Blog

  • चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवारः दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

    चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवारः दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

    काठमाडौँ, माघ १६-
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले स्वतन्त्र तथा साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरु चर्चामा छैनन् । सञ्चारमाध्यममा पनि मधेसी महिला उम्मेदवारहरुले स्थान पाउन नसकेको गुनासो छ ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन् । तीमध्ये १५७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी मधेस प्रदेशबाट ६८ जना स्वतन्त्रसहित ११० जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । तीमध्ये पर्सामा सात जना स्वतन्त्रसहित १२, बारामा १० जना स्वतन्त्रसहित १६, रौतहटमा नौ जना स्वतन्त्रसहित १३, सर्लाहीमा तीन जना स्वतन्त्रसहित ११, महोत्तरीमा ११ जना स्वतन्त्रसहित १९, धनुषामा १२ जना स्वतन्त्रसहित १५, सिरहामा पाँच जना स्वतन्त्रसहित आठ र सप्तरीमा ११ जना स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा ओर्लिएका छन् । यसरी यस प्रदेशमा सबैभन्दा बढी महिला उम्मेदवार सप्तरीबाट २० जना र सबैभन्दा कम सर्लाहीबाट आठजना छन् ।

    मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ सिटमध्ये नेपाली काँग्रेसले दुई जना महिलालाई उम्मेदवार बनाएको छ । तीमध्ये सिरहा–४ मा चन्द्रकला यादव र महोत्तरी–२ मा किरण यादव रहेका छन् । त्यस्तै नेकपा ९एमाले० तीन जना महिलालाई उम्मेदवार बनाएको छ । मधेसबाट एमालले उम्मेदवार बनाएका महिलाहरुमा पर्सा–१ मा रिमाकुमारी यादव, बारा–३ मा ज्वालाकुमारी साह र धनुषा–३ मा जुलीकुमारी महतो छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सप्तरी–१ मा पुष्पा चौधरी, धनुषा–१ मा किशोरी साह, महोत्तरी–४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की ९भण्डारी० गरी चार जना महिलालाई उम्मेदवार बनाएका छन् ।

    नेपाली कम्युनिष्ट पार्टीले दुई जना महिलालाई उम्मेदवार बनाएका छन् । तीमध्ये रौतहट–३ मा पुनम देवी र सप्तरी–४ मा रुबीकुमारी कर्ण रहेका छन् भने जनमत पार्टीले पर्सा–३ बाट मालती कुशवाहा र ४ बाट सीमा कलवारलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । यसैगरी यो प्रदेशमा सबैभन्दा बढी नेपाल मजदुर किसान पार्टीले पाँच जना महिलालाई उम्मेदवार बनाएको छ । तीमध्ये रौतहट–३ बाट रेखा पटेल, सर्लाही–ं३ बाट रमा कोइराला, सप्तरी–२ बाट नीलमकुमारी यादव, धनुषा–३ बाट गङ्गालक्ष्मी वैद्य र महोत्तरी–१ बाट कृष्णश्वरी मानन्धर रहेका छन् भने आमजनता पार्टीले चार जना महिलालाई उम्मेदवार बनाएको छ । तीमध्ये पर्सा–२ बाट रञ्जुकुमारी साह, सर्लाही–४ बाट रिङ्की साह, सप्तरी–४ बाट अनिताकुमारी चौधरी, सिराहा–३ बाट ज्ञानुदेवी दनुवार रहेका छन् ।

    त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले दुई जना महिलालाई उम्मेदवार बनाएको छ । तीमध्ये बार–२ राधादेवी महरा र बारा–३ बाट सम्झना गोलेलाई सो पार्टीले उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ओर्लिएको छ ।

    यसैगरी राप्रपा, श्रम संस्कृति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल राष्ट्रिय जनमोर्चा, राष्ट्रनिर्माण दल नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, जनता समाजवादी पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, राष्ट्र निर्माण दल, श्रमशक्ति पार्टी र जसपा नेपालबाट एक–एक जनाले उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा एक जना पनि महिला उम्मेदवार नभएको क्षेत्र रौतहट–२ रहेको छ । केही पूर्वमन्त्रीहरूको समेत राजनीतिक भविष्य जोडिएको हुनाले त्यस क्षेत्रमा हुने रोचक चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ । अधिकांश महिलाले दलमा अवसर नपाएको र आफ्ना मुद्दा उठाउन स्वतन्त्र उम्मेदवारी दिएका देखिन्छ । केही क्षेत्रमा डमी उम्मेदवारको प्रवृत्ति बढ्दै गएको विश्लेषकहरूको भनाइ छ ।

    पूर्वमन्त्री तथा नेकपा ९एमाले०का केन्द्रीय सदस्य जुलीकुमारी महतो धनुषा क्षेत्र नं।३ बाट नै चुनावी मैदानमा उत्रिनुभएको छ । एमालेको राजनीतिमा क्रियाशील भएकी महतो अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएकी थिइन् । नेता महतोले नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा, नेपाली कम्युनिष्ट पार्टीका रामललित मण्डलसहितका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

    यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्रबाट एमालेकी जुली महतोले ३३ हजार ३८८ मत ल्याएर चुनाव जित्नुभएको थियो तर उक्त क्षेत्रमा नेपाली कांग्रेसको समेत बलियो पकड कायम छ । नेता विमलेन्द्र निधिले त्यसै क्षेत्रबाट २०६४ र २०७० को संविधानसभा सदस्यको चुनाव जित्नुभएको थियो ।

    विसं २०६४ मा निधिसँग प्रतिस्पर्धा गर्दा नेता जुली महतो पराजित भएपछि २०७० मा समानुपातिक सांसद बन्नुभएको थियो । विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन राजपाका नेता राजेन्द्र महतोबाट नेता निधि पराजित हुनुभएको थियो भने नेता जुली महतो समानुपातिक सांसद बन्नुभएको थियो ।

    त्यस्तै २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता निधिले समानुपातिक रोज्दा गठबन्धनकोतर्फबाट अनिलकुमार झालाई हराउँदै एमालेकी जुली महतो निर्वाचित हुनुभयो । यसपटकको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीका परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा र नेपाली कम्युनिष्ट पार्टीका राम ललित मण्डलसहित अन्य विभिन्न दलबाट उम्मेदवारी दिएकाले रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।

    यसैगरी, नेपाली कांग्रेसकी नेत्री किरण यादव महोत्तरी क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । महिलाको मुद्दामा लामो समयदेखि लड्ने र नागरिक अधिकार स्थापनाका लागि पनि निकै सक्रियताका साथ लाग्नुभएकी नेत्री यादवले नेपाली राजनीतिलाई अस्थिरताको भुमरीबाट निकाल्न महिलामैत्री राजनीति अपरिहार्य भएको हुँदा आफ्नो उम्मेदवारी भएको बताउँदै अहिले महिलाको चाहना समान अवसर तथा स्रोत र शक्तिमा समान अधिकार मात्र होइन, समान उपलब्धि पनि हो र यसका लागि धेरैभन्दा धेरै महिला प्रतिनिधिसभामा जितेर जानुपर्दछ भन्नुभयो । “विभिन्न समयमा भएको सामाजिक र राजनीतिक आन्दोलनले महिला र पुरुषको सामाजिकीकरणको प्रक्रियालाई परिवर्तन गरेको छ”, उहाँले भन्नुभयो ।

    मुख्यतः सङ्घीय लोकतान्त्रिक संविधानको संरक्षणबाट मात्र मधेसको आर्थिक विकासको आधार सिर्जना हुने भएकाले चुनावमा सङ्घीय संविधानको रक्षा र विकासको नारा सँगसँगै लिएर आफू चुनावी मैदानमा होमिएको उहाँले बताउनुभयो ।

    विशेषगरी महोत्तरी–२ कांग्रेसको गढ भए पनि पछिल्लो समय जसपाका नेता शरत्सिंह भण्डारीले निरन्तर चुनाव जित्दै आउनुभएको छ । यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेत्री किरण यादव जनता समाजवादी पार्टीका नेता शरत्सिंह भण्डारी, नेकपा ९एमाले०का कासिम नदाफ, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादवसहितका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

    यसअघि २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता भण्डारीले लोसपाबाट २५ हजार १९० मत ल्याएर विजयी हुनुहुँदा तमलोपाका विजयकुमार सिंहले ११ हजार १२० र एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत ल्याउनुभएको थियो । विसं २०७४ मा कांग्रेसले सिट नपाएर भण्डारीले सहजै चुनाव जिते पनि यसपटक कांग्रेसकी किरण यादवसमेत उम्मेदवार भएको हुनाले त्यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    त्यस्तै पूर्वमन्त्री तथा नेकपा ९एमाले०का नेत्री ज्वालाकुमारी साह बारा क्षेत्र नं।३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता, जसपा नेपालका रामबाबुकुमार यादव र रास्वपाका अरविन्द साहसहितका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

    यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट एमालेकी ज्वालाकुमारी साहले २० हजार २५१ मत ल्याएर निर्वाचित हुँदा जसपाका रामबाबुकुमार यादवले १७ हजार २७९ र लोसपाका लालबाबु सिंह भुइँहारले ११ हजार ९६४ मत प्राप्त गर्नुभएको थियो ।

    अधिकांश महिला उम्मेदवारहरुले ठूला दल र शक्तिशाली उम्मेदवारबीच किन स्वतन्त्र उम्मेदवार बनेको भन्ने प्रश्नको जवाफमा राजनीतिमा महिलाको उपस्थिति कमजोर छ, त्यसैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर महिला सशक्तीकरणको सन्देश दिएको बताउनुहुन्छ । “महिला अझै अग्रसर हुन सकेका छैनन् । मेरो प्रतिनिधित्वले अरू महिलालाई पनि अघि बढ्न प्रेरणा मिलोस् भन्ने चाहना हो”, उहाँहरुको भनाइ छ । पछाडि परेका, पीडित र राज्यको पहुँचबाट बाहिर परेका समुदायका घाउमा मलहम लगाउन सकिन्छ भन्ने विश्वासका साथ आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको सुजिताकुमारी गौतमको भनाइ छ । प्रतिस्पर्धाको कृत्रिम कुरा गरेर सदियौँदेखि उत्पीडन एवं राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारबाट बञ्चित मधेसका अल्पसङ्ख्यक मुस्लिम र दलित महिलाले जितेर आउलान् भनेर नै उनीहरुलाई नल्याउने योजना हो, सप्तरी–२ का स्वतन्त्र उम्मेदवार अम्बिकादेवी साफीले भन्नुभयो, “निर्वाचनका माध्यमबाट मुलुकमा आफ्नो अधिकार सुनिश्चित गर्न सम्पूर्ण दलित र अल्पसङ्ख्यक मुस्लिम महिलाले चुनावमा सक्रिय सहभागिता जनाउनु पर्दछ ।”

    चुनावमा महिलालाई अवसर नदिएको विरोधस्वरूप स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि धेरै छन् । नेपालको राजनीतिक परिप्रेक्ष्यमा महिलाको पहुँच सीमित रहेको र राजनीतिक दलमा महिलालाई नेतृत्व र निर्णायक भूमिकामा अवसर नदिएका कारण स्वतन्त्रमा महिला आउने गरेका छन् । आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवार बनेका नेता तथा तिनका कार्यकर्ताका नाचगान र नारा जुलुसले मधेस प्रदेशमा चुनावी उल्लास देखिएको छ । महिला र पुरुषको जन्म समान रुपबाट हुने गरे पनि दलहरुमा अझै महिलालाई आलङ्कारिक ९ सेरोमोनियल० उपस्थिति गराउने चलन रहेको छ, पर्सा क्षेत्र नं २ बाट राप्रपाकोतर्फबाट उम्मेदवार बन्नुभएका वीणा जयसवालले भन्नुभयो, “पुरुष त चुनाव जितेर गए तर सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वय गर्न सकेनन् भने यसपालि मतदाताले हामीलाई पत्याएमा चुनाव जितेर गएपछि संविधानको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्छौं र महिलाको अधिकार पनि सुनिश्चित पार्छौं ।”

    हामी चुनाव अभियानमा रातदिन लागेका छौँ तर हाम्रो गतिविधि प्रचारप्रसार नहुँदा चर्चा नभएको हो, महिला उम्मेदवारहरु एकै स्वरमा भन्नुभयो, “महिला उम्मेदवारलाई सञ्चार माध्यमले पनि ध्यान दिन सकेको छैन् । राजनीतिमा कमै मधेसी तथा मुस्लिम महिला लाग्ने भएकाले उहाँहरुको उम्मेदवारी सञ्चारमाध्यमका लागि गतिलो विषय हुन सक्दछ ।” उहाँहरुले मधेसी, दलित र मुस्लिम वर्गको महिलाको उम्मेदवारीलाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । रासस

  • अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

    अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

    काठमाडौँ, माघ १६-
    अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ ।

    मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित प्रयास अघि बढाएको जनाएको छ ।

    मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४६ दशमलव ०६ प्रतिशत बजेट खर्च भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७५ प्रतिशतले बढी हो ।

    चालु आवका लागि सरकारले रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेकामा पुस मसान्तसम्म रू नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख खर्च भएको छ । चालु शीर्षकमा रू ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४० दशमलव ८२ प्रतिशत अर्थात् रू चार खर्ब ८२ अर्ब १० करोड ८० लाख र पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ११ दशमलव ६६ प्रतिशत अर्थात् रू ४७ अर्ब ५४ करोड ४० लाख खर्च भएको जनाइएको छ ।

    गत आवको तुलनामा यस अवधिको कुल चालु खर्च तीन दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत खर्च चार दशमलव ८६ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च ५३ दशमलव २९ प्रतिशतले बढेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

    विवरणअनुसार पुँजीगत खर्चमा कमजोर मात्र नभई राजस्व सङ्कलनमा पनि ठूलो चाप देखिएको छ । चालु आवका लागि सरकारले कुल रू १४ खर्ब ४० अर्बको राजस्व उठाउने लक्ष्य राखेको छ भने पुस मसान्तसम्ममा रू सात खर्ब ११ अर्ब २० करोड ७९ लाख राजस्व उठाउने भनिएको थियो, तर यस अवधिमा रू पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख बराबर मात्रै राजस्व उठेको छ । जुन लक्ष्यभन्दा रू एक खर्ब २९ अर्ब ८० करोड कम हो ।

    यस्तै, बेरुजु फछ्र्यौटमा पनि अर्थ मन्त्रालय कमजोर देखिएको छ । मन्त्रालयको कुल रू एक खर्ब २५ अर्ब बेरुजु रहेकामा यस अवधिमा रू आठ अर्ब मात्र फर्छ्यौट भई रू एक खर्ब १७ अर्ब कायम भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । जुन छ दशमलव चार प्रतिशतको प्रगति हो ।

    प्रतिनिधिसभा र राष्ट्रियसभ निर्वाचन व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासालाई मन्त्रालयले प्राथमिकता दिएको देखिन्छ । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई गत कात्तिक १८ मा रू चार अर्ब ९६ करोड ६६ लाख र गत मङ्सिर २० मा थप रू एक अर्ब ७७ करोड ९० हजार गरी कुल रू छ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति प्रदान गरिएको छ ।

    यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई रू दुई करोड ८० लाख र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि रू चार करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति दिइएको छ । गृह मन्त्रालय तथा अन्तर्गतका निकायलाई प्रतिनिधिसभा निर्वाचनका लागि रू १० अर्ब ३९ करोड ३४ लाख ८० हजार बराबरको स्रोत सहमति प्रदान गरिएको छ भने नेपाली सेनालाई निर्वाचनकै लागि चालु खर्चतर्फ रू एक अर्ब ९४ करोड ६८ लाख ५५ हजारको स्रोत सहमति दिइएको छ ।

    यस्तै, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन आयोगलाई रू चार करोड ३१ लाख ७९ हजार स्रोत सहमति प्रदान भई उक्त रकम निकासासमेत भइसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगलाई गत पुस मसान्तसम्ममा कूल रू छ अर्ब ३१ करोड निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

    राजस्व व्यवस्थापनतर्फ सबै भन्सार कार्यालयमा ‘ग्याट भ्यालुएसन’ प्रणालीको पूर्ण पालना सुनिश्चित गर्न अनलाइन मूल्याङ्कन प्रणाली प्रारम्भ गरिएको जनाइएको छ । यस अवधिमा नेपाल–मौरिसस दोहोरो करमुक्ति सम्झौतासम्बन्धी विवाद समाधान गर्दै डोल्मा इम्प्याक्ट फण्डको पुँजीगत लाभमा करकट्टीको द्विविधा सम्बोधन गरिएको छ ।

    यसैगरी, नेपाल–मौरिससबीचको दोहोरो करमुक्ति सम्झौता खारेज गरिएको र आयकर ऐन, २०५८ लागू हुनुअघि सम्पन्न सम्झौताबारे कूटनीतिक माध्यमबाट जानकारी गराइएको जनाइएको छ ।

    भन्सार ऐन, २०८२ कार्यान्वयनमा ल्याइँदै भन्सार नियमावली, २०८२ को मस्यौदा कानुन मन्त्रालयमा पठाइएको छ । भन्सार व्यवस्थापन गोष्ठी सम्पन्न गर्नुका साथै उच्चस्तरीय केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको मासिक बैठकमार्फत राजस्व चुहावट नियन्त्रणमा बहुपक्षीय समन्वय गरिएको छ ।

    सेवा प्रवाहमा गुनासो व्यवस्थापन प्रणाली विकास गरिएको तथा हेलो सरकारलगायत माध्यमबाट प्राप्त गुनासो निरन्तर सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, गैरकर राजस्वका दर परिमार्जनमा विभिन्न निकायलाई सहमति प्रदान गरिएको छ । सार्वजनिक सेवा प्रवाहका कागजातमा आय टिकटको सट्टा हुलाक टिकट टाँस्ने व्यवस्था हटाइएको छ । सिरहाको रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पतालको व्यक्तिका नाममा रहेको जग्गा निःशुल्क हस्तान्तरणका लागि पुँजीगत लाभकर छुट दिने निर्णय पनि यस अवधिको भएको प्रतिवेदनमा जनाइएको छ ।

    कानुन तथा फैसला कार्यान्वयनतर्फ वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८१ सङ्घीय संसद्मा दर्ता गराएको छ । भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन, भन्सार नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, बहुवर्षीय आयोजनाको स्रोत सहमति मापदण्ड र सम्पत्ति शुद्धीकरण निवारण नियमावली स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित गरिएका छन् ।

    यसैगरी मन्त्रालय विपक्षी भएका विभिन्न ५८ वटा रिट निवेदनमा लिखित जवाफ तयारी र प्रतिरक्षा गरिएको जनाइएको छ । एमसिसी कम्प्याक्टअन्तर्गतका कम्पनीलाई आयकर छुट, विभिन्न राजस्व छुटसम्बन्धी सूचना, नगद कारोबार सीमा निर्धारण, विदेशी मुद्रा निकासी–पैठारी प्रतिबन्धलगायत सूचना नेपाल राजपत्रमार्फत सार्वजनिक गरिएको र अदालतका २६ वटा आदेश तथा फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जनाइएको छ ।

    वित्तीय सङ्घीयता सुदृढीकरणतर्फ तेस्रो राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीति कार्यान्वयनका लागि सबै तहका सरकारलाई पत्राचार गरिएको छ । अनुत्पादक खर्च कटौती, मितव्ययिता र आयोजना पुनःप्राथमिकीकरणसम्बन्धी मन्त्रिपरिषद् निर्णय स्थानीय तहसम्म कार्यान्वयनका लागि पठाइएको छ भने अन्तरसरकारी वित्त परिषद्को बैठकबाट २३ वटा निर्णय कार्यान्वयनका लागि पठाइएका छन् ।

    यसैगरी, अर्थ मन्त्रालयले पछिल्लो छ महिनामा संविधानविपरीत स्थानीय तहले ढुवानीमा कर असुल नगर्न निर्देशन दिएको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट परिमार्जनसम्बन्धी प्रस्तावमा छलफल गरेको छ । सार्वजनिक वित्तीय व्यवस्थापन सुधार निर्देशिका संशोधन र निर्देशक समितिको बैठक सम्पन्न गरेको छ ।

    वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३–२०८६/८७ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । पाँच लाख रुपैयाँभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध, भारतीय मुद्रा आवतजावत सीमा परिमार्जन, नेप्से पुनःसंरचना समिति गठन, पुँजी बजार सुधार प्रतिवेदन कार्यान्वयन, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत रू नौ अर्ब ८० करोड निकासाजस्ता निर्णय कार्यान्वयनमा आएको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै, विगुल र हेलो सरकारमार्फत प्राप्त ९१ गुनासो फर्छ्यौट गरिएको, वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनको मासिक प्रगति प्रणालीमा अद्यावधिक गरिएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट ३२३ दरबन्दी कटौती भई २२ करोड बराबर दायित्व बचत र बेरुजु फछ्र्यौटमा ६ दशमलव ४ प्रतिशत प्रगति देखिएको मन्त्रालयले जनाएको छ । रासस

  • माधवनारायणका वर्तालुले गरे चाँगुनारायणमा पूजाआराधना

    माधवनारायणका वर्तालुले गरे चाँगुनारायणमा पूजाआराधना

    काठमाडौँ, माघ १६ –
    पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका वर्तालुले चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजाआराधना गरेका छन् ।

    प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन बिहान माधवनारायणका वर्तालुले सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ । वर्तालुले आज चाँगुनारायणमा पूजाआराधना सकेपछि साँखु गई आ–आफ्नै घरमा पुगेर भोजन गर्ने व्रत विधि रहेको छ । वर्तालु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिन्छ । भीमसेन जात्रा साँखु बजार घुमाउने प्रचलन रहेको छ ।

    माधवनारायणका वर्तालु तेस्रो तीर्थयात्राका लागि बिहीबार राति १० बजे चाँगुनारायण मन्दिर पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा वर्तालुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।

    माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि वर्तालु माघ शुक्ल एकादशीका दिन राति १० बजे चाँगुनारायण पुगेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो । यस वर्षको यो अन्तिम तीर्थयात्रा पनि हो ।

    पौष शुक्ल पूर्णिमा अर्थात् गत पुस १९ गतेदेखि साँखुस्थित शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने भक्तजनको घुइँचो छ । जसका कारण साँखु एवं शालीनदी जाने सार्वजनिक यातायातमा भीड छ । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । मेलाको मौका पारेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा उठाएको गुनासो भक्तजनले गरेका छन् ।

    सार्वजनिक बिदा र शनिबारका दिन धेरै भक्तजन साँखुस्थित शालीनदी जाने गर्छन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् । रासस

  • चितवनमा मेट्स एजु एक्सपो, विद्यार्थीको उल्लासमय सहभागिता (फोटोफिचर)

    चितवनमा मेट्स एजु एक्सपो, विद्यार्थीको उल्लासमय सहभागिता (फोटोफिचर)

    चितवन, माघ १६ –

    चितवनमा मेट्स एजु एक्सपो जारी छ । नारायणगढको शहिदचोकमा रहेको मेट्स इन्टरनेशनलमा अस्ट्रेलिया, युके र क्यानडामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीको उल्लासमय सहभागिता रहेको छ ।

    तस्विरहरु,

  • प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

    प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

    काठमाडौँ, माघ १६-
    प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

    हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

    सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।

    सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता रहेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा राख्नुभयो । सरकारले सहिद दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । रासस

  • अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

    अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

    काठमाडौँ, माघ १६-
    प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ ।

    सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

    सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।”

    प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिनुभएको छ । रासस

  • लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली

    लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली

    काठमाडौँ, माघ १६-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गर्नुभएको छ ।

    अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै त्यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र कांग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।

    “निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो”, सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभयो ।

    अध्यक्ष ओलीले सहिदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाउनुभएको छ । रासस

  • सुनको मूल्य ३ लाख १८ हजार ८ सयमा झर्यो

    सुनको मूल्य ३ लाख १८ हजार ८ सयमा झर्यो

    काठमाडौँ, माघ १६-
    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ ।

    बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो ।

    गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

    यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

    चितवन,माघ १६-
    दाङबाट काठमाडौं जाँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ ।

    मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा पल्टिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणको आधारमा घाइतेहरुको नामावली यसप्रकार छ-

    नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु

    १. दाङको लमही नगरपालिका १ बस्ने वर्ष ३३ को गणेश चौधरी (हात खुट्टामा चोट, अवस्था मध्यम) ।

    २. ऐ.ऐ. ३ बस्ने वर्ष २१ की रुपा चौधरी (निधारमा चोट, अवस्था मध्यम) ।

    ३. राप्ती गाउँपालिका ५ बस्ने वर्ष २४ की माधुरी चौधरी (हात खुट्टामा चोट र ढाडमा चोट अवस्था मध्यम) ।

    ४. सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ को दिनेश चौधरी (वाँया कानमा भित्री चोट, अवस्था मध्यम) ।

    पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु

    १. दाङको गढवा गाउँपालिका ३ बस्ने वर्ष ३१ की सिमा चौधरी (वाँया हात र टाउकोमा चोट, अवस्था सामान्य) ।

    २. गढवा गाउँपालिका ५ बस्ने वर्ष १८ को अभिषेक चौधरी (वाँया हात र ढाडमा चोट, अवस्था सामान्य) ।

    ३. ऐ.ऐ. बस्ने वर्ष २१ को सम्राट चौधरी (टाउकोमा चोट अवस्था सामान्य) ।

    ४. घोराही–१८ बस्ने वर्ष ३६ को शालिग्राम खत्री क्षेत्री (टाउको र वाँया हातमा चोट, अवस्था सामान्य) ।

    ५. दाङ शान्तिनगर गाउँपालिका २ बस्ने वर्ष ६९ को शालिग्राम शर्मा (टाउको र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।

    ६. वर्ष ३७ की माँया चौधरी (वाँया हात र अनुहारमा चोट, अवस्था सामान्य) ।

    ७. लमही नगरपालिका २ बस्ने वर्ष ३२ को निर्मल चौधरी (टाउको र ढाडमा चोट अवस्था सामान्य)।

    ८. लमही नगरपालिका २ बस्ने वर्ष ३१ की गीता चौधरी (टाउकोमा चोट, अवस्था सामान्य) ।

    ९. ऐ.ऐ. बस्ने वर्ष १९ को आवास चौधरी (वाँया खुट्टा र हातमा चोट, अवस्था सामान्य) ।

    १०. ऐ.ऐ. बस्ने वर्ष ३२ को राजु चौधरी (अनुहार र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।

    ११. दाङ गढवा गाउँपालिका २ बस्ने वर्ष ३२ को लिखुराम चौधरी (टाउको र ढाडमा चोट, अवस्था सामान्य) ।

    १२. दाङ घोराही–१८ बस्ने वर्ष ३१ को बाबुराम थापा (अवस्था सामान्य) ।

    १३. ऐ.ऐ. ४ बस्ने वर्ष ४० को शुभराम वाग्ले (टाउकोमा चोट, अवस्था सामान्य) ।

    मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरु

    १. सल्यान छत्रेश्वरी ५ बस्ने वर्ष १८ की लिला कवर मगर (टाउकोमा चोट, अवस्था सामान्य) ।

    २. ऐ.ऐ. बस्ने वर्ष २१ को रमेश कवर मगर (टाउकोमा चोट, अवस्था मध्यम) ।

    ३. दाङ गढवा–२ बस्ने वर्ष २७ की मिना चौधरी (वाँया खुट्टा भाँचिएको, अवस्था मध्यम) ।

    ४. गढवा २ बस्ने वर्ष ३० को विष्णु चौधरी (टाउकोमा चोट, अवस्था मध्यम) ।

    ५. ऐ.ऐ. बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल (टाउकोमा चोट, अवस्था सामान्य) ।

    ६. लमही नगरपालिका २ बस्ने वर्ष २१ को प्रकाश चौधरी (निधारमा चोट, अवस्था सामान्य) ।

    ७. दाङ घोराही–१६ बस्ने वर्ष ६० को फणेन्द्र पछाई (हात खुट्टामा चोट, अवस्था सामान्य) ।

    ८. दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम (टाउकोमा चोट, अवस्था मध्यम) ।

    ९. घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल (सामान्य चोटपटक) ।

    १०. शान्ती हमालकी छोरी वर्ष १० की प्रमिसा हमाल (सामान्य चोटपटक) ।

    ११. रोल्पाको होलेरी बस्ने वर्ष ५० को विष्णु बस्नेत (टाउकोमा चोट, अवस्था मध्यम) ।

    १२. नुवाकोटको पञ्चकन्या–६ बस्ने वर्ष ४० की सुनिता तामाङ (टाउकोमा चोट, अवस्था सामान्य) ।

    १३. ऐ.ऐ. बस्ने बस्ने वर्ष ४२ को सुकमान तामाङ (टाउको र कम्मरमा चोट, अवस्था मध्यम) ।

    १४. ऐ. ऐ. बस्ने वर्ष ४५ को बुद्दी बहादुर तामाङ (ढाडमा चोट, अवस्था मध्यम) ।

    १५. ऐ.ऐ. बस्ने वर्ष २० को सन्देश तामाङ (दायाँ हातमा चोट, अवस्था मध्यम) ।

    जनता केयर अस्पताल मुग्लिङमा उपचाररत घाइतेहरु

    १. रोल्पा रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष वर्ष ३५ को चेतलाल खत्री (हातमा चोट) ।

    २. दाङ घोराही १७ बस्ने वर्ष २४ को दिनेश चौधरी (हातमा चोट) ।

    ३. दाङ घोराही–१० बस्ने वर्ष २९ को चक्र सिंह (हात र टाउकोमा चोट) ।

    ४. दाङ गढवा–२ बस्ने वर्ष २६ को श्रीराम चौधरी (टाउको र हातमा चोट) ।

    ५. बस चालक दाङका ३४ वर्षीय सुभाष ओली ।

    ६. बस चालक (दुर्घटना हुँदाको समयमा चलाउने) दाङ लमही न.पा. २ बस्ने वर्ष २६ को विपिन चौधरी ।

  • आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

    आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

    चितवन माघ १७
    अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाले आयोजना गर्न लागेको ‘मेट्स इडु एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आज माघ १६ गते (जनवरी ३०) चितवनस्थित कार्यालय परिसरमा एक्स्पो आयोजना हुँदैछ ।

    एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुने मेट्स चितवन शाखाका प्रबन्धक प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पोमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरण सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

    ‘एक्स्पोमा विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा भेट गर्न पाउनेछन्,’ प्रबन्धक पौडेलले भन्नुभयो, ‘आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसनसमेत लिन सक्नेछन्।’

    एक्स्पोमा १२ कक्षा उत्तीर्ण, साथै ब्याचलर र मास्टर्स डिग्री अध्ययन गर्न चाहने जुनसुकै विद्यार्थीले शैक्षिक परामर्श लिन सक्नेछन् । विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता तथा कागजातको आधारमा छात्रवृत्ति प्राप्त गर्ने अवसर पनि पाउने बताइएको छ ।

    कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । जसबाट विद्यार्थीहरूले वित्तीय परामर्श तथा शैक्षिक ऋणसम्बन्धी जानकारी लिन सक्नेछन् । साथै, एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको मेट्स इन्टरनेसनलले जनाएको छ ।

    आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    मेट्स इन्टरनेसनलले एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा, साथै आईईएलटीएस (IELTS) तथा पीटीई (PTE) तयारी कक्षाहरू पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।