Blog

  • हेटौंडामा बिहानैदेखि अतिक्रमित संरचना हटाउन थालियो

    हेटौंडामा बिहानैदेखि अतिक्रमित संरचना हटाउन थालियो

    हेटौंडा मङ्सिर २०
    मकवानपुरको हेटौंडामा जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि डोजर लगाएर संरचना भत्काउन थालेको हो ।

    ३/४ वटा ठाउँबाट एकैपटक सडक विस्तार काम भैरहेको छ । स्थानीयबासिन्दा र व्यापारीले घर तथा पसल खाली गरेर सामान सारिरहेका छन् ।

    सडक डिभिजनले गएको मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज अर्थात् (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका अतिक्रमित घरटहरा र संरचना हटाउन १५ दिने सूचना निकालेको थियो ।

    सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मंसिर ५ गते सार्वजनिक सूचना निकाल्दै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको थियो ।

  • हेर्नुस  आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

    आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबार । इस्वी सन् २०२५ डिसेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–द्धितीया, ४५ घडी ३४ पला, रातको १२ बजेर ५६ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रोहिणी, १३ घडी २२ पला, दिउसो १२ बजेर ३ मिनेट उप्रान्त आर्द्रा । योग–साध्य, १ घडी १८ पला, बिहान ७ बजेर १३ मिनेट उप्रान्त शुभ । करण–तैतिल, दिउसो १ बजेर ५९ मिनेट उप्रान्त गर, रातको १२ बजेर ५६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मिथुन ।

    काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी २ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । साँझपख खेलाडी तथा खेलकुदको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय राम्रो रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरूले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ । खेल क्षेत्रमा संलग्न खेलाडी तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागी समय अनुकूल रहनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । साँझपख खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार तथा उद्योगमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खेलाडी, पत्रकार तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय राम्रो रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायकै सन्दर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढाउन सकिनेछ । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रूपमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सन्तान वा आफन्तसँग यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । शिक्षा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रमा प्रगति गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो रहनेछ । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागी समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ । साँझपख यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
    तपाईँको दिन शुभ रहोस् ।

  • प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल

    प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल

    काठमाडौँ, १९ मङ्सिरः
    राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ ।

    चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका छन् ।

    आजको जितमा लुम्बिनीका कप्तान रोहित पौडेलले म्याच विनर पारी खेले । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए । जितसँगै प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले सञ्चारकर्मीसँग उत्साहित भएको प्रतिक्रिया दिए ।

    उनले भने, “प्लेअफ पुग्दा एकदमै खुसी छौँ । अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ ।” आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै उनले सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे । उनले भने, “अबका खेलहरू भनेका नकआउट जस्तै हुन् । कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन ।”

    जनकपुर बोल्ट्स कप्तान जान निकोल लफ्टि इटनले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताउनुभयो ।

  • स्मल हेभनमा आयोजित एथ्लेटिक्स मिटमा आयोजक स्मल हेभन टिम प्रथम

    स्मल हेभनमा आयोजित एथ्लेटिक्स मिटमा आयोजक स्मल हेभन टिम प्रथम

    भरतपुर, मंसिर १९-
    भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सम्पन्न भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आयोजित एथ्लेटिक्स मिटमा आयोजक स्मल हेभन स्कुल टिम प्रथम भएको छ ।

    तीन दिन चलेको प्रतियोगितामा स्मल हेभनले ५ स्वर्णसहित १० पदक जितेको छ । उसले ५ स्वर्णसहित २ रजत र ३ कास्य जितेको हो । यस्तै ९ पदक जितेको लिटल फ्लावर स्कुल नारायणगढ दोस्रो भएको छ । लिटल फ्लावारले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ ।

    प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर तेस्रो भएको छ । वाल्मीकिले ३ स्वर्ण, २ रजत र एक कास्य पदक हात पारेको हो । आयोजक स्मल हेभनका उपास गुरुङ पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने महिलातर्फ लिटल फ्लावरकी खेलाडी उत्कृष्ट घोषित भएकी छन् ।

    उता शिक्षा बिकास ईंग्लिस स्कुल रत्ननगरले अनुशासित स्कुलको पुरस्कार जितेको छ भने सनराईज ईंग्लिस स्कुलले उत्कृष्ट मार्स पास्टको पदक जितेको छ । यस्तै अनुशासित ब्याण्ड बाजाको पुरस्कार लिटर फ्लावरले पाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्य, आयोजक स्मल हेभनका प्राचार्य रामचन्द्र न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

    स्मल हेभनको आयोजकमा तीन दिनसम्म सञ्चालित एथ्लेटिक्समा चितवनका ३६ विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । उनीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । स्मल हेभनले हरेक दुई वर्षमा एथ्लेटिक्स मिट आयोजना गर्दै आएको छ । २० वर्षदेखि आयोजना हुँदै आएको एथ्लेटिक्स मिट जिल्लाकै नमूना खेलकुद कार्यक्रमको रुपमा परिचित रहेको छ ।

  • जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

    जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

    १९ मंसिर, काठमाडौं ।
    लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।

    शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा स्थान बनाएको हो ।

    लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।

    यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।

  • जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

    जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

    १९ मंसिर, काठमाडौं-
    जनकपुर बोल्ट्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।

    जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन योगदान गरे ।

    ८३ रनमा ६ विकेट गुमाएको जनकपुरका लागि संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको साझेदारी गरे ।

  • प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

    प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

    काठमाडौँ, १९ मङ्सिर :
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ ।

    नेपाल सरकार र निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् ।

    आजैमात्र प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल, आयोगसहितसँग सर्वपक्षीय छलफल आयोजना गर्नुभएको छभने आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित घटनाक्रममा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिक सरकार गठन भई प्रतिनिधिसभाको विघटन भएको थियो । सरकारले निर्वाचन सम्पन्न गर्ने कामलाई एक मुख्य कार्यभारका रूपमा लिएको छ ।

    यसअघि गत मङ्सिर १४ गतेसम्ममा निर्वाचनमा भाग लिने एक सय २० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।

    यही मङ्सिर १ गतेदेखि १० गतेसम्मका लागि निवेदन दिने समय दिइएकामा नयाँ दल सरोकारवालाको सुझावका आधारमा चार दिन समय थप गरी उक्त सङ्ख्याका दलले निर्वाचन प्रयोजनाका लागि निवेदन दिएका हुन् ।

    निर्वाचनको वातावरण तयार भइनसकेको र संसद् पुनःस्थापनाको माग गर्दै आएको दल नेकपा (एमाले) लगायत प्रमुख दल र नयाँ दलले आयोगमा निवेदन दिएका छन् ।

    आयोगले सो अघि खुला गरेको मतदाना नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आठ लाख नयाँ मतदाता थपिएका छन् । ती नयाँ मतदाताको आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ ।

  • एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा

    एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा

    काठमाडौँ, मंसिर १९ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा उपाध्यक्ष थापाले अहिलेको विषम राजनीतिक परिवेशमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न थालिए पार्टी पङ्क्तिमा गुटउपगुटको अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्दै आसन्न महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमका बीच हुन गइरहेको आसन्न महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै निरन्तरता पाउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । “देश र पार्टीका लागि अहिले अध्यक्ष ओलीकै नेतृत्व, विचार र क्षमता आवश्यक छ । कम्युनिष्ट आन्दोलनलाई मूलधारमा स्थापित गर्न अध्यक्ष ओलीको भूमिका रहेको छ । नेपाली कम्युनिष्ट पार्टीमा लागेकाहरु पनि एमालेकै मूलधारमा आउनुपर्छ । त्यसो हुन सकेमा आन्दोलन थप प्रभावकारी हुन्छ,” उपाध्यक्ष थापाको भनाइ थियो ।

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस

  • इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

    इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

    नयाँदिल्ली,मंसिर १९-
    भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् ।

    विमानस्थलहरूमा यात्रुहरू भुइँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ ।

    सरकारले थकान र सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालकदल तथा पाइलटहरूको विश्राम अवधि बढाउने र राति उडान सीमित गर्ने नयाँ नियम ल्याएको थियो । यसको दोस्रो चरणका नियमहरू नोभेम्बरदेखि लागू भएको र इन्डिगोले समयमै आफ्नो रोस्टर प्रणाली अनुकूल गर्न नसकेको स्वीकार गरेको छ ।

    बिहीबार मात्र ३०० भन्दा बढी उडान रद्द भएका थिए र सयौँ ढिलाइ भए । नयाँदिल्ली विमानस्थलले शुक्रबार मध्यरातिसम्म सबै घरेलु इन्डिगो उडान रद्द हुने विज्ञप्ति जारी गरेको छ । अन्य प्रमुख एयरलाइन्स जस्तै एयर इन्डियामा यस्ता समस्या देखिएका छैनन् ।

    इन्डिगोले भारतभित्र दैनिक दुई हजार ३०० भन्दा बढी उडान सञ्चालन गर्छ र ६५ प्रतिशत घरेलु बजार नियन्त्रण गर्छ ।

    कोलकाताका ज्येष्ठ नागरिक सजल बोस आफ्नी श्रीमतीसँग दिल्ली जानका लागि तयारीमा हुनुहुन्थ्यो तर उडान उडानसमयभन्दा एक घण्टा अघि नै रद्द गरिएको थियो । उहाँले अहिले नौ घण्टाको रेल यात्रा गरेर बागडोगरा पुगेर अर्को एयरलाइनमार्फत दिल्ली जाने योजना बनाउनु परेको बताउनुभयो । “यो अत्यन्तै गैरजिम्मेवारपूर्ण र सम्पूर्ण लापरबाही हो । हामीजस्ता वृद्ध व्यक्तिका लागि झनै कठिन”, उहाँले भन्नुभयो ।

    इन्डिगोका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्सले यस हप्ताको एक आन्तरिक इमेलमा क्षमायाचना गर्दै प्राविधिक समस्या, तालिका परिवर्तन, खराब मौसम, भीडभाड र नयाँ नियमको प्रभावका कारण उडान अव्यवस्था भएको स्वीकार गर्नुभएको छ ।

    भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको वक्तव्यमा समस्याको मुख्य कारण एयरलाइनको योजना निर्माणमा भएको त्रुटि र गलत मूल्याङ्कन रहेको बताइएको छ । एअरलाइनले पनि दोस्रो चरणका नियम लागू गर्दा चालकदल व्यवस्थापनमा परेको असर आफूहरूको अनुमानभन्दा धेरै ठूलो भएको स्वीकार गरेको छ ।

    इन्डिगोले नयाँ नियम लागू गर्न अस्थायी छूट मागेको छ र सुधारात्मक कदम चालिरहेको सरकारलाई जानकारी गराएको छ । कम्पनीले फेब्रुअरी १० सम्म पूर्ण सञ्चालन पुनःस्थापना हुने दाबी गरेको छ ।

    आगामी केही हप्तामा थप रद्द तथा ढिलाइ हुने सम्भावना रहेको बताउँदै इन्डिगोले डिसेम्बर ८ देखि उडान सङ्ख्या घटाएर अव्यवस्था न्यून गर्ने निर्णय गरेको छ । रासस

  • प्रहरी हवलदारको हत्यामा संलग्न चितवनका बुद्धिरामलाई पक्राउ गरेर नेपाल ल्याइयो

    प्रहरी हवलदारको हत्यामा संलग्न चितवनका बुद्धिरामलाई पक्राउ गरेर नेपाल ल्याइयो

    चितवन, मंसिर १९-
    पूर्व प्रहरी हवलदारको हत्या गरेको आरोपमा चितवनका एक पुरुष प्रकाउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको पूर्व प्रहरी हवलदार सिता धिताल कँडेलको हत्याको आरोपमा चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका हुन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा चितवनका स्थानीय दराइलाई पक्राउ गरी नेपाल ल्याएको हो। घटनाको ८ महिनापछि हिजो (बुधवार) सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो।
    हत्या गरी फरार दराई भारत पुगेका थिए।