Blog

  • तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

    तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

    तनहुँ, मङ्सिर १२ –
    जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा रु एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ ।

    केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।

    किसानका उत्पादन निःशुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले राससलाई बताउनुभयो । रासस

  • धरानमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    धरानमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    धरान (सुनसरी), मङ्सिर १२ –
    तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । रासस

  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ मङ्सिर १२
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

    एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

    काठमाडौँ मङ्सिर १२
    काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

    यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

    बिहीबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।

    यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

    बिहीबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

  • आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर १२ गते । शुक्रबार । इस्वी सन् २०२५ नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–अष्टमी, ३० घडी ३२ पला, बेलुकी ६ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–शतभिषा,३९ घडी ५९ पला, बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–व्याघात, ३ घडी ५२ पला, बिहान ८ बजेर ९ मिनेट उप्रान्त हर्षण । करण–भद्रा, बिहान ७ बजेर १२ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १७ पला ।

    आजको राशीफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । पैतृक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । खेलाडी तथा खेलसँग सम्बन्धित काम गर्ने संस्थाको लागी समय उत्तम रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खेल क्षेत्रमा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी
    समय उत्तम रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खेलाडी, पत्रकार, तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा खेल क्षेत्रमा विजयको योग रहेको छ । व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यवसाय अरुदिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ । खेलाडी तथा खेल क्षेत्रमा का गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित काममा समय खर्च हुनेहरूका लागी समय उत्तम रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । पराक्रमी क्रियाकलापमा सहभागी भई भरपुर मनोरञ्जन गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलाप सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

    सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

    कैलाली, ११ मङ्सिरः
    नेपाली कम्युनिष्ट पार्टीका नेता डा भिम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मङ्सिर १२ गते धनगढीमा आयोजना गर्न गइरहेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता डा रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथा समयमा फिर्ता गराउनुपर्ने बताउनुभयो ।

    नेपाली जनतालाई निर्धक्कसँग उनीहरुको पेशा, व्यवसाय, राजनितिलगायत कुरा शान्तिपूर्ण रुपमा नेपालको संविधानले दिएको हक अधिकार बमोजिम उपभोग गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

    पार्टी एकतापछि विभिन्न सन्देश जनसमुदायसम्म पु¥याउन कार्यक्रम आयोजना गर्न लागिएको नेता रावलले बताउनुभयो ।

  • मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

    मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

    चितवन, ११ मङ्सिरः
    गत असोज २१ गते बिहान ५ः१० बजे चौबिसकोठी–रामपुर सडकखण्डअन्तर्गत भरतपुर–४, सृष्टिचोकमा मर्निङवाक गरिरहेका ६० वर्षीय कृष्णप्रसाद कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालकलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ ।

    तत्काल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट कँडेल गम्भीर घाइते भएका थिए । दुर्घटनापश्चात् मोटरसाइकलसहित चालक फरार भएका थिए ।

    सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरू गर्दै सयौँ सिसिटिभी फुटेज र दर्जनौँ मोटरसाइकलको विष्लेषण गरी फरार आरोपीको पहिचान गरेको हो । सो अनुसन्धानबाट भदौ २१ गतेको घटनामा प्रयोग भएको ना ३७ प ८५३० नम्बरको मोटरसाइकल र चालक गोरखा नगरपालिका वडा नं–१३ बस्ने २७ वर्षीय सुनिल गुरूङ रहेको पत्ता लागेको थियो ।

    प्रहरी टोलीले काठमाडौँ, बौद्धमा लुकिछिपी बसिरहेका सुनिल गुरूङलाई मोटरसाइकलसहित मङ्सिर ९ गते नियन्त्रणमा लिएको हो । उनलाई चितवन जिल्ला अदालतमा सवारीसाधन अङ्गभङ्गसम्बन्धी कसुरमा पेस गरी ७ दिन म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले घटनापछि तदारुकताका साथ अनुसन्धान गरी फरार चालकलाई पक्राउ गरेको जनाएको छ ।

  • पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

    पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

    काठमाडौँ, ११ मङ्सिरः
    पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।

    सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो ।

    पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा थिए । त्यसमा पोखराले बाजी मार्‍यो ।

    विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

  • सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

    सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

    चितवन, ११ मङ्सिरः
    युवा रेडक्रस सर्कल सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुलले विद्यालयको ३८औँ वार्षिकोत्सवको अवसर पारेर ४८औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रमका अध्यक्ष हेरी न्यौपानेको सभापतित्व तथा सनराइज स्कुल चितवन प्रा.लि.का अध्यक्ष हेमराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी अर्याल, विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले लगायतको आतिथ्यमा सम्पन्न भएको हो ।

    रक्तदान कार्यक्रमका संयोजक अर्जुन पौडेलको संयोजनमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका सह–प्राचार्य भूमिराज तिवारीले रक्तदाताहरूलाई स्वागत गर्दै रक्तदानको महत्वबारे प्रकाश पार्दै विद्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा मध्ये अझ यो रक्तदान पुण्य कार्य भएको बताए ।

    सनराइज स्कुल चितवन प्रा.लि.का अध्यक्ष तथा कार्यक्रमका अतिथि हेमराज शर्मालाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरिएको उक्त कार्यक्रममा २३ जना महिला सहित ७२ जनाले रक्तदान गरे । उक्त कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

  • पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    काठमाडौँ, ११ मङ्सिरः
    उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

    महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । पूर्वसभामुख महराविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो ।

    “तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ”, उच्च अदालत पाटनले आज गरेको आदेशमा भनिएको छ ।