Blog

  • एनपिएलः जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

    एनपिएलः जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

    काठमाडौं,१३ मङ्सिर:
    नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी ईटनले ३९ रनको योगदान गरे ।

    बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।

    तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते ‘प्लेअफ’ दौडबाट बाहिरिने सम्भावना छ ।

    यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

    आजको खेल जितेर सुदूरपश्चिम ‘प्लेअफ’मा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै सुदूरपश्चिम गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदलासमेत लिने दाउमा छ ।
    आजै भएको पहिलो खेलमा लुम्बिनीसँग पोखरा पराजित भएको थियो।

  • १५ पार्टी एकताबद्ध भएर आत्मालोचना गर्न आएका छौँ, बदलिन्छौँः प्रचण्ड

    १५ पार्टी एकताबद्ध भएर आत्मालोचना गर्न आएका छौँ, बदलिन्छौँः प्रचण्ड

    काठमाडौं, मंसिर १३-
    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेननी आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको बताएका छन्।

    लुम्बिनीस्तरीय एकता सभालाई सम्बोधन गर्दै युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकता देखिएको बताए। जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको उनको भनाइ छ।

    उनले भने, ‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ। यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ। यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।’

  • बाघको आक्रमणबाट महिलाको मृत्यु

    बाघको आक्रमणबाट महिलाको मृत्यु

    मन्थली (रामेछाप) मंसिर १३-
    रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरुलाई जानकारी गराएका थिए । घटनाारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था नेपाल सुहाउँदो छैनः ज्ञवाली

    प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था नेपाल सुहाउँदो छैनः ज्ञवाली

    काठमाडौं, मंसिर १३-
    पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका निम्ति घातक हुने टिप्पणी गरेका छन् । शनिबार ९मंसिर १३० जेनजी एलाइन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले उक्त शासन व्यवस्था भए मुलुक नरहन सक्ने अवस्था आउने चेतावनी दिए ।

    जलस्रोतविद् समेत रहेका ज्ञवालीले उक्त शासन व्यवस्था ल्याउने प्रस्ताव राख्नेहरूले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गरे । उनले उक्त शासन व्यवस्थाविरुद्धको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेकामा जोड दिए ।

    ज्ञवालीले केपी शर्मा ओली र शेरबहादुर देउवाहरूले नै मुलुकलाई कमजोर बनाएको आरोप लगाए ।

  • पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

    पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

    काठमाडौँ, मंसिर १३-
    स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।

    सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए ।

    पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई अन्याय हुन दिन्नौँ, नियामक निकायसँग बुझेर समस्या समाधानको पहलकदमी लिन्छौँ । ”

    स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले भन्नुभयो, “ कम्पनी खारेज भएको तीन वर्ष बितिसक्दा टावर व्यवस्थापन भएको छैन । टावरको भाडा पनि पाइएको छैन, बिजुलीको पैसा उठेको छैन ।”

    स्मार्ट बन्द हुँदा धेरै सङ्ख्यामा नेपालीले रोजगारी गुमाएको उनीहरुको भनाइ छ । स्मार्ट कार्ड र सिम कार्डमा लगानी गरेका व्यवसायीको लगानी खेर गएको छ । कम्पनी बन्द भएको तीन वर्ष बितिसक्दा बैंकलाई ब्याज बुझाउनुपरेको तर कार्डको पैसा फिर्ता आउने टुङ्गो नभएको पीडितको गुनासो छ ।

    स्मार्ट समस्या समाधान समूहमा स्मार्ट कार्ड समूह, टावर राखेको घरबेटीहरुको समूह, स्मार्टमै काम गर्ने कर्मचारीलगायत छन् । अनुमतिपत्र नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन बमोजिम स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाख ३ गतेदेखि स्वतः खारेज भएको थियो । रासस

  • रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै

    रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै

    १३ मंसिर, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ ।

    पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ ।

    आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

    शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।

  • पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

    पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

    काठमाडौँ, मंसिर १३-
    लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो ।

    पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।

    यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।

  • विराटनगरमा एमाले प्रतिनिधि छनोटका क्रममा तनाव

    विराटनगरमा एमाले प्रतिनिधि छनोटका क्रममा तनाव

    विराटनगर , १३ मङ्सिर
    नेकपा एमालेको ११ औँ अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा विराटनगरमा तनावको स्थिति सिर्जना भएको छ। विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा जारी मतदानका क्रममा कार्यकर्ताहरू बिच झडप र हात हालाहाल भएको हो।

    विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ। एमाले नेता परशुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक–पटक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर भोट हाल्न खोजेको भन्दै कडा प्रतिवाद गरेका थिए।

    सार्वजनिक भएको भिडियो फुटेजमा नेता बस्नेत निकै आक्रोशित देखिएका छन् । उनले भिडमा ‘तपाईं अभिभावक होइन ? यसरी भोट हाल्न पाइन्छ ?’ भन्दै प्रश्न गरेको र अर्को पक्षलाई झम्टिन खोजेको देख्न सकिन्छ। उनलाई रोक्न अन्य कार्यकर्ता र सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो।

    भिडियोको पृष्ठभूमिमा एक महिलाले ‘आफू–आफू लडाइँ गरेर मर्ने भए भन्दै चिन्ता व्यक्त गरेको सुनिन्छ भने कार्यकर्ताहरूबिच ठेलमठेल चलिरहेको देखिन्छ। यो घटनाले एमालेको आन्तरिक प्रतिस्पर्धामा देखिएको तीव्र गुटबन्दी र असन्तुष्टिलाई सतहमा ल्याएको छ।

    अशक्त र वृद्धवृद्धाको नाममा अनधिकृत व्यक्तिले मतदान गर्न खोजेको विषयले उग्र रूप लिएपछि केहीबेर मतदान प्रक्रिया नै प्रभावित बन्न पुगेको थियो।

  • मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा

    मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा

    काठमाडौं, मंसिर १३-
    नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कप २०२५ को फाइनलमा पुगेको छ। शनिबार युएईमा भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल यू-१९ एसिया कपमा समेत पुगेको छ।

    नेपालले मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य ७.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा वंशी क्षेत्रीले नटआउट २३ रन र निश्चल क्षेत्रीले नटआउट १५ रन बनाए। ओपनर निरज यादव भने ४ रनमा आउट भएका थिए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमै अलआउट भयो।

  • राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्रीलाई भेट्दै

    राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्रीलाई भेट्दै

    काठमाडौँ मङ्सिर १३ –
    राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गर्ने तय भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था, परिवर्तनकारी पुस्ताका प्रतिनिधि जेनजी र राजनीतिक दलबिच नवीन समझदारी हुनुपर्ने धारणा राख्दै आएको छ ।

    हालै बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने औपचारिक निर्णय समेत गरेको थियो ।