Blog

  • तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    भक्तपुर, माघ १५-
    यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।

    कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

    दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाकोे ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीका राखिएको उहाँले जानकारी दिनुभयो । रासस

  • रवि लामिछानेलाई ‘डिस्चार्ज’ गर्ने तयारी

    रवि लामिछानेलाई ‘डिस्चार्ज’ गर्ने तयारी

    माघ १५, काठमाडौं ।
    काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (माघ १५) ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

    अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले साँझसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिए । “उहाँको स्वास्थ्य अवस्था सामान्य छ । आजै डिस्चार्ज गर्ने प्लान गरेका छौँ,” डा. सेढाईंले बाह्रखरीसित भने ।

    उनका अनुसार, लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।

    यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

    एन्टिबायोटिक्स खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको थियो ।

  • चितवनको गहुँमा नयाँ रोग

    चितवनको गहुँमा नयाँ रोग

    चितवन, माघ १५-
    जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो ।

    कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् ।

    अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान समस्या लिएर कार्यालय आएका छन्, हामी फिल्डमा गएर अध्ययन गर्ने क्रममा छौँ, अध्ययनपछि मात्रै कुन रोग हो भन्ने पुष्टि गर्न सकिन्छ ।” राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरकी वैज्ञानीक सरस्वती न्यौपाने अहिल ेनै कुन रोग हो भनेर भन्न सकिने अवस्था नरहेको बताउनुहुन्छ ।

    विषयगत रुपमा अध्ययनको काम नगरी यही रोग भनेर भन्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । परीक्षणका लागि नमूना सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । जिल्लामा चार हजार ७११ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ ।

    गत वर्ष सो क्षेत्रफलमा १५ हजार ५७७ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष गहुँ लगाउने ठाउँमा राज्माखेती पनि गरिएको पाइएकाले केही क्षेत्रफल घट्ने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो । रासस

  • उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

    उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

    काठमाडौँ, माघ १५-
    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् ।

    यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिकस्थलको दर्शन गरेका छन् ।

    धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । पार्टीका अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाका आधारमा आफूहरुले मत पाउने विश्वास व्यक्त गर्नुभयो । रासस

  • हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

    हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

    मुस्ताङ, माघ १५-
    भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।

    भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् । बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो ।

    मुक्तिनाथ जाने कागबेनी—मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोटलगायतका स्थानमा बाँक्लो हिउँ जमेकाले सडकअवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण सडक अवरुद्ध हुँदा कतिपय दर्शनार्थी भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

    यसैगरी हिमपातपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पर्यटकको आगमनमा समस्या र चुनौती थपिएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । हिमपात अघि दैनिक ५०० भन्दा बढी पर्यटक उपस्थित हुने गरेकोमा बुधबारदेखि भक्तजनको उपस्थित ज्यादै नगण्य रहेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो ।

    कागबेनी—मुक्तिनाथ अवरुद्ध सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित रहने व्यवस्थापक भुसालले बताउनुभयो ।मङ्गलबार रातिको भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमपातका कारण वारागुङ मुक्तिक्षेत्रमा पर्ने झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायतका गाउँ पूरै हिउँले सेताम्मे भएका छन् ।

    मन्दिर परिसर, १०८ धारा, मन्दिर अगाडिको स्नानकुण्डमा पूरै हिउँ जमेका कारण यहाँ जसोतसो दर्शन गर्न आएका भक्तजनलाई पनि स्नान गर्न र मन्दिरको दर्शन गर्न कार्यमा बाधा अवरोध पु¥याएको जनाइएको छ । हिमपातपछि चिसो अत्यधिक बढेकाले दर्शनार्थीलाईसमेत लेंक लाग्न सक्ने जोखिम रहेको छ ।

    मुस्ताङमा भारी हिमपात भएपछि बुधबारदेखि कागबेनी—कोरला र मुक्तिनाथ सडकखण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार छुसाङदेखि कोरला सडकसम्म सडकमा दुई फिट बाँक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको जानकारी दिनुभयो । हिमपातका कारण सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने दर्शनार्थी बुधबार बिहानैदेखि कागबेनीमै रोकिएको उल्लेख गर्नुभयो ।

    यसैगरी मौसम खुलेमा कागबेनी—सडक हिउँ पग्लिएर सञ्चालनमा आउन सक्ने प्रहरी निरीक्षक बस्यालको भनाइ छ । हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । रासस

  • दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

    दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

    काठमाडौँ, माघ १५-
    काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताउनुभयो ।

    आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उहाँले बताउनुभयो । आगलागीको कारण भने खुलेको छैन । रासस

  • ७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

    ७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

    सिरहा, माघ १५ –
    अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।

    स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछौ आमा ?” तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उहाँले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो, उहाँका आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उहाँको आठ वर्षको सङ्घर्ष र तिरस्कारपछिको विजय थियो ।

    औरही गाउँपालिका—३ पिपरामा जन्मिनुभएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिनुभएको थियो । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमान्को निधन भएपछि उहाँ सहाराविहीन हुनुभयो ।

    आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिनुभएको थियो । श्रीमान्को मृत्युपछि अंशका लागि उहाँले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जित्नुभयो । अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाउनुभयो, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उहाँले नागरिकता पाउन सक्नुभएन ।

    माइतीले दिएको छ कट्ठा जग्गा पनि उहाँकै नाममा थियो । तर, विडम्बना १ नागरिकता नहुँदा न उहाँले त्यो जग्गा बेचबिखन गर्न पाउनुभयो, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सक्नुभयो । उहाँको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।

    उहाँमाथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो । “आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,” ती दिन सम्झदै उहाँका नाति रामपरीक्षण यादव भन्नुहुन्छ ।

    कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान् । बुढेसकालले छोप्दै ल्याएपछि उहाँलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने ? सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किंदा उहाँ धेरै पटक रुनुभएको थियो ।
    सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उहाँले गर्नुभएको सङ्घर्षको कथा आएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेपछि आठ वर्षपछि मात्र उहाँको प्रशासनिक उल्झन सुल्झियो । अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्नुभएको छ ।

    आफ्नी हजुरआमाको हकका लागि वडादेखि अदालतसम्म धाउने नाति रामपरीक्षण यादव अहिले निकै खुसी हुनुभएको छ । उहाँले प्रफूल्लित हुँदै भन्नुभयो,“हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु । नागरिकता नहुँदा उहाँले आफ्नो जग्गा जमिनको उपभोग गर्न पाउनुभएको थिएन र वृद्ध भत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो ।

    अब उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्न पाउनुहुनेछ । यो हाम्रो परिवारका लागि ठूलो जित हो ।”नागरिकता सुम्सुम्याउँदै कपलेश्वरीले भावुक भएर भन्नुभयो,“छोराछोरी छैनन्, सहारा दिने कोही थिएन । अब सरकारले दिने भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ । कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ ।”

    ७८ वर्षको उमेरमा पाएको यो नागरिकताले कपलेश्वरीलाई केवल आर्थिक राहत मात्र होइन, एउटा परिचय र सम्मान पनि दिएको छ । आफ्नी हजुरआमाले आठ वर्ष भोग्नुपरेको सास्ती सम्झँदै नाति रामपरीक्षण राज्यसंयन्त्रलाई प्रश्न गर्नुहुन्छ,“हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै पनि प्रशासनिक झमेलामा अल्झिरहेका छन्, सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि एउटा नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ ?” रासस

  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम , सुनको मूल्य तीन लाख ३९ हजार ३००

    सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम , सुनको मूल्य तीन लाख ३९ हजार ३००

    काठमाडौँ, माघ १५-
    स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ ।

    बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।

    यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • दमौलीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    दमौलीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    दमौली (तनहुँ), माघ १५ –
    पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पोखराबाट दमौली आइरहेका थिए । रासस

  • कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

    कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

    काठमाडौँ माघ १५
    नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद् पुनःस्थापनाको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।

    उनीहरू आज बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको जानकारी दिए ।

    निर्वाचनको समयमा पुनस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले यो कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् ।