Blog

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    वि.सं.२०८२ साल माघ १६ गते । शुक्रबार । इस्वी सन् २०२६ जनवरी २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–द्धादशी, ६ घडी ५६ पला, बिहान ९ बजेर ४० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–आर्द्रा, ४९ घडी ५२ पला, रातको २ बजेर ५१ मिनेट उप्रान्त पुनर्वशु । योग–वैधृती, २३ घडी ५४ पला, बेलुकी ४ बजेर २७ मिनेट उप्रान्त विष्कुम्भ । करण–बालव, बिहान ९ बजेर ४० मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ३५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४१ मिनेट । दिनमान २६ घडी ५९ पला ।

    दिन विशेष : प्रदोष व्रत। भीष्म द्वादशी। वटुमाघ यात्रा। सन्याडुली। चाँगुनारायण मेला। सहिद दिवस।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मेहनतले प्रतिस्पर्धीहरूलाई जित्न सकिनेछ । शत्रु तथा वैरभाव राख्नेहरू कमजोर हुनेछन् । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी फलदायी रहनेछ । खाद्यान्न, बिलासी सामान, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना कमीकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । व्यापार व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई तीव्रता दिँदै प्रचार गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ । गीत सङ्गीत, अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजीमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा औद्योगिक क्षेत्रमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्नु पाउँदा मन प्रसन्न हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंस वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ । यात्रा, भेटघाटमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायसी समस्या बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनि नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तर पनि सवारी साधनको खरिद बिक्रीबाट नाफा कमाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभइ चाहना होः सभापति थापा

    मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभइ चाहना होः सभापति थापा

    बरहथवा (सर्लाही), १५ माघः
    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने बताउनुभएको छ ।

    सर्लाहीको बरहथवा नगरपालिका–७ मा बजार विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमूना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभइ चाहना भएको उहाँको भनाइ थियो । पहाड र सहर बुझेको आफूले तराई बुझ्नु अति आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले मधेस पढ्न आएको बताउनुभयो ।

    सभपति थापाले सोमबारदेखि आफूले उम्मेदवारी दिएको सर्लाही–४, मा घरदैलो कार्यक्रम गरिरहनुभएको छ । देश विकास आजको आवश्यकता रहेको भन्दै उहाँले त्यसका लागि चाहिने स्रोत र जनशक्ति नेपालमा रहेकाले अब दृढ इच्छा शक्ति भएको कांग्रेस नेतृत्वमा रहन आवश्यक भएको बताउनुभयो । जेनजी आन्दोलनको जनादेशअनुसार पार्टीभित्रैबाट सङ्घर्ष गरेर पार्टीको नेतृत्व तयार भएको उहाँको भनाइ थियो । पार्टीमा जेनजीको योगदान पुरानो रहेको उल्लेख गर्दै सभापति थापाले शहिद दुर्गानन्द झाको योगदानबारे चर्चा गर्नुभयो ।

    “झाले १८÷१९ वर्षको उमेरमा देश र पार्टीका लागि गरेको योगदान अमूल्य छ । गत भदौ २३ र २४ गतेको घटना नागरिकको कुरा नसुन्ने र देशमा व्याप्त भ्रष्टाचार तथा बेथिति विरुद्धको आन्दोलन थियो”, सभापति थापाले भन्नुभयो ।

  • उपत्यकामा लुट आतंक : मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

    उपत्यकामा लुट आतंक : मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

    काठमाडौँ, १५ माघः 
    पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो ।

    उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो । त्यसक्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद गरिएको सामग्रीसहित सार्वजनिक गरेको छ ।

    प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट बा १२ च ७७०१ नंको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले बुधबार साँझ ६ देखि आज बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो ।

    सिसीटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथिनै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर सो समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछि सो समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।

    तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उनीहरुले मध्यराति १२ देखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।

    लुटपाटका लागि उनीहरु तीन÷तीन जनाको समूह बनाएर मोटरसाइकमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने गरेका थिए । लुटपाट सकिएपछि उनीहरु पुनःट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।

    सो समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा सो समूहलाई सक्रिय पारेका थिए । उक्त समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध, गौशालामा तीन÷तीन र भक्तपुरको ठिमीमा १३ लुटपाटको घटना घटाएको प्रहरीले जनाएको छ । गएराति सो समूह मुलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेकप्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गर्नेगरी अघि बढेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

    प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूहका कमाण्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको थिए । आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको बताउनुभयो । पेमा र सलोन भने दाजुभाइ रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीबाट जोगिन सो समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।
    –––

  • निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ

    निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ

    काठमाडौँ, १५ माघः
    निर्वाचन आचारसंहिता लागू भएको १० दिनमा आचारसंहिता उल्लंघनका २१ घटना भएका छन् । यीमध्ये पाँच वटाको मात्रै जवाफ आएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले १० दिनमा २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटाको मात्रै जवाफ प्राप्त भएको जानकारी दिए । उनका अनुसार बाँकी जवाफका लागि ताकेता भइरहेको छ ।

    आगामी २१ फागुनमा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न भनेर आयोगले यही ४ माघबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।

    यसबीचमा आचारसंहिता उल्लंघनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लंघनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण लिने कार्य निर्वाचन आयोगले गर्दै आएको छ ।

    प्रवक्ता भट्टराईका अनुसार निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकबाट पनि बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ ।

    साथै, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका अन्य विषयमा हेर्नेगरी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषय हेर्ने कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

  • रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

    रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

    १५ माघ, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।

    ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । तर उनले सामान्य रूपमा लिए ।

  • पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

    पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

    काठमाडौँ, १५ माघः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

    ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताउनुभयो । पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको उहाँको भनाइ थियो ।

    अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी सुदृढ सङ्गठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै एमालेले गत भदौको विध्वङ्शले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पु¥याएको क्षतिको पुनःनिर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने बताउनुभयो ।

    राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो ।

    कार्यक्रममा विज्ञहरुले पार्टीले बनाउने घोषणापत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने किसिमले बनाउनुपर्ने बताएका थिए । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहनुभएको छ ।

  • मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

    मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

    जनकपुरधाम, माघ १५ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।

    मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताउनुभयो ।

    आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ । मधेस प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

    मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ । रासस

  • हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

    हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

    हुम्ला, माघ १५-
    हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।

    दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद पनि सदरमुकामका कार्यालयमा आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कार्यालयका कर्मचारीले सिमकोट विमानस्थलमा रहेको हिउँ सफा गर्ने कार्य तीव्र बनाएका छन् । दक्षिणी भेगतिर पानी आएर आवतजावत बन्द भएको छ ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मनोनयन दर्ता गरेका सातवटै दलका उम्मेदवारहरुले हिमपात हुँदाहुँदै पनि गाउँ –गाउँमा प्रचारप्रसार गर्ने कार्य भइरहेको बताएका छन् । हिमपात भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । हिमपातले गर्दा मङ्सिरमा लगाएका जौँ, गहुँ, उवा समेतका बालीलाई राम्रो भएको स्थानीय बासिन्दा बताउँछन् । रासस

  • चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

    चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

    चितवन,माघ १५-
    चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ६३ वर्षीय सुकमाया देवी तामाङको हत्यामा संकग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले ५ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले पक्राउ गरेका अभियुक्तहरूमा बाराजितपुर सिमरा उप–महानगरपालिका–२२ का ४६ वर्षीय मोटे भन्ने शुक्रबहादुर भोलन, सोही स्थानका ४२ वर्षीय सूर्यमान वाइवा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ का स्थाई घर भएका हाल चितवनको रत्ननगर नगरपालिका ४ सिनेमारोड बस्ने ३१ वर्षीय मिलन भन्ने कौ बहादुर गुरुङ तथा मकवानपुर थाहा नगरपालिका–१२ का ४७ वर्षीय हिरा बहादुर स्याङ्तान रहेका छन्।

    हल्या आरोपीहरुलाई आज पत्रकार सम्मलन गरि सार्वजनिक गरिएको छ ।
    सुकमायाको गत पुस २६ गते आफ्नै घरमा हात खुट्टा वाधेर हत्या गरिएको अवस्था प्रहरीले फेला पारेको थियो ।

  • रास्वपाको बहुमत आएन भने देश फेरि ‘सरकार फेर्ने घनचक्कर’मा फस्ने छःस्वर्णीम वाग्ले

    रास्वपाको बहुमत आएन भने देश फेरि ‘सरकार फेर्ने घनचक्कर’मा फस्ने छःस्वर्णीम वाग्ले

    काठमाडौँ, माघ १५-
    तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचनमा उठेका उम्मेदवार स्वर्णीम वाग्लेले निर्णायक बहुमतको आवश्यकता औँल्याएका छन्।

    सामाजिक सञ्जालमार्फत मतदातासँग समर्थनको आह्वान गर्दै उनले नेपाली जनताले परिवर्तन चाहिरहेको उल्लेख गरे। साथै उनले अबको स्पष्ट विकल्प रास्वपालाई बहुमतसहित देश चलाउने जिम्मेवारी दिनु रहेको बताए। चुनावपछि पुरानै सत्ता–गणित दोहोरिए स्थिर सरकार सम्भव नहुने र त्यसले नीति निर्माण, सुधार तथा कार्यसम्पादनलाई जटिल बनाउने उनको भनाइ छ।

    वाग्लेले पुराना गठबन्धनका नाममा हुने सत्ता सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने चेतावनी दिएका छन्। यसले विकास, लगानी, रोजगारी र नागरिक सेवामा प्रत्यक्ष नकारात्मक असर पर्ने उनले उल्लेख गरेका छन्।

    उनका अनुसार रास्वपासँग बहुमत माग्ने आधार, नेतृत्व र स्पष्ट एजेन्डा तीनै कुरा छन्। ‘स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेका छौँ,’ उनले लेखेका छन्।