Blog

  • मेयर बालेनलाई पितृशोक

    मेयर बालेनलाई पितृशोक

    काठमाडौं,मंसिर १५-
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो । उनी हिजो (आइतबार) बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

  • चितवनका जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

    चितवनका जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

    चितवन, मङ्सिर १५ –
    गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् ।

    जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो ।

    उहाँका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उहाँले भन्नुभयो, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।

    स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उहाँले भन्नुभयो । घाइतेहरुको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो । रासस

  • एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

    एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

    राँझा (बाँके), मंसिर १५-
    बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीको लापर्बाहीले सडक निर्माणको काम हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो । पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न नभएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र गाउँपालिकाको मागका आधारमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता रद्ध गरी उक्त सडक निर्माणका लागि नयाँ ठेक्का आह्वन गरेको छ ।

    पुरानो निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्ने देखिएपछि ठेक्का सम्झौता रद्ध गरेर नयाँ प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इञ्जीनीयर लीलाबहादुर भण्डारीले बताउनुभयो ।

    सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाउने चासो लिएको उहाँको भनाइ छ । उहाँका अनुसार, खजुरा खण्डमा बाँकी रहेको सडक निर्माणका लागि करिब रु १० करोडको लागत लाग्ने अनुमानसहित ठेक्का आह्वान गरिएको छ । नेपालगञ्ज–गुलरिया सडक विस्तार र खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण प्रक्रिया अघि बढेसँगै अलपत्र सडक निर्माणमा हुलाकी सडक आयोजनाले विशेष चासो देखाएको हो ।

    बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा अधुरो रहेको दुई हजार २०० मिटर सडक गरी दुवै सडक नयाँ प्रक्रियाबाट छ महिनाभित्र काम सम्पन्न गर्नेगरी लागिपरेको उहाँको भनाइ छ ।

    हुलाकी राजमार्गले नेपालगञ्ज–गुलरिया चार लेन सडकको काम गरिरहेकाले त्यसको बीचमा अलपत्र परेको खजुरा सडक पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । नयाँ ठेक्का सम्झौताअनुसार सडकको बाँकी काम आगामी असार १५ गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ । यससँगै अब खजुरा बजारका स्थानीय बासिन्दाको लामो समयदेखिको अधुरो सडक निर्माण हुने अपेक्षा बढेको खजुरा गाउँपालिकाका अध्यक्ष विकले बताउनुभयो । रासस

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    १५ मंसिर,काठमाडौं।
    साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।

    आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ।

  • चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

    चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

    चितवन, मंसिर १५-
    जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उहाँका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो ।

    अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३ जना एड्स सङ्क्रमित रहेका छन् । जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् ।

    विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिनुभयो । दुई सय ८५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा एड्स सङ्क्रमित भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा भरतपुर अस्पतलाको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ सङ्क्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीसमेत यहाँबाट सेवा लिने गरेको उहाँले बताउनुभयो ।

    भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । अठ्ठाइस् जनाले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो । यहाँ रहेका सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । एड्स रोग लागेका सङ्क्रमितलाई हेर्ने दृष्ट्रिकोणमा अझै परिवर्तन आउन नसकेको उहाँले बताउनुभयो । सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूलेसमेत गाह्रो मान्ने गरेका उहाँको भनाइ छ । रासस

  • ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

    ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

    म्याग्दी,मंसिर १५-
    म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

    सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खस्नुभएको थियो ।

    प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो । निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।

    फापरखेतको पहिरोले बर्खायाममा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो । रासस

  • एनपिएलः आज विश्राम, भोलि जनकपुर र चितवन तथा पोखरा र कर्णाली भिड्दै

    एनपिएलः आज विश्राम, भोलि जनकपुर र चितवन तथा पोखरा र कर्णाली भिड्दै

    काठमाडौँ, मंसिर १५

    राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

    लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।

    चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ ।

    दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।

    मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । रासस

  • आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर १५ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर १ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–एकादशी, १९ घडी २४ पला, दिउसो २ बजेर २४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–रेवती, ३३ घडी १८ पला, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त अश्विानी । योग–व्यातिपात, ४० घडी ० पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त वरियान । करण–भद्रा, दिउसो २ बजेर २४ मिनेट उप्रान्त बव, रातको १ बजेर २४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १० पला ।

    हेर्नुस् आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । तर पनि गैह्र न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ । लामो दुरीको अफिसियल वा सांगितिक यात्राको प्रबल योग रहेको छ । अध्ययन तथा खेल क्षेत्रमा सफलता प्राप्त हुने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । लामो दुरीको यात्राको तय हुनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट केही मात्रामा आम्दानी गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । यात्रा, खेलकुद, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । आर्थिक तथा खेलकुद क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले सवारी साधन र घरजग्गाको कारोबारबाट थोरै भए पनि लाभ लिन सकिनेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । सिजनेवल सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीमा वृद्धि गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । सांगितिक तथा व्यावसायिक यात्राको योग रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • डिजेल/मट्टितेलको मूल्य घट्यो

    डिजेल/मट्टितेलको मूल्य घट्यो

    काठमाडौँ, १४ मङ्सिरः 
    नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल/मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।

    मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

    निगमले हवाई इन्धन (आन्तरिक र अन्तरराष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु छ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु १३४ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा  प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    चितवन, १४ मङ्सिर :
    चितवनका दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा भएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र बिगुल माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

    आज सार्वजनिक भएको चलचित्रको तीन पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा देखिएकी छन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनीशा,अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशीत मुद्रामा छन भने तेस्रोमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएका छन् ।

    चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । जेन्जी पुस्ताले आन्दोलनमा उठाएका मागसँग मेल खाने बिषय समेटेर आफूले पहिले नै चलचित्रको कथा लेखेको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ । पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।

    बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको उनले बताए । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको उनको भनाइ छ । चलचित्रले आम नेपालीको समृद्ध र बिकसीत नयाँ नेपालको चाहनालाई सम्बोधन गरेकोले हरेक नेपालीलाई यो चलचित्र हेर्नु उनले आह्वान गरेका छन् ।

    निर्देशक कोइरालाले पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा देखाउन खोजेको बताए । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ ।

    म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशाका साथमा नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

    प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन रहेको चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत,तारा थापा किम्भेको सम्पादन रहेको छ । सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र मोफसलको श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।