Blog

  • रोसिङटन र निशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

    रोसिङटन र निशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

    काठमाडौँ, मङ्सिर १३ –
    नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई जीतका लागि १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

    र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । पोखराले पारीको सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।

    त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी ग¥यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे ।

    लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई÷दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे । रासस

  • एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य

    एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य

    काठमाडौँ, मङ्सिर १३ –
    संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ । अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो ।

    मलेसियाका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    नेपालका नितिसकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १/१ विकेट लिए । खेल जित्ने टोली यु–१९ एसिया कपका लागि छनोट हुनेछ ।

    नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डि’का विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । रासस

  • सवारी दुर्घटनामा कालीकोटका पत्रकार आचार्यको मृत्यु

    सवारी दुर्घटनामा कालीकोटका पत्रकार आचार्यको मृत्यु

    १३ मंसिर, सुर्खेत ।
    सवारी दुर्घटनामा परी कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। ‎

    गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइयको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    आचार्य कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष हुन् ।

    वीरेन्द्रनगरको मूलपानीबाट चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • चार महिनामा १६ हजार पर्यटक मनाङमा

    चार महिनामा १६ हजार पर्यटक मनाङमा

    मनाङ, मङ्सिर १३ –
    चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् ।

    मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् । रासस

  • किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

    किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

    नारायणगढ (चितवन), मंसिर १३-
    चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।

    शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ दरअनुसार अति ठूलो (एक्स एल) अण्डा प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम अण्डा रु ५३० र सानो अण्डा प्रतिपेटी रु ३२५ रहेको छ ।

    अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट रु ४० ले वृद्धि भएको हो । भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको बताउनुभयो । उहाँका अनुसार जाडो महिनामा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने गर्छ । पोखरेलले भन्नुभयो, “चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।”

    गत साउनमा पनि रु ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ । रासस

  • देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्री छलफल गर्दै

    देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्री छलफल गर्दै

    १३ मंसिर, काठमाडौं ।
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ ।

    महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज (शनिबार) तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।

    उनीहरूबीच शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित भाडाको निवासमा छलफल हुने तय भएको छ ।

    कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति जुट्न सकेको छैन ।

    देउवा पक्षीय शीर्ष तहका नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । सभापति देउवा स्वयं भने आगामी पुसमा महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् ।

    दुई महामन्त्रीले नियमित महाधिवेशन गर्नै नसकिने भए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवादले २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्न सकेको छैन ।

    कार्यवाहक सभापति खड्का केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सहमतिका लागि शीर्ष तहमा छलफल गरिरहेक पनि सहमति जुट्न सकेको छैन ।

  • एनपीएलमा आज दुई खेलः पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

    एनपीएलमा आज दुई खेलः पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

    काठमाडौं,मंसिर १३ 

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

    तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा मात्र जित निकालेको छ। पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा हुनेछ।

    शीर्ष स्थानको सुदूरपश्चिम र अंकबिहीन जनकपुर भिड्दै

    दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दैछन्। चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ। मात्र तीन खेल खेलेको जनकपुर अंकबिहीन तालिकाको पुछारमा छ। सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरका कप्तान अनिल साह हुन्।

    अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंक छ। रनरेटको आधारमा विराटनगर तालिकाको दोस्रो स्थनमा छ। पाँच खेल खेलेको काठमाण्डुले ६ अंक जोडेको छ। चितवनको चार अंक छ भने समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकबिहीन जनकपुर तालिकाको पुछारमा छ।

    एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

    एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

     

  • एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

    एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

    काठमाडौँ , १३ मङ्सिर
    एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।

    सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    गौतमका अनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । मनोनीत एमालेको ११ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

    प्रतिनिधि छनौटका लागि केन्द्रीय सङ्गठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

    एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ।

    यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए। दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्। जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ।

    विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ।

    केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्। त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।

    एमालेको कुल सङ्गठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन्।

    पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनौटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ ।

    पार्टीको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ मङ्सिर १३
    हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

    शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर १३ गते । शनिबार । इस्वी सन् २०२५ नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–नवमी, २७ घडी ४५ पला, बेलुकी ५ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाभाद्रपदा,३८ घडी ३८ पला, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–बज्र, ५३ घडी २३ पला, रातको ३ बजेर ५८ मिनेट उप्रान्त सिद्धि । करण–कौलव, बेलुकी ५ बजेर ४३ मिनेट उप्रान्त तैतिल, रातको ५ बजेर १ मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ,बेलकी ४ बजेर १४ मिनेट उप्रान्त मीन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १४ पला ।

    आजकाे राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । साँझपख धार्मिक यात्रा हुने तथा शैक्षिक यात्राको योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री तथा निर्माण सामाग्रीबाट नाफा कमाउन सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र तथा खेल क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न हुनेछ । लगनशील तथा इमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । खेलकुद क्षेत्र वा निकायमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाका लागी समय उत्तम रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।