापाले भन्नुभयो ।

    नेपालगन्जको आदर्श कलेजबाट दश जोड दुई पास गर्नुभएका आयुष पढ्नका लागि छिटै फ्रान्स जाने तयारीमा हुनुहुन्थ्यो तर जेनजी प्रदर्शनपछि त्यो सपना मात्रै भयो । थापाले मुलुकमा सुशासन भइदिए हुन्थ्यो भन्ने कुरामा छोराले पहिलेदेखि नै भन्ने गरेको उल्लेख गर्नुभयो । पढाईमा समेत अब्बल रहनुभएका आयुष खेलकुदमा पनि रुची राख्नुहुन्थ्यो । सिधा र शान्त स्वभावका आयुष आफ्नो काममा मात्रै बढी केन्द्रित हुने गरेको बुबाको भनाइ छ ।

    आफ्नो छोराको मृत्यु भएको कुरा दोस्रो दिन मात्रै थाहा पाउनुभएका थापाले सुरुमा छोरा अस्पतालको आइसियुमा भएको भन्ने खबर पाउनु भएको थियो । भदौ २४ गते बिहान १० बजे मात्रै छोरोको मृत्यु भएको खबर पाएको बताउनुभयो । “मृत्यु भएको खबर थाहा पाउँदा त म झसङ्गै भए” आयुषका बुबा सुशील थापाले भन्नुभयो । गाउँमा पहिल्यै आयुषको मृत्युको खबर पुगिसकेको रहेछ तर आफूले पछि मात्रै थाहा पाएको उहाँले बताउनुभयो । “मृत्युको खबर थाहा पाउँदा संसार नै अन्धकार भएजस्तो भयो, दिमागले राम्रोसँग काम गरेन” भावुक हुँदै उहाँले भन्नुभयो । अब उहाँसँग सन्तानमा एक छोरी मात्र हुनुहुन्छ ।

    आयुषका हजुरबुबा ७२ बर्षीय टोपबहादुर थापाले “दोषीमाथि कारबाही भए यस्ता घटना नदोहोरिन सक्छन्” भन्नुभयो । उहाँले दोषीमाथि कारबाही नभए पुनः यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषी पत्ता लगाएर सजाय हुनुपर्ने माग गर्नुभयो । “दोषी जोसुकै हुन् मेरा नाति, नातिनालाई गोली हान्नेमाथि छिटोभन्दा छिटो कारबाही हुनुपर्छ” हजुरबुबा थापाले भन्नुभयो ।

    सहिद आयुष थापाका मामा अङ्कित थापा सबैभन्दा मिल्ने साथी हुनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी स्थायी घर भएका उहाँ अहिले काठमाडौँको टोखामा बस्नुहुन्छ । मिल्ने साथी हुनुभएका आयुषका मामा अङ्कितले सहिदले गरेको बलिदान खेर जान नहुने धारणा राख्नुभयो । उहाँले अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही आवश्यक भएकामा जोड दिदै जेनजी आन्दोलनबाट सबैभन्दा पीडित सहिद परिवार भएको बताउनुभयो ।

    मिलनसार स्वभाव भएका सहिद आयुष देशप्रेमी भएको उल्लेख गर्दै उहाँले सुशासनको पक्षमा दृढ रहेको बताउनुभयो । जेनजी आन्दोलनमा सहभागी भइरहँदा आयुषसँग अन्तिममा सुरक्षाका विषयमा कुरा भएको स्मरण गर्दै अङ्कितले भन्नुभयो “कति आमाका एउटा मात्रै छोरा वा छोरी छन्, उहाँले गरेको त्याग खेर जानु हुँदैन ।”

    आयुषले विदेशमा गएर पढेर त्यहाँको सीप ल्याएर नेपालमा नै उद्यम गर्ने सपना देखेको उल्लेख गर्दै साथी समेत रहनुभएका मामा अङ्कितले भान्जाले देखेको सपना वास्तविकतामा परिणत हुन नपाएको गुनासो गर्नुभयो । “हामी मामा भान्जा मात्रै थिएनौँ, साथीसाथी पनि हौंँ, सँगै कोठामा बस्थ्यौं र सँगै काम गरिरहेका हुन्थ्यौँ तर अहिले त म एक्लो जस्तै भएको छु” मामा अङ्कितले भन्नुभयो ।

    जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका परिवारलाई सरकारका तर्फबाट किरिया खर्चका लागि रु। पाँच लाख र अन्य रु। १० लाख गरेर रु। १५ लाख प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले आयुष थापा र शुलभराज श्रेष्ठको सम्झनामा सहिद गेट र आयुष सुलभ मार्गका रुपमा सडकको नामाकरण गर्न लागिएको बताउनुभयो । सहिद थापा नेपालगन्ज–१ का रहेकाले वडा कार्यालयले गेट निर्माण र सडकको नामाकरण गर्न लागेको उहाँको भनाइ छ ।

    बाँकेको खजुरारोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा सहिद गेट निर्माण गरिने तयारी सुरु भएको वडाध्यक्ष रिजालले बताउनुभयो । “वडाबाट निर्णय गरिसकेको छौँ, माघमा रकम रकमान्तर गरेर सहिद गेट र राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि तयारी गर्दैछौँ” उहाँले भन्नुभयो । गेट निर्माण र प्रतियोगिताका लागि करिब रु १५ लाख बजेट आवश्यक हुने उल्लेख गर्दै वडाध्यक्ष रिजालले सो कामबाट जेनजी आन्दोलनका सबै सहिदप्रति सम्मान हुने धारणा व्यक्त गर्नुभयो । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर नेपालगन्ज–१ का आयुश थापा र सुलभ श्रेष्ठको मृत्यु भएको थियो । दुबै जना एउटै वडाका सहिद हुनुहुन्थ्यो । रासस