Blog

  • मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

    मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

    चितवन, माघ १८ –
    पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ ।

    विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत पर्दा सडकको नक्साङ्कन फरक परेकाले समयमा काम गर्न नपाएका कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको छ ।

    निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ भएको, रुख, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री सहज पाउन नसकिएको, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको जनाउँदै आएको छ । दरैले अहिलेका लागि नक्साङ्कनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको बताउनुभयो ।

    उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत मात्र काम भएको छ । दरैका अनुसार नौ किलोमिटरभन्दा केही बढी कालोपत्र गरिसकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ ।
    नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । उहाँका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उहाँको भनाइ छ ।

    सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । रासस

  • बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

    बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

    काठमाडौँ, माघ १८-
    चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो ।

    अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

    त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

  • अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

    अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

    अमेरीका, माघ १८-
    भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारको विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिनुभएको छ । शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो भ्रमण अमेरिका र भेनेजुएलाबीच जारी कूटनीतिक सम्पर्क र संवादको निरन्तर प्रयासको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

    उहाँका अनुसार दुवै पक्षबीच हुने वार्ताको मुख्य उद्देश्य द्विपक्षीय चासोका राजनीतिक, कूटनीतिक र रणनीतिक विषयहरूमा स्पष्ट र व्यवहारिक कार्ययोजना (रोडम्याप) तय गर्नु हो। साथै विगतदेखि रहँदै आएका मतभेद, असहमति र विवादास्पद विषयहरूलाई शान्तिपूर्ण र कूटनीतिक संवादमार्फत सम्बोधन तथा समाधान गर्ने प्रयास गरिनेछ। विदेशमन्त्री गिलले यो सम्पूर्ण प्रक्रिया पारस्परिक सम्मान, समानता र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै अघि बढाइँदै आएकोमा जोड दिँदै, यी सिद्धान्तहरू नै अमेरिका–भेनेजुएला सम्बन्धलाई मार्गदर्शन गर्ने आधारभूत मान्यता भएको स्पष्ट पार्नुभयो। रासस

  • महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

    महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

    महोत्तरी, माघ १८ –
    प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन् ।
    “हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भन्नुभयो । नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरुले दुःख पाइरहेको उहाँको भनाइ छ । विगतमा ठाउँठाउँमा कटान र डुबान रोक्न तटबन्ध निर्माण गरिए पनि त्यसले समस्या समाधान भएको छैन ।

    यहाँका नागरिकहरुले चुनावमा भोट माग्न आउने उम्मेदवासमक्ष यस्तै गुनासा गर्न थालेका छन् । यस क्षेत्र भएर बग्ने रातु नदीको ताण्डवले जिल्लाका सात स्थानीय तहका बासिन्दा प्रभावित छन् । यसको दीर्घकालीन समाधान नपहिल्याइँदा समस्या जस्ताको त्यस्तै भएको बलवा–११ भगवतीपुरकी मरनी माझी मुसहरको भनाइ छ । “बर्खा लाग्यो कि घर बाढीले लाने हो कि भन्ने त्रास हुन्छ”, माझीले भन्नुभयो ।
    निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताको आवतजावत बढेपछि चुनावी सरगर्मी बढेको छ । जिल्लाको पूर्वी मध्यभेगको यो क्षेत्रमा बिग्ही, रातु, मरहा र ओक्सीसहितका नदीपिडित समूहल मुख्य समस्या नै बर्खामा कटान र डुवान एवं हिउँदमा पानीको अभाव सुनाउँछन् ।

    जिल्लाको मध्यभेगको भङ्गाहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिकाका–११, मध्यपूर्वी भेगको लोहारपट्टी नगरपालिकाका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा–६ र एकडारा गाउँपालिका–६ वडा महोत्तरी–२ मा पर्छन् । यहाँका बासिन्दाको मुख्य पेसा खेती भएर पनि सिँचाइको समुचित प्रबन्ध नहुँदा आकासे पानीको भरको खेती र बर्खामा बाढीले घरबस्ती डुबाउने÷बगाउने त्रासको नियति यहाँका बासिन्दाले खेप्दै आएका छन् ।
    “हामी दुःखमा छौँ, खेतमा सिँचाइको प्रबन्ध छैन, बर्खामा बाढीले डुबाएर कहिल्यै राम्ररी अन्न थन्क्याउन पाएका छैनौ”, महोत्तरी गाउँपालिका–६ गोरीगमाका ४५ वर्षीय भोला महतो भन्नुहुन्छ, “चुनाव त भइ नै राखेका छन्, तर हाम्रो दुःख जहाँको त्यहीँ रह्यो ।”

    यो क्षेत्र बर्खाकालमा बाढी कटान/डुबान र हिउँदमा पानीको हाहाकारमा पर्ने गरेको छ । हिउँद अन्त्यतिर त सिँचाइका लागि मात्र नभएर कुनैकुनै वर्ष खानेपानीकै पनि हाहाकार पर्ने गरेको यहाँका बासिन्दा बताउँछन् । यो समस्या भोग्दै आएका यहाँका बासिन्दा सरकारले खेतीपातीका लागि सिँचाइ सुविधा, समयमा बीउबिजन, मलखाद र सुलभ कृषि ऋणको व्यवस्थासँगै बाढीबाट जोगाउन पक्की बाँध (तटबन्ध) को प्रबन्ध गरी देओस् भन्ने चाहना भएको लोहारपट्टी–१ का रामसागर यादवको भनाइ छ ।

    आसन्न निर्वाचनका लागि यहाँ १५ राजनीतिक दलका र स्वतन्त्र २२ गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चुनाव प्रचारप्रसारका क्रममा यस क्षेत्रका बासिन्दाबाट यस्तै समस्या आउने गरेको नेकपा (संयुक्त) बाट उम्मेदवार इदरिस मोमिनको भनाइ छ । “योजनाबद्ध तरिकाले काम हुन नसक्दा जनताका गुनासा बढेका हुन्, अब हामी सबैको साझा सङ्कल्पले निदान पहिल्याइनु पर्दछ”, उहाँले भन्नुभयो ।

    महोत्तरी–२ मा जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी, जनादेश पार्टी नेपाल, राष्ट्र निर्माण दल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र नेकपा संयुक्तका उम्मेदवार दलगत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यी दलका २२ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता छन् ।

    साथै ६२ मतदानस्थलमा १३३ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचन अभियान अघि बढेसँगै यसलाई स्वच्छ र भयरहित सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ । रासस

  • धरान देखि काठमाडौँ प्रवेश गरेको हर्क साम्पाङको श्रम दानले गर्‍यो धोबीखोला सरसफाइ

    धरान देखि काठमाडौँ प्रवेश गरेको हर्क साम्पाङको श्रम दानले गर्‍यो धोबीखोला सरसफाइ

    काठमाडौँ, माघ १८-
    धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन्।

    अभियानमा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा। वरुण अमात्यसँगै स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ। अमात्यका अनुसार पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो। पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ।

    काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए। यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए।

    पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले जानकारी दिए। साथै, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका हुन्

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने

    दशरथचन्द (बैतडी), माघ १८ –
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो ।

    निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको काम अगाडि बढाइने निर्वाचन उहाँले बताउनुभयो ।

    एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा सात जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

    सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । रासस

  • साताको पहिलो दिन प्रतितोला १८ हजार ८०० ले घट्यो सुनको मूल्य

    साताको पहिलो दिन प्रतितोला १८ हजार ८०० ले घट्यो सुनको मूल्य

    काठमाडौं, माघ १८-
    साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।

    शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नवलपुर (नवलपरासी), माघ १८-
    सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।

    योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो । खनालले २२ वटा साना तथा १२ वटा ठूला गरी ३४ वटै पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

    साना पुल निर्माण सकिएर सञ्चालनमा आइसकेका भए पनि ठूला पुल निर्माणका क्रममा हुँदा सबै पुल सञ्चालनमा आइसकेका छैनन् । “गत साता चोरमारा बजारको गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै यतिबेला ३३ वटा पुलबाट यातायात सञ्चालन भएका छन्”, इन्जिनियर खनालले भन्नुभयो, “यातायात सञ्चालन हुन बाँकी रहेको अरुण खोला पुलबाट पनि फागुन २१ गतेको निर्वाचनअगावै यातायात सञ्चालनमा ल्याउनेगरी पुलको फिनिसिङ तथा एप्रोच रोड (पहुँच मार्ग) निर्माणको कामलाई तीव्रता दिएका छौँ ।” पूर्वी खण्डमा सडक विस्तारको काम तीव्रगतिमा अगाडि बढेको खनालले जानकारी दिनुभयो ।

    यस खण्डको दाउन्नेमा कठिन भौगोलिक वनावट भएका कारण दाउन्ने खण्डमा केही कल्भर्ट निर्माणको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माण पनि अन्तिम चरणमा चलिरहेको खनालले बताउनुभयो । नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका प्रायः सबै ठाउँमा कालोपत्र सडकबाट यात्रा गर्न सकिने खनालको भनाइ छ । “दाउन्नेमा पनि सडक विस्तारको काम तीव्रगतिमा बढेको छ”, उहाँले भन्नुभयो, “दाउन्नेमा कठिन भूनावट भएका कारण त्यहाँ सडकमा कालोपत्र नगरी ढलान गरेर सडक विस्तारको काम गरिँदैछ, यसैले यो क्षेत्रमा विस्तारको काम ढिलाइ भइरहेको हो ।”

    सूचना अधिकारी इन्जिनियर खनालले नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको जानकारी दिनुभयो । पूर्वी खण्डमा दाउन्ने सडकखण्ड, अरुणखोलाको केही भाग र दुम्कीबासको केही भागबाहेक सबै ठाउँमा दुईतर्फी नै कालोपत्रको काम सकिएकाले यात्रा सहज बनेको खनालको भनाइ छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुन नसकेको उहाँले बताउनुभयो ।

    दुईतर्फी नै सडक कालोपत्र सकिएको ठाउँमा सडक लेन छुट्याउन लेन मार्किङको काम तथा सर्भिस लेन हुने ठाउँमा अतिरिक्त सर्भिस लेन निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । दाउन्नको १४ किमी सडकमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक पर्दछ । दाउन्नेमा अहिले बाँकी रहेको डाँडा काट्ने, बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, बाटोको चौडाइ बढाउने, पहिरो जान सक्ने ठाउँमा तलैबाट जालीमा ढुङ्गा भर्नेलगायत काम भइरहेको भन्दै खनालले यस खण्डमा २१५ वटा कल्भर्ट निर्माण हुने जानकारी दिनुभयो ।

    नारायणघाट–बुटवल सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग विसं २०७९ माघ २४ मा सम्झौता गरेको थियो । निर्माण सुरु भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सडक विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । निर्धारित समयमा काम पूरा नभएपछि सरकारले निर्माणको कम्पनीको म्याद चारपटक थप गरी आगामी साउन ८ गतेभित्र सक्नेगरी अन्तिमपटक म्याद थप गरेको छ ।

    ११४ किलोमिटर लामो नारायणघाट–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । दुवै खण्डको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले पाएको छ । दुवै खण्डको लागत करिब रु १७ अर्ब रहेकामा एसियाली विकास बैंक ९एडीबी०को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको छ । रासस

  • विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री

    विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री

    काठमाडौं माघ १८
    भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएपछि उनकी पत्नी सुनेत्रा पवार उपमुख्यमन्त्री बनेकी छन्।

    शनिबार उनले उपमुख्यमन्त्रीको शपथ र पदभार ग्रहण गरेकी छन्।

    योसँगै महाराष्ट्रले पहिलो पटक महिला उपमुख्यमन्त्री पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    विधानसभा चुनावमा भारतीय जनता पार्टीले अजित पवारको नेश्नलिस्ट कांग्रेस र एकनाथ सिन्देको शिवसेनासँग गठबन्धन गरेको थियो।

    भाजपाकै देवेन्द्र ‍फडनविस मुख्यमन्त्री बनेका थिए। सिन्दे र पवार उपमुख्यमन्त्री बने।

    पवार माघ १४ गते आफ्नो गृहजिल्लामा आयोजित कार्यक्रममा भाग लिन जाँदै गर्दा उनी सवार विमान बारामति अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो।

    दुर्घटनामा उनीसहित ६ जनाको मृत्यु भएको थियो।

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ माघ १८
    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ।

    गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

    आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।