Blog

  • कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

    कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

    काठमाडौँ १८ मङ्सिर
    काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

    प्रशासनले जारी गरेको सूचना अनुसार, २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । कान्ति राजमार्ग सडक योजना, एकान्तकुनाको पत्रानुसार उक्त सडक खण्डका विभिन्न स्थानहरूमा सडक फराकिलो बनाउने र कटिङको काम भइरहेको छ ।

    निर्माण कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सवारी आवागमन रोक लगाएको जिल्ला प्रशासन ललितपुरलेले जनाएको छ। साथै मङ्सिर २० गतेदेखि कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले तोकिएको समय बिहान ११ देखि ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिएको छ ।

  • धोबीखोलामा युवकको शव फेला

    धोबीखोलामा युवकको शव फेला

    काठमाडौँ मङ्सिर १८
    काठमाडौँको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा बिहीबार बिहान एक युवकको शव फेला परेको छ । साइकलसहित ती युवक खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान भने खुल्न सकेको छैन । ‘उनको साथमा रहेको कागजातबाट हामीले पहिचान खुलाउने प्रयास गर्दैछौँ,’ भट्टराईले भने ।

  • हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

    आज मिति २०८२ मंसिर १८ गते (४ डिसेम्बर २०२५) बिहीवार, मार्ग शुक्लपक्ष चतुर्दशी तिथि, प्रातः ७ः४५ बजेपछि पूर्णिमा। कृत्तिका नक्षत्र, १५ः१६ बजेपछि राेहिणी। चन्द्रराशि वृष।

    आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    खर्चिलाे समय रहेकाले रकम जाेगाउन प्रयास गर्नुहाेला। किनमेलमा खर्च बढ्नेछ र अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ। राम्रै फाइदा भए पनि काममा अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। सरसापटमा केही रकम बाहिरिन सक्छ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। कम उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानाे घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनकाे हिसावमा सजग रहनुहाेला।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्राकाे साइत जुर्न सक्छ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। तर छिद्र खोतल्नेहरू प्रशस्तै हुनेछन्। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। सोखले बढी खर्च गराउनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिनुअघि साेचविचार गर्नुहोला।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा केही वादविवाद हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा गोपनीयतामा ध्यान दिनुहोला। दिन केही खर्चिलो रहनेछ।

  • श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    धरान, १७ मङ्सिर :
    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गर्नुभएको छ ।

    बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताउनुभयो ।

    “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” अध्यक्ष साम्पाङले भन्नुभयो, “नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन ।” जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको हो श्रम संस्कृति पार्टी मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

    अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।”

  • तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

    तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

    दमौली, १७ मङ्सिर : 
    तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् ।

    बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिनुभयो । चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।

    उहाँले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताउनुभयो ।

    एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिनुभयो ।

  • विराटनगरलाई हराएपछि लुम्बिनीको प्लेअफ सम्भावना कायम

    विराटनगरलाई हराएपछि लुम्बिनीको प्लेअफ सम्भावना कायम

    काठमाडौँ, १७ मङ्सिरः
    लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सहजै हराएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको खेलमा लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको हो ।

    लुम्बिनीको जितमा सर्टले ४४ बलमा ५७ रन बनाए। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।

    सन्दीप लामिछानेको बलमा लोकेश बमद्वारा क्याच आउट हुनुअघि उनले २ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।

  • भरतपुरको स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट

    भरतपुरको स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट

    भरतपुर, १७ मङ्सिर :
    भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आज (बुधबार) बाट सुरु भएको एथ्लेटिक्स मिटको पूर्व धावक ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरे ।

    सो क्रममा मानन्धरले खेलकुद प्रति स्कुलले खेल्दै आएको भूमिकाको प्रसंशा गरे । उनले राज्य र खेलकुदका संघ संस्थाले आयोजना गर्ने भन्दा पनि व्यवस्थित खेलकुद प्रतियोगिता एउटा स्कुल गरेको भन्दै खुशी व्यक्त गरे । यस्तै खेलकुदमा उज्जवल भबिष्य रहेको भन्दै यसरी नै लगानी आववश्यक रहेको उनको भनाइ थियो ।

    भरतपुर ५ का वडाध्यक्ष युद्ध श्रेष्ठले खेलकुद क्षेत्रको बिकासमा स्कुलको यस किसिमको महत्वपूर्ण भूमिका खेल्ने बताए । चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले स्कुलले शैक्षिक कृयाकलापसहित खेलकुदलाई पनि महत्त्व दिएको भन्दै खुशी व्यक्त गरे । स्कुलदेखि नै खेलकुदको ग्रास रुट सुरु उनको भनाइ थियो । सबै स्कुलले यसरी नै खेलकुदलाई प्राथमिकता दिन सके प्रतिभावना खेलाडी उत्पादनमा कोशेढुङ्गा साबित हुने उनको भनाइ थियो ।

    विद्यालयका प्राचार्य रामचन्द्र न्यौपानेले एथ्लेटिक्स मिट चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत दाबी गरे । न्यौपानेले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षासँगै खेलकुदमा जोड दिँदै आएको बताए । मंसिर १९ गते शुक्रबारसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३६ संस्थागत विद्यालय सहभागी छन् । सहभागी खेलाडीहरुले बिभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

  • प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

    प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

    काठमाडौँ, १७ मङ्सिर : 
    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    पक्राउ परेका नीरज चित्रकार विरुद्धमा यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरीवृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ । पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

  • नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता

    नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता

    काठमाडौँ, मंसिर १७-
    यहाँस्थित थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड र नेपालका बौद्ध सम्पदाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताउनुभयो । नेपालको कृषि क्षेत्रको उन्नयनका निम्ति थाइल्याण्डले यथासम्भव सहयोग गर्दै आएको बताउँदै उहाँले हालै जैविक कृषिबारेमा नेपाली किसानलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

    त्यस अवसरमा परराष्ट्र मन्त्रालयका निमित्ति सचिव कृष्णप्रसाद ढकाल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । रासस

  • जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्‍याउने धरौटीमा रिहा

    जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्‍याउने धरौटीमा रिहा

    काभ्रेपलाञ्चोक, मंसिर १७-
    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्‍याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको अदालतको श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपास्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सोही भवन बाहिर राखिएका सवारीसाधनमा क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीस्थित सडकखण्डमा रहेको प्रहरी बिट, धुलिखेल नगरपालिकास्थित बसपार्कमा रहेको प्रहरी बिट, बनेपामा रहेको प्रहरी बिट तथा प्रहरीका लत्ताकपडामा आगजनी तथा तोडफोड गरी भवनभित्रका हतियार र गोली लुटपाट तथा चोरी अभियोगमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले न्यायिक मनका आधारमा धरौटीमा छाड्न आदेश दिएको हो ।

    पक्राउ परेकामध्ये साकार केसीलाई रु ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही रु ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा मोक्तान, रमेश तिमल्सिना, विशाल तामाङ भन्ने विशाल भ्लोन, अभि शुद्धाकार र भिम तामाङलाई जनही रु ३० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको श्रेष्तेदार कार्की बताउनुभयो । त्यस्तै अजय तामाङलाई रु २० हजार धरौटी माग गरेको जनाइएको छ । उहाँका अनुसार धरौटी बुझाएर सबै रिहा भएका छन् ।

    प्रहरीले भिडियो र फोटोसहित पक्राउ परेकालाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । क्षतिग्रस्त प्रहरी कार्यालयको रु पाँच करोड ४२ लाख ७६ हजार ४६८ क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको थियो । गत कात्तिक अन्तिम साता पक्राउ परेका अन्य थप पाँचलाई भने मङ्गलबार म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।

    जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा नीजि संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान भइरहेको बताउनुभयो । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा नीजि संरचनामा क्षति पुर्‍याइएको थियो । रासस