Blog

  • एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौँको जित

    एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित

    काठमाडौँ, १४ मङ्सिरः
    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ ।

    जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे । कर्णालीका नन्दन यादवले तीन, पवन सराफले एक विकेट लिए ।

    यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

    बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । काठमाडौँ यो जितसँगै आठ अङ्क जोड्दै ‘प्लेअफ’ नजिक पुगेको छ । कर्णालीको भने यो चौथो हार हो ।

  • नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?

    नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?

    चितवन,मंसिर १४-
    नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको चितवनको भरतपुर र नवलपुरको गैडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको हो । निर्माणको ठेक्का पाएको तुँदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डको काम सुरु गरेको जनाएको छ ।

    ‘अहिले नारायणी नदीमा पुल निर्माण गर्न नारायणगढ तर्फ पाइलिङको तयारी भइरहेको छ,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले भने ‘बर्खा अगाडि नै डेकुरेशनको काम सक्ने योजनाका साथ काम अगाडि बढाएका छौँ ।’ एक अर्ब ६८ करोडमा ठेक्का पाएको निर्माण कम्पनीले ३६ महिनाभित्र सक्नेगरी काम अगाडि बढाएको छ । प्राकृतिक प्रकोप नआए बर्खा अगाडि नै नारायणी नदीको दुई वटा पिलरको डेकुरेशनको काम सकिने मिश्रले जानकारी दिए ।

    यस सिग्नेचर पुलमा नदीको भागमा दुई र दायाँ–बायाँ दुईगरी चार वटा पिलर हुनेछन् । नारायणगढ तर्फ एक महिना भित्र पाइलिङ सकेर गैँडाकोट तर्फ अर्को महिनादेखि पाईलिङको काम सुरु गरिने उनले जानकारी दिए । मिश्रका अनुसार यस वर्ष केही फाउण्डेशन र सव स्टक्चरको काम सुरु गरिनेछ ।

    ‘बर्खा अगाडि पिलर उठाउँदैनौँ । अर्को वर्षदेखि पिलर उठाएर काम गछौँ,’ उनले भने ‘प्राकृतिक प्रकोप भएन भने यस वर्ष फाउण्डेशनको २५ देखि ३० प्रतिशत काम गर्छौँ।’ सडक विभागले पुल निर्माणका लागि सन् २०२३ मा ठेक्का लगाएको थियो । एक वर्ष डिजाइन र अप्रुबलको समय राखेको थियो । हामीले डिजाइन सकेर कामको अख्तियारी पाएको २५ दिन मात्र भयो, उनले भने ‘अब जतिसक्दो छिटो सक्ने गरी काम अगाडि बढाउँछौँ ।’

    यहाँ अत्याधुनिक प्रविधियुक्त दुई लेनको पुल निर्माण हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । अहिलेको नारायणी पुल जिर्ण बन्दै गएको छ ।

    नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । यसको ११ मिटर चौडाइ हुनेछ । सिग्नेचर पुल अन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन् ।

    सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने बताइएको छ । अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो । पुलको शिलान्याश तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले वि.स २०८१ बैशाख ३१ गते गरेका थिए ।

  • चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण

    चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण

    चितवन, मंसिर १४-
    चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको हो ।

    गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएको जनाउँदै सूचना अधिकारी मगरले निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गर्दै आइएको छ । रासस

     

  • सौराहामा १९ औं चितवन हात्ती महोत्सव हुने

    सौराहामा १९ औं चितवन हात्ती महोत्सव हुने

    सौराहा,मंसिर १४-
    चितवनको सौराहामा पुस ११ गतेदेखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै चितवनको पर्यटकीय गन्तव्यलाई विश्व सामु पु¥याउने उद्देश्यले सौराहाको बाघमारा चौरमा महोत्सवको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपुर्ण गन्तव्य स्थलको रुपमा चिनाउनको लागि महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका कार्यक्रम संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो । महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने संयोजक थपलियाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, मानव वन्यजन्तु सह अस्तित्व, पर्यापर्यटन र सरक्षणमा हात्तीको महत्व सम्बन्धी चित्रकला प्रतियोगिता, विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम समेत महोत्सवमा हुनेछन् । सौराहामा वि.सं २०५५ सालबाट हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको हो ।

    महोत्सवका नाममा हात्तीलाई दुःख दिँदै आएको भन्दै संरक्षणकर्मीबाट बिरोध हुँदै आएपछि पछिल्ला वर्षमा यसलाई परिस्कृत गरेर हात्तीका गतिविधिलाई संरक्षण मैत्री बनाउँदै लगिएको क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष ओम पाण्डेले बताउनुभयो । हात्ती र पर्यटन सौराहाको पर्यायवाची जस्तै रहेको बताउँदै उहाँले महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । महोत्सवमा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आवागमन बृद्धि हुँदै आएको उहाँको भनाई छ । सो समयमा होटल तथा रेष्टुरेण्डमा खाना र आवासका लागि १० प्रतिशत छुट दिने आयोजकले जानकारी दिएको छ ।

    सौराहामा रहेका ८० वटा हात्ती महोत्सवका विभिन्न गतिविधिमा सहभागी गराइने संघका महासचिव महेश खनालले बताउनुभयो । उहाँले हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सह अस्तित्वको जीवित उदाहरण रहेको भन्दै परम्परा, जिविकोपार्जन र संरक्षणमा सन्तुलन रहेको उल्लेख गर्नुभयो ।

    क्षेत्रीय होटल संघ नेपाल चितवन प्रमुख आयोजक रहेको महोत्सवको सहआयोजक युनाईटेड हात्ती सञ्चालन सकारी संस्था लिमिटेड, संरक्षकमा रत्ननगर नगरपालिका, प्रवद्र्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय सौराहा रहेका छन् ।

  • रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

    रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

    काठमाडौं,मंसिर १४-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको घोषणा गरिएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। दुवै पार्टीबीच एकता गर्न केही दिनअघि सहमति भएको थियो।

    रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ। दुवै पार्टीबीच भएको सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी नाम रहने उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए। एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालय र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

    एकतापछि पनि पार्टीको चिह्न घण्टी नै रहने भएको छ। यसमा पनि दुवै दलका नेता सहमत भएको वाग्लेले जानकारी दिए।

  • गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

    गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

    चितवन,मंसिर १४-
    गोरखा-आँबुखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १२१९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

    गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनामा परेको हो । ‘बसको ब्रेक नलागेको र ओट् पनि नराखी ड्राइभर झरेका बेला बस गुडेर १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने । बसमा कति यात्रु थिए यकिन भइनसकेको पनि उनले बताए । घाइतेहरूलाई गोरखा अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

  • विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका रञ्जन र विदिशाको उत्कृष्ट सफलता – २२औँ र २९औँ स्थान

    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका रञ्जन र विदिशाको उत्कृष्ट सफलता – २२औँ र २९औँ स्थान

    काठमाडौँ,१४ मंसिर-
    विश्वभरका ७०० भन्दा बढी ह्याकर तथा क्लाउड सेक्युरिटी इन्जिनियर सहभागी रहेको प्रतिष्ठित ‘Wiz Cloud Security Championship’ मा फोर्ब्स कलेज चितवनका दुई प्रतिभाशाली विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीले उत्कृष्ट सफलता हात पार्दै क्रमशः विश्वकै २२औँ र २९औँ स्थान हासिल गर्न सफल भएका छन्।

    क्लाउड सुरक्षामा आधारित यो एक वर्षे वैश्विक प्रतियोगिता AWS, GCP, Kubernetes जस्ता प्लेटफर्ममा पहिचान हुने वास्तविक सुरक्षा कमजोरीका आधारमा हरेक महिना नयाँ ‘क्याप्चर द फ्ल्याग (CTF)’ चुनौती प्रदान गर्ने अत्यन्त प्रतिस्पर्धात्मक कार्यक्रम हो। अहिले प्रतियोगिताको छैटौँ महिना चलिरहेको छ।
    २४ वर्षीय रञ्जन मरासिनी ‘Noob Injected’ नामबाट प्रतिस्पर्धा गर्दै आएका छन्। सुरुवातमा ७०औँ स्थानभन्दा तल रहे पनि अघिल्लो महिनामा सबैभन्दा कठिन मानिएको Kubernetes चुनौती सफलतापूर्वक समाधान गरेपछि उनी २२औं स्थान प्राप्त गर्न सफल भए।

    त्यस्तै, विदिशा सुवेदीले पनि उत्कृष्ट क्षमताको प्रदर्शन गर्दै २९औँ स्थान हासिल गरेकी छन्। हिमालै बराबर चुनौतीपूर्ण मानिने क्लाउड सुरक्षा क्षेत्रमै महिला प्रतिस्पर्धीले यस्तो उपलब्धि हासिल गर्नु नेपालका लागि गर्वको विषय बनेको छ।
    सो प्रतियोगितामा नेपालबाट थोरै विद्यार्थीले विशेष निमन्त्रणा र छनोट प्रक्रियामार्फत भाग लिन पाएका छन्। दुवै विद्यार्थीले फोर्ब्स कलेज चितवनमा साइबर सिक्युरिटीमा अध्ययन गरेका हुन्, जहाँ उनीहरूले क्लाउड सुरक्षा, एथिकल ह्याकिङ, नेटवर्क डिफेन्सजस्ता विषयहरूमा शिक्षा प्राप्त गरेका छन्।

    प्रतियोगिता उत्कृष्ट प्रदर्शनकर्तालाई इजरायल र अमेरिकामा मुख्यालय रहेको Wiz कम्पनीमा रोजगारीका अवसर, विश्वस्तरीय च्याम्पियनशिप बेल्ट तथा आकर्षक पुरस्कार प्रदान गर्नेछ।
    दुवैले आगामी चरणहरूमा अझ कडा प्रतिस्पर्धा गर्दै विश्वको शीर्ष १० भित्र पर्नेको लक्ष्य राखेको बताएका छन्।

    फोर्ब्स कलेज चितवनले दुवै विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल करियरका लागि शुभकामना व्यक्त गरेको छ।

  • मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    १४ मंसिर,म्याग्दी।
    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो।

    बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन्। धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन्।

    वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए। गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उनले बताए।

    सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो। बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्। यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो।

    बसका लागि प्रतिव्यक्ति भाडादर सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिए। “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ। बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उनले भने।

    असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताए। म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा-एउटा बस छुट्ने जनाएको छ।

    यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे। मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। उनका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष ३० लाख विनियोजन भएको छ।

    भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन। गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा एक करोड विनियोजन गरेको छ।

    प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे। लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उनले जानकारी दिए। रासस

  • कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री

    कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री

    काठमाडौँ, मङ्सिर १४ –
    प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताउनुभएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।”

    प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गर्नुभएको छ । रासस

  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    १४ मंसिर,काठमाडौं।
    अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० निर्धारण भएको छ।

    शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ मा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।