Blog

  • सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

    सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

    काठमाडौं, मंसिर १८-
    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रन जोड्यो।

    उसका लागि ओपनिङ ब्याटर क्रिस लिनले ७५ रन जोडे। १७औं ओभरको समाप्तिमा रिटायर्ड हट भएका लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

    अर्का ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। यस्तै इशान पाण्डे र हर्मित सिंह १-१ रन बनाएर पेभिलियन फर्के।

  • चितवनलाई सुदुरपश्चिमले दियो १७० रनको लक्ष्य

    चितवनलाई सुदुरपश्चिमले दियो १७० रनको लक्ष्य

    चितवन, मंसिर १८ –
    चितवन राइनोजलाई सुदुरपश्चिम रोयल्सले १७० रनको लक्ष्य दिएको छ । २० ओभरमा ४ विकेट गुमाउँदै सुदुरपश्चिमले १६९ रन बनाएको हो ।

    अब चितवनले जवाफि ब्याटिङ् गर्नेछ । चितवनले टस जितेर बलिङ् रोजेको थियो ।

  • ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

    ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

    भोजपुर, मंसिर १८ –
    यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन् ।

    अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।

    अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपालले बताउनुभयो ।

    “अस्पताल निर्माण पाँच वर्षबदेखि अलपत्र छ”, उहाँले भन्नुभयो, “अस्पताल बनेर सेवा पाइएला भन्ने आशामा जग्गा दिएका थियौँ । अहिले काम अलपत्र बनेपछि हामी निराश बनेका छौँ । सरकारले ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न हामी माग गर्दछौँ ।”

    देशविदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३ दशमलव पाँच रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवालले बताउनुभयो । स्थानीयसँग रकम सङ्कलन गरेर जग्गा खरिद गरिएको उहाँको भनाइ छ ।

    “अस्पताल बन्ने आशामा देशविदेशमा रहेका तथा स्थानीयसँग समन्वय गरी रकमको व्यवस्थापन गरेर जग्गा प्रदान गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । लामो समयसम्म पनि अस्पताल बनेन् ।”

    गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटकपटक समन्वय गरे पनि निर्माण कम्पनी सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । ठेकेदारले लामो समयदेखि काम अपलत्र पारेकाले गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    “ठेकेदारका कारण कोट अस्पताल निर्माण अलपत्र बनेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “कामलाई शीघ्र अघि बढाउन पालिकाको तर्फबाट पटकपटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा आएन । अब भने कारबाहीको थप प्रक्रिया अघि बढाउने तयारीमा छौँ ।” यहाँ अस्पताल बनेपछि टेम्केमैयुङ-६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन् । रासस

  • एनपिएलः चितवन टस जितेर बलिङ गर्दै

    एनपिएलः चितवन टस जितेर बलिङ गर्दै

    काठमाडौँ, मंसिर १८ –
    राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ ।

    पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ । रासस

  • एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल

    एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल

    काठमाडौँ, मंसिर १८ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताउनुभयो । “पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ’’, उहाँले भन्नुभयो, “त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौँ । बाहिर चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन या चुनाव हुँदैमा पार्टीमा समस्या आउँछ भन्ने कुरा यथार्थ होइन ।’’

    एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४०० प्रतिनिधि रहनेछन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । रासस

  • फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय

    फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय

    चितवन, मंसिर १८-
    मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।
    आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो ।

    पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    महासचिव गौरवद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा बामपन्थी शक्तिकाबिच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरेर आन्दोलन उठाउने र आन्दोलनको बलमा स्वाधिन संयुक्त सरकार गठन गर्ने जनाएको छ । त्यसैगरी पार्टीले प्रतिक्रियावादी संविधान खारेज गरी जनसंविधान निर्माणलाई अगाडि बढाउने कार्यनीति पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पार्टीको धारणा सार्वजनिक गर्न सो पत्रकार सम्मेलन गरिएको थियो ।

  • भरतपुरमा दुई बिघा १० कठ्ठा क्षेत्रफलमा प्राङ्गारिक सूर्यमुखीखेती

    भरतपुरमा दुई बिघा १० कठ्ठा क्षेत्रफलमा प्राङ्गारिक सूर्यमुखीखेती

    नारायणगढ (चितवन), मंसिर १८ –
    भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाउनुभएको छ । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो ।

    उहाँले भन्नुभयो, “पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।” उहाँले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा रु ८०० र दाना प्रतिकिलो रु ५०० मा बिक्री भएको जानकारी दिनुभयो । यसपटक अधिकारीले एकल रूपमा खेती गर्नुभएको हो ।

    दुई वर्षअघि भने चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्गारिक सूर्यमुखीखेती गरिएको थियो । त्यो समयमा फूल फुल्दा खेत क्षेत्र आकर्षक बनेको र दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उहाँले जानकारी दिनुभयो ।

    बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अधिकारीको दाबी छ । फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ । लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आउनुभएको छ ।

    सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीपुर गाजर उत्पादनका लागि पनि परिचित क्षेत्र हो, मैले प्राङ्गारिक रूपमा गाजर पनि लगाएको छु ।”

    उहाँको अगुवाइमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले अन्य विभिन्न बाली लगाउँदै आएका छन् । करिब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आउनुभएको छ । रासस

  • सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

    चितवन, मंसिर १८-
    चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। गए राती करिब ११ः१० बजे होटल पार्क साइटमा चारतले माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।

    घुम्न सौराहा आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर अस्पताल, टाँडीमा पुर्‍याइएको थियो। तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

    पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

    काठमाडौं, मंसिर १८-
    काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन(२ मा प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।

    यसअघि सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । थप दुई टोलीले प्लेअफमा स्थान बनाउनेछ । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ । काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जित पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, एडम रोसिङटन ५, जेशन रोय १६, तिर्थ राज दास ९, धनन्जय लक्षन ३० र किरणकुमार ठगुन्ना ५ रनमा आउट भए ।

    बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुईदुई विकेट लिए ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए ।

    आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।

  • बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी

    बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी

    काठमाडौं, मंसिर १८-
    काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । अब थप एकता संवादको लागि रवि लामिछानेलाई भेट्न लागेको उनको भनाइ छ ।

    फेसबुकमा गुरुङले लेखेका छन्, ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं । र, उहाँको धारण पनि सुन्नेछौं ।’