Blog

  • ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

    ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

    काठमाडौँ, मंसिर २० –
    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ ।

    साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गर्नुभयो ।

    “ज्येष्ठ नागरिक रोग विशेषज्ञहरुको पदहरू सिर्जना गर्न आवश्यक छ । नर्सहरुको पनि थप दरबन्दी सिर्जना गर्नुपर्छ । आर्थिक रूपमा कमजोर राष्ट्र भएर पनि हामीले ज्येष्ठ नागरिकका लागि सकेसम्म उत्तम सेवा दिन प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    देशमा ३० लाख हाराहारी ज्येष्ठ नागरिकहरुको जनसङ्ख्या छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जनसङ्ख्याको अनुपातमा विशेषज्ञहरु पर्याप्त नरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालमा १० जना दर्ता गरिएका ज्येष्ठ नागरिक रोग विशेषज्ञहरु छन् जसमा ६ जना मात्र स्वदेशमा छन् ।”

    जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा उमेश बोगटीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई सधैँ सबल राख्न क्षेत्रीय साझेदारी अत्यावश्यक भएको बताउनुभयो ।

    सम्मेलनमा नेपालसहित २० भन्दा बढी देशका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, ज्येष्ठ नागरिकविज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । रासस

  • लमहीमा गोली चल्यो

    लमहीमा गोली चल्यो

    २० मंसिर दाङ ।
    दाङको लमही बजारमा आज दिउँसो गोली चलेको छ। लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

    गोली लागेर पसल सञ्चालक सामान्य घाइते भएको र सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

    गोली प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

    निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

    काठमाडौँ, मंसिर २० –
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ ।

    रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा अरनिको पाँडे, डा नन्दन यादव र क्रान्तिशिखा धिताल हुनुहुन्छ ।

    योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो ।

    पार्टीले हाल अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ ।

    आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्वउम्मेदवारहरूसँग छलफल र सङ्गठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिनुभयो ।

    निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ । रासस

  • टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

    टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

    काठमाडौँ, मंसिर २० –
    काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।

    काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २।५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैंक (एडिबी)को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत रु तीन अर्ब १८ करोड छ । केन्द्रको निर्माण आगामी मङ्सिरमा पूरा गर्ने लक्ष्य छ ।

    टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ ।

    हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन्भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन । ललितपुरमा विद्युत् उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा निर्माणधीन छन् ।

    मन्त्री घिसिङले आज निर्माणधीन प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिनुभयो । त्यस क्रममा उहाँले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गर्नुभएको थियो ।

    उहाँले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

  • संकटमा गर्नुपर्ने दायित्वबाट पछि हटेका छैनौं : चिरिबाबु महर्जन

    संकटमा गर्नुपर्ने दायित्वबाट पछि हटेका छैनौं : चिरिबाबु महर्जन

    २० मंसिर, काठमाडौं ।
    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताएका छन् ।

    शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् । मेयर महर्जनले जेन–जी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरूले ठूलो सफलता हात पारेको पनि बताए ।

    उनले विपद् व्यवस्थाका लागि आफूहरूले आवश्यक सबै अवयवहरूको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप २ वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिए ।

    ‘ललितपुर महानगरपालिकाले डिआरआर एउटै छानामुनि यसको व्यवस्थापन गरेका छौं । दमकल, एम्बुलेन्स, शववाहन, नगर प्रहरी र यसलाई चाहिने सबै कुराहरूको व्यवस्थापन त्यहाँ भित्र भएको छ । र, एक चुटकी बज्ने वित्तिकै नगरप्रहरीहरू गइहाल्छन् । दमकल पुग्छ । हामीले एउटा नयाँ अभ्यास पनि गरेका छौं । दमकल निस्केपछि एम्बुलेन्सले फलो गर्नैपर्छ,’ उनले भने ।

    विपद् व्यवस्थापनका लागि आफूहरूले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताए ।

    ‘सोही सिष्टम हामीले राम्रोसँग चलाएका छौं । यो भनेको हाम्रो पुल्चोकमा रहेको जुद्ध वारुण यन्त्रबाट हामीले डिआरआर । विपदका सबै अवयवहरूलाई त्यहाँ राखेर हामीले सेवा प्रवाह गरेका छौं । यसको राम्रो नतिजा भनेको अस्तिको आन्दोलनमा पनि उहाँहरूले सुन्नुभएको होला,’ उनले भने, ‘महानगरपालिकाले गर्नुपर्ने काममा हामी किञ्चित पनि, कुनैपनि अवस्थामा हामी ब्याक भएका छैनौं । यसलाई अझै सृृदृढिकरण गर्दै लैजाने हाम्रो इच्छा छ । यसलाई अझ व्यवस्थित बनाउन हामी निकट भविष्यमै दुई वटा दमकल थप्न गइरहेका छौं ।’

  • निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव

    निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव

    काठमाडौँ, मंसिर २०-
    उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकारहरू (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    आज यहाँ आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ् खानपान, प्रविधिको बढ्दो प्रयोगलगायत कारणले निद्रासम्बन्धी विकारहरूको बढ्दै गएकाले यस्ता चुनौतीलाई समयमा नै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

    उपराष्ट्रपति यादवले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूले निद्रामा गहिरो असर पारिरहेकाप्रति सचेत हुन सबैलाई सुझाव दिनुभयो । “आधुनिक जीवनशैली, सहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लिप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिहेको छ ।”

    उहाँले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निन्द्रसम्बन्धी समस्या समाधान गर्नेतर्फ सरोकार भएकाले पहल गर्नुपर्ने बताउनुभयो । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकताका साथै नेपालमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।

    “निद्राजन्य विकारले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्न सक्छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “नियमित र स्वस्थ जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँगको परामर्शलाई प्राथमिकता दिएर यसका असरहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।”
    राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताहरूको सक्रिय सहभागिता रहेको यस सम्मेलनले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावना सिर्जना गर्नेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

  • समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

    समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

    काठमाडौँ, मंसिर २० –
    अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत क्षेत्रमा सहज पहुँच विस्तार हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिनुभएको छ ।

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘समावेशी नीति तथा पहुँचसहितका कार्यान्वयनका चुनौतीहरू’ विषयक कार्यशालामा सहभागीहरूले राष्ट्रिय नीति, कानुनी संरचना तथा व्यावहारिक चुनौती, पूर्वाधारमा सहज पहुँच, समावेशी नीतिलगायत विषयमा छलफल गर्नुभएको हो ।

    राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देविदत्त आचार्यको सभापतित्वमा कार्यशालामा अपाङ्गता भएका व्यक्ति, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायत ६० जना भन्दा बढीको सहभागिता थियो ।

    डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन स्पेसलिस्ट मनोज गोहीवारले अपाङ्गतासम्बन्धी राष्ट्रिय नीतिहरू, कानुनी संरचना, व्यावहारिक चुनौती, पहुँच विस्तारलगायत विषयमा प्रस्तुतीकरण दिँदै भौतिक संरचनामा सहज पहुँच, समावेशी नीति अवलम्बन गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँले नेपालको समावेशी नीति, पूर्वाधार तथा भौतिक संरचना, हाल लागू भएका नीति र कानुन, कानुनी पहुँचसम्बन्धी व्यवस्था, स्थानीय तहमा देखिने व्यावहारिक कठिनाइलगायत विषय सुधार गर्न समावेशी नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

    छलफलमा सहभागी युवाले भवन निर्माण संहिताअनुसार पहुँचको अवस्था, यातायात अनुमति, सार्वजनिक सेवामा पहुँच स्तिार, अपाङ्मैत्री भौतिक संरचना, सार्वजनिक पूर्वाधार सुधारलगायत विषयमा समस्या रहेका बताएका छन् । सहभागीहरूले अपाङ्गता भएकाहरूको दैनिकी सहज बनाउन दीर्घकालीन योजनासहित कानुनी पहुँच विस्तार गर्दै अपाङ्मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

    समूहगत छलफलमा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रतिनिधि नीरादेवी अधिकारी, अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ ९एआइएन०का समन्वयकर्तालगायतको सहभागिता थियो । छलफलमा सहजकताका रूपमा सरिता लामिछाने हुनुहुन्थ्यो ।

    कार्यक्रमको समग्र प्रतिवेदन तथा निष्कर्षमाथि नेपाल नेत्रहिन सङ्घका अध्यक्ष शिशिर खनालले विश्लेषण गर्नुभयो । उहाँले नीति, नियम र कार्यान्वयनबीचको असमानता घटाउन सरकारी संयोजन, बहुपक्षीय सहकार्य र स्थानीय तहमा व्यावहारिक सुधार अपरिहार्य रहेको टिप्पणी गर्नुभयो ।

    राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष आचार्यले भन्नुभयो, “नेपालमा समावेशी नीतिहरू पर्याप्त छन्, तर इमान्दारपूर्वक कार्यान्वयन भएका छैनन् । अपाङ्गता भएकाहरूको यातायात, सार्वजनिक सेवा, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पहुँच सुनिश्चितता हाम्रो सामूहिक जिम्मेवारी हो । युवाको आवाज, नेतृत्व र संरचनागत सुधारले परिवर्तन सम्भव छ ।”

    फेयरमेडको आयोजनामा भएको कार्यक्रममा एआइएन, पिपुल इन निड (पिआइएन), राष्ट्रिय अपाङ्ग महासङ्घ र ह्यान्डिक्याप इन्टरनेसनल नेपालको सहकार्यमा भएको थियो । सहभागीहरूले सकारात्मक सुधारका लागि बहुपक्षीय छलफल नियमित रूपमा गर्नुपर्ने, प्राविधिक सहयोग बढाउनुपर्ने, सरकारी संयोजन प्रभावकारी बनाउनुपर्नेलगायत सुझाव दिएका छन् । रासस

  • नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति

    नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति

    पाटन (ललितपुर), मंसिर २० –
    राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताउनुभएको छ ।

    ललितपुर महानगरको नवनिर्मित भवनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उहाँले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिनुभयो । जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उहाँले बताउनुभयो ।

    “लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने पद्धति हो । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्नुपर्छ”, नयाँ पुस्ताको चाहना सुशासन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो ।

    उहाँले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगीन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गनुभयो । रासस

  • नेकपाको अपानि : मतदातालाई चुनाव चिह्न चिनाउने, कुशासनका सूचना संकलन गर्ने

    नेकपाको अपानि : मतदातालाई चुनाव चिह्न चिनाउने, कुशासनका सूचना संकलन गर्ने

    २० मंसिर, काठमाडौं ।
    नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको छ ।

    पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको हो ।

    ‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग बैठक, वार्ता, छलफल गर्ने,’ अपानिमा भनिएको छ, ‘त्यसरी नै सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी, नागरिक समाजका अगुवाहरूसँग निर्वाचनको माहोल निर्माण गर्नका लागि छलफल, अन्तरक्रिया गर्ने ।’

    अपानिमा केन्द्रमा सरकार र निर्वाचन आयोग तथा विभिन्न तहमा सम्बन्धित तहका निर्वाचन एवं सुरक्षा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न तथा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत विभिन्न तरिकाबाट पार्टीको चुनाव चिह्न ‘तारा’ आम जनतालाई चिनाउन पनि भनिएको छ ।

    नेपाली कम्युनिस्ट पार्टीले संघीय र प्रदेश सरकार तथा स्थानीय तहमा रहँदा गरेका जनपक्षीय र भ्रष्टाचार विरोधी राम्रा कामहरूको जनताबीच व्यापक प्रचार गर्न र भ्रष्टाचार, कुशासन, अनियमितता, बेथितिका घटना, विवरण र तथ्यहरू संकलन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

    ‘त्यस्ता क्रियाकलापहरूको विरोध गर्ने तथा विकास निर्माण, जनताको सेवा सुविधा, रोजगारी, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आवाज बुलन्द गर्ने,’ संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानिमा उल्लेख छ ।

    पार्टीले विभिन्न तहमा मतदाता शिक्षा, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्न, सबै तहमा पार्टी र जनवर्गीय संगठनद्वारा निर्वाचनको तयारी केन्द्रित बैठक, भेला, प्रशिक्षण तथा विभिन्न रचनात्मक र प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

    नेपाली कम्युनिस्ट पार्टीले निर्धारित समयमा शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड दिएको छ ।

    ‘यतिवेलाको राष्ट्रिय संकटबाट देशलाई निकास दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न र संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन, संविधान संशोधनका माध्यमबाट जेन–जी पुस्ताको भावनासहित जनताका अग्रगामी एजेण्डा सम्बोधन गर्न र सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न पनि निर्वाचन अपरिहार्य छ,’ अपानिमा लेखिएको छ ।

  • तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

    तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

    जुम्ला,मंसिर २० –
    जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।

    तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलविद्युत् आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिनुभयो । तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चारवर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माणहुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् भट्टको भनाइ छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नाँप जाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्तहुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभावहुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

    उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रशारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ । विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्धारा पुनःतिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछन् । आयोजना कुल लागत नेपाल सरकारको रु सात अर्ब ५६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिनुभयो ।

    आयोजनाबाट उत्पादन भएको विद्युत् ३० दशमलव २० किमि लामो र १३२ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल ७ दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा ४ दशमलव ७७२ हेक्टर र नीजी जग्गा २ दशमलव ८१३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिनुभयो ।

    आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधूरी प्रत्यक्ष रूपमा प्रभावितहुने देखिन्छ । प्रत्यक्ष प्रभावित घरधूरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत् आयोजनाले जनाएको छ । तिला जलविद्युत् आयोजनाको अध्ययन अवधि पुरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ । रासस