Blog

  • एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

    एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

    काठमाडौँ, मङ्सिर १२-
    नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे ।

    चितवनका सोहेल तनभिरले चार, कमल सिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए ।

    कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ ।

    यस्तै आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् । रासस

  • संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

    संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

    चितवन, मंसिर १२-
    संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ। न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक प्राप्त गरेको बताए।

    भेरी अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, धरान स्वास्थ्य विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७५, डडेल्धुरा अस्पताल ७३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सवा मापदण्ड पूरा गरेका छन्।

    यस्तै, वीर अस्पताल ६७, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९, नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पुरा गरेका छन्। यी अस्पतालहरु सुधार गर्ने क्रममा रहेको डा पौडेलले बताएका छन्।

    तर गजेन्द्र नाराण सिंह अस्पताल र मानसिक पाटन अस्पतालको अवस्था निकै दयनीय रहेको उनले गोष्ठीमा जानकारी दिए। गजेन्द्रलले ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन्।

  • चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

    चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

    चितवन, मंसिर १२ –
    एनपिएलमा चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य दिएको छ ।

    १९.२ ओभरमा अल आउट हुँदै काठमाडौैं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    काठमाडौँ, मंसिर १२-
    नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।

    एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।

    सरकारले युएई मुलुकका हकमा रु चार हजार ५०० बाट दोब्बर बढाएर रु नौ हजार ५०० र अन्य मुलुकको हकमा रु छ हजार ५०० बाट रु नौ हजार ५०० पु¥याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि रु १० दश हजार सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार ५०० लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
    रोजगारीका लागि विशेषगरी मलेसिया र खाडीमुलुक जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने एशोसिएसनको भनाइ छ । ती मुलुकमा दैनिक एक हजार ५०० युवा रोजगारका लागि जाने गरेका र उक्त निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एशोसियसनले जनाएको छ ।

    गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्यपरीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको जनाइएको छ।

    नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको एशोसियसनको भनाइ छ । एशोसियसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुनेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ । रासस

  • बिपी राजमार्गको पुनर्निर्माण सुरु

    बिपी राजमार्गको पुनर्निर्माण सुरु

    रामेछाप,मङ्सिर १२ –
    बाढी–पहिरोले लगातार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनः निर्माणको काम सुरु भएको छ।

    सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष र यस वर्षको बाढी पहिरोले रोशी खोला क्षेत्रमा बिगारेको ३०.५ किलोमिटर सडकमध्ये २७;३ किलोमिटर क्षेत्रमा निर्माणको काम अघि बढेको हो।

    नेपाल सरकारको बजेटमा ठेक्का लागेका सडकको निर्माण व्यवसायीले निर्माण सुरु गरेका सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले बताएका छन्। तर जापानको जाइका अन्तर्गत निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डमा भने अझै ठेक्का प्रक्रिया अघि नबढेकाले निर्माण सुरु हुन सकेको छैन।

    सार्वजनिक खरिद ऐनअनुसार ठेक्का लागि सकेका क्षेत्रमा निर्माण कार्य सुरु भएको जनाइएको छ।

    विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।

    राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन प्याकेज र सिन्धुलीतर्फ एक प्याकेज गरी ठेक्का सम्झौता भएको छ।

    सडक निर्माण सुरु भइसके पनि राजमार्गमा पर्ने पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया पूरा नहुँदा कार्य सुरु हुन सकेको छैन।

    यसले गर्दा पुराना साँघुरा पुलका कारण राजमार्गमा ट्राफिक जाम बढ्ने समस्या यथावत् रहेको स्थानीयहरूले बताएका छन्।

  • एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    काठमाडौँ, मङ्सिर १२ –
    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।

    एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छ । बाँकी सबै विदेशी खेलाडी छन् ।

    सबैभन्दा बढी अर्धशतक हिर्काउने खेलाडीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किंस, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका दुई÷दुई खेलाडी छन् । यस्तै, चितवन राइनोज, कर्णाली याक्सका एक÷एक खेलाडी रहेका छन् । व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक पूरा गरेका छन् ।

    यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् ।

    सुदूरपश्चिम टोलीका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल, कर्णालीका प्रियान्क पन्चालले एक÷एक अर्धशतक प्रहार गरेका छन् ।

    कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन् । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् । वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

    सुदूरपश्चिम शीर्षमा, अङ्कविहीन जनकपुर

    हालसम्मको अङ्कतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा देखिएको छ । उसले लगातार चार खेल जितेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम ‘प्लेअफ’ नजिक छ ।

    गत सिजनको विजेता जनकपुर हालसम्म अङ्कविहीन छ । अनिल शाह कप्तानीको जनकपुरले तीनवटै खेल हारेको छ । अङ्कविहीन जनकपुरको ‘प्लेअफ’को बाटो साँघुरो बन्दै गएको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा छ । उसको ‘प्लेअफ’को बाटो फराकिलो छ ।

    कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ ।

    अङ्कतालिकाको चौथो स्थानमा रहेको काठमाडौँले चार खेलमा दुई खेलमात्रै जितेको छ । करण केसीले सम्हालेको काठमाडौँलाई ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न बाँकी खेल जित्नुपर्ने हुन्छ ।

    समान तीन खेलबाट दुई अङ्क मात्रै जोडेका सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा क्रमशः पाचौँ र छैटौँ स्थानमा छन् । प्लेअफको दौडमै रहेका यी दुवै टोलीले पनि बाँकी खेल जित्नैपर्ने दबाब छ ।

    सातौँ स्थानमा रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सले चार खेलमा एक खेल मात्रै जितेको छ । बाँकी खेलमा जीत हात पार्दै लुम्बिनी ‘प्लेअफ’ को बाटो तय गर्ने लक्ष्यमा छ, तर लयबाहिर रहेको लुम्बिनीलाई जीत निकाल्न कठिन छ ।

    जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनमा आबद्ध विदेशी खेलाडी रवी बोपरा छन् । उनले १८३ रन बनाएका छन् । बलिङतर्फ भने विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन् ।

    कीर्तिमानी टिमको ‘स्कोर’ बनाउने विराटनगर, कम बनाउने कर्णाली

    जारी प्रतियोगितामा उच्च ‘स्कोर’ बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध १९३ रन जोडेको थियो ।

    जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो ।

    नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । रासस

  • कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

    कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

    कोलकाता (भारत), मङ्सिर १२ –
    यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ ।

    नेपालले पारवाहन सन्धिअनुसार भारतसँग ‘लिज’मा लिएको जग्गा व्यवस्थापन नहुँदा वर्षौँदेखि राज्यको व्ययभारले थिचिएको छ । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यस्तो अवस्था आएको हो ।

    कोलकाता बन्दरगाहमा चार हजार ८५० वर्गमिटरको गोदाम नेपाल पारवहन तथा गोदाम कम्पनीले व्यवस्थापन गर्दै आएको छ । सरकारले कोलकाताको जग्गाको मासिक भाडा भारतीय मुद्रामा ५६ हजार तिर्दै आएको छ । हाल उक्त जग्गा उपयोगको म्याद समाप्त भएको छ । हल्दिया बन्दरगाहको जग्गा आठ हजार ९८५ वर्गमिटर जग्गा पनि उपयोगहीन छ ।

    यहाँस्थित उक्त कार्यालयका प्रबन्धक हिमनाथ पौडेलले कोइला, जिप्सनलगायत सामग्री राख्न सकिने भए पनि प्रयोग नभएको बताउनुभयो । यहाँको श्यामाप्रसाद मुखर्जी पोर्टकोतर्फबाट पनि सो जग्गा सट्टापट्टा गर्नका लागि अनुरोध भए पनि निर्णय नभएको उहाँले बताउनुभयो ।

    हल्दियाको जग्गामा केही सवारीसाधन यत्रतत्र थुप्रिएका छन् । शाखा प्रबन्धक पौडेलले हल्दियाको भाडामा लिएको जग्गाको मासिक भारु तीन लाख तिर्दै आइरहेको जानकारी दिनुभयो । नेपालमा अत्यावश्यक हुने कोइला अहिले पनि हल्दिया बन्दरगाह हुँदै आइरहे पनि कोइला राख्ने पर्याप्त स्थान अभावमा सो जग्गाको उपयोग हुन सकेको छैन । यद्यपि सोही जग्गाको वरपर भने कोइला, जिप्सनलगायत निर्माण सामग्रीका गोदाम छन् ।

    यहाँस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत झक्कप्रसाद आचार्य नेपालले पारवाहन सन्धिअन्तर्गत भाडामा प्राप्त गरेको कोलकाता र हल्दियाको दुवै जग्गा व्यावसायिक रुपमा उपयोग गर्नुपर्ने बताउनुहुन्छ । सो जग्गा प्रयोग गर्न नसकिने भएमा पारवहन सन्धि संशोधन गरेर भए पनि सहज निकास निकाल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    महावाणिज्यदूत आचार्यले पारवहन सन्धिअन्तर्गत प्राप्त गरेको कोलकाता र हल्दियाको जग्गाको विषयमा परराष्ट्रमार्फत बताउनुभयो । “दुवै जग्गा बन्दरगाह परिसरमा नै भएकाले पनि नेपालले ठूलो लगानीमा ठूलो पूर्वाधार बनाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “कम्तीमा पनि भाडा तिर्न पुग्नेगरी कसैलाई व्यवस्थापनको जिम्मेवारी दिनुपर्छ ।” रासस

  • एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

    एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

    काठमाडौँ, मङ्सिर १२ –
    राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौँलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् । रासस

  • दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

    दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

    दाङ, मंसिर १२-
    तुलसीपुर कारागारबाट फरार थुनुवा मृत फेला परेका छन् । जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका हुन् ।

    कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

    मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ ।

  • सुनको मुल्य दुई लाख ५० हजार भन्दा माथि

    सुनको मुल्य दुई लाख ५० हजार भन्दा माथि

    काठमाडौँ , मंसिर १२-
    स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ।

    शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँ कायम भएको थियो।

    त्यस्तै आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ६५ रूपैयाँ वृद्धि भएको छ ।

    बिहीबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।