Blog

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

    समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

    काठमाडौँ, मंसिर १९ –
    निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान रेको छ ।

    आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो । आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    आयोगले यही मङ्सिर २४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्नेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति आउन अब अब ९० दिन बाँकी छ ।

    पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष०तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।

    आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ । रासस

  • नदीमा ट्रक खस्दा चालकको मृत्यु

    नदीमा ट्रक खस्दा चालकको मृत्यु

    १९ मंसिर,बैतडी ।
    बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    सतबाँज सिरभाँवर सडकअन्तर्गत भित्री कच्चि सडकमा सुर्नया-४ सन्सेरमाडौंदेखि धनगढी जाँदै गरेको भे.१ख. १६३९ नम्बरको मिनी ट्रक सुर्नया-५ कठेगौणामा बिहीबार राति दुर्घटना भएको हो।

    दुर्घटनामा चालक सुर्नया-४ कौलाडी बस्ने अन्दाजी २८ वर्षका नरेश महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले बताए। ट्रक सडकबाट करिब ५० मिटर तल सुर्नया नदीमा खसेको थियो।

  • एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

    एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

    काठमाडौँ, मङ्सिर १९-
    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

  • स्वरसम्राट् नारायणगोपालकाे ३५ औँ स्मृति दिवस आज

    स्वरसम्राट् नारायणगोपालकाे ३५ औँ स्मृति दिवस आज

    काठमाडौँ १९ मङ्सिर
    प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।

    उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित भएका थिए ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।

    मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

     

  • विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

    काठमाडौँ , १९ मङ्सिर
    आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
    बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

    बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।

     

  • कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मङ्सिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२५ डिसेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–प्रतिपदा, ५० घडी ५९ पला, रातको ३ बजेर ४५ मिनेट उप्रान्त द्वितीया ।

    नक्षत्र–रोहिणी, १७ घडी १७ पला, दिउसो १ बजेर ३६ मिनेट उप्रान्त मृगशिरा । योग–सिद्ध, ९ घडी १ पला, बिहान १० बजेर १८ मिनेट उप्रान्त साध्य । करण–बालव, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर ५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ३ पला ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खाद्यान्न तथा होटल रेष्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा मन जानेछ भने खेल क्षेत्रमा भरपुर मनोरञ्जन गर्न सकिनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरी हरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागी पद प्राप्तिको योग रहेको छ । खेलाडी तथा खेल क्षेत्रमा काम व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा कामको तालमेल नमिल्दा अध्ययन वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । तरपनि व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यापारी, पत्रकार र शुभचिन्तकका लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा औद्योगिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा चासो राख्ने वा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्नेछ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । तरपनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । पढाइ लेखाइमा सहपाठी हरूलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ भने उत्पादित उद्योगको लगानीबाट नाफा कमाउन सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । खेल क्षेत्रमा चासो बढ्ने तथा सहभागी भएर मनोरञ्जन गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । खेलाडी, पत्रकार तथा खेल क्षेत्रमा काम गर्ने व्याक्तिहरुका लागी समय राम्रो रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार तथा उद्योगमा गरिने लगानीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । खेल क्षेत्रमा संलग्न खेलाडी तथा यस क्षेत्रमा कार्यरत व्याक्तिहरुका लागी समय अनुकूल रहनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

    नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

    त्रिवेणी (नवलपरासी), १८ मङ्सिरः 
    नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।

    उहाँका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार अहिले पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ ।

    गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ । लामो पुलमा चोरमारा र अरुणखोला मात्र सञ्चालनमा आउन बाँकी रहेकाले सो क्षेत्रमा समेत काम चलिरहेको सूचना अधिकारी खनालले बताउनुभयो । कालोपत्र सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने काम समेत चलिरहेको छ । त्यसबाहेक सडकबीचको डिभाइडर सफा गर्ने, यस अघि तोकिएकोभन्दा पातलो कालोपत्र गरिएको स्थानमा थप कालोपत्र गर्ने कार्य जारी राखिएको छ ।

    पूर्व खण्डमा दाउन्ने क्षेत्रमा समेत प्राथमिकता दिएर काम अघि बढाइएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरण रहेको उहाँले बताउनुभयो । चैतसम्ममा काम सक्नेगरी कल्भर्ट निर्माणसहित सडक ढलानको काम चलिरहेको उहाँले बताउनुभयो । “दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजनाको बाँकी चौध प्रतिशत कामसमेत सकिन्छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।

    नारायणगढ–बुटवल सडक विस्तार विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

    निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ ।

    एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि  बढेको  सडक विस्तार योजनाको  दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर  चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको चौध किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।

  • टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

    टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

    काठमाडौँ, १८ मङ्सिरः 
    काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो ।
    काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए । उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सार्कीले ‘प्लेयर अफ दी म्याच’को पुरस्कार पनि जिते ।
    प्लेअफमा पुगेपछि भीमले टोलीको तालमेल मिल्दा जित  सहज भएको बताए । सुरुआतका खेलमा तालमेल त्यति राम्रोसँग नमिल्दा जित कठिन भएको उनको भनाइ थियो ।   आज टोलीले योजना बनाए अनुसार नै नतिजा आएको सार्कीले बताए ।
    यस्तै प्रशिक्षक मोन्टी देसाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकार रहेकाले त्यसको फाइदा काठमान्डूलाई पुगेको सार्कीले बताए ।
    पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले ब्याटिङ नचल्दा जित्नैपर्ने खेलमा हार बेहोर्नुपरेको बताए । शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसक्दा पराजित हुनु परेको र आगामी खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने उनको भनाइ थियो ।
  • सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

    सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

    काठमाडौँ । सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।

    लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।

    चितवनको भने यो चौथो हार हो । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ र प्लेअफ पुग्ने होड कमजोर बनेको छ ।

  • अङ्कुरम् एकेडेमीमा तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु

    अङ्कुरम् एकेडेमीमा तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु

    चितवन, १८ मङ्सिरः
    कक्षाकोठाको सिकाइ प्रक्रियालाई डिजिटल प्रविधिबाट थप प्रभावकारी, सहभागितामूलक र सहज बनाउन विद्यार्थीकेन्द्रित शिक्षणविधि अपनाई आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता सीपहरू विकास गर्न सहयोग पु¥याउने उद्देश्यले शिक्षकलाई आधुनिक उपकरण र प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउन तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ बिहीबारदेखि सुरू भएको छ ।

    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र काठमाडौँ युनिभर्सिटीको संयुक्त आयोजनामा तीनदिने शिक्षक तालिम सुरु भएको हो । ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’मार्फत प्रशिक्षार्थी शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ताको प्रयोग र भविष्यको तयारीका लागि तयार पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

    तालिमले प्रशिक्षार्थीहरूलाई डिजिटल शिक्षण पद्दतिमा सुधार ल्याउने, कृत्रिम बुद्धिमत्तामा आधारित ‘टुल’हरुको प्रयोगबारे सिकाइने, काठमाडौँ युनिभर्सिटीको प्रमाणिक शिक्षणविधिको अनुभव गर्न सकिने र कक्षाकोठमा शिक्षक–विद्यार्थीको संलग्नतामा सुधार ल्याउने प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डिन शेषकान्त पङ्गेनी र काठमाडौँ युनिभर्सिटी डिपार्टमेन्ट अफ स्टिम एजुकेसनका लेक्चरर प्रतितराज गिरीले तालिम प्रदान गर्ने कार्यक्रममा अङ्कुरम् एकेडेमीसहित चितवन र नवलपुरका विभिन्न विद्यालयका ६७ जना प्रिन्सिपल तथा शिक्षकहरूको सहभागिता रहेको छ ।

    प्रशिक्षणले डिजिटल पेडागोजीको मूल्याङ्कन, आधार र संलग्नताबारे जानकारी दिने, रणनीतिक विश्लेषणअन्तर्गत राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी दिने, कोल्याबोरेटिभ क्लाउडको गुगल डक्स, गुगल स्लाइड र गुगल फर्मको प्रभावकारी प्रयोग गर्न सिकाउनुका साथै च्याटजिपिटी, जेमिनी, डिपसिक तथा कोपाइलटको प्रयोगबारे प्रशिक्षार्थीलाई गहिरो ज्ञान दिने, एआई फर क्रिएसन ः म्याजिक स्कुल एआईअन्तरगत लेसन प्लान जेनरेटर तथा रुब्रिक जेनेरेटरबारे जानकारी र प्रभावकारी प्रयोगबारे प्रशिक्षार्थीलाई दक्ष बनाउने लक्ष्य राखिएको छ ।

    विद्यालय सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा उद्घाटित प्रशिक्षण कार्यक्रममा प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका आवासीय निर्देशक नईम चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । पहिलो र दोस्रो दिनको प्रशिक्षण अङ्कुरम् एकेडेमीको बहुउद्देश्यीय सभा हलमा र तेस्रो दिनको प्रशिक्षण सौराहास्थित ल्याण्डमार्क फरेष्ट पार्कमा आवासीय सुविधासहित सञ्चालन हुनेछ ।