Blog

  • चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

    चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

    १६ मंसिर, काठमाडौं ।
    नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

    पहिले ब्याटिङ रोजेको चितवनले आजको खेलका लागि दुई परिवर्तन गरेको छ । दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाल खेल्दै छन् ।

    चितवन राइनोज भने विदेशी खेलाडीमा बढी डिपेन्डेन्ट देखिएको छ । पहिलो खेल जितेपछि दोस्रो खेल हारेको चितवन तेस्रो खेलमा विजयी भएर चौथो खेलमा फेरि पराजित भएको थियो ।

    जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन गरेको छ । ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्ट टोलीमा आएका छन् ।

    जनकपुरले अघिल्लो खेलमा कप्तान अनिल साहलाई नै बेन्चमा राखेर दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेललाई कप्तानी दिएको थियो । तर, नतिजा भने परिवर्तन गर्न सकेको थिएन ।

    जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ । यो खेल जितेर जनकुर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।

    चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो । चितवनले यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ ।

    अर्कोतर्फ ४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवन आजको खेल जितेमा प्लेअफ पुग्नका लागि सहज अवस्थामा रहनेछ । चितवन पराजित भएमा बाँकी दुवै खेल जितेर अर्को नतिजा हेर्नुपर्ने वा नेटरनरेटको सवाल आउन सक्छ ।

    जनकपुरका लागि यस खेल निकै महत्वपूर्ण छ । सुरुवाती ४ खेलमा लगातार हार बेहोरेको जनकपुरले अब बाँकी ३ वटै खेल जितेर पनि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था छ । आज पराजित भएमा बाहिरिनेछ ।

  • सुनचाँदी बजारः सुनको भाउमा केही गिरावट , चाँदीको भाउमा भने वृद्धि

    सुनचाँदी बजारः सुनको भाउमा केही गिरावट , चाँदीको भाउमा भने वृद्धि

    काठमाडौँ, मंसिर १६ –
    अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ ।

    सोमबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो ।

  • भरतपुरको सहरी क्षेत्रमा ट्राफिक लाइट राख्न सर्भे सुरू

    भरतपुरको सहरी क्षेत्रमा ट्राफिक लाइट राख्न सर्भे सुरू

    मंसिर १६, भरतपुर ।
    भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ट्राफिक लाइट राख्नका लागि सर्भे सुरू गरिएको छ । बढी भीडभाड र सवारी जाम हुने भरतपुरका ६ ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरू गरिएको हो ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सडक विभागले निर्माण कम्पनीसँग ट्राफिक लाइट जडानका लागि सम्झौता गरिसकेको छ । ‘पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बसपार्क चोक र मालपोत चोक गरी ६ ठाउँमा ट्राफिक लाइट जडान गरिने छ’, महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘भरतपुरको सहरी क्षेत्रमा ट्राफिक लाइट प्रणालीले भरतपुरलाई स्मार्ट सिटी अवधारणातर्फ अघि बढाउने छ, ट्राफिक व्यवस्थापनमा आधुनिकता र सुरक्षामा नयाँ आयाम थप्नेछ ।’

    ट्राफिक लाइट राख्न लागिएका यी ६ ठाउँ दुर्घटनाका कारण जोखिमयुक्त छन् । सवारीसाधन बढी जाम हुने ठाउँ पनि हुन् । ट्राफिक लाइट राख्ने जिम्मा एभरेष्ट टु सी–अमर ज्योति जेभीले पाएको छ ।

    भरतपुर महानगरका इन्जिनियर साकार लामाले निर्माण कम्पनी एभरेष्ट टु सी–अमर ज्योति जेभीबीच सम्झौता भएर सर्भेको काम सुरू भएको जानकारी दिए । उनका अनुसार एक करोड आठ लाख रूपैयाँको लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । ट्राफिक लाइटको बजेट सडक विभागले विनियोजन गरेको हो । यतिबेला काठमाडौँमा पनि यही कम्पनीले ट्राफिक लाइट जडान गरिरहेको छ ।

    ‘सर्भेको काम सुरू भएको छ, दुई महिनाभित्र काम सक्छु भनेर निर्माण कम्पनीले बताएको छ’, ई. लामाले भने, ‘त्यो कम्पनीले काठमाडौँमा पनि तीव्र गतिमा काम गरिरहेको हुनाले छिटै काम सक्छ भन्ने विश्वास लागेको छ ।’

    ट्राफिक लाइट जडानमा जिल्ला प्रहरी कार्यालयले पनि आफ्नो भूमिका निभाउने छ । जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख अनिल थापाले ट्राफिक लाइट जडानका लागि ‘पोइन्ट’ राख्ने ठाउँ फाइनल गरिएको बताए । उनले भने, ‘जुन ठाउँमा राख्ने भनिएको छ त्यो ठाउँमा पुगेर ‘पोइन्ट’ राख्ने ठाउँ फाइनल गरेका छौँ । ठाउँको अनुगमन, निरीक्षण पनि गर्ने काम सकेका छौँ ।’

    ट्राफिक लाइट जडानपछि दुर्घटना न्यूनीकरण हुने उनी बताउँछन् । उनी भन्छन्, ‘ट्राफिक लाइट राखेपछि दुर्घटना घट्छ, ट्राफिक जनशक्ति पनि कम लाग्छ ।’ चोकमा ट्राफिक बसेर हातले इशारा गर्नुपर्ने समस्या पनि ट्राफिक लाइट राखेपछि हट्ने उनले बताए । उनका अनुसार गाडी र पैदलयात्री दुवैलाई हुने गरी लाइट जडान गरिन लागिएको हो ।

    ‘हामीसँग अहिले ट्राफिक जनशक्ति कम छ, सवारीसाधनको चाप अधिक छ, जामको समस्या थपिँदै गएको छ, दुर्घटना बढेको छ । यस्ता समस्याको न्यूनीकरणका लागि ट्राफिक लाइट आवश्यक छ’, ट्राफिक प्रमुख थापाले भने, ‘सहरलाई सुन्दर राख्न पनि यसको मह¤व हुन्छ ।’ उनका अनुसार हाल चितवनमा ७५ जना ट्राफिक जनशक्ति रहेको छ, ३२ जना भरतपुर क्षेत्रमा खटिन्छन् ।

  • सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

    सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

    जलेश्वर (महोत्तरी), मंसिर १६
    जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आउनुभएको हो ।

    अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०/१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउनुहुन्छ ।

    फूलखेतीमा उहाँलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गर्नुभएको छ । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताउनुभयो । उहाँका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । “एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ”, उहाँले भन्नुभयो ।

    उहाँले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाउनुभएको छ । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताउनुभयो । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उहाँको भनाइ छ ।

    “एउटा सयपत्री फूल उनेको मालाको रु ५० देखि रु ७० पर्छ । घरमा आएका व्यापारीलाई रु ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको छ”, लालबाबुका छोरा विकासले भन्नुभयो । थोकमा प्रतिकिलो रु चारदेखि रु ५०० सम्ममा बिक्री गर्दा दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

    लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गर्नुभएको छ । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । रासस

  • डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

    डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

    अमरगढी (डडेल्धुरा), मंसिर १६ –
    डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन् । उहाँका अनुसार ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको छ ।

    आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो । यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएका कार्यालयले जनाएको छ ।

    डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदानस्थल पुनःव्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको कार्यालयका प्रमुख अवस्थीले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लामा चार वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । विसं २०७९ को निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदानस्थल रहेकामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ मतदानस्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो । रासस

  • प्याराडाइज इन्फोटेक चितवनमा क्रिसमस अफर : ग्राफिक डिजाइन र वेब डेभपमेन्टका कक्षामा २० प्रतिशत छुट

    प्याराडाइज इन्फोटेक चितवनमा क्रिसमस अफर : ग्राफिक डिजाइन र वेब डेभपमेन्टका कक्षामा २० प्रतिशत छुट

    चितवन, मंसिर १६ –
    प्याराडाइज इन्फोटेक चितवनले यस डिसेम्बर महिनामा विद्यार्थी तथा पेशागतहरूका लागि विशेष क्रिसमस धमाका अफर सार्वजनिक गरेको छ । युवाहरूलाई आधुनिक डिजिटल सीप सिक्न प्रेरित गर्ने उद्देश्यले संस्थाले लोकप्रिय ग्राफिक डिजाइन र वेब डेभलपमेन्ट कोर्सहरूमा २०% छुटको घोषणा गरेको हो ।

    यस अफरमार्फत IT क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थी तथा युवाहरूलाई आवश्यक रचनात्मक तथा टेक्निकल सीपहरू सुलभ शुल्कमा सिक्न सकिनेछ। संस्थाले पछिल्लो समय यी कोर्सहरूलाई बजारको मागअनुसार अद्यावधिक गरेको छ, जसले विद्यार्थीहरूलाई वास्तविक उद्योगअनुसारको तालिम प्रदान गर्ने लक्ष्य लिएको छ।

    छुटसँगै, प्रशिक्षार्थीहरूलाई इन्टर्नशिप अवसर उपलब्ध गराइनेछ, जसले उनीहरूलाई व्यावहारिक सीप विकसित गर्न सहयोग पुर्‍याउनेछ । इन्टर्नशिपको क्रममा विद्यार्थीहरूले वास्तविक परियोजनामा काम गर्दै अनुभव संकलन गर्न पाउनेछन्, जसले भविष्यमा रोजगारी खोज्ने यात्रालाई सहज बनाउनेछ ।

    यति मात्र होइन, योग्य र सक्षम विद्यार्थीहरूका लागि Job Placement को पनि व्यवस्था गरिएको छ । प्रशिक्षक तथा व्यवस्थापन टोलीको सहकार्यमा, संस्थाले विभिन्न IT कम्पनी तथा प्रोजेक्टमा विद्यार्थीहरूको समायोजन गराउँदै आएको छ, जसले प्रशिक्षणपछि विद्यार्थीहरूको करियरलाई थप सुरक्षित बनाउने उद्देश्य राख्छ ।

    प्याराडाइज इन्फोटेक चितवनका म्यानेजर प्रमेश्वर धरेल भन्छन्,, “हाम्रो उद्देश्य केवल प्रशिक्षण दिनु मात्र होइन, विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउनु हो । IT क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको छ, र युवाहरूलाई गुणस्तरीय सीप विकास गराउन हामी निरन्तर प्रतिबद्ध छौँ। यस वर्षको क्रिसमस अफरले धेरैलाई कम लागतमा राम्रो करियर अवसर पाउन मद्दत गर्नेछ ।”

    संस्थाले कोर्सहरूलाई सुरुवाती, मध्यम र उन्नत स्तरमा विभाजन गरेको छ, जसले विभिन्न अनुभव र पृष्ठभूमि भएका विद्यार्थीलाई अनुकूल वातावरणमा सिक्न सहयोग गर्छ । प्रशिक्षकहरू अनुभवी, पेशागत तथा IT विज्ञहरू भएकोले विद्यार्थीहरूले व्यवहारिक र भविष्यमुखी ज्ञान प्राप्त गर्ने अपेक्षा गर्न सकिन्छ ।

    युवाहरूले IT क्षेत्रलाई आफ्नो भविष्यको सुरक्षित विकल्पको रूपमा देख्न थालेसँगै, प्याराडाइज इन्फोटेक चितवनले स्थानीय तहमा गुणस्तरीय प्रशिक्षण प्रदान गर्दै आएको छ। चितवन मात्र नभई काठमाडौं तथा अन्य क्षेत्रका विद्यार्थीहरू पनि यस संस्थामा आकर्षित हुने गरेका छन् ।

    संस्थाले विद्यार्थीहरूको समयअनुसार कक्षा तालिका व्यवस्थित गर्ने, व्यक्तिगत मार्गदर्शन उपलब्ध गराउने तथा करियर परामर्श प्रदान गर्ने जनाएको छ । कोर्स समाप्त भएपछि पनि विद्यार्थीहरूले आवश्यक सहयोग र सल्लाह प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको व्यावसायिक यात्रालाई अझ सहज बनाउनेछ ।

    संस्थाले सीट सीमित रहेको जानकारी दिँदै इच्छुक विद्यार्थीहरूलाई चाँडै दर्ता गर्न आह्वान गरेको छ ।
    दर्ताका लागि:
    ???? https://forms.gle/ssTyKXcw3E6NtWhK6

    सम्पर्क जानकारी (Chitwan Office):

    ???? 3rd Floor, Sarswoti Tower, Hakim Chowk, Bharatpur-10
    ???? 056-511432 | ???? 9802358601, 9704000000
    ???? Website: www.paradiseit.com.np

  • एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

    एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

    काठमाडौं,मंसिर १६ 

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ः४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्।

    साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि सान्त्वना जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

    दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ । यी दुई टिमसमेत तालिकामा संघर्ष गरिराखेका छन् ।

    १९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर दोस्रो स्थानमा छ।

    चितवन र लुम्बिनीको समान चार अंक छ। लुम्बिनीले पाँच खेल खेलिसकेको छ भने चितवनले चार खेल मात्र खेलेको छ। रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ। कर्णाली र पोखराको दुईदुई अंक छ। तालिकामा कर्णाली छैटौं र पोखरा सातौं स्थानमा छन् भने पुछारमा रहेको जनकपुर अंकबिहीन छ।

    एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।

    एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मङ्सिर १६ गते । मंगलबार । ईश्वी सन् २०२५ डिसेम्बर २ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–द्वादशी, १४ घडी १३ पला, दिउसो १२ बजेर २० मिनेट उप्रान्त त्रयोदशी ।

    नक्षत्र–अश्विनी, २९ घडी ४१ पला, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त भरुणी । योग–वरियान, ३२ घडी ३४ पला, बेलुकी ७ बजेर ४१ मिनेट उप्रान्त परिध । करण–बालव, दिउसो १२ बजेर २० मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ८ पला ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रको लगानी तथा आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागि समय राम्रो रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । खेलाडी तथा खेलकुदसँग सम्बन्धित सामानको व्यापारबाट लाभ लिन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागि समय उत्तम रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहौलमा दिन बित्नेछ भने माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार, सेयर बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । खेल क्षेत्रसँग सम्बन्धित काम गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार वा सेयर बजारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • १२ वर्षअघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक: अध्ययन

    १२ वर्षअघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक: अध्ययन

    काठमाडौँ, १५ मङ्सिरः
    बालबालिकालाई कुन उमेरमा स्मार्टफोन दिनु उपयुक्त हुन्छ? धेरै अभिभावकका लागि यो जटिल प्रश्न बनेको छ।

    एक अध्ययनले १२ वर्षभन्दा अघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक हुने निष्कर्ष निकालेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

    सोमबार चिकित्सा जर्नल पेडियाट्रिक्समा प्रकाशित अध्ययनअनुसार १२ वर्षको उमेरअघि नै स्मार्टफोन पाएका बालबालिकामा डिप्रेसन, मोटोपना र अपर्याप्त निद्राको जोखिम बढी हुने निष्कर्ष निकालेको हो।

    अमेरिकामा सञ्चालित बालमस्तिष्क अध्ययन ‘एडोलेसेन्ट ब्रेन कग्निटिभ डेभलपमेन्ट स्टडी’ले १० हजार ५०० भन्दा बढी बालबालिकाको तथ्यांक विश्लेषण गरेर यो निष्कर्ष निकालेको हो।

    अध्ययनकर्ता समेत रहेका फिलाडेल्फिया बाल अस्पतालका मनोचिकित्सक डा. रान बार्जिलायका अनुसार १२ वर्षभन्दा कम उमेरमै स्मार्टफोन पाएका बालबालिकामा उमेर बढ्दै जाँदा निद्रासम्बन्धी समस्या र मोटोपनको जोखिम झनै बढ्ने देखिएको छ।

    ‘बालबालिकालाई फोन दिँदा यसलाई उनीहरूको स्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्छ,’ उनले भनेका छन्।

    अनुसन्धानकर्ताहरूले १२ वर्षसम्म स्मार्टफोन नपाएका बालबालिकामध्ये एक वर्षपछि फोन पाएकाहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र निद्रा बिग्रने अवस्था बढी देखिएको पनि बताएका छन्।

    यद्यपि यो अध्ययनले स्मार्टफोन मात्रै समस्याको कारण हो भन्ने प्रमाण भने देखाएको छैन। तर यसको भूमिका महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको भनाइ छ।

    अन्य अध्ययनहरूले पनि स्मार्टफोन प्रयोग गर्ने बालबालिका प्रत्यक्ष सामाजिक अन्तरक्रिया, शारीरिक गतिविधि र पर्याप्त निद्राबाट टाढा हुने सम्भावना बढी हुने देखाएको न्युयोर्क टाइम्सले जनाएको छ।

    किशोरावस्था मानसिक र शारीरिक विकासका हिसाबले संवेदनशील समय भएकाले सानो परिवर्तनले पनि दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूको भनाइ छ।

    ब्राउन युनिभर्सिटीकी सह-प्राध्यापक ज्याक्लिन नेसीले यस अध्ययनले प्रत्यक्ष कारण–परिणाम प्रमाणित नगरे पनि अभिभावकहरूलाई बालबालिकालाई स्मार्टफोन ढिला दिन उत्प्रेरित गर्ने बताएकी छन्।

    ‘यसको कारण स्मार्टफोन हो भन्ने प्रमाणित गर्नु अत्यन्तै कठिन छ,’ उनले भनिन्।

    अध्ययनअनुसार बालबालिकाले पहिलोपटक स्मार्टफोन पाउनेमध्य उमेर ११ वर्ष देखिएको छ।

    साथै हाल अमेरिकी किशोराहरूको लगभग सबैले स्मार्टफोन प्रयोग गर्ने गरेको तथ्यांक पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको छ।

    डा. बार्जिलाय स्वयं तीन सन्तानका पिता हुन्।

    उनले आफ्ना दुई सन्तानलाई १२ वर्षअघि नै फोन दिएको स्वीकार गरे पनि ९ वर्षको सन्तानलाई भने अहिल्यै स्मार्टफोन नदिने निर्णय गरेका छन्।

    ‘यसको मतलब हरेक बच्चाको जीवन बिग्रिन्छ भन्ने होइन,’ उनले भने, ‘तर अभिभावक, नीति निर्माता र समाजले यस विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।’

    विज्ञहरूको निष्कर्ष स्पष्ट छ—डिजिटल पहुँच आवश्यक भए पनि बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै उमेरअनुसार नै स्मार्टफोन दिनु दीर्घकालीन स्वास्थ्यका लागि सुरक्षित उपाय हो।

  • युवा नेता धर्म गिरीले एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

    युवा नेता धर्म गिरीले एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

    चितवन, मंसिर १५ –
    एमाले युवा नेता धर्मलाल गिरीले एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।

    गिरी यसअघि अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिए । उनी अध्यक्षका आकांक्षी समेत रहेका थिए । तर अनेरास्ववियुमा उमेरहद लागेपछि उनी आफ्नो भूगोलको राजनीतिमा सक्रिय बनेका थिए ।
    अहिले उनी नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधीमा सर्वसम्मत चयन भएका छन् ।

    उनी प्यूठानको गौमुखी गाउँपालिका नारीकोट निवासी हुन् । २०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको क्रममा प्यूठानमा एमालेको जित सुनिश्चित गर्न नेता गिरीले महत्वपूर्ण भूमिका खेलेको थिए ।

    धर्मलाल गिरी र रचना सापकोटाले एमालेको केन्द्रीय कार्यालयमा गत फागुनमा प्रगतिशील विवहा गरेका थिए । विवहामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त विवहाको त्यतिखेर निकै चर्चा भएको थियो ।

    बिहेको समयमा धर्मलाल गिरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष थिए भने रचना सापकोटा सोही संगठनको केन्द्रीय सदस्य थिइन् ।

    अनेरास्ववियुको महाधिवेशनमा ३६ जना सचिव पदका उम्मेदवारमध्ये रचना सापकोटा भारी मतसहित सचिवमा विजयी भएकी थिइन् । अहिले पार्टीको महाधिवेशनमा दुवै जना प्रतिनिधिका रुपमा सहभागी छन् । रचना अनेरास्ववियुबाट र धर्म युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि छन् ।

    एमालेभित्र संगठनात्मक अनुभव, विद्यार्थी आन्दोलनमा सक्रियता र निरन्तर राजनीतिक यात्राका आधारमा धर्मलाल गिरीलाई महाधिवेशनमा बलियो दाबेदारका रुपमा हेरिएको छ ।

    एमालेले यही मंसिर २७ गतेदेखि काठमाडौंमा ११ औं महाधिवेशनमा गर्दैछ । एमालेको महाधिवेशनमा ४० वर्ष मुनिका युवालाई कोटा नै छुट्याएर महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्ष मुनिका एक जना युवा प्रतिनिधि अनिवार्यरुपमा सहभागि हुँदैछन् ।