Blog

  • हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

    हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

    मध्यविन्दु (नवलपरासी), मंसिर १४-
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।

    स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती गर्दै आउनुभएको छ । दुई बिघामा खेती गर्नुभएका उहाँले लागत खर्च कटाएर वार्षिक रु २० लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रामात्रै लगाउने गरेका छौँ ।”

    तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्राखेतीमा संलग्न छन् । रजालीले भन्नुभयो, “हामीले १४ वर्षदेखि काँक्राखेती गरिरहेका छौँ । यस वर्ष ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।”

    कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् । उनीहरूको व्यावसायिकता साँच्चिकै लोभलाग्दो छ । वर्षमा तीन बाली काँक्राखेती गर्ने उनीहरूलाई आर्थिक अभाव विरलै हुन्छ ।

    धान बालीमात्र लगाउँदै आउनुभएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती लगाउँदै आउनुभएको छ । “दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा रु दुई लाखसम्म आम्दानी हुने गरेको छ”, परियारले भन्नुभयो ।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ । भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।

    समूहसँगै व्यवसाय दर्ता गरी काँक्राखेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पु¥याउन पनि पालिकाले सहयोग गर्दै आएको छ । रासस

  • सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

    सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

    काठमाडौं,मंसिर १४ –
    मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

    पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३:२० बजे ठोक्किएका थिए ।

    दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोमा चिकित्सकले आज बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए ।

    सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुर बस्ने अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनलाई दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहान ६:५५ बजे थप उपचारका लागि बिराटनगरतर्फ पठाइएको छ ।

    दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट ३ किलोमिटर र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ ।

  • एमालेको एघारौं महाधिवेशनका लागि चितवनबाट २४ जना प्रतिनिधि छनौट (नामावलीसहित)

    एमालेको एघारौं महाधिवेशनका लागि चितवनबाट २४ जना प्रतिनिधि छनौट (नामावलीसहित)

    चितवन, मंसिर १४ –
    नेकपा (एमाले) को एघारौं महाधिवेशनका लागि चितवनबाट २४ जना प्रतिनिधि छनौट भएका छन् ।
    शनिबार साँझ चितवनबाट प्रतिधित्व गरेर जानेहरुको नाम सर्वसम्मतीबाट टुंग्याइएको एमाले चितवनले जनाएको छ ।

    चितवनका तीन वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट भएका छन् भने चितवन जिल्ला भरीबाट उत्पीडित क्लष्टरमा १ जना प्रतिनिधि छनौट भएका छन् ।

    निर्वाचन क्षेत्र नं. १ बाट ८ जना छनौट भएका छन् । जसमा खुल्लातर्फ कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्दप्रसाद कँडेल र जगन्नाथ आचार्य, महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी, युवातर्फ उत्तम सेढाई छनौट भएका हुन् ।

    निर्वाचन क्षेत्र नं. २ बाट ९ जना छनौट भएका छन् । जसमा खुल्लातर्फ डा तिलचन्द्र भट्टराई, तेजेन्द्रबहादुर खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी, महिलातर्फ विमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ, युवातर्फ प्रकाश आचार्य छनौट भएका छन् ।

    निर्वाचन क्षेत्र नं. ३ बाट ६ जना छनौट भएका छन् । जसमा खुल्लातर्फ रामप्रसाद न्यौपने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती विष्ट र निशा अधिकारी, युवातर्फ प्रकाश भट्ट प्रतिनिधि छनौट भएका हुन् ।

    चितवन जिल्लाबाट उप्पीडित क्लष्टरतर्फ श्यामलाल विक प्रतिनिधि छनौट भएका छन् ।

    पार्टी संगठित सदस्यका आधारमा हरेक निर्वाचन क्षेत्रमा प्रतिनिधिको संख्या निर्धारण गरिएको हो ।

    नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्दै छ ।

  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ मङ्सिर १४
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशभर आंशिक बदली रहने छ । रति पनि यही क्रम जारी रहने महाशाखाले जनाएको छ ।

    सोमबार भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।

  • हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

    हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

    आज मिति २०८२ मंसिर १४ गते (३० नोभेम्बर २०२५) आइतवार, मार्ग शुक्लपक्ष दशमी तिथि, १६ः१३ बजेपछि एकादशी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    हेर्नुस तपाइँको आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। अध्ययन र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेवछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। तत्काल समस्या देखिए पनि पछिका लागि काम गर्ने समय छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    दिन रमाइलो र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पदीय जिम्मेवारी हातपार्न सकिनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थाल्न केही समय लाग्नेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ। तर अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। बाध्यताले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मौकामा आलस्य गर्ने प्रवृत्तिले पछि परिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    तपाईंको आजको दिन सुभरहोस ।

  • बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

    बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

    आशिष उप्रेती, मंसिर १३-
    बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, खैरहनी ०८, चितवनकी विद्यार्थी सन्जिला विश्वकर्मा नेपाल तेश्रो र चितवन प्रथम भएकी छिन् ।

    त्रिभुवन विश्वविद्यालयले मंगलबार प्रकाशित गरेको बिबिएस प्रथम वर्षको नियमित तर्फको नतिजा अनुसार चितवनबाट इन्टरनेशनल कलेज, खैरहनी ०८, चितवनकी विद्यार्थी सन्जिला विश्वकर्माले ७९ दशमलव २ प्रतिशत (७९.२%) अंक सहित नेपालकै तेश्रो र चितवन प्रथम भएकी हुन् ।

    गत साउन महिनामा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायद्वारा बिबिएस प्रथम वर्ष नियमित तर्फको परीक्षा सञ्चालन भएको थियो ।

    राप्ती ०८, थ्री ग्रुप, चितवन घर भएकी सन्जिला विश्वकर्माले बिबिएस प्रथम वर्षको नतिजामा ७९ दशमलव २ प्रतिशत (७९.२%) अंक सहित नेपालकै तेश्रो र चितवन प्रथम भएको इन्टरनेशनल कलेज, खैरहनीका कलेज प्रमुख भीष्मराज पाठकले दाबी गर्नुभयो ।

    विद्यार्थीहरुको निरन्तर मेहनत, प्राध्यापक तथा कलेज प्रशासनबाट अथक प्रयास र अभ्यासले गर्दा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउदै कलेजको भौतिक पूर्वाधार सहितको आधुनिक प्रयोगशाला, आधुनिक डिजिटलाईज कक्षा कोठा, योग्य तथा अनुभवी दक्ष जनशक्ति सहितको कक्षा सञ्चालनले गर्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

    उहाका अनुसार यसै शैक्षिक सत्रमा कलेजबाट व्यवस्थापन संकाय तर्फ चितवन जिल्लामै पटक पटक उत्कृष्ट नतिजा सहित उच्च अंक प्राप्त गर्न सफल भएको र अघिल्लो महिना र अघिल्लो वर्षहरुमा समेत त्रिभुवन विश्वविद्यालयका विभिन्न सेमेष्टरको नतिजाहरुमा राष्ट्रिय स्तरमै दशौं स्थान र चितवन प्रथम समेत हुन सफल भइरहेको छ ।

    कलेजका प्रमुख भीष्मराज पाठकले व्यवस्थापन संकायका लागी कलेज उत्कृष्ट शैक्षिक गन्तब्य रहेको र दक्ष प्राध्यापकहरुको महत्वपुर्ण भूमिकाले गर्दा कलेजका सम्पुर्ण कार्यक्रमहरु बिएचएम, बिआईएम, बिबिएस, एमबिएस र कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याईरहेको बताउनुभयो ।

    उहाँले कलेज सधैं विद्यार्थी केन्द्रीत गुणस्तरिय शिक्षामा समर्पित रहेको उल्लेख गर्दै नयाँ सत्रका लागि अहिले व्यवस्थापन संकाय अन्तर्गत बिबिएस प्रथम वर्षमा धमाधम भर्ना खुलेको र कक्षा सञ्चालन भईरहेको जानकारी समेत दिनुभयो ।

    इन्टरनेशनल कलेजमा व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ देखी स्नातकोत्तर तह (एमबीएस) सम्म पुर्ण डिजिटल प्रणालीमा पढाई हुदै आईरहेको छ ।

  • आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी

    आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी

    खाँदबारी, १३ मङ्सिरः 
    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गर्नुभएको छ ।

    आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उहाँले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताउनुभयो ।

    अध्यक्ष साम्पाङले पार्टीले त्यही विकल्पका रूपमा अघि बढिरहेकाले पार्टीले जनसमर्थनसहित उल्लेख्य सफलता हासिल गर्ने जिकिर गर्नुभयो ।
    आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पद्धतिको पक्षमा रहेको बताउँदै उहाँले भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउने बताउनुभयो । “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिइने छैन । हाम्रो सरकार सुशासन, पारदर्शिता र मितव्ययितामा आधारित हुनेछ”, अध्यक्ष साम्पाङले भन्नुभयो,“उत्पादन र निर्माणलाई प्राथमिकतामा राखेर देश आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य पार्टीले लिएको छ । उत्पादनमा वृद्धि गर्न नसक्दा ठूलो सङ्ख्यामा नेपाली बेरोजगार बन्नु परेको पीडा हामीलाई थाहा छ ।”

    उहाँले गाउँगाउँमा सङ्गठन बलियो बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा जुट्ने बताउनुभयो

  • सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

    सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ

    धनुषा, १३ मङ्सिरः 
    यहाँ सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएअनुसार बालिका बलात्कार आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५  महेन्द्रनगर बस्ने ६७ वर्षीय रामभगत साहलाई पक्राउ गरिएको हो ।

    आरोपी साहले आज बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

    पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।

  • एनपीएल : जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

    एनपीएल : जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

    १३ मंसिर, काठमाडौं ।
    सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

    शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि साविक उपविजेता सुदूरपश्चिमले लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको हो ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।

     

  • तीनदिने आधारभूत प्राथमिक उपचार तथा सिपिआर तालिम सुरु

    तीनदिने आधारभूत प्राथमिक उपचार तथा सिपिआर तालिम सुरु

    चितवन, १३ मङ्सिर:
    आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘र्कािर्डयोपल्मोनरी रिससिटेसन’ (सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तीन दिने आभारभूत उपचार तथा सिपिआर तालिम सुरू भएको छ ।

    भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा उक्त तालिम सुरू भएको हो । तालिममा अङ्कुरम् एकेडेमी र चितवन स्मार्ट स्काउट क्रुका २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

    तालिममा चितवन स्मार्ट स्काउट क्रुका पूर्वप्रमुख आयुक्त तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, नेपाल रेडक्रस सोसाइटी चितवनका तालिम संयोजक चीजकुमार श्रेष्ठ, प्रशिक्षकद्वय शारदा पौडेल र नरबहादुर के.सी.ले प्रशिक्षण सञ्चालन गरेका छन् ।

    तालिमले प्रशिक्षार्थीहरुलाई आकस्मिकरुपमा चोटपटक लाग्दा वा बिरामी पर्दा तात्कालिक र सही प्राथमिक उपचार दिन सक्षम बनाउने, दुर्घटना वा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थामा ज्यान बचाउने, दुर्घटनामा लागेको चोटलाई थप गम्भीर हुन नदिन र उपचार सहज बनाउन सहयोग पु¥याउने सिपको विकास गर्ने, जोखिम पहिचान, सुरक्षित ढंगले सहायता, र मद्दत माग्ने सही प्रक्रिया सिकाउने, हृदयघात वा श्वास रोकिने अवस्था आउँदा शीघ्र र प्रभावकारी सिपिआर विधि सिकाउने, एम्बुलेन्स वा चिकित्सक आइपुग्ने समयसम्मका लागि बिरामीको जीवन बाँच्ने सम्भावना बढाउनेलगायतका सिप सिकाउने विश्वास गरिएको छ ।

    तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम विद्यालयका आवासीय निर्देशक नईम चौधरीको प्रमुख आतिथ्यता, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बरालको सभापतित्वमा उद्घाटन भएको हो । स्काउटर रोभर लिडर आकाश न्यौपानेले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य रेन्जर निर्जला श्रेष्ठले गरेकी थिइन् भने प्रमुख अतिथि चौधरीले कार्यक्रमको सफलताको कामना गरेका थिए ।