Blog

  • विद्युत प्राधिकरणमा हितेन्द्रदेवले गरे पुन: पदवहाली

    विद्युत प्राधिकरणमा हितेन्द्रदेवले गरे पुन: पदवहाली

    मंसिर २४,काठमाडौं ।
    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्वहाली भएका छन् । सर्वोच्चले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले आज पदबहाली गरेका हुन् ।

    शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्चले आदेश दिएको हो ।

    कुलमान घिसिङ ऊर्जामन्त्री बनेसँगै शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णयविरुद्ध शाक्य अदालत गएका थिए ।

    शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा लैजाँदा मन्जुरी लिनुपर्ने भएपनि नलिएको पाइएको अदालतले व्याख्या गरेको छ ।

  • काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस

    काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस

    २३ मंसिर, काठमाडौं ।
    आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।

    संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार, समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ ।

    समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका हुन् ।

    यसअघि महामन्त्री थापfको नाम रोल्पा, सर्लाही-४ र धनकुटाबाट पनि सिफारिस भएको थियो छ ।

    थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट संसद सदस्य बनिसकेका छन् ।

  • निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति पौडेल

    निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति पौडेल

    काठमाडौँ, मंसिर २४-
    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।

    उहाँले भन्नुभएको छ, “युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तरराष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्छ ।”

    ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

    सन्देशमा भनिएको छ, “मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ, मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पु¥याएको छ ।”

    नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तरराष्ट्रिय सन्धि सम्झौताको पक्षराष्ट्रसमेत भएकाले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवं संवेदनशील रहिआएको उल्लेख गर्दै सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घ, संस्था, सञ्चारमाध्यम तथा निजीक्षेत्रको सक्रियताले कमजोर तथा जोखिममा रहेका समूहको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन आवश्यक थप काम गर्नसकेमा मानव अधिकार दिवसले थप सार्थकता पाउने विश्वास पनि व्यक्त गर्नुभएको छ । व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको राष्ट्रपति पौडेलको भनाइ छ । रासस

  • एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    काठमाडौँ, मंसिर २४-
    त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

    काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो । रासस

  • निर्वाचन आउन ८५ दिन बाँकीः आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

    निर्वाचन आउन ८५ दिन बाँकीः आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

    काठमाडौँ, मंसिर २४-
    निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।

    आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

    नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।

    मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ । रासस

  • अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

    अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

    काठमाडौं मंसिर २४,
    अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने विश्वको पहिलो देश बनेको छ ।

    आज देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुकजस्ता साइटहरू खोल्न दिने छैन ।

    सरकारले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई लिएर यो कदम चालेको बताएको छ । यो नियम उल्लंघन गर्ने कम्पनीहरूलाई ठूलो परिमाणमा जरिबाना तिर्नुपर्ने सरकारले बताएको छ ।

    नोभेम्बर २०२४ मा पारित कानुनको उल्लंघन गर्ने कम्पनीहरूलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्मको जरिबाना लगाउन सकिन्छ ।

    बालबालिकाको अनलाइन सुरक्षालाई लिएर अन्य धेरै देश पनि यस्तै उपायहरूमाथि गम्भीरतापूर्वक विचार गरिरहेका छन् ।

    अमेरिकामा के छ ?
    अमेरिकामा लागु भएको एक कानुनले कम्पनीहरूलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको छ ।

    धेरै अमेरिकी राज्यहरूले सामाजिक सञ्जाल चलाउनका लागि माता–पिताको अनिवार्य सहमति लिन कानुन बनाएका छन् । तर, त्यहाँ उनीहरूले अभिव्यक्तिको स्वतन्त्रताको अधिकारका कारण कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।

    युरोपमा के छ कानुन ?
    युरोपेली संसद्ले नोभेम्बरमा एक प्रस्ताव पारित गर्‍यो, जसमा सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा १६ वर्ष गर्ने सिफारिस गरिएको छ ।

    पूरै ईयूमा १३ वर्षको डिजिटल आयु सीमा र भिडियो–सेयरिङ सेवाहरू तथा एआई प्रयोगमा १३ वर्षको सीमा तय गर्ने तयारी गरिएको छ ।

    ब्रिटेन
    २०२३ मा पारित ‘अनलाइन सेफ्टी एक्ट’ले सामाजिक सञ्जाल कम्पनीहरूमाथि कडाइ बढाएको छ । यसपछि हानिकारक सामग्रीबाट नाबालकहरूलाई बचाउन कम्पनीहरूलाई उमेरमा आधारित उपायहरू अबलम्बन गरिएको छ ।

    यद्यपि, सामाजिक सञ्जालको प्रयोगका लागि ब्रिटेनमा अहिले कुनै उमेरको सीमा निर्धारित गरिएको छैन ।

    जर्मनीमा थप कडाइको आवश्यकता
    हाल जर्मनीमा १३ देखि १६ वर्षका किशोरकिशोरीहरूले सामाजिक सञ्जालको प्रयोग तब मात्र गर्न सक्छन्, जब उनीहरूका माता–पिताले सहमति दिन्छन् । तर, धेरै विज्ञहरूको भनाइमा जर्मनीमा हालको नियन्त्रण पर्याप्त छैन ।

    डेनमार्क
    डेनमार्कले यसै वर्ष नोभेम्बरमा त्यहाँ १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने घोषणा गरेको छ । १३ वर्षसम्मका बालबालिकालाई अभिभावकले अनुमति दिन सक्छन् । यसलाई संसद्को समर्थन मिलिसकेको छ ।

    इटाली
    इटालीमा १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाताका लागि अभिभावकको अनुमति चाहिन्छ । १४ वर्षपछि सहमति आवश्यक छैन ।

    चीन
    चीनमा ‘माइनर मोड’ प्रणाली लागु छ । यस अन्तर्गत उमेरको आधारमा स्क्रिन टाइम सीमित गर्नका लागि डिभाइसहरू र एपहरूमा पनि खास किसिमका नियन्त्रणका विकल्पहरू रहेका छन् ।

    मलेसियामा पनि कडाइ
    मलेसियाले नोभेम्बरमा सन् २०२६ देखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    फ्रान्स
    फ्रान्सले सन् २०२३ मा एक कानुन पारित गर्‍यो जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउनका लागि अभिभावकको सहमति लिन जरुरी छ । तर, हाल प्राविधिक जटिलताहरूको कारणले यसलाई लागु गर्नमा कठिनाइ आइरहेको छ ।

    नर्वेको नियम
    नर्वेमा सन् २०२४ मा सामाजिक सञ्जाल प्रयोग गर्ने न्यूनतम उमेर १३ बाट बढाएर १५ वर्ष गरियोस् भन्ने प्रस्ताव पारित भइसकेको छ । जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग अनुमति लिनुपर्नेछ । सरकार अहिले १५ वर्षको न्यूनतम आयु सीमालाई अनिवार्य बनाउने कानुन तयार गरिरहेको छ ।

    टेक कम्पनीहरूका आफ्नै नियम
    टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता प्लेटफर्महरू आफैँमा कम्तीमा १३ वर्षका प्रयोगकर्ता चाहन्छन् । तर, विज्ञहरूको भनाइमा यी प्लेटफर्महरूमा यसलाई कडाइका साथ लागु गरिएको छैन ।

    धेरै युरोपेली देशहरूका आधिकारिक तथ्यांकहरूले १३ वर्षभन्दा कम उमेरका धेरै बालबालिका सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताउँछन् । डीडब्ल्यू डटकमबाट ।

     

  • हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

    आज मिति २०८२ मंसिर २४ गते (१० डिसेम्बर २०२५) बुधवार, पौष कृष्णपक्ष षष्ठी तिथि। अश्लेषा नक्षत्र, ८ः१९ बजेपछि मघा। चन्द्रराशि कर्कट, ८ः१९ बजेपछि सिंह।

    हेर्नुस आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अरूको विश्वास गर्दा काम रोकिन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आत्मविश्वासको कमीले काममा पछि परिनेछ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्न सक्छ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। काममा केही रकम खर्च भए पनि पहिलेकाे साख जाेगाउन सकिनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा सामाजिक तथा सेवामूलक काम सम्पादन गर्न सकिनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। नयाँ काम प्रारम्भ गर्न बाधा पर्नेछ, केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। बेलैमा योजना बनाएर काम थाल्दा राम्रो हुनेछ। लाभ भने थाेरै हुने समय छ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अरूका काममा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। कुनै साधनको खोजीमा दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू पनि भेटिनेछन्। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

  • एनपिएलमा अर्धशतक बनाउनेको सङ्ख्या ३६ पुग्यो

    एनपिएलमा अर्धशतक बनाउनेको सङ्ख्या ३६ पुग्यो

    काठमाडौँ,२३ मङ्सिरः
    राजधानीमा जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३६ पुगेको छ । आज सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३६ पुगेको हो । उनले आज विराटनगर किङ्सकाविरूद्ध ४४ बलमा १ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक समेत हो ।

    यस सिजनमा ३६ अर्धशतक गर्ने २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

    यस्तै , सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम , रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौँं गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्कवाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एकरएक अर्धशतक हिर्काएका छन् ।

    कर्णालीका मार्कवाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

  • ग्रीनल्याण्डमा पिबिएल मेला : सनराइज स्कुल हाजिरी जवाफमा प्रथम

    ग्रीनल्याण्डमा पिबिएल मेला : सनराइज स्कुल हाजिरी जवाफमा प्रथम

    भरतपुर, मंसिर २३-
    भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा आज (मंगलबार) देखि तेस्रो परियोजनामा आधारित शिक्षा (पिबिएल) मेला सुरु भएको छ ।

    कार्यक्रमको पहिलो दिन आज महानगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्कुल प्राङ्गढमा भएको प्रतियोगितामा सनराइज ईंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै पोलार स्टार ईंग्लिस बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गर्दा नारायणी ईंग्लिस पब्लिक स्कुल तेस्रो भएको कार्यक्रम संयोजक राजेन्द्र लम्सालले जानकारी दिए ।

    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेट्रो प्याप्सन भरतपुरका अध्यक्ष मिनराज बस्ताकोटी, स्कुलकी प्राचार्य इन्दिरा कार्की, सह प्राचार्य उपेन्द्र आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २० विद्यालय सहभागी थिए ।

    मेलाको दोस्रो दिन भोलि (बुधबार) विज्ञान प्रदर्शनी हुनेछ । जसमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शनीमा राखिनेछ । २५ गते समुदायका लागि स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ । उक्त दिन विद्यालय परिसरमा स्थानीय समुदायको नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ । २६ र २७ गते मिनी पिबिएल मेला हुनेछ । जसमा विद्यार्थीहरुले प्रस्तुति दिनेछन् ।

    २९ गते मेलाको मुख्य दिन रहेको छ । उक्त दिन विद्यार्थीहरुले आफूले तयार परेका बस्तुहरु प्रदर्शनीमा राख्ने तथा बिक्री गर्नेछन् । सो दिन विद्यार्थीहरुले उत्पादन गरेका धुपबत्ती, साबुन, विभिन्न परिकारका खाजालगायत बिक्री गर्नेछन् । अभिभावकहरु स्वयं उपस्थित भएर आफ्ना बालबालिकाले उत्पादन गरेका बस्तुहरु हेर्न तथा खरिद गर्न सक्नेछन् । यसले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भरताको बाटो देखाउन सहयोग पुग्ने प्राचार्य कार्कीको भनाइ छ । यस किसिमका कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि उद्यमशिलतामा प्रेरित गर्ने कार्कीको विश्वास छ ।

  • सुदुरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    सुदुरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

    चितवन, मंसिर २३

    एनपिएलमा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

    ओपनर विनोद भण्डारीको अर्धशतकप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको हो ।

    सुदूरपश्चिमबाट ओपनिङमा आएका विनोदले ५२ बलमा ६३ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा विनोदको यो दोस्रो अर्धशतक हो । विनोदलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटबाट क्याच गराएका थिए ।

    सेल्डन ज्याक्सनले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन बनाए । १२.५ ओभरमा इशानलाई विराटनगरका नरेन भट्टले ‘लङ अन’ मा उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएका थिए । साम हेजलेटको बलिङमा नरेनले इशानको प्रहारलाई एक हातले बाउन्ड्री बाहिरबाट हावामा समात्दै पुनः बाउन्ड्रीभित्रबाट क्याच लिएका थिए ।

    आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन थपे ।

    कप्तान दीपेन्द्रसिंह ऐरीले भने तीन रनमात्र बनाउन सके । बसिर अहमेदले गरेको १३.३ ओभरमा ऐरीलाई मर्चेन्ट डी लांगे र विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए ।

    विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए ।

    यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो ।

    लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

    आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ । यता, हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।