Blog

  • आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ १८ गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी १ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा, ५३ घडी ४ पला, रातको ४ बजेर ७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–तिष्य, ४४ घडी २२ पला, रातको १२ बजेर ३८ मिनेट उप्रान्त अश्लेषा । योग–प्रिती, १० घडी ० पला, बिहान १० बजेर ५३ मिनेट उप्रान्त आयुष्मान । करण–भद्रा, बेलुकी ४ बजेर ५१ मिनेट उप्रान्त बव, रातको ४ बजेर ७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कर्कट ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ६ पला ।

    दिन विशेष : भद्रा १६:५१ बजेसम्म। पूर्णिमा व्रत। श्री स्वस्थानी व्रत समाप्ति। माघ स्नान समाप्ति। माघ यात्रा। झापामा कीचक वध मेला। सिपुन्हि।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा गरेको लगानीबाट आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । छोटो दुरीको धार्मिक तथा राजनीतिक यात्रा हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन्। रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । राजनीतिक तथा सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । राजनीतिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । धार्मिक यात्राको योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथीभाइको सल्लाह मानेर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङगमा रमाउन चाहनेहरूका लागी दिन उत्तम रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार तथा शेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार , शेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

    नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

    चितवन, माघ १७
    नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ।

    कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको हो।

    पार्टी केन्द्रीय वरिष्ठ सदस्यसमेत रहेका सुवेदी विगतदेखि नै सफल कमाण्डरका रूपमा स्थापित मानिन्छन्।

    सुवेदीको संयोजनमा क्षेत्रगत रूपमा चितवन क्षेत्र नं. १ मा कृष्ण खनाल, क्षेत्र नं. २ मा अशोक थापा र क्षेत्र नं. ३ मा बरिष्ठ केन्द्रीय सदस्य ईश्वरी भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको छ।

    निर्वाचन परिचालन समितिले पार्टी कार्यालयको व्यवस्थापन, आन्तरिक समन्वयदेखि सार्वजनिक प्रस्तुतिसम्मका सम्पूर्ण गतिविधिको नेतृत्व र आवश्यक निर्णय गर्नेछ। भने निर्वाचन समिति मार्फत सबै जिल्लाका कामको संयोजन हुनेछ ।

    वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा निर्वाचन परिचालन गर्दै आएका सुवेदी सरल, हक्की र कडा नेतृत्व क्षमता भएका नेता मानिन्छन्। पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचन लड्दा तथा भरतपुर महानगरपालिकामा रेनु दाहाल दुई कार्यकालसम्म मेयर पदमा विजयी हुँदा पनि सुवेदीले प्रभावकारी रूपमा कमाण्ड सम्हालेका दिए । भने डा. भोजराज अधिकारी चुनाव उड्दा समेत सुवेदी नै कमाण्डर दिए ।

    यस्तै २०४८ सालमा अमिक शेरचनलाई चुनाव जिताउन सुवेदीको भूमिका महत्वपूर्ण थियो ।

  • चितवन २ का विभिन्न वडामा कांग्रेस चितवनको क्रियाशील भेला सम्पन्न, मिना खरेलप्रति बढ्दो समर्थन

    चितवन २ का विभिन्न वडामा कांग्रेस चितवनको क्रियाशील भेला सम्पन्न, मिना खरेलप्रति बढ्दो समर्थन

    चितवन, माघ १७

    आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवनको क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र न. २ को आयोजनामा विभिन्न वडाहरुमा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    यही माघ १३ गते भरतपुरको वडा नम्बर १ रामनगर, वडा नं २ क्षेत्रपुरम सम्पन्न भएको छ भने १४ गते वडा नं. १० क्षेत्रीय सचिवालय, वडा नं ११ र वडा नं. १२ पार्टी कार्यालयमा भेला सम्पन्न भएको हो ।

    यस्तै १५ गते भरतपुरको वडा न. ३,४, ५ मा भेला सम्पन्न गरिएको छ भने १६ गते भरतपुर ७ कृष्णपुर, इच्छाकामना गाउपालिकाका २, ३, ४, ५ र ६ वडामा भेला सम्पन्न गरिएको हो ।

    भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मनोनयन भएका उम्मेदवार मिनाकुमारी खरेललाई विजय गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको छ ।

    यस्तै आगामी दिनमा सञ्चालन गरिने चुनावी कार्यक्रम, प्रचार–प्रसार रणनीति तथा घरदैलो अभियानका विषयमा समेत छलफल भएको हो ।

    सो कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं. २ कांग्रेसकी उम्मेदवार मिना खरेलले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा एकजुट भएर लाग्न सबैलाई आग्रह गरिन्।

    उनले निर्वाचन जित्नका लागि पार्टीभित्र एकता, सक्रियता अपरिहार्य हुन्छ । यतीबेला कांग्रेस परिवर्तन भईस्केको छ, कांग्रेसमा भोट हाल्न जनता आतुर छन् । त्यसैले सबै एकजुट भएर लागौ चुनाव अवस्य जितिन्छ ।

    उक्त भेला तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला पार्टी सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, पूर्व सभापति विकास कोइराला, पार्टीका नेता मिलनबाबु श्रेष्ठ, ऋषिराज पाण्डे, मनोज रानाभाट, महिला सङ्घका अध्यक्ष पार्वती शाह ठकुरी, बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी, पालिका अध्यक्ष, वडा अध्यक्ष, लगाएत पार्टीका क्रियाशील नेता/कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन, १७ माघः
    गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।

    आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।

    मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

  • अझै केही वर्ष भिड्छु : प्रचण्ड

    अझै केही वर्ष भिड्छु : प्रचण्ड

    १७ माघ, काठमाडौं
    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् ।

    आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।

    सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’

  • छ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

    छ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

    नेपालगञ्ज, माघ १७
    जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ ।

    अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिनुभयो । करिब छ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उहाँको भनाइ छ ।

    “जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ ।”

    वलीले तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीयस्थलसम्म पुग्नसक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    भारतीय पत्रकार एसके मधेसीयाले नाकाबाट हुने आवजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताउनुभयो ।

    नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिनसक्ने बताउनुभयो ।

    उहाँले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न पाउने बताउनुभयो । कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउन बन्द गरिएको थियो । रासस

  • निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

    निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

    भोजपुर, माघ १७ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन भोजपुरमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाको साझा दायित्व रहेको बताउनुभयो । उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    त्यस्तै, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भिक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना भएमा मात्रै लोकतन्त्र सुदृढ हुने बताउनुभयो । उहाँले जिल्लामा सोही वातावरण निर्माण गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा अन्य सरोकारवालाले निर्वाचन आचारसंहिताका प्रावधान, सुरक्षा व्यवस्थाको तयारी, दलहरूबीच आपसी समन्वय तथा सहकार्यको भूमिका खेल्ने बताएका छन् ।

    भोजपुर जिल्लामा निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन प्रयोजनका लागि जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ रहेको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आआफ्ना एजेन्डासहित मतदातासम्म पुग्ने अभियानमा सक्रिय भएका छन् । रासस

  • युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छः महामन्त्री पौडेल

    युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छः महामन्त्री पौडेल

    काठमाडौँ, माघ १७-
    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको बताउनुभएको छ ।

    काठमाडौँ क्षेत्र नं ४ बालुवाटारस्थित विशाल मिलन केन्द्रमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले कांग्रेसले युवा पुस्ताको आवाजलाई आत्मसाथ गर्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको बताउनुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलन युवा पुस्ताको आन्दोलन भएका उहाँको भनाइ थियो ।

    महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुन नहुने बताउनुभयो । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको उहाँको भनाइ थियो । पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका महामन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

    उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । रासस

  • बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

    बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

    काठमाडौँ, माघ १७-
    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहा आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले देश बदल्नका लागि कांग्रेस बदलिएको बताउनुभयो । “समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भन्नुभयो ।

    आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उहाँको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताउनुभयो ।

    उहाँले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताउनुभयो । उहाँले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताउनुभयो । कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको उहाँको भनाइ थियो ।

    उहाँले युवाले देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताउनुभयो । सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्‍याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गर्नुभयो ।

    “मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिन, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भयाँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,” उहाँले भन्नुभयो ।

    सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको बताउनुभयो ।

    कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । रासस

  • मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

    मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

    देउखुरी (दाङ), माघ १७-
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका मतदासँग संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुग्नुभएको हो ।

    घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उहाँले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा तयार पारेका विकासका काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गर्नुभएको हो ।
    पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताउनुभयो । “विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,” उहाँले भन्नुभयो , “योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ ।”

    कार्यक्रमका क्रममा उहाँले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताउनुभयो । स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै उहाँले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पार्नुभयो ।

    घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए । स्थानीयले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि राखेका थिए ।

    पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । “रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।”
    मतदातासँगको संवादमा उहाँले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्नुभयो । “दाङको समृद्धि साझा एजेण्डा हो,” उहाँले भन्नुभयो, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।” रासस