Blog

  • म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

    म्याग्दी, माघ १७-
    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् । शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरुलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइने उहाँले बताउनुभयो । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिने भएको छ ।

    बेनी र इलाका प्रहरी कार्यालय रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तालिम सञ्चालन गरिने प्रनाउ थापाले बताउनुभयो । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको ब्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गर्न लागिएको हो ।

    छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

    मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा १२० मतदान केन्द्र कायम भएको छ ।

    म्याग्दीमा एक स्वतन्त्र र ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहनुभएको बताइएको छ । रासस

  • बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

    बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

    काठमाडौं,माघ १७-
    रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। मेयर बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो। शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ । हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन ।

    घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम प्रोफेसनल चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ। घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ।

  • निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

    काठमाडौँ, माघ १७

    निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।

    आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो ।त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।

    आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवद्र्धन इकाइ पूूर्णरूपमा क्रियाशिल रहेको आयोगले जनाएको छ ।

    सो इकाइले पत्ता लगाएका कूल ३०२ हानीकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमका आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले प्रष्ट पारेको छ । रासस

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ माघ १७
    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ।

    गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

    आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

  • शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ १७ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी ३१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–त्रयोदशी, १ घडी ४० पला, बिहान ७ बजेर ३३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पुनर्वशु, ४६ घडी ४५ पला, रातको १ बजेर ३५ मिनेट उप्रान्त तिष्य । योग–विष्कुम्भ, १६ घडी ४१ पला, दिउँसो १ बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–तैतिल, बिहान ७ बजेर ३३ मिनेट उप्रान्त गर, बेलुकी ६ बजेर ३५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिथुन, बेलुकी ७ बजेर ५३ मिनेट उप्रान्त कर्कट ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४२ मिनेट । दिनमान २७ घडी २ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा, खानपान तथा प्रचारमा समय व्यातित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला, राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइ, बन्धुबान्धब तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यवसायमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ । अध्ययन, काम वा साङ्गीतिक यात्राको तय हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । यात्रा, प्रचार, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा इमानदारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरु वर्गहरू खुसी हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा साथीभाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । प्रविधिको भरपुर प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • वर्तमान सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल

    वर्तमान सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल

    काठमाडौँ, १६ माघः 
    गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताउनुभएको छ ।

    अखिल नेपाल कबडी सङ्घद्वारा आज यहाँ आयोजित २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगितामा उहाँले मुलुकमा सुशासन कायम गराउँदै शान्ति सुरक्षा, सामाजिक न्यायसहित नागरिकको जीवनस्तर उकास्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेकाले सोही अनुसार काम भइरहेको धारणा राख्नुभयो ।

    अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावित खेल कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री अर्यालले सरकारले यो खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वदेशमा खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खेलप्रति खेलाडीको आकर्षण बढाउँदै लैजानेगरी योजना र नीति निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

    सङ्घका अध्यक्ष तुलसी थापाले अहिले नेपाली युवा अवसरको खोजीमा विदेशतर्फ आकर्षित भइरहेको अवस्थामा खेलाडीलाई स्वदेशमा खेल्नसक्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सङ्घका महासचिव अरविन्द झाले देशभरका ४२ जिल्लामा मान्यता प्राप्त गरेको सङ्घले कबडी खेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै खेलाडीको हकहित संरक्षण गर्दै लैजाने बताउनुभयो । सातै प्रदेशका करिब २४० खेलाडीको सहभागितामा सम्पन्न प्रतियोगितामा प्रथम भएका नेपाली सेना तथा दोस्रो सशस्त्र प्रहरीको टोलीलाई पुरस्कृत गरिएको थियो ।

  • निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

    निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

    जुम्ला, १६ माघ :
    जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् ।

    सदरमुकाम खलङ्गा बजारमा आज आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।

    सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको थियो ।

    विशेषगरी राजनीतिक दललाई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो । निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।

  • सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

    सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

    महेन्द्रनगर, १६ माघ :
    कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।

    सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् ।

    जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उहाँले कुनै पनि कार्यक्रममा सम्बोधन गर्नुभएन । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् ।

    चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उहाँले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै हिड्नुभयो ।

    लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत हुनुभयो । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए ।

  • अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल

    अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल

    चितवन, माघ १६
    अँध्यारोमा हराउँदै गएको नाबालिकाको जीवनमा आशाको उज्यालो ल्याउने हात हुन् समाजसेवी तथा अभियन्ता मीना कुमारी खरेल।

    १२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखा भरि आँसु लिएर पहिलो पटक मीना कुमारी खरेलको सामु पुगेकी थिइन्। उनी बोल्न सक्ने अवस्थामा थिइनन्। मनभित्र थुप्रिएका पीडा, डर र अपमानका अनुभूति आँसु बनेर बगिरहेका थिए। उमेरले सानी भए पनि उनले भोगेको पीडा शब्दमा बयान गर्न नसकिने खालको थियो। समाजको चिसो व्यवहार, डर, लज्जा र एक्लोपनले उनको बालमन गहिरा घाउहरूले भरिएको थियो।

    त्यही कठिन क्षणमा उनले पहिलो पटक मीना कुमारी खरेललाई भेटिन त्यसपछी आफूलाई सुरक्षित महसुस गरिन्। मीना कुमारी खरेलले न त उनलाई प्रश्नको कठघरामा उभ्याउनुभयो, न दोषी ठहर गर्नुभयो। बरु ध्यानपूर्वक सुन्नुभयो, सहानुभूति व्यक्त गर्नुभयो र “तिमी गलत होइनौ” भन्ने आत्मविश्वास दिलाउनुभयो।

    आमा जस्तै बनेर काँपिरहेको हात समात्दै दिएको त्यो भरोसाले नाबालिकाको जीवनमा निर्णायक मोड ल्यायो। भत्किँदै गएको बालपनमा फेरि आत्मबल पलायो, फेरि बाँच्ने इच्छा जाग्यो। उचित संरक्षण, साथ र मार्गदर्शन पाएपछि उनको जीवनले नयाँ दिशा पायो। अहिले उनी आफ्नो जीवनमा सफल भइसकेकी छन् र नयाँ अध्याय सुरु गरिसकेकी छन्। अहिले ती बालिका ठूली भइसकेकी छिन्।

    आज उनी भावुक हुँदै भन्छिन्, “मीना कुमारी खरेल दिदी नहुनुभएको भए आज म यो संसारमै हुन्नथेँ।”

    यो कथा केवल एउटी नाबालिकाको पीडाको कथा मात्र होइन; यो त्यो हातको कथा हो, जसले एक बेसहारा बालिकालाई उद्धार गरी सुरक्षित र सुधारिएको जीवनतर्फ डोर्‍यायो। यही मानवीय संवेदना, साहस र निरन्तर सामाजिक प्रतिबद्धताका कारण आज मीना कुमारी खरेल हजारौँ महिला, बेसहारा र टुहुरा बालबालिकाको आशा, भरोसा र संरक्षणको प्रतीक बनेकी छिन्।

    बालअधिकार, महिला सशक्तीकरण र पीडित संरक्षणका क्षेत्रमा उनको योगदान समाजका लागि प्रेरणादायी बनेको छ। अँध्यारोमा हराउँदै गरेका बालजीवनहरूका लागि उनी आज उज्यालो दीप बनेर उभिएकी छिन्।

    उनी सानैदेखी राजनितिलाई बुझेर सामाजिक कार्यमा सकृय रहदै आएकी पात्र हुन् । हाल उनी नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ को उम्मेदवार बनेकी छन् । उनले लामो समयदेखी समाजमा गरेको योगदानका कारण सबैको मन मुटुमा बस्न सफल भएकी छन् ।

  • सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

    सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

    सिरहा, १६ माघ :
    सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् ।

    सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

    सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो ।

    गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

    उहाँले भन्नुभयो, “मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन ।”

    अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।