Blog

  • मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

    मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

    धनुषा, मंसिर १७ –
    सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदत्याग गर्नुभएको छ ।

    विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उहाँले आज प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गर्नुभएको हो । यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८९३० अनुसार प्रदेशसभा सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

    बर्दिबासस्थित पानस कटेजमा बिहानै यादवको नियुक्ति र शपथ ग्रहणसमेत भएपछि यसले राजनीतिक विवाद झनै बढाएको थियो । त्यसकै बीच सङ्घीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सिफारिस गरेको थियो ।

    विश्वासको मत प्रक्रियाका क्रममा विपक्षी सात दलका सांसद बैठकमा उपस्थित भएनन् । पूरा विपक्षी बेञ्च खाली रहँदा एमालेका सांसद मात्र बैठकमा देखिए । राप्रपाकी मन्त्री कञ्चन बिच्छा र नेपाल सङ्घीय समाजवादी पार्टीकी मन्त्री विमला अन्सारी पनि उपस्थित हुनुभएको थियो ।

    राजीनामा दिनुअघि मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति नै बाध्यात्मक रहेकाले विश्वासको मत अनिवार्य रूपमा लिनुपर्ने स्थिति नरहेको दाबी गर्नुभयो । आफ्नो २२ दिनको कार्यकाल जनतामुखी काममा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो । तर, उनीहरू बैठकमै आएनन् । त्यसैले राजिनामा घोषणा गर्दछु ।”

    बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरिसकेको हुँदा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने आवश्यता नरहेको बताउँदै सभा स्थगित गर्नुभयो । रासस

  • पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा

    पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा

    चितवन, मंसिर १७-
    पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो ।

    महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन । उहाँका अनुसार नौ जना कर्मचारी दुई चरणमा रहने गरी खटाइएको छ । एक इलेक्ट्रिसियन, चार नगर प्रहरी र चार सरसफाइकर्मी गृह सञ्चालनका लागि खटाइएको हो ।

    महानगरपालिकाले शवदाहका लागि १६ जनालाई तालिम दिएको थियो । तीमध्येबाट नौ जना व्यवस्थापनमा जुटेका हुन् । थपलियाले शवदाह गृह सञ्चालनमा रहेको जानकारी भइनसकेकाले शव नआएको बताउनुभयो । उहाँका अनुसार आम नागरिकलाई जानकारी भएसँगै क्रमशः शव आउने छन् ।

    एउटा शव दहनका लागि रु तीन हजार ५०० शुल्क लाग्नेछ । दाउराबाट शव दहन गर्नुभन्दा । झण्डै आधा सस्तो पर्ने गर्दछ । करिब ४५ मिनेटदेखि एक घण्टाभित्रमा शव दहन हुने भएकाले समयको समेत बचत हुने थपलिया बताउनुहुन्छ ।

    वातावरण र सरसफाइमा समेत सहयोगी हुने उहाँको भनाइ छ । महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । महानगर प्रमुख रेनु दाहालले सहरी विकास मन्त्रालयसँग आग्रह गरी निर्माण गरिएको विद्युतीय शवदाह गृहमा शव दहन गरी वातावरण संरक्षणमा योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ ।

    सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको हो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको हो । गृहमा दुई शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चार शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    वर्षातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् ।

    ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँको भनाइ छ । वर्षातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । रासस

  • अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्नेः युट्युब

    अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्नेः युट्युब

    अस्ट्रेलिया, मंसिर १७-
    युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।

    अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ ।
    युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भन्नुभयो,“यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।”

    युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् ।
    लर्डले भन्नुभयो,“हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।”

    युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन ।

    अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भन्नुभयो,“यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।”

    विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् ।

    अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९।५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ ।

    मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ । रासस

  • मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

    मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

    मुस्ताङ, मंसिर १७-
    स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन् ।

    गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट रु १६ करोड ५३ लाख बढी आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

    यहाँ गत वर्ष यहाँ उत्पादन भएको स्थानीय र हाइब्रिड स्याउ गरी फार्म गेट औसत मूल्य प्रतिकिलो रु १५५ मा बिक्री भएकामा यस वर्ष प्रति किलो फार्म गेट मुल्य रु १८५ मा बिक्री हुँदा स्याउ बिक्रीबाट आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गत वर्षको स्याउको फार्म गेट मुल्यमा प्रतिकिलो रु ३० ले वृद्धि भएको हो । गत वर्ष मुस्ताङमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष छ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष ६४४ मेट्रिक टन स्याउ कम फलेको हो ।

    मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन दर घटे पनि उच्चघनत्व प्रविधिमा आधारित ९हाइब्रिड० स्याउको उत्पादनमा भने कुनै असर नपुगेको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ गत वर्ष स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिक टन उत्पादन भएको थियो ।

    यस वर्ष स्थानीय जातको स्याउ पाँच हजार २५९ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीय स्याउमा ८१९ मेट्रिक टन कम फलेको छ भने हाइब्रिड स्याउ १७४ मेट्रिक टन बढी फलेको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।

    मुस्ताङमा यस वर्ष यहाँ उत्पादन भएको ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ९९ करोड २१ लाख ३३ हजार आम्दानी भएको जनाइएको छ । गत वर्ष यहाँ ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ८२ करोड ६८ लाख आम्दानी भएको थियो ।

    गत वर्ष यहाँ स्थानीय स्याउ निर्यात हुँदा रु ६० करोड १८ लाख आम्दानी भएको थियो भने हाइब्रिड स्याउ निर्यात हुँदा रु २२ करोड २५ लाख पाँच हजार आम्दानी भएको थियो । यस वर्ष स्थानीय जातको स्याउ निर्यात गर्दा रु ७१ करोड ७३ हजार आम्दानी भएको थियो । कार्यालयको स्याउ तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष स्थानीय स्याउ बिक्रीबाट रु १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट रु पाँच करोड ९५ लाख वृद्धि भएको छ ।

    यहाँ बर्सेनि कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक लगायतको समन्वयमा माथिल्लो मुस्ताङ, मध्य मुस्ताङ र तल्लो मुस्ताङ क्षेत्रमा तीन भागमा विभाजन गरी स्याउको क्रप कटिङ विधिबाट धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने स्याउ बगैँचाको उत्पादन लेखाजोखा गरिएको आधारमा उत्पादन र आम्दानी अनुमान गरिएको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ ९० प्रतिशत जिल्ला बाहिर निर्यात भएको र १० प्रतिशत स्याउ जिल्लाभित्र भण्डारण र खपत भएको छ । मुस्ताङका पाँच स्थानीय तहमा गरी कूल ८९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकोमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।

    त्यसमध्ये स्थानीय स्याउको क्षेत्र ८३७ हेक्टरमध्ये ५७२ हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । यसैगरी ६२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ बगैँचामध्ये ५५ हेक्टर क्षेत्रफलमा लगाएको स्याउले उत्पादन दिने गरेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

    यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीयतर्फ सात हेक्टर र हाइब्रिडतर्फ दुई हेक्टर क्षेत्रफल विस्तार भएको थियो । मुस्ताङमा एक शुन्य छ प्रतिशतले स्थानीय स्याउ र १० प्रतिशतले हाइब्रिड स्याउको उत्पादनशील क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ ।

    यहाँ गत वर्ष प्रतिहेक्टर उत्पादकत्व स्थानीय १० दशमलव ७४ मेट्रिक टन रहेकामा यस वर्ष घटेर प्रति हेक्टर उत्पादकत्व नौ दशमलव १९ प्रतिशत रहेको छ । यसैगरी गत वर्ष हाइब्रिड स्याउ प्रति हेक्टर उत्पादकत्व २५ मेट्रिकटन रहेको यस वर्ष २५ दशमलव ९० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।

    मुस्ताङका स्याउ किसानले स्थानीय जातका स्याउमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी स्याउ उत्पादन गर्छन् । उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउतर्फ गाला,रेड डेलिसियस, किङ्गरोट, जोना प्रिन्सलगायतका स्याउ उत्पादन हुने गरेको छ । रासस

  • भरतपुर अस्पतालमा मौसमी रुघाखोकीका बिरामीको चाप

    भरतपुर अस्पतालमा मौसमी रुघाखोकीका बिरामीको चाप

    मंसिर १७,भरतपुर ।
    भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी जाडो बढेसँगै बढेका हुन् ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उनले भने, ‘सामान्य समयभन्दा अहिले मौसमी रुघाखोकीका बिरामीको चाप बढेको छ ।”

    अहिले अस्पतालमा दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेका छन् । आएका बिरामीमध्ये ३०० भन्दा बढी मौसमी रुघाखोकी र ज्वरोका रहेका उनले जानकारी दिए ।

    अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने तथा सुक्खा खोकी लाग्ने जस्ता समस्या लिएर आउने बिरामीको सङ्या बढेको हो । उनले भने, ‘सिजनल फ्लुका बिरामी बढेका छन् ।’ यसलाई रोक्न चिसो कुरा नखाने, चिसोमा बाहिर नहिँड्ने, हिँड्नै परे बाक्ला र लामा लुगा गाएर हिँड्ने गर्नुपर्ने उनले बताए ।

    अस्पतालमा आएका बिरामीमध्ये केही स्क्रबटाइफसका रहेको डा अधिकारीले बताए । दीर्घरोगी र ज्येष्ठ नागरिकमा बढी मौसमी रोगको समस्या देखिएको उनले बताए । अहिले उपचारमा आएका बालबालिकामा समेत मौसमी रोगको समस्या देखिएको बाल रोग विशेषज्ञ डा खेम पौडेलले बताए । बालबालिकामा लगातार ज्वरो आउने, सिँगान बगिरहने, खाना नरुच्ने जस्ता समस्या देखिने गरेको उनले बताए ।

    बालबालिकालाई चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँड्डुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने, झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले मौसमी रोगबाट बचाउन सकिने उनले बताए । अहिले उपचारमा आएका बालबालिकामध्ये ५० प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरोको समस्या रहेको उनले जानकारी दिए । बालबालिकालाई चिसोबाट बचाउनसमेत उनले आग्रह गरे ।

    यस अस्पतालमा चितवनसहित विभिन्न जिल्लाका बिरामीको उपचार हुँदै आएको छ । संघीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा विशेषज्ञ सेवासमेत हुने भएकाले उपचारका लागि केन्द्र बन्दै आएको छ । रासस

  • भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

    भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

    दमौली (तनहुँ), मंसिर १७ –
    मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो ।

    भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

    मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

    विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । रासस

  • एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

    एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

    चितवन, मंसिर १७-
    एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् ।

    माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित) ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने ?”

    आफुले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकाला गरेको उहाँले बताउनुभयो । आफूले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उहाँले गुनासो गर्नुभयो । परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उहाँले सङ्क्रमित भनेर खुल्दा समस्या भएको बताउनुभयो ।

    परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । भरतपुर महानगरपालिकाकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम थर परिवर्तित) ले सङ्क्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो गर्नुभयो । आफूले विसं २०६९ देखि एचआइभी एड्स सङ्क्रमित भएर औषधि खाँदै गर्दा पनि अहिलेसम्म खुल्न नसकेको उहाँले बताउनुभयो ।

    औषधि खाँदै गरेको भए पनि घरमा छोरालाई बाहेक कसैलाई थाहा नदिएको उहाँको भनाइ छ । उपचारका क्रममा आफ्नो व्यापार व्यवसाय सबै गुमाएको भए पनि उहाँ अहिलेसम्म खुलेर आउन सक्नुभएको छैन । उहाँले भन्नुभयो, “किराना व्यवसाय गरेका थियौँ, त्यो पनि सकियो, अहिले ज्याला मजदुरी गरेर बस्नुपरेको छ ।”

    कालिका नगरपालिकाकी अस्मिता सुवेदी (नामथर परिवर्तित) आफूलाई सङ्क्रमित भएको थाहा पाएपछि परिवारबाट समेत हेला हुनुपरेको बताउनुहुन्छ । आफू अहिले ५६ वर्ष भए पनि सुरुआती समयमा सासू र नन्दले घरबाट बाहिर निकालेपछि त्रिपाल टाँगेर बस्नुपरेको गुनासो गर्नुभयो ।

    उहाँले भन्नुभयो, “श्रीमान्का कारण आफूले परिवारबाट पाउनुपर्ने दुःख पाएको छु, परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।” पानी लिन धारामा जाँदासमेत परिवारका सदस्यले अन्य धारा प्रयोग गर्ने गरेको भए पनि अहिले खुलेपछि भने पाउने सहयोग पाएको उहाँको भनाइ थियो । अहिले औषधि खाँदै समाजमा परिवर्तनका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । आफू घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उहाँको आग्रह छ ।

    बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य ९नाम थर ठेगाना परिवर्तित०ले खुलेर आउन नसक्दा समाजमा गुम्सिएर बस्नुपरेको बताउनुभयो । खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्ससँग लड्नुपर्ने उहाँले बताउनुभयो । आफूलाई सङ्क्रमण देखिएपछि काम गरेको कम्पनीले निकालेर नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नुपरेको उहाँले बताउनुभयो । रोजगारी गर्न जाँदासमेत कार्यालयका अन्य कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उहाँले बताउनुभयो ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने योजनासहित काम गरिएको बताउनुभयो । अहिले सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई शून्यमा झार्नका लागि समुदायमा चेतना बढाउन आवश्यक छ ।”

    एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी सङ्क्रमितलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताउनुभयो । खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । रासस

  • चितवनका केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण

    चितवनका केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण

    चितवन, मंसिर १७-
    जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो ।

    करिब ५५ बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमध्ये पाँच बिघामा पानामा रोगको नयाँ भेरिएन्टको सङ्क्रमण देखिएर केराको गुवो लाग्ने समयमा थामबाट फल बाहिर निस्कन थालेको उहाँले जानकारी दिनुभयो । किसानले नवलपरासीबाट ल्याएर लगाएका बिरुवामा यो समस्या देखिएको रेग्मीले बताउनुभयो । केहीसमय अघिदेखि यो समस्या देखिएपछि अहिले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ र कृषि अनुसन्धान परिषद् ९नार्क०मा नमुना पठाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा बाहिरबाट केराको बिरुवा ल्याउने हुँदा परीक्षण गरेर मात्र ल्याउन उहाँले सबै किसानलाई आग्रह गर्नुभयो ।

    पश्चिम चितवनमा केराखेती गर्दै आउनुभएका कृषक यज्ञ सुवेदीले आफूले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग देखिएपछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको छ ।”

    जिल्लामा पहिलोपटक यो रोग देखिएको एकाइका प्रमुख रेग्मीले जानकारी दिनुभयो । यो सङ्क्रमणबाट बच्नका लागि रोग लागेका केरा फार्ममा प्रयोग भएका औजार तथा यातायातलाई निर्मलीकरण गरेर अन्य फार्ममा लैजानु पर्ने तथा रोग देखिका फार्मलाई पूर्ण रूपमा निर्मलीकरण नगरी केराका नयाँ बिरुवा लगाउन नहुने उहाँले बताउनुभयो ।

    जिल्लामा हाल दुई हजार ८०० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । जसमध्ये दुई हजार २०० हेक्टर क्षेत्रफल ‘केराजोन’मा पर्दछ । यहाँ वार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

  • एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

    एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

    काठमाडौँ, १७ मङ्सिरः
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
    प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते हुनुभएको थियो ।
    प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।
    गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ ।
    प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका काररण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भएपनि असावधानी र जनचेतनाको अभाव देखिन्छ ।रासस

  • राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा

    राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा

    खोटाङ, मंसिर १७ –
    देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् ।

    ‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिनुभयो ।

    किरात समुदायको महान चाड छीरीयाम्लो ९उँधौली० को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।

    महाधिवेशनको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरुको नाग्रे कुबी ९पित्रे धामी० ले तीन चुल्हा पुजेर गरेका छन् । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा किरात लिपि समावेश गरिएको जानकारी दिनुभएको छ । “म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ । हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरु जोडेर गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेका छौँ । विभिन्न ४० देशका ख्याति प्राप्त चित्रकारहरुले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर मुन्दुम अन्तरराष्ट्रिय चित्रकला सङ्ग्राहलय स्थापना गरेका छौँ । यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको छ ।”

    माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरुको वङ्शावलीसमेत विमोचन गरिएको छ । संस्कृतिविद् चतुरभक्त राईले सङ्कलन, लेखन तथा सम्पादन गर्नुभएको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरुको २२ पाछा तथा ११ सामायी समेटिएको छ ।

    करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरुको वङ्शावली सङ्कलन, लेखन तथा सम्पादन गर्नुहुने संस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको महाधिवेशन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातङ्कु लगायतको उपस्थिति थियो ।

    किरात यले सम्वत् (यल थो ५०८५) को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिनुभएको छ । दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् । रासस