Blog

  • निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

    निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

    २० मंसिर, काठमाडौँ ।
    निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन् ।

    निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा रासससँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।

    उनले सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताए ।

    उनले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताए।

    ‘हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ‘, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ।‘

    निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ । आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ ।

    यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।

  • आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

    आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

    खोटाङ, मंसिर २०-
    बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

    स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिनुभयो ।

    तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुसर्दिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाको सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा स्थानीय एक महिला र एक पुरुषगरी १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहनुभएको छ ।

    तालिममा सहभागी महिलाले बाँसको कप्टेरा, नाइनल ९प्लाष्टिक०को डोरी र साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगार अवस्थामा दिन बिताउँदै आएका स्थानीय महिलाहरू आफ्नै गाउँमा सञ्चालित व्यावसायिक तालिममा सहभागी हुन पाएपछि उत्साहित भएका छन् ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा उक्त सामग्री प्रयोग गरेर निर्माण गरिएको एउटा मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गरेको छ । वर्ष दिनअघिमात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवाका गतिविधि सञ्चालन गर्दै आएको थियो । रासस

  • एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा

    एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा

    काठमाडौँ, मंसिर २०-
    जधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर पहिला बलिङ रोजेको हो ।

    सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जीत आवश्यक छ ।

    राम्रो रनरेटका साथ जीत निकालेको सुदूरपश्चिमसँग विराटनगरले पहिलो क्वालिफायर खेल खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् । आजै दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्नेछन् । रासस

  • निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    काठमाडौँ, मंसिर २०-
    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।

    आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।

    निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

    निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

    राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

    यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन ।

    मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ ।

    महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ ।

    निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन ।

    राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

    राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।

    राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्याउने वा पुर्याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ ।

    राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन । रासस

  • ब्यासमा घोरेटो बाटो निर्माण

    ब्यासमा घोरेटो बाटो निर्माण

    खलङ्गा (दार्चुला), मंसिर २० –
    ब्यासमा घोरेटो बाटो निर्माण गरी व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमकाबीच घोरेटो बाटोको उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

    घोरेटो बाटोको उद्घाटन गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले गर्नुभएको हो । सङ्घीय सरकारद्वारा गत आर्थिक वर्षमा ब्याँसको घोरेटो बाटो निर्माणका लागि गाउँपालिकालाई रु पाँच करोड ५० लाख विनियोजन भएको थियो । उक्त रकममध्ये चार करोड २४ लाख ५५ हजार बाटो निर्माणमा खर्च भएको निर्माण कम्पनी मिशन–देवहरि जेभीका प्रतिनिधि केशवबहादुर पालले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा समय अभावका कारण काम सम्पन्न हुन नसक्दा रु एक करोड २५ लाख ४४ हजार फिर्ता भएको थियो ।

    ब्याँस गाउँपालिका–१ छाङरुदेखि वडा नम्बर २ दुम्लिङसम्म करिब ३१ किलोमिटर बाटो निर्माण गरिएको छ । बाटो निर्माण गरिएसँगै बुधवार ब्याँस गाउँपालिका–१ छाङरुबाट केही पशुचौपाया समानसहित जिल्ला सदरमुकामका लागि पठाइएको छ । वडा नम्बर १ का अध्यक्ष अशोकसिंह बोहरालगायतको कुन्चा सदरमुकाम खलङ्गा सरेको थियो ।

    ब्याँस गाउँपालिका–१ छाङरु जोड्ने बाटो नहुँदा भारतीय मार्ग हुँदै त्यहाँका स्थानीय पशुचौपायासहित कुन्चा ९बसाइसराई० सर्ने गर्छन् । अब नेपालकै बाटो भएर ब्याँसीको कुन्चा सार्न सकिने ब्याँस गाउँपालिकाले जनाएको छ । कडा चट्टानी भू–भाग तम्बाकु, थी भीर, बयलीधार र अपिखोलामा जोखिम मोलेर बाटो निर्माण गरिएको बाटो निर्माणमा खटिएका स्थानीयसमेत रहेका प्रेम बोहराले बताउनुभयो । बाटो निर्माणका लागि गत जेठ ५ गते ब्याँस गाउँपालिका र मिशन–देवहरि जेभीबीच ठेक्का सम्झौता गरिएको थियो ।

    आर्थिक वर्ष २०८१/८२ को समायावधिमा उक्त बाटोको निर्माण कार्य नसकिने देखिएपछि असार ७ गते गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी उक्त बाटो निर्माणको म्याद मङ्सिर १५ गतेसम्मका लागि थप गरेको थियो । जसका लागि गाउँपालिकाले रु ५० लाख छुट्ट्याएको थियो । पूर्ववत सम्झौता बमोजिम असोजबाट बाटो निर्माणकार्य थालिएको निर्माण मिशन–देवहरि जेभीका प्रतिनिधि पालले बताउनुभयो ।

    यसैबीच टिङ्कर जोड्ने गरी नेपाली सेनाले सडकको काम गरिरहेकोमा कल्जु भीरमा बाटोको ट्याक खोल्न सेनाले सहयोग गरेको हो । अहिले भारतीय मार्ग बाटै ब्याँस गाउँपालिका–१ को अधिकाँस कुन्चा (बसाइसराई) सदरमुकाम झरिरहेको छ रासस

  • चीनमा विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन–एमोनिया–मेथानल मेगापार्क निर्माण हुँदै

    चीनमा विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन–एमोनिया–मेथानल मेगापार्क निर्माण हुँदै

    २० मंसिर काठमाडौं ।
    चाइना इनर्जी इन्जिनियरिङ समूहले विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानल उत्पादन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । चीनको उत्तर–पूर्वी प्रान्त जिलिनस्थित सोङयुआन हाइड्रोजन ऊर्जा औद्योगिक पार्कले यसै वर्षको अन्त्यसम्म हरित एमोनिया उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । हरित हाइड्रोजनबाट उत्पादन हुने एमोनिया नयाँ ऊर्जा सवारीसाधन र पावर जेनेरेटरका लागि स्वच्छ इन्धनको विकल्प मानिन्छ ।

    उक्त परियोजनामा ५० मेगावाट सौर्य ऊर्जा प्रणाली र ५९० मेगावाट वायु ऊर्जा फार्ममार्फत प्राप्त विद्युत् प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउने अत्याधुनिक इलेक्ट्रोलाइजर सञ्चालन गरिनेछ ।

    इलेक्ट्रोलाइजरको विश्वव्यापी उच्च मागका बीच चीनका छ कम्पनी विश्वका शीर्ष १० निर्माता सूचीमा परेका छन् । जसले चीनलाई उपकरण आपूर्तिमा बलियो बनाएर परियोजना सहज बनाएको छ । विशेषज्ञहरूका अनुसार हरित एमोनिया उत्पादन प्रविधि परिपक्व हुँदै जाँदा सन् २०३५ सम्म यसको वार्षिक माग १० करोड टन नाघ्न सक्नेछ ।

    चीन बिजुली परिषद्का कार्यकारी उपाध्यक्ष याङ कुँका अनुसार चीनले १.७ अर्ब किलोवाटभन्दा बढी वायु तथा सौर्य ऊर्जा जडान क्षमता हासिल गरिसकेको छ । जसले ‘हरित पेट्रोलियम’ जस्ता नयाँ हरित ऊर्जा उत्पादनहरूको लागत घटाउँदै कम–कार्बन विकासलाई तीव्रता दिनेछ ।

    परियोजना पूर्ण भएपछि यस मेगापार्कले ३ गिगावाट नयाँ ऊर्जा उत्पादन क्षमता प्राप्त गर्नेछ र हरेक वर्ष ८ लाख टन हरित एमोनिया तथा मेथानल उत्पादन गर्ने लक्ष्य राखिएको छ । सीसीटीभी

  • जरा कुहिने रोग लागेपछि सुन्तला किसानको गुनासो कृषकलाई मौसमले ठग्दो रहेछ

    जरा कुहिने रोग लागेपछि सुन्तला किसानको गुनासो कृषकलाई मौसमले ठग्दो रहेछ

    दमौली (तनहुँ), मंसिर २०-
    “पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।”

    छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तलाखेतीमा लागेको उहाँको भनाइ छ । विदेश गए पनि दुःख गर्नुपर्ने तर त्यही दुःख स्वदेशमै गर्नसके केही होला की भनेर सुन्तलाखेतीमा लागेको थापाले बताउनुभयो ।

    थापाले विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाउन सके यहीँ आत्मसन्तुष्टि मिल्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मैले यस वर्ष रु तीन लाख ७० हजारको सुन्तला बिक्री गरेको छु । मेरो २५० बोट सुन्तला रहेको छ । यसलाई अझै विस्तार गर्नसके आम्दानी बढाउन सकिनेछ ।”

    थापाले यस वर्ष बेनीकोटमा सुन्तलामा रोग लागेका कारण उत्पादन कमी भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँका केही ठाउँमा सुन्तलाका के रोग लाग्यो, बोट नै मर्न थाल्यो । कृषि ज्ञान केन्द्रबाट पनि आउनुभएको थियो, तर के रोग लाग्यो थाहा पाउन सकिएन ।”

    कृषक गिरबहादुर आले पनि वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “विदेश भने पनि सबैको राम्रो कमाइ हुँदैन, विदेशमा गएर उमेर कटाउनुभन्दा सुन्तलाखेतीमा लाग्नुभन्दा केही राम्रो होला भनेर यसमै लागेको छु ।” उहाँले यस वर्ष साढे तीन लाख बढीको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो ।

    उहाँले विगतका वर्षभन्दा यस वर्ष सुन्तलामा उत्पादन कमी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जरो कुहिने रोग लाग्यो, जलवायु परिवर्तनको कारण हो की के हो । कृषकलाई मौसमले पनि ठग्दो रहेछ ।”

    अगुवा कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । उहाँका अनुसार यहाँका १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा लागेका छन् । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला हो ।

    उहाँले भन्नुभयो, “विगत केही वर्षदेखि यहाँका सुन्तला बोट मर्दै जान थालेको छ । कृषि प्राविधिक आएर हेरेर औषधि पनि सिफारिस गर्नुभयो, तर सुधार भएको छैन ।” थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उहाँले भन्नुभयो, “प्रतिकेजी सुन्तला रु रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”

    भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि कृषकहरू सुन्तलाखेतीमा लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।”

    यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । बेनीकोटका १०० घर सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

    यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ । कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ । रासस

  • काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

    काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

    काठमाडौँ, मङ्सिर २०-
    नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ । मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

    यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

  • एनपीएलमा आज दुई खेलः सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

    एनपीएलमा आज दुई खेलः सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

    काठमाडौं,मंसिर २०-
    राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम र सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरको खेललाई रोचक रुपमा हेरिएको छ।

    दोस्रो खेलमा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चितवनका कप्तान कुशल मल्ल हुन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन्। सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। उसका लागि आजको खेलमा कुनै दबाब छैन। आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको खेल जित्नुपर्ने दबाब छ।

    विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नुपर्ने हुन्छ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन्। दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। दुवै टोलीको छ खेलबाट चाररचार अङ्क मात्रै रहेको छ।

    एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • अधिकांश प्रदेशमा आंशिक बदली, गण्डकीको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

    अधिकांश प्रदेशमा आंशिक बदली, गण्डकीको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

    काठमाडौँ मङ्सिर २०
    हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।