Blog

  • जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

    जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

    काठमाडौँ, १५ मङ्सिरः
    नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ कलङ्कीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताउनुभयो ।

    पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सो कार्यालयले जनाएको छ ।

     

  • भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

    भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

    काठमाडौं, मंसिर १५
    सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

    सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए।

    उनका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय भएको छ।

    यस्तै, माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत् मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय भएको बताए।

  • नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

    नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

    काठमाडौँ, १५ मङ्सिरः
    सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट सात हजार ८७१, बेलायतबाट सात हजार १८९, बङ्गलादेशबाट पाँच हजार ६५३, अष्ट्रेलियाबाट पाँच हजार ३९३, श्रीलङ्काबाट चार हजार ८३१, म्यानमारबाट चार हजार ४८४, फ्रान्सबाट चार हजार २११ र जर्मनीबाट चार हजार १३४ पर्यटक भित्रिएका हुन् ।

    क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट पाँच हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट एक हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट छ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।

    सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
    –––

  • चितवनको सिजि मलमा खुल्यो फुड डायरी, लप्सीको झोल मःम बेच्न शहिद चोकमा अर्काे शाखा

    चितवनको सिजि मलमा खुल्यो फुड डायरी, लप्सीको झोल मःम बेच्न शहिद चोकमा अर्काे शाखा

    चितवन, मंसिर १५ –
    चितवनको सिजि मलमा फुड डायरी खुलेको छ । त्यसैगरी फुड डायरीले नै शहिद चोकमा लप्सीको झोल मःमः नामक रेष्टुरेण्ट पनि सञ्चालनमा ल्याएको छ । दुबै शाखाको आइतबार साँझ उद्घाटन गरिएको छ ।

    सिजि ल्याण्ड मार्कको फुड डायरीमा मिल्क शेक, कट्टि रोल, लस्सी, जुस, स्याण्डविच, लाफिङ्, बर्गर, स्मुथिज, आइसक्रिम लगायतका खानेकुरा उपलब्ध छन् ।

    त्यसैगरी शहिद चोकको संगम रोडमा भने लप्सीको झोल मःमः खुलेको छ । जहाँ लप्सी हालेर बनाइएको झोल र मःमः खान पाइन्छ ।

  • देश गम्भीर संकटमा गुज्रिरहेको छ : झलनाथ खनाल

    देश गम्भीर संकटमा गुज्रिरहेको छ : झलनाथ खनाल

    १५ मंसिर, विराटनगर ।
    नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल देश गम्भीर संकटमा गुज्रिरहेको बताएका छन् ।

    विराटनगरमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै देशलाई निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताएका हुन् ।

    उनले मार्क्सवाद र लेलिनवादलाई नयाँ पार्टीको मूल सिद्धान्त रहेको बताए । समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद निर्माणका लागि एकता गरिएको बताए ।

    उनले एमालेको शैलीले समाजवादसम्म नपुगिने बताए ।

    आफ्नै कमजोर, विदेशी सड्यनत्रका कारण कम्युनिस्ट पार्टीहरु पटकपटक विभाजन भएको बताए ।

    कृषि क्रान्तिका कार्यक्रम ल्याउने कम्युनिस्ट पार्टीले सत्तामा पुगेपछि एजेन्डा बिर्सिएको बताए । कम्युनिस्ट पार्टीले सुरुदेखि नै कृषि क्रान्तिको एजेन्डा राखेको बताए ।

  • सिन्धुलीमा माछा मार्न गएका एक जनाको मृत्यु

    सिन्धुलीमा माछा मार्न गएका एक जनाको मृत्यु

    १५ मंसिर, काभ्रेपलाञ्चोक ।
    सिन्धुलीको दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ ।

    आइतबार साँझ ५ बजे ‘माछा मार्न जाने’ भन्दै घरबाट निस्किएका विक रातभरि घर नफर्किएपछि परिवारले खोजतलास गर्दा मंगलबार विहान दहमा डुवेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमवार विहान ११:३० बजे दुधौली –६ स्थित कमला खोलाको दहमा विकलाई स्थानीयले उत्तानो अवस्थामा मृत फेला पारेका थिए ।

    घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

    गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

    महेन्द्रनगर, मङ्सिर १५ –
    गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गर्नुभएको छ ।

    धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आउनुभएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गर्नुभएको गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिनुभयो ।

    “प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,” उहाँले भन्नुभयो, “गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत अनुगमनमा रहेको थियो ।”

    गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी हुनुहुन्थ्यो । भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय पक्षबाट ठेक्का भएर निर्माण व्यवसायीले काम थालिसकेका छन् । निर्माण व्यवसायीले निर्माण उपकरण भारतबाट आयोजनाका लागि आयात प्रक्रिया थालेका छन् । रासस

  • सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

    सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

    काठमाडौँ, मङ्सिर १५ –
    सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।

    दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स ९ग्लोबल०’ को सह–आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स–२०२५’ हुने भएको हो । आज पत्रकार सम्मेलनमार्फत सम्मेलन सञ्जालका प्रेस सल्लाहकार गोविन्द खड्काले यही डिसेम्बर ८ देखि १० गतेसम्म तीनदिने सम्मेलन काठमाडौँमा आयोजना हुने जानकारी गराउनुभयो । यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभरि मनाइने भएको हो ।

    सम्मेलनमा नेपालसहित २१ देशबाट १४० भन्दा बढी प्रतिनिधि, विशेषज्ञ, नीति निर्माता, युवा तथा सरोकारवालाको उपस्थितिमा १२ विषयगत सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा प्रस्तुतीकरण सत्र, प्यानल छलफल, प्लेनरी सत्र, कार्यशाला रणनीति तथा कार्य समूह गठन सत्रका रुपमा छलफल गरिनेछ ।

    त्यसैगरी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, बेनिन, भूटान, बुल्गेरिया, क्यामरुन, कङ्गो, फ्रान्स, जर्मनी, गिनिया, भारत, इटाली, आइवरी कोस्ट, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, स्पेन, टोगों र अमेरिकाका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।

    ‘राधा पौडेल फाउन्डेसन’की संस्थापक राधा पौडेलले यो सम्मेलनले ‘महिनावारी विभेद लैङ्गिक हिंसा हो, मानव अधिकारको उल्लङ्घन हो र महिनावारी विभेद विश्वभरि छ’ भन्ने सन्देशलाई समग्र रूपमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रूपमा नीतिगत बहसलाई अगाडि बढाउने, अनुभव आदान–प्रदान गर्ने, प्रमाण–आधारित समाधान खोज्ने र सहकार्य सुदृढीकरणमा ऐतिहासिक टेवा पु¥याउने अपेक्षा गरेको छ ।”

    नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरु भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ । रासस

  • अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

    अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

    पाटन (ललितपुर), मङ्सिर १५ –
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    आज ललितपुर महानगरपालिका–६ कनिबहाल पुगेर वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको अवलोकन गर्दै मन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा यसको महत्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

    “चीनसम्म पुगेर मूर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पु¥याउनु भएको योगदान अतुलनीय छ हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझले महत्वपूर्ण सम्पदाहरु बनेका छन्, सम्पदा नहुने हो भने नेपाल त कङ्क्रिटको जङ्गल हुने थियो,” उहाँले भन्नुभयो ।

    मन्त्री खरेलले १३औँ शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो ।

    ललितपुर महानगरपालिका–६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सङ्घीय सरकारले दिने बजेटमा काम गर्न पनि समस्या रहेको गुनासो गर्नुभयो । उहाँले सञ्चारमन्त्री खरेलसँगसम्पदा संरक्षणका लागि बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो । रासस

  • सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल

    सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल

    काठमाडौँ, मङ्सिर १५ –
    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ ।

    नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खनालले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै भन्नुभयो, “देशमा राजनीतिक असन्तुष्टि जसरी पनि प्रकट भए पनि यहाँ जो कोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्ति नै हो भन्ने बुझाइ सबैतिर हुनुपर्छ ।”

    मन्त्री खनालले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सञ्चार क्षेत्रमा आउने गलत तथा अप्रमाणित सूचनाले अन्तरराष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै उहाँले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    “उचित सन्देश तथा सही सूचनाले निजी क्षेत्रमा सकारात्मक सोच विकास हुन्छ, लगानीकर्ताको मनोबल बलियो बन्छ । त्यसैले सूचना प्रवाहको संवेदनशीलता बुझ्नैपर्छ”, मन्त्री खनालले स्पष्ट पार्नुभयो । पछिल्लो समय सरकार ठूला पूर्वाधार आयोजनामा बजेट थप्दै काम अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो । साथै, पुँजी बजारका विद्यमान समस्या समाधान गर्न तथा पूर्वविशिष्ट पदाधिकारीको सेवा–सुविधालाई कानुनी ढाँचामा ल्याइ नियमन गर्ने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

    अर्थमन्त्री खनालले नेपालको अर्थतन्त्रले भोगेका आरोह–अवरोहमा सेजनले मार्गदर्शकको भूमिकामा रहेर जिम्मेवार र पेशेवर पत्रकारितालाई प्रवर्द्धन गर्दै आएको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आउने दिनमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य हुने बताउनुभयो ।

    “सरकार तोकिएको समयमा निर्वाचन गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढिरहेको छ”, मन्त्री सिन्हाले भन्नुभयो । उहाँले आर्थिक गतिविधि वृद्धि गर्न निजी क्षेत्रलाई सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा लिई काम भइरहेको तथा जेनजी आन्दोलनको मर्मलाई नबिर्सी सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो ।

    गत भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते परिवारलाई सरकारले जिम्मेवारीपूर्वक हेरिरहेको बताउनुहुँदै मन्त्री सिन्हाले सुशासन र भ्रष्टाचार निवारण सरकारको मुख्य अभिभारा रहेको स्मरण गराउनुभयो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले अहिले नेपालको अर्थतन्त्रले भोगिरहेको मुख्य चुनौती तरलता व्यवस्थापन रहेको बताउनुभयो । बैंक तथा वित्तीय क्षेत्रभित्र पर्याप्त तरलता र न्यून ब्याजदर भएकै परिस्थितिमा पनि ठूलो पूर्वाधारमा लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको गभर्नर पौडेलले बताउनु भएको हो । उहाँले मौद्रिक नीतिमा राखिएका प्रावधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्नुभयो । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको लगानी केही निश्चित क्षेत्रमा केन्द्रित भएको बताउँदै स्थानीय आवश्यकताअनुसार कर्जा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन सके आर्थिक गतिविधि बलियो रूपमा अगाडि बढ्ने उहाँको तर्क छ ।

    “कर्जा विस्तार गर्दा जोखिम व्यवस्थापनसँगै स्थानीय आर्थिक प्राथमिकता हेरिनुपर्छ । उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

    गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफा वृद्धि केवल कर्जाको दरमा निर्भर नगराई व्यवसाय विस्तार, सेवा प्रवाहको सहजता र प्रविधिको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मौद्रिक नीतिका उद्देश्य पूरा गर्न बैंकहरू स्वयं सक्रिय हुनुपर्छ । वित्त र मौद्रिक नीति अझ लचक हुँदै जानेछन्, त्यसको लाभ लिन बैंक तथा वित्तीय संस्थाहरू तयार हुनुपर्छ ।”

    अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र समान रूपमा जिम्मेवार रहेको स्मरण गराउँदै गभर्नर पौडेलले वर्तमान आर्थिक अवस्थालाई हेर्दा सरकारको पूँजीगत खर्च बढाउन जरुरी रहेको बताउनुभयो । “अर्थतन्त्रका विभिन्न गतिविधि बढ्दै छन् । यसलाई थप गतिशील बनाउन सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” गभर्नर पौडेलले भन्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिएको गलत सूचनाले नेपालमा लगानी वातावरण र निजी क्षेत्रको मनोबलमा प्रतिकूल असर परेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा गलत सूचनाका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै भन्नुभयो, “गलत सूचना कस्तो विनाशकारी हुन सक्छ भन्ने उदाहरण हामीले हालै जेनजी आन्दोलनमा भोग्यौँ ।”

    अध्यक्ष ढकालका अनुसार आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । लगानीलाई प्रोत्साहन दिने वातावरणका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज सेवा प्रवाह अनिवार्य रहेको भन्दै उहाँले सरकारसँग निजी क्षेत्र लामो समयदेखि यिनै माग राख्दै आएको जानकारी दिनुभयो ।

    “निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो । तर हरेक राजनीतिक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने क्रमले लगानी उत्साह घटाएको छ”, उहाँको भनाइ छ । अध्यक्ष ढकालले मुलुकमा केही पनि काम नभएको जस्ता नकारात्मक धारणा चिर्नुपर्ने आवश्यकता औँल्याउँदै राज्यबाट व्यक्त गरिएका नीति तथा प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुभयो । उहाँले भूतप्रभावी कानुन तथा अनिश्चितता सिर्जना गर्ने प्रावधानले लगानी वातावरण कमजोर पारेको टिप्पणी गर्नुभयो ।

    नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीकर्ताको खस्किएको मनोबल उकास्न राज्यले तुरुन्त कदम चाल्नुपर्ने बताउनुभयो । “बाह्य क्षेत्र राम्रो छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, ब्याजदरमा सुधार छ । तर लगानी बढ्न सकेको छैन”, उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “समग्र अर्थतन्त्रलाई असर नपुगोस् भन्न आर्थिक क्षेत्रका सबै समस्याको समाधान गर्नुपर्छ ।” पाण्डेका अनुसार आर्थिक समृद्धिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, र लगानीमैत्री वातावरण अपरिहार्य छ ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कोभिड–१९ पछि मुलुकको आर्थिक अवस्था पूर्णरूपमा सुधार हुन नसकेको उल्लेख गर्दै पछिल्लो समय औद्योगिक प्रतिष्ठान सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल दिनप्रति दिन खस्किरहेको बताउँदै लगानी सुरक्षाको प्रत्याभूति राज्यले अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । युवाको ठूलो सङ्ख्यामा विदेश पलायन, उद्यमी व्यवसायी कालोसूचीमा पर्नु र कर्जा प्रवाह तथा कर प्रणालीका कठिनाइले व्यवसायी निराश बनिरहेको उहाँको विश्लेषण छ ।

    अध्यक्ष अग्रवालले सरकारलाई यस क्रममा केही तत्कालीन कदम चाल्न सुझाव पनि प्रस्तुत गर्नुभयो । कर्जाको पुनःसंरचना प्रभावकारी रूपमा लागू गर्नुपर्ने, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन खारेज गर्नुपर्ने, मूल्य अभिवृद्धि कर ९भ्याट० मा बहुदर कायम गरी सरल बनाउनुपर्ने, नकारात्मक सूचीका वस्तुबाहेक अन्य वस्तुमा अन्तःशुल्क दर घटाउनुपर्ने, निर्यात अनुदान निरन्तरता दिनुपर्ने, सहकारी सङ्कट समाधानका लागि उधारो असुलीसम्बन्धी कानुन बनाउनुपर्नेलगायत उहाँले सुझाव दिनुभयो । रासस