Blog

  • तनहुँको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

    तनहुँको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

    दमौली (तनहुँ), मंसिर १७-
    तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
    सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।

    बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएको बताउनुभयो । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिनुभयो ।

    कालबहादुर रानाले आफूले रु चार लाखको सुन्तला बिक्री गरेको सुनाउनुभयो । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।”

    स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।” थापाले यस वर्ष रु दुई लाख १० हजारको सुन्तला बिक्री गर्नुभयो ।

    भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पु¥याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।”

    बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । रासस

  • विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिनेछ : मन्त्री महावीर पुन

    विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिनेछ : मन्त्री महावीर पुन

    काठमाडौं, मंसिर १७ –
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिने बताएका छन् ।

    मन्त्री पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए ।

    उनले भने ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’।

    विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको उनले बताए ।

  • आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति  वि.सं.२०८२ साल मंसिर १७ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–त्रयोदशी, ८ घडी ३४ पला, बिहान १० बजेर ५ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–भरुणी, २५ घडी ४० पला, बेलुकी ४ बजेर ५६ मिनेट उप्रान्त कृतिका । योग–परिध, २४ घडी ४९ पला, बेलुकी ४ बजेर ३५ मिनेट उप्रान्त शिब । करण–तैतिल, बिहान १० बजेर ५ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ७ पला ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । कलाकारिता तथा खेल क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आईएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । खेलाडी तथा खेलकुदसँग सम्बन्धित पेसा व्यवसाय गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरू सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लामो दुरीको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशीलता तथा इमानदारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । खेलकुदको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा नाम कमाउन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ । खेलकुद, मनोरञ्जन तथा खानपानमा केही समय व्यातित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा

    एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा

    काठमाडौँ, १६ मङ्सिर :
    नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन् । तेस्रो शतक पोखरा एभेन्जर्सका एडम रोसिङ्टनको नाममा दर्ज भएको छ ।

    राजधानीमा जारी दोस्रो संस्करणको एनपिएलमा एडमले आज कर्णाली याक्सका विरूद्ध शतक हिर्काए । उनी ५८ बलमा १०८ रनमा अविजित रहे ।

    यससँगै एडम जारी सिजनमा शतक प्रहार गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि कर्णाली याक्सका मार्क वाटले मात्रै शतक जोड्न सकेका थिए । वाटले मङ्सिर ६ गते लुम्बिनी लायन्सविरुद्धको खेलमा वाटले शतक प्रहार गरेका थिए ।

    उनले ४१ बलमा ६ चौका र १० छक्कासहित शतक पूरा गरेका थिए । उक्त खेलमा वाट ४४ बल खेल्दै १२ छक्का र छ चौका हिर्काउँदै ११४ रनमा अविजित रहे ।

    गत वर्ष सम्पन्न पहिलो संस्करणमा पोखराका आन्द्रेस गोउस मात्रै शतक हिर्काउने खेलाडी थिए । उनले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दै १०४ रन बनाएका थिए । हालसम्म शतक हिर्काउने सबै विदेशी खेलाडी रहेका छन् । एडम रोसिङटन इङ्ग्ल्याण्ड, मार्क वाट स्कटल्याण्ड, आन्द्रिज गोउस अमेरिकी खेलाडी हुन् ।

  • भरतपुर अस्पतालमा रुघाखोकीका बिरामी बढे

    भरतपुर अस्पतालमा रुघाखोकीका बिरामी बढे

    चितवन, १६ मङ्सिरः 
    भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै बढेका हुन् ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उहाँले भन्नुभयो, “सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ ।”

    अहिले अस्पतालमा दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेका छन् । आएका बिरामीमध्ये ३०० भन्दा बढी मौसमी रुघाखोकी र ज्वरोका रहेका उहाँले जानकारी दिनुभयो ।

    अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने तथा सुक्खा खोकी लाग्ने जस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको हो । उहाँले भन्नुभयो, “सिजनल फ्लुका बिरामी बढेका छन् ।” यसलाई रोक्न चिसो कुरा नखाने, चिसोमा बाहिर नहिँड्ने, हिँड्नै परे बाक्ला र लामा लुगा गाएर हिँड्ने गर्नुपर्ने उहाँले बताउनुभयो ।

    अस्पतालमा आएका बिरामीमध्ये केही स्क्रबटाइफसका रहेको डा अधिकारीले बताउनुभयो । दीर्घरोगी र ज्येष्ठ नागरिकमा बढी मौसमी रोगको समस्या देखिएको उहाँले बताउनुभयो । अहिले उपचारमा आएका बालबालिकामा समेत मौसमी रोगको समस्या देखिएको बाल रोग विशेषज्ञ डा खेम पौडेलले बताउनुभयो । बालबालिकामा लगातार ज्वरो आउने, सिँगान बगिरहने, खाना नरुच्ने जस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

    बालबालिकालाई चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँड्डुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने, झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले मौसमी रोगबाट बचाउन सकिने उहाँले बताउनुभयो । अहिले उपचारमा आएका बालबालिकामध्ये ५० प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरोको समस्या रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई चिसोबाट बचाउनसमेत उहाँले आग्रह गर्नुभयो ।

    यस अस्पतालमा चितवनसहित विभिन्न जिल्लाका बिरामीको उपचार हुँदै आएको छ । सङ्घीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा विशेषज्ञ सेवासमेत हुने भएकाले उपचारका लागि केन्द्र बन्दै आएको छ ।

  • पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

    पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

    काठमाडौं, मंसिर १६-
    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार दिनको दोस्रो खेलमा पराजित भएसँगै कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णालीलाई पोखरा एभेन्जर्सले ३४ रनले पराजित गर्‍यो। अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अन्तिम जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नेछैन।

    किनकी ४-४ अंक जोडेका पोखरा र चितवन राइनोजले एक आपसमा खेल्न बाँकी छ। जसका कारण यी मध्ये एक टोलीको ६ अंक हुनेछ भने अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिनेछ।

  • हरेक बिहान भिजाएको बदाम खानुका ५ फाइदा

    हरेक बिहान भिजाएको बदाम खानुका ५ फाइदा

    बदाम पोषण र थुप्रै स्वास्थ्य लाभहरूले भरिपूर्ण हुन्छ । हामी सबैलाई बदाम खान मन पर्छ, यो खान निकै स्वादिलो ​​हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । तर, बदामबाट एलर्जी भएका मानिसहरूले यो खानु हुँदैन । यसलाई एक सुपरफुड मानिन्छ ।

    यसमा एल्मोन्ड जत्तिकै पोषण हुन्छ । प्रोटिन, क्याल्सियम, फाइबर, म्याग्नेसियम, पोटासियम, भिटामिन ई र हेल्दी फ्याट प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक यसमा जिङ्क, सेलेनियम र कपर प्रशस्त मात्रामा पाइन्छ । जसका कारण यसको सेवन शारीरिक स्वास्थ्यदेखि मानसिक, छाला र कपालको स्वास्थ्यमा निकै फाइदाजनक मानिन्छ ।

    हामी सबैले बदामलाई भुटेर, आफ्नो पकवानमा समावेश गरेर, त्यसबाट बटर बनाएर धेरै तरिकाले प्रयोग गर्छौँ । तर के तपाईँले कहिल्यै पानीमा भिजाएर बदाम खानुभएको छ ? तर धेरैजसो मानिसहरूलाई थाहा छैन कि यदि तपाईँले रात भरी पानीमा भिजाएर बदाम राख्नुहुन्छ भने यसमा भएको एन्टी–न्युट्रियन्ट्स नष्ट हुन्छन् र यो पच्न सजिलो हुन्छ । यसो हुँदा स्वास्थ्यले पूर्ण लाभ पाउँछ ।

    भारतकी क्लिनिकल न्युट्रिसनिष्ट तथा डायटिशियन गरिमा गोयलले पनि रात भरी भिजाएको बदाम बिहान खाँदा थुप्रै स्वास्थ्य लाभ पाउन सकिने बताएकी छिन् । यो लेखमा यसका पाँच फाइदाबारे कुराकानी गरिएको छ ।

    भिजाएको बदाम खानुका फाइदा
    १. स्वस्थ पाचनमा सुधार

    बिहान भिजाएको बदाम खाँदा पाचन क्रियामा सुधार हुन्छ र पोषक तत्त्वको अवशोषण पनि राम्रो हुन्छ । यसले पेटको धेरै समस्याबाट पनि बचाउँछ ।

    २. मांसपेशी बलियो बनाउँछ

    प्रोटिनले भरपुर भएकोले भिजाएको बदाम खाँदा मांसपेशी बढाउन र विकास गर्न निकै फाइदाजनक हुन्छ । १०० ग्राम बदाममा लगभग २५ ग्राम प्रोटिन पाइन्छ । प्रोटिन स्वास्थ्यका लागि अत्यावश्यक पोषक तत्त्व हो ।

    ३. मुटुका लागि निकै लाभदायी

    बदाम स्वस्थ फ्याटले भरिपूर्ण हुन्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ । यसले मेटाबोलिजम बढाउन र रक्तसञ्चार बढाउन मद्दत गर्छ । जसले गर्दा मुटुलाई पर्याप्त पोषण मिल्छ र यसले राम्रोसँग काम गर्न सक्छ ।

    ४. मस्तिष्कका लागि लाभदायी

    बदाम जस्तै भिजेको बदाम खाँदा पनि मानसिक स्वास्थ्यलाई बढावा दिन्छ । यसले स्मरण शक्ति बढाउनुका साथै दिमागलाई तीखो बनाउँछ ।

    ५. छाला र कपालको लागि पनि लाभदायक

    बदाम छाला र कपालको लागि पनि धेरै लाभदायक छ । प्रोटिन र धेरै आवश्यक पोषक तत्त्वहरूले भरपुर भएकोले, यसले तपाईँलाई स्वस्थ छाला र कपाल प्राप्त गर्न मद्दत गर्दछ ।

  • मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक (पूर्णपाठसहित)

    मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौँ, १६ मङ्सिरः
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको छ ।

    सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका २७ वटा विभिन्न निर्णयहरूमा महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।

    सरकारले वित्तीय सुशासन कायम गर्न नगद कारोबारमा कडाइ गर्ने नीति लिएको छ ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी माघ १ गतेदेखि लागू हुने गरी एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैङ्किङ प्रणाली वा वित्तीय संस्थामार्फत मात्र कारोबार गर्नुपर्ने गरी सीमा निर्धारण गरिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकका निर्णयहरू

    २०८२ मङ्_सिर १५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • पोखरा एभेन्जर्सले कर्णालीलाई दियो २०२ रनको ठूलो लक्ष्य

    पोखरा एभेन्जर्सले कर्णालीलाई दियो २०२ रनको ठूलो लक्ष्य

    काठमाडौँ, १६ मङ्सिरः
    पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो ।

    एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो ।

    ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

  • नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ७ जना घाइते

    नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ७ जना घाइते

    मंसिर १६, नवलपुर ।
    नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ह १७४२ नम्बरको अटो र दुम्किबासबाट सर्दीतर्फ जादै गरेको प्रं ३–०३–००१ प ८५४२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।

    दुर्घटनामा परी अटो चालक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाडी निवासी ६० वर्षीय हेम बहादुर गहतराज, मोटरसाइकल चालक विनयी त्रिवेणी ४ निवासी २८ वर्षीय विवेक भट्टराई, मोटरसाइकल पछाडि सवार ३७ वर्षीय कर्ण बहादुर विक घाइते भएका छन् ।

    त्यसैगरी अटोमा सवार विनयी त्रिवेणी २ निवासी ५२ को यम बहादुर सिँजाली मगर, ५१ वर्षीया तुलसरा सिँजाली मगर, १८ वर्षीय जेम श्रीष मगर र ५७ वर्षीय भीम बहादुर सुनारी घाइते भएका छन् ।

    दुर्घटना परी घाइते अटो चालकको चितवनमा र बाँकीको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।