Blog

  • थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु

    थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु

    काठमाडौँ, १२ मङ्सिर :
    थाइल्याण्डमा बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षाका कारण भएको विपत्तिमा अहिलेसम्म १४५ जनाको मृत्यु भएको छ ।

    पानीको सतह घट्दै जाँदा, यस क्षेत्रमा भत्किएका घर, पल्टिएका सवारी साधन र भग्नावशेषहरू छरप्रष्ट देखिन थालेका छन् ।

    थाइल्याण्डको विपद् व्यवस्थापन विभागका अनुसार, १२ प्रान्तमा १२ लाख घर र ३६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

    सोङखला प्रान्तमा सबैभन्दा बढी क्षति भएको छ । यस प्रान्तमा मात्रै ११० जनाको मृत्यु भएको छ ।

    पानीको स्तर घट्न थालेपछि उद्धार टोलीहरूलाई पहिले पूर्ण रूपमा डुबेका क्षेत्रहरूमा पुग्न सकेका छन् । सोङखला प्रान्तमा मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढेको छ ।

    हात याई शहरका कयौँ बस्ती पूर्ण रूपमा डुबेका थिए । जसका कारण उद्धारकर्ताहरू त्यहाँ जान सकेका थिएनन् ।

    पानीको सतह घट्दै जाँदा ठुलो सङ्ख्यामा शवहरू बरामद भइरहेका छन् । अधिकांश प्रभावित क्षेत्रहरूमा पानीको स्तर घट्दै गएको भए पनि धेरै ठाउँमा पानीको स्तर उच्च रहेको प्रकोप विभागले बताएको छ ।

    मौसम विभागले वर्षामा कमी आएको पुष्टि गरेको भए पनि केही क्षेत्रमा आँधीबेहरीको चेतावनी जारी गरेको छ । उद्धार कार्यहरू तीव्र पारिएको र अलपत्र परेका मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको सरकारले बताएको छ ।

  • जेन्जी आन्दोलनका सहिद, ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

    जेन्जी आन्दोलनका सहिद, ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

    दोलखा, १२ मङ्सिरः
    दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आउनुभएका महेश बुढाथोकीको जेन्जी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उहाँको उपचार खर्च जुटाउने आधार पनि समाप्त भएको छ । छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन ।”

    ‘पठाओ’ गरेर क्यान्सर भएकी आफ्नी आमाको उपचारको खर्च जुटाउँदै आउनुभएका २२ वर्षीय महेशको गत भदौ २४ गते कोटेश्वरमा नेपाल प्रहरीको गोली लागेर मृत्युु भएको थियो । महेशका बुबा केशव भन्नुहुन्छ, “छोराले १२ उत्तीर्ण सकेको थियो, युरोप जाने सपना देखेको थियो, युरोपको माल्टा जाने भनेर ५० हजार रूपैयाँ मेनपावरलाई बुझाएको पनि थियो र अहिले फुर्सद भएको समयमा आमाको उपचारलाई खर्च जोहो गर्न पठाओ चलाउने गथ्र्याे तर छोराको न युरोपको सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने सपना पूरा भयो, हाम्रो त सबैथोक सकियो, बेसहारा भयौँ ।”

    महेशका बुबा केशव १० वर्षअघि दोलखाको दुर्गमगाउँ बुलुङबाट आफ्नो कलिला दुई छोराहरूको सुनौलो भविष्य बोकेर काठमाडौँमा छिर्नुभएको थियो । गहभरि आँसु पार्दै उहाँ भन्नुहुन्छ, गाउँमा बाँदर र भालु आतङ्कले बस्ने अवस्था भएन, जति खेती किसान गर्दा पनि परिवार पाल्न धौधौ भएपछि काठमाडौँ आइयो । तर आज यो अवस्था देख्नुप¥यो ।’’ आफू अनपढ भए पनि भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएको बताउँदै उहाँ भन्नुहुन्छ, “अब म बा आमालाई सुख दिन्छु भन्थ्यो, अब युरोप जान्छु धेरै पैसा कमाउँछु अनि काठमाडौँमा घरघडेरी किन्छु भन्ने यसका ती सबै कुरा सपना जस्तै हराएर गए ।”

    हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्नुहुन्छ । उहाँको महिनाको रु १५ हजार तलबले न काठमाडौँको ठाउँमा परिवार पााल्न पुग्छ न छोराछोरी पढाउन नै । उहाँ भन्नुहुन्छ, “घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने ? श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने ? अर्काे छोरा सानै छ ।”

    भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्नुहुन्छ, ‘‘एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफँै किष्ट मेडिकल कलेज पुगेँ, त्यो बेला यसको निधन भइसकेको रहेछ ।’’ दिलकुमारी भन्नुुहुन्छ, ‘‘घरको सबै काम गर्ने उही महेश थियो । लुगाधुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो ।’’ अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ ।

    मृतक महेशले नै आफ्नै भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने र काम गर्न नजानु भन्दै २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउनुहुन्छ । केशव भन्नुहुन्छ, ‘‘भाइलाई सम्झायो तर आफूले छोडेर गयो । म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिन ।’’

    महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए । छोरा अस्पतालमा छ भन्ने खबर पाएलगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुग्नुभएको थियो, उहाँ पुग्दा महेशको मृत्यु भइसकेको थियो । छोराको लास भेटेको बताउनुभयो । बुढाथोकी परिवारलाई राज्यले रु १५ लाख दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको उहाँको भनाइ छ ।

  • विराटनगरको रोमाञ्चक जित

    विराटनगरको रोमाञ्चक जित

    १२ मंसिर, काठमाडौं ।
    विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

    कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

    विराटनगरको जितमा बसिर नायक बने । एक समय ६५-५ को स्थितीमा रहेको विराटनगरलाई बसिरले जितसम्म पुर्‍याउने क्रममा धैर्य भएर ब्याटिङ गरे । उनले ४३ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन जोडे ।

    २०औं ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै उनले विराटनगरको जित पक्का गरेका थिए ।

  • उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

    उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

    भरतपुर, १२ मङ्सिरः
    विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरी उनीहरूको प्रतिभा पहिचान गर्न तथा प्रस्तुती कला र सञ्चार क्षमताको विकास गर्न आयोजित चौथो संस्करण मास्टर एण्ड मिस अङ्कुरम्–२०८२ शुक्रबार सम्पन्न भएको छ ।

    ‘मञ्च प्रदक्षिणा चरण, परिचयात्मक चरण, प्रतिभा प्रदर्शनी चरण र प्रश्नोत्तर चरण गरी चार चरणमा गरिएको स्पर्धाबाट उदयराज वाग्ले मास्टर अङ्कुरम्–२०२५ र श्रीद्धि कर्माचार्य मिस अङ्कुरम्–२०२५ घोषित भएका हुन् । मञ्च प्रदक्षिणा चरणबाट सहभागीको बहिर्गमन सुरु भएको थियो । विद्यालयभरिबाट प्रतियोगिताका लागि १५ जना छात्रा र १५ छात्र गरी ३० जनाले स्पर्धा गरेको प्रतियिोगिताको मञ्च प्रदक्षिणा (पहिलो चरण)बाट पाँच जना छात्रा र पाँच जना छात्र गरी १० जना बहिर्गमनमा परेका थिए भने परिचयात्मक चरणबाट चार जना छात्रा र चार जना छात्र बहिर्गमनमा परेका थिए ।

    प्रतियोगिताको तेस्रो चरण ‘प्रभिभा प्रदर्शनी’बाट उत्कृष्टता प्रदर्शन गर्ने चार जना छात्राहरू आरुषा गुरुङ, श्रृद्धि कर्माचार्य, समृद्धि भण्डारी र ग्रिष्मा पाण्डे तथा छात्रहरू स्वर्णिम घिमिरे, अनन्त पोख्रेल, रिवाज तिवारी र उदयराज वाग्ले गरी आठ जना अन्तिम चरणका लागि छनोटमा परेका थिए ।

    अन्तिम चरणमको स्पर्धामा उत्रिएका आठ जना छात्राछात्राहरूले निर्णायकले सोधेका प्रश्नको गहिकिलो उत्तर दिएका थिए । निर्णायकले सोधेको फेसबुकमा विद्यार्थी र शिक्षक साथी बन्न हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा एक सहभागीले साथी बन्नु हुँदैन, शिक्षकको गोपनियता र व्यक्तिगत जीवनको कदर गर्नुपर्छ भन्न उत्तर दिएकी थिइन् ।

    तहप्रमुखद्वय अर्जुज जी शमा र सुमन शेर्पा लामाले सहजीकरण गरेको कार्यक्रममा शिक्षक समिरचन्द्र कोइराला र सुवेक्षा गुरुङ एवं कलाकार तथा शिक्षक सुमन गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेस्रो संस्करणका विजेता आराध्या राउत र श्रीमन डल्लाकोटीले ताज तथा ढाका टोपी पहिराएका थिए । शिक्षक प्रमिला खातीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व विद्यालयका आवासीय निर्देशक नईम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

    एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

    काठमाडौँ, १२ मङ्सिरः 
    नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङसलाई जीतका लागि १६१ रनको लक्ष्य दिएको छ ।

    र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३  तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

    विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए ।

    तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ ।

    अहिले विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ ।

  • मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

    मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

    काठमाडौँ, मंसिर १२-
    यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिनुभयो ।

    पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

    नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सो पार्टीका सैद्धान्तिक दृष्टिकोण रहेका छन् । रासस

  • सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

    सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

    मान्म (कालीकोट), मङ्सिर १२ –
    कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो ।

    सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएपछि आज दिउँसो निजको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

    पहिरोसँगै ठूलो चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताउनुभयो ।

    कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ । रासस

  • चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

    चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

    चितवन, मंसिर १२ –
    एनपिएलमा चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी भएको छ ।
    काठमाडौैं गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले १७.२ ओभरमा अल आउट हुँदै ८९ रन मात्र बनाउन सक्यो ।
    यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौैं गोर्खाजले १९.२ ओभरमा अल आउट हुँदै चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
  • चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

    चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

    चितवन, मंसिर १२ –
    एनपिएलमा चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी भएको छ ।

    काठमाडौैं गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले १७.२ ओभरमा अल आउट हुँदै ८९ रन मात्र बनाउन सक्यो ।

    यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौैं गोर्खाजले १९.२ ओभरमा अल आउट हुँदै चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

  • भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

    भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

    चितवन, मङ्सिर १२ –
    भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् ।

    भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले महानगरका कार्यालय नजिकै स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गरिएको बताउँदै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “छिमेकी जिल्ला प्रहरी कार्यालयको जमिनमा सडकतर्फ फर्काएर शौचालय बनाइएको छ । दुवैको काम अन्तिम चरणमा पुगेको छ । रु एक करोडको लागतमा यी दुई आधुनिक स्मार्ट शौचालय बनाइएको हो”, उहाँले भन्नुभयो ।

    आचार्यका अनुसार महानगरपालिका नजिक बन्दै गरेको शौचालय थारू संस्कृति झल्कने खालको छभने प्रहरी कार्यालय नजिकको आधुनिक स्वरुपको रहेको छ । भित्री भागमा दुवैमा एउटै खालको सुविधा छ । उहाँले अपाङ्गमैत्री यी दुवै शौचालयमा महिलाका लागि स्तनपान कक्ष, ड्राइपर तथा सेनिटरी प्याड परिवर्तनका लागि सुविधा उपलब्ध हुने जानकारी दिनुभयो । यससँगै धारामा सेन्सर जडान गरिएको छ । दुवै शौचालयमा महिला र पुरुषका लागि नुहाउन मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

    यसअघि महानगरपालिकाले भरतपुर अस्पताल अगाडि, गोन्द्राङ् र आँपटारीमा आधुनिक सार्वजनिक शौचालय बनाइएको थियो । ती शौचालय रु ७० लाख खर्च गरेर बनाइएको हो । महानगर प्रमुख रेनु दाहालले स्थान अभावका कारण सहरी क्षेत्रमा आवश्यक सङ्ख्यामा स्मार्ट शौचालय बनाउन नसकिएको बताउनुभयो । समयसापेक्ष स्मार्ट शौचालयहरु बनाउँदै लैजाने लक्ष्य महानगरको रहेको उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिकाले मुख्य बजार क्षेत्र लायान्स चोक, सहिद चोक र पुलचोकमा स्मार्ट शौचालयका लागि जग्गा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । रासस