Blog

  • एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

    एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

    काठमाडौँ, मंसिर १९ –
    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको २५औँ खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ ।

    हालसम्म ‘प्लेअफ’मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको छ । त्यसबाहेक काठमाडौँ गोर्खाज र विराटनगर किंग्स ‘प्लेअफ’मा पुगे पनि क्वालिफायर एकको दौडमा छन् । क्वालिफायर एकमा सुदूरपश्चिमको सामना कस्ले गर्ने भन्ने निर्णय सुदूरपश्चिम र विराटनगरबीच शनिबार हुने खेलपछि टुङ्गो लाग्नेछ ।

    उक्त खेल विराटनगरले जितेमा ऊसँग काठमाडौँ गोर्खाजसँग बराबरी अर्थात् १० अङ्क हुनेछ । त्यसपछि रनरेटका आधारमा क्वालिफायर एकमा जाने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । अहिले काठमाडौँ गोर्खाजको रनरेट ०.५३७ छभने विराटनगरको रनरेट ०.१८९ छ । विराटनगरलाई क्वालिफायर एकमा पुग्नका लागि जित मात्रै पर्याप्त हुने छैन । उसले ठूलो अन्तरमा सुदूरपश्चिमलाई पराजित गर्नुपर्नेछ । यदि विराटनगरले उक्त खेल जित्न नसकेमा काठमाडौँ गोर्खाज स्वतः क्वालिफायर एकमा जानेछभने विराटनगर किंग्सले क्वालिफायर दुईका लागि ‘एलिमिनेटर’ खेल्नुपर्नेछ ।

    क्वालिफायर एकमा तालिकाका शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै क्वालिफायर दुईमा पुग्नका लागि अङ्कतालिकामा तेस्रो र चौथो हुने टोलीले ‘एलिमिनेटर’ खेल्नेछन् । क्वालिफायर एकमा विजयी हुने टोली स्वतः फाइनलमा प्रवेश गर्ने छभने पराजित हुने टोलीले ‘एलिमिनेटर’को विजेतासँग क्वालिफायर दुई खेल्नेछ ।

    अब रह्यो कुरा प्लेअफमा पुग्ने चौथो टोलीको । यदि आज लुम्बिनी लायन्स विजयी भयो भने लुम्बिनी आठ अङ्कसहित स्वतः प्लेअफमा पुग्नेछ । यदि लुम्बिनी लायन्स पराजित भयो भने, प्लेअफका लागि जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजको सम्भावना कायमै रहनेछ । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ ।

    लुम्बिनीविरुद्धको आजको खेल जनकपुरले जितेको अवस्थामा उसले कर्णाली याक्सलाई आफ्नो अन्तिम खेलमा पराजित गर्नुपर्ने छभने पोखरा र चितवनका लागि आफ्नो अन्तिम खेल नकआउट हुनेछ । जनकपुरले आज र आइतबारको खेलमा जित निकालेको अवस्थामा उसले पोखरा र चितवनबीच हुने खेलको विजेतासँग रनरेटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । रासस

  • एमाले महाधिवेशन : ओली र पोखरेल टीम बनाउन व्यस्त

    एमाले महाधिवेशन : ओली र पोखरेल टीम बनाउन व्यस्त

    १९ मंसिर,काठमाडौं।
    नेकपा एमालेको ११ औं महाधिवेशन आउन एक हप्तामात्रै बाँकी छ। एमालेको ११ औं महाविधेशन यही मंसिर २७ गतेदेखि सुरु हुँदैछ।

    महाधिवेशनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाउन व्यस्त छन्। उनीहरुलाई आफ्नो प्यानल बनाउन सकस परिरहेको छ।

    पदाधिकारीका आकांक्षी धेरै हुँदै दुवै समूहलाई टीम बनाउन सकस परिरहेको छ। अध्यक्ष ओलीले आफ्ना प्यानल बनाउन थालिसकेका छन्। उनले आफूले टीम बनाउने र उनीहरुलाई नै मत दिनुपर्ने कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। ‘सकेसम्म सबैलाई मिलाएर लैजाने गरी टीम बन्छ,’ ओली निकट एक नेताले भने, ‘उम्मेदवारी दर्ता गर्ने बेलासम्म सबैलाई चित्त बझ्दो टीम बन्छ।’

    ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराललाई समेट्ने तयारी गरेका छन्। महासचिव कसलाई बनाउने भन्ने विषयमा ओलीले निर्णय लिन सकिरहेका छैनन्। वर्तमान महासचिव शंकर पोखरेल पुनः महासचिवमा दोहोरिन चाहेका छन् भने वर्तमान उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले समेत महासचिवमा दाबी गरेका छन्।

    तीनजना मध्येबाट एक जनालाई महासचिवको उम्मेदवार बनाउने ओलीको तयारी छ। यसैगरी उमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्यालले रुची देखाएका छन्।

    यसैगरी सचिवमा भीम आचार्य, भानुभक्त ढकाल, महेश बस्नेत, विशाल भट्टराई, राजन भट्टराई, राजेन्द्र गौतमलगायतले रुची देखाएका छन्।
    उनीहरुलाई आफ्नो पक्षमा कायम गरिराख्नु ओलीको चुनौतीका रुपमा हेरिएको छ। यद्यपि उनीहरुले चासो राखे पनि खुलेर ओली समक्ष मुख नखोलेको बताइएको छ।

    ओलीले ती नामलाई अन्तिम रुप दिएर केही दिनभित्रै सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। दशौं महाधिवेशनको जस्तो सहज अवस्था नदेखेपछि ओली आफू र आफ्नो टीम जिताउने रणनीतिमा व्यस्त छन्। ओलीको कार्यशैलीबाट रुष्ट बनेका नेता कार्यकर्तालाई रिझाउन ओलीलाई सकस गरिरहेको छ।

    पदाधिकारी हुन चाहने नेताहरूले आन्तरिक लबिइङ सुरु गरिसकेका छन्। अहिलेको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका अधिकांश नेताहरू पदाधिकारी हुन खोजेका छन्।

    उता ओलीसँग प्रतिस्पर्धा गर्न तयार भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि आफ्नो टीम बनाउन व्यस्त छन्। कसेसम्म ओली पक्षमा प्रभावशाली नेतालाई आफ्नो समूहमा ल्याउने कसरत गरिरहेका पोखरेलले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन्। यसैगरी महासचिवमा योगेश भट्टराई, उपमहासचिवमा गोकर्ण विष्ट, सचिवमा ठाकुर गैरै, विन्दा पाण्डेलगायतलार्य प्रस्ताव गरेको बताइएको छ।

    १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाउने गत भदौ तेस्रो साता सम्पन्न दोस्रो विधान महाधिवेशनबाट विधान संशोधन गरिएको छ। पदाधिकारी भइसकेका र हुन खोज्नेलाई व्यवस्थापन गर्न सकस भएपछि पदाधिकारी संख्या बढाउन आवाज उठिरहेको छ।

    गत भदौ तेस्रो साता भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ। यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ। आगामी महाधिवेशनमा यही पदमा प्रतिस्पर्धा हुँदै छ।

    यसैगरी, एमालेले केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरेको छ। पोलिटब्युरो र केन्द्रीय कमिटीको संरचना रहनेछ। २ सय ५१ को एक तिहाइ ८४ सदस्यीय पोलिटब्युरो हुनेछ। स्थायी कमिटी नरहने भएकाले धेरै नेता पोलिटब्युरोमै रहनेछन्। केन्द्रीय सचिवालयको व्यवस्था हटेको छ।

  • चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा

    चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा

    १९ मङ्सिर,भरतपुर  ।
    स्पाइनल कर्ड इन्जरी तथा न्युरोलोजिकल समस्याबाट प्रभावित व्यक्तिहरूका लागि चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर–चितवन युनिट ले सेवा सुरु गर्न लागेको छ ।

    नारायणगढको न्युरोडमा स्थापित यो केन्द्र किफायती, पहुँचयोग्य र विशेषज्ञ पुनस्र्थापना सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको विहिवार भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    यो युनिट स्पाइनल इन्जुरी संघ नेपाल ले स्थापना गरेको दोस्रो प्रमुख केन्द्र हो । संघले विगत २४ वर्षदेखि साँगामा सञ्चालन गर्दै आएको मोडेलअनुसार नै चितवनमा पनि हेरचाह, पुनस्र्थापना र सामुदायिक पुनर्एकीकरणका सेवा विस्तार गरेको जनाइएको छ ।

    स्वर्गीय उदयकुमार पिया तथा श्रीमती चमेलीदेवी पिया परिवारको आर्थिक–भौतिक सहयोग, र रोटरी क्लब अफ चितवन को व्यवस्थापनमा केन्द्रको स्थापना गरिएको हो । प्राविधिक सञ्चालन स्पाइनल इन्जुरी संघ नेपालले गर्नेछ । यस सेन्टरबाट एकीकृत पुनस्र्थापना सेवा, स्पाइनल इन्जुरी तथा अपाङ्गता सम्बद्ध जनचेतना कार्यक्रम ,सेवाग्राहीका लागि सीप तथा व्यवसायिक पुनर्एकीकरण तालिम लगायतका सेवा दिइनेछ । रोटरी क्लब चितवनका अध्यक्ष रो. रबिन्द्र पियाले केन्द्रले नेपालमा विशेष पुनस्र्थापना सेवाको स्तर उकास्ने बताउनुभयो । “हाम्रो लक्ष्य उपचार मात्र होइन, व्यक्तिलाई स्वतन्त्र जीवनका लागि सक्षम बनाउनु हो,” उहाँले भन्नुभयो ।

    स्पाइनल कर्ड इन्जरी भएका भरतपुर–१६ का समिरकुमार ठकुरीले चितवनमा केन्द्र स्थापना हुँदा सेवाग्राहीलाई उपचारका लागि टाढासम्म जानुपर्ने बाध्यता कम भएको बताउनुभयो ।

    केन्द्रले मंसिर १९ गतेदेखि नियमित सेवा सुरु गर्नेछ । गुणस्तरीय पुनस्र्थापना सेवाका लागि प्रदेश तथा स्थानीय सरकार, सेवामूलक संस्था, अस्पताल र समुदायबीच सहकार्य आवश्यक रहेको केन्द्रले जनाएको छ ।

  • भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा ३० जना त्रिपालमुनि

    भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा ३० जना त्रिपालमुनि

    चितवन, मंसिर १९ –
    जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् ।

    जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो । कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ । कैदीबन्दीको चाप बढेसँगै राख्ने ठाउँको अभावका कारण उनीहरुलाई त्रिपालमुनि राख्नुपरेको हो ।

    विगतमा पनि कैदीबन्दी त्रिपालमुनि बस्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले गत आर्थिक वर्षमा केही ठाउँजस्ता हालेर बनाइएको जानकारी दिनुभयो । चिसो र गर्मीको समयमा त्रिपालमुनि बस्न कैदीबन्दीलाई समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भित्र बस्ने ठाउँ प्रयाप्त छैन, त्रिपालमुनि राख्नुपरेको छ, चिसोका कारण बिरामी हुन्छनकी भन्ने डर छ ।”

    यस वर्ष त्रिपाल रहेको ठाउँमासमेत जस्ता हाल्ने योजना रहेको उहाँले बताउनुभयो । यस कार्यालयमा हाल ६३० कैदीबन्दी रहेका छन् । यहाँ ५९३ पुरुष र ३७ महिला रहेका छन् । उनीहरुसँग दुई जना आश्रितसमेत रहेका छन् ।

    कारागारको क्षमता ३० महिला र ४७५ पुरुषको रहेको छ । गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दी फर्कनेक्रम जारी रहेको छ । भागेकामध्ये अझै ११३ कैदीबन्दी फर्कन बाँकी छन् । त्यसमा दुई बालबालिकासमेत रहेका छन् । उनीहरु फर्किएपछि थप कैदीबन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता हुन्छ । रासस

  • दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल पाँच वर्षसम्म अधुरै

    दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल पाँच वर्षसम्म अधुरै

    चितवन, मंसिर १७ –
    दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ । विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ ।

    विसं २०८२ जेठमा हुरीका कारण भवनका ट्रष्ट उडाएपछि काम रोकिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालका अनुसार सिटीहलको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । तीनपटक म्याद थप गर्दा समेत निर्माणले गति लिन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद विसं २०८३ असार २५ गते सकिँदैछ ।

    भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माणाधीनमा रहेको यस हलको निर्माण कम्पनीको ढिलासुस्ती र दिइएको ‘डिजाइन’अनुसार काम गर्दा देखिएको प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो । केही दिनअघि मात्रै पुनः डिजाइन गरिएको ट्रस्टको नक्सा निर्माण कम्पनीलाई दिइएको र अहिले ट्रष्ट बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अब तत्काल हामी ट्रष्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले समेत गति पाउने छ ।” रु एक अर्ब २० करोड लागत अनुमान गरिएको सिटीहल निर्माण इन्डो सगुन रौताहा जेभीले रु ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो ।

    बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाह चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो । हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

    सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । साथै ३०० जना अट्ने क्षमताको सभा हल पनि रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ र दुईवटा लिफ्ट, प्रवेशद्वार, स्टेज, रिहर्सल कक्ष पनि रहनेछन् । मुख्य ब्लक ६ हजार ५०० वर्गमिटरमा निर्माण हुनेछ । रासस

  • चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

    चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

    चितवन, मंसिर १९-
    पशु बिक्री गर्दा बिमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बिमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बिमा नगर्न आग्रह गरिएको हो ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आयोजना गरेको पशु बिमासम्बन्धी त्रिपक्षीय अन्तरक्रियामा सहभागीले पशुको नामसारी नहुँदा बिमामा दोहोरो पर्ने गरेको बताएका हुन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले पशुको बिमामा देखिएको समस्या समाधान गर्न सरोकारवालाले ध्यान नदिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बिमामा देखिएको समस्या बिमा कम्पनीले समाधान गर्न आवश्यक छ, बिमा गरिएका पशुमा लगाइएको बिमाको ट्याग बिग्रने, फुत्कनेदेखि धेरै समस्या भएकाले यसलाई सहजीकरण गर्न आवश्यक छ ।” पशु बिमा गरेपछि समय नसकिँदै गरेका पशुबिक्री गर्दा किसान ठगिने गरेको उहाँको गुनासो थियो । उहाँले भन्नुभयो, “पशु नामसारीका लागि बिमा कम्पनीले के सोचेको छ ?”

    सोही अवसरमा सङ्घका सचिव कल्याण अधिकारीले दुग्ध उत्पादक किसानले पशुको नामसारीमा बिमा कम्पनीले ध्यान दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीले एउटा पोलेसीबाट गर्दा सम्भव नहुने र किसनले बिमा गर्दा एकपटक बिमा अभिकर्ता गएपछि दोहो¥याएर नजाने गर्दा समस्या बढेको हो ।”

    बिमा अभिकर्ताले बिमा कम्पनीलाई पैसा नदिई बिमा गर्ने गरेको उहाँको भनाइ थियो । सोझा साझा जनताले बिमा बापतको रकमसमेत पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो । वन्यजन्तुको आक्रमणका कारण हुने क्षतिपूर्तिको समेत बिमामा समावेश गर्न उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका उपसचिव पुरुषोत्तम शर्माले वन्यजन्तुका कारण भएको क्षतिमा सरकारले राहतको व्यवस्था गर्ने गरेको बताउनुभयो । निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको समस्या सामुदायिक वनको सिफारिस र राष्ट्रिय वन क्षेत्रमा डिभिजन वन कार्यालयको सिफारिसमा राहतको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले पशु बिक्री वितरण गरेको तीन महिनासम्म बिमामार्फत नामसारी गर्नका लागि निःशुल्क हुने भन्दै दोहोरिने गरी बिमा नगर्न बिमा प्रदायक कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राज्यको सम्पत्ति दुरुपयोग गरेको अभियोग लाग्न सक्छ, बुझेर काम गर्नुस् ।”

    पशु बिमा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको बताउँदै उहाँले समस्या समाधानका लागि बिमा अभिकर्ता चनाखो हुन आग्रहसमेत गर्नुभयो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले पशुपालन गर्ने किसानले बिमा कम्पनीबाट पाएको दुःखका बारेमा जानकारी दिनुभयो ।

    अहिले जिल्लामा एक लाख गाई र ७० हजार भैँसी पालिएको जानकारी दिँदै उहाँले बिमा कम्पनीलाई छिटोछरितो सेवा दिनका लागि आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “बिमाको दाबी भुक्तानीमा बिमा कम्पनीले दिएको समस्या समाधान नभए किसानलाई कठिन हुने र बिमा गर्नसमेत किसान आउन छाड्ने अवस्था आउने छ ।” रासस

  • माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

    माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

    काठमाडौँ, मंसिर १९ –
    कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    बाह्रौँ विश्व माटो दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना ब्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । “तीनवटै तहका सरकारको समन्वयमा माटो स्वास्थ्य सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोग केन्द्रित सचेतनामूलक माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यावसायिकीकरण प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बढावा दिइनुपर्ने आवश्यकता रहेको छ ।”

    संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरुआत आएसँगै नेपालमा विसं २०७२ देखि विश्व माटो विवस मनाइँदै आएको छ ।

    मन्त्री परियारले भन्नुभएको छ, “माटो कृषि उत्पादनको प्रमुख माध्यम हो, साथै, पृथ्वीलाई जीवन्त राखी सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न माटोको महत्वपूर्ण भूमिका रहेको छ, तथापि, सघन खेतीसँगै बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर परेको छ ।”

    योसँगै अव्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण एवं औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण वृद्धि भएको उहाँको भनाइ छ । त्यसबाट उत्पादन र उत्पादकत्वमा ह्रास आउनाका साथै ग्रामीण तथा सहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सृजना हुने उहाँले बताउनुभएको छ । खेती धेरै हुने गाउँको माटो जस्तै सहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । गाउँको माटो उत्पादनको स्रोत हो र सहरको माटो हरियाली कायम राख्ने, तापक्रम कम गर्ने र कार्बन भण्डारण गर्ने साधन हो, समग्र पर्यावरणीय सन्तुलनका लागि गाउँ र सहरको माटो एकापसमा अन्तरसम्बन्धित रहेका छन्”, सन्देश्मा भनिएको छ । रासस

  • वडाध्यक्ष थापाको निधन

    वडाध्यक्ष थापाको निधन

    काठमाडौँ, मंसिर १९-
    कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।

    उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

    वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ । रासस

  • जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

    जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

    काठमाडौँ, मंसिर १९ –
    आफूलाई बिहान शनिश्चरे अस्पताल पु¥याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढाई एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा स्थानीय रुपमा लोकप्रिय हुनुहुन्थ्यो ।

    मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ । पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन् । झापाको अर्जुनधारा नगरपालिका–११, विर्तामोडका सहिद गोपाल सेढाइँका आमा गुनमायाकोमा रासस प्रतिनिधि पुगेर घटनाका बारेका कुराकानी गर्न थालेपछि छोराको फोटो छातीमा राखेर उहाँले बिलौना गर्नुभयो, “मेरो गोपाल कहिले फर्कन्छ रु” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो । गोली लागेपछि नजिकैको बिएण्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुःखद् निधन भएको थियो ।

    गत भदौ २४ गते बिहान रक्तदान गरेका गोपाल सेढाइले दिउँसो घर फर्किएर बुबालाई औषधि लिन शनिश्चरे अस्पताल पु¥याउनुभएको थियो । बुबासँगै घर फर्किएर आमा र बुबासँगै बसेर खाना खाएर गोपाल बाहिर निस्किनुभएको थियो । त्यसदिन गोपाल जागिरमा नगएर साथीहरूसँग बिर्तामोड बजारमा निस्कनुभएको थियो । त्यही क्रममा उहाँको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । करिब २ः३० बजे गोली लागेको थियो भने ४ः०० बजे अस्पतालले गोपाललाई मृत्यु घोषणा गरेको थियो । छातीमा गोली लागेका कारण गोपालको मृत्यु घटनास्थलमै भएको उहाँका साथी रामचन्द्र भण्डारीको भनाइ छ । अहिले पनि गोपालको गाउँ शोकमा छ । गाउँका सबै युवा शोकमा छन्, गोपालको परिवारमा छाएको शोकले बुबाआमाका आँखाबाट आँसुहरू अझै पनि रोकिएका छैनन् ।

    योग गुरु गोपालका आमा गुनमाया मात्रै होइन, परिवारका सदस्य र स्थानीयवासी पनि शोकमा परे । विर्तामोडको एक साधारण परिवारलाई यस्तो कहिल्यै नसोचेको दुःख प¥यो भनेर छरछिमेकले पनि दुःख व्यक्त गर्न छाडेका छैनन् । गोपालको निधनले अर्जुनधारा नगरको सामाजिक उत्तरदायित्व, युवाको मनोबल, राजनीतिप्रतिको दृष्टिकोण र स्थानीय नेतृत्वको भूमिकालाई झक्झक्याइदिएको छ । गाउँ–सहरका चोकमा उठ्ने प्रश्नहरू, आमाबुबाको आक्रोश, दिदीको पीडा र साथीहरूको मौनता–सबै मिसिएर शोकमा चुर्लुम्म डुबेको थियो ।

    नेपालभर असुरक्षा, भय र पश्चाताप फैलिएको त्यो समयमा अर्जुनधारा–११ को यो बस्ती भने शोकमा डुबेको थियो । दुःखद् घटनाको दिन सम्झँदै आमा गुनमाया भक्कानिँदै भन्नुहुन्छ, “ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो । आफ्ना घरायसी काम सकेर घर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो । बेलुका फर्किन्थ्यो । मलाई आमा के खानुभयो भनेर सोध्यो । अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो । बुढेसकालको हाम्रो सहारा सधैँका लागि अन्त्य भयो ।”

    आमाको कुरा सुन्दा गोपालले बोक्ने सामाजिक चेतना, न्यायप्रतिको आकाङ्क्षा र युवाको भूमिकामा उहाँले दिएको महत्व स्पष्ट झल्किन्छ । अहिले आमा गुनमायाको मनमा पनि सहिदको चाहनाबमोजिम अब राजनीतिक नेतृत्वले मुलुकको निकासमा काम गरोस् भन्ने गहिरो अपेक्षा रहेको छ । नेपाल सरकारले जेनजी आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ ।

    गोपालका ८३ वर्षीय बुबा धनपति सेढाईंको भने “मेरो छोरा दोषी नहुँदा उनलाई गोली किन हानियो ?” भन्ने प्रश्नको जवाफ खोजिरहनुभएको छ । गोपालका बुबा धनपतिले पुरानो घर देखाउँदै भन्नुभयो, “ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो । यही घरबाट कलेज गयो अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र आफू बस्नको लागि चार वर्षअघि पक्की घरमा बस्ने रहर पालेर दाजुलाई सहयोग माग्यो र घर बनायो । हामी बुढेसकालका साहारा भएर उसकै आश्रयमा बसेका थियौँ । अब यही घरबाट उसको मङ्सिरमा बिहे गर्ने तयारी हुँदै थियो । सबै चकनाचुर भयो ।”

    गोली लागेर छोरो कहिले नफर्कने गरी आफूहरुलाई छाडेर गएपछि धनपतिको सबै सपना सपनामै सीमित भएको छ । छोराको नाम लिनासाथ स्वर भारी हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “उ त भीडको बीच नारा लगाउँदै हिँडेको रहेछ । प्रहरीले हानेको गोलीले छातीमा लागेर पुर्लुक्कै ढल्यो रे । सँगै भएका साथीहरुले बिएनसी अस्पताल पु¥याएछन् तर गोपाल फर्किएन….”

    यो आन्दोलनले राजनीतिक दलहरूलाई भन्दा बढी सर्वसाधारण युवालाई जोखिममा पारेको उहाँको बुझाइ रहेको छ । “हामीले राज्यलाई कर तिरेका छौँ, सुरक्षा मागेका छौँ, गोलीकै सामना गर्न होइन ।” बुबाको यो पीडा केबल व्यक्तिगत भावनामा मात्रै सीमित छैन, यसले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका संयन्त्र–प्रशासन र सुरक्षा निकायहरूलाई नै सुशासनको प्रश्नमा ध्यान दिन प्रेरित गरेको छ ।

    गोपालकी दिदी तुलसा उहाँलाई भाइभन्दा बढी साथीका रुपमा सम्झनुहुन्छ । “म रिसाउँदा हाँसेर सम्झाउँथे । म भन्थेँ, समाज बदल्नुपर्छ । संसार यस्तै हो । तर उनी भन्ने गर्थे, ‘‘हामीले नै बदल्नुपर्छ, अरुलाई पर्खेर हुँदैन ।” आज उनी समाज बदल्ने हिम्मत गरेर सदाका लागि हामीबाट टाढा भएका छन् ।” अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन पनि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपालजस्ता निर्दोष युवाको ज्यान गएकामा असन्तोष जनाउनुहुन्छ । उहाँले भन्नुभयो, “गोपाल जस्तो शान्त स्वभावको युवकको ज्यान जानु केबल एक शोक मात्र होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो । हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनैपर्छ ।”

    सहिद गोपालका साथी सुजन सेवाकोटी गोपाल नहुँदा आफूहरुको समूह नै भत्किएको बताउनुहुन्छ । गोपालका सबैभन्दा नजिकका साथी शिवाकोटी आफ्नो अति मिल्ने साथी गुमाउँदा स्तब्ध भएको बताउनुहुन्छ । “हामी साथीभाइहरु सधैँ विर्तामोडका चिया र कफी पसलमा भेट्थ्यौँ । अनि सचेत युवा समाज र आगामी आन्दोलनकाबारेमा कुरा गथ्र्यौं । गोपाल सधैँ भन्ने गर्थे, “हिंसा नगरौँ, आवाज बुलन्द गरौँ । तर विडम्बना उनैले हिंसाको प्रत्यक्ष शिकार भएर ज्यान गुमाउनुप¥योे ।”

    सुजनका अनुसार गोपाल इमान्दार, सरल र मिलनसार हुनुहुन्थ्यो । आफ्नो धारणा स्पष्ट राख्ने र साथीहरूलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उहाँको आदत थियो । अर्का साथी माधव झा गोपालको मृत्युले युवापुस्तालाई डर होइन अझ दृढ भएर लाग्न प्रेरणा मिलेको बताउनुहुन्छ । ‘मिसन विर्तामोड’ अभियान चलाउने झा गोपालसँग धेरै नजिकमा नभए पनि भेटघाटमा देश बनाउने अभियानकै कुरा गरेको सुनाउनुहुन्छ । “उनको मृत्युपछि विर्तामोड र अर्जुनधारा शोकमा डुबेको छ । आवाज दमन गर्ने कि आवाज उठाउने भन्ने उनको मृत्युले अब हाम्रो पुस्तालाई सशक्त रुपमा आवाज उठाउन बल दिएको छ ।”

    माधवका अनुसार गोपालको मृत्युले झापाका युवाबीच एक किसिमको राजनीतिक चेतना बढाएको छ । अधिकारका लागि जिम्मेवार भएर उठ्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ । अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना केबल एक परिवारको दुःख होइन, आफ्नो सिङ्गो वडाको दुःख भएको बताउनुहुन्छ । पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उहाँको भनाइ छ । रासस

  • बिहीबारको तुलनामा आज पनि सुनचाँदीको मूल्य घट्यो ,

    बिहीबारको तुलनामा आज पनि सुनचाँदीको मूल्य घट्यो ,

    काठमाडौँ, मंसिर १९ –
    बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ ।

    बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।रासस