Blog

  • एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

    एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

    काठमाडौँ, मङ्सिर २९ 

    नेपाल कम्युनिष्ट पार्टी एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ ।

    निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।

    आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २ः३० देखि ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ ।

    यस्तै आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३ः१० देखि ५ः०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६ः०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ ।

    आयोगका अध्यक्ष डा सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ ।

    एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । रासस

     

  • आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर २९ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–एकादशी, ३९ घडी १६ पला, बेलुकी १० बजेर ३० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–चित्रा, १६ घडी १२ पला, दिउँसो १ बजेर १७ मिनेट उप्रान्त स्वाती । योग शोभन, २० घडी ५३ पला, दिउँसो ३ बजेर ९ मिनेट उप्रान्त अतिगण्ड । करण–बव, बिहान ९ बजेर ९ मिनेट उप्रान्त बालव, बेलुकी १० बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २५घडी ५२ पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाइ लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग ,शेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापार तथा शेयर बजारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम दुवै कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । बोलीको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । तर पनि लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कार्यक्षेत्रमा राम्रो काम गर्न नसक्दा मान सम्मानमा कमीको महसुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । धार्मिक तथा शैक्षिक यात्रा भए पनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् ।

    तपाईँको दिन शुभ रहोस् ।

  • लम्बिने भयो एमाले महाधिवेशन

    लम्बिने भयो एमाले महाधिवेशन

    काठमाडौँ, २८ मङ्सिर :
    नेकपा एमालेको ११औं महाधिवेशन लम्बिने भएको छ।

    मंसिर २७ गत‍ेदेखि २९ गतेसम्मका लागि तोकिएको एमालेको महाधिवेशन लम्बिने भएको हो।

    एमालेको बन्दसत्र आइतबार बिहानै सुरू हुने भनिएपनि दिउँसो सवा ३ बजेमात्रै सुरू भएको थियो। बन्दसत्र अघि केन्द्रीय कमिटीको बैठक बसेको थियो।

    यसअघिको १०औं महाधिवेशन जस्तै यसपटक पनि महाधिवेशन लम्बिने भएको हो।

    केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार पुस १ गतेमात्रै निर्वाचन तोकिएको छ। त्यस दिन बिहान ११ बजेदेखि ५ बजेसम्मको तालिका सार्वजनिक भएको हो। त्यसदिन विद्युतीय उपकरणबाट मतदान हुनेछ।

    उम्मेदवारको अन्तिम नामावली प्रकशनपछि सफ्टवेयरमा नाम सेट गर्न चार-पाँच घन्टा लाग्ने विगतको अनुभव छ।

  • चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

    चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

    चितवन, मंसिर २८-
    चितवनको भरतपुर–२७ पर्साढाप क्षेत्रमा युवाहरूको समूहले व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

    युवा अगुवा दिपेश काफ्लेको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

    ‘आफ्नो गाउँ आफैं सुन्दर बनाऔं’ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको काफ्लेले बताए।

    युवाहरूले यसअघि पनि सरसफाइ, वृक्षारोपण, सिविरजस्ता सामाजिक कार्यक्रम गर्दै आएका छन्।

    युवाहरूले आफ्नो जोश, जागर र शक्तिलाई सकारात्मक रूपमा प्रयोग गर्दै समाज रूपान्तरणमा निरन्तर अघि बढ्ने र आगामी पुस्तालाई पनि सामाजिक कार्यमा सहभागी हुन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • कालिकाको चापागौंडी देखि शेरबास जाने सडकको शिलान्यास

    कालिकाको चापागौंडी देखि शेरबास जाने सडकको शिलान्यास

    चितवन, मंसिर २८-
    चितवनको कालिका नगरपालिकाको रिङरोड भएको गैरीबारी, चापागौंडी देखि शेरबास जाने कालोपत्रे सडक र पक्कि नालाको कालिका वडा नं. ८ गैरीबारीमा शिलान्यास भएको छ ।

    कालिका नगरपालिका र बागमती प्रदेश सरकारको बजेटमा १ हजार ६ सय ५० मिटर कालोपत्रे सडक र २ हजार ६ सय ५० मिटर पक्कि नाला निर्माण कार्यको कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले शिलान्यास गरे ।

    नगर प्रमुख रेग्मीले विकास निर्माणको कार्यमा सबैलाई सघाउन आग्रह गरे । यो सडक निर्माणले बैकल्पिक सडक मार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एंव न्यूनीकरण कम गर्न, रणनैतिक हिसावले कालिका नगरपालिकाको आर्थिक रुपमा टेवा पु¥याउने बताए ।

    नगर प्रमुख रेग्मीले भने, “यसरी नै नगरले आगामी आर्थिक वर्ष भावि रुपमा कालिकाको शेरेबास सम्मै पुग्नेगरी यो बाटो जोड्ने लक्ष्य छ ।”

    सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुँने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटोहरु बिस्तारै बन्दै जाने उनको भनाई छ ।

    नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकको लागि पालिकाको रु १ करोड ८० लाख र प्रदेश सरकारको रु १ करोड २० लाख गरी ३ करोडको बजेट परेतापनि जीए.राम माता कंकालीनी जेबी चितवनसंग रु २ करोड ३ लाख ९० हजार रुपैँयामा ठेक्का समझौता भएको उनले बताए ।

    सो कम्पनिसंग २०८२ मंसिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते कार्य सम्पन्न गर्ने सम्झौता भएको इन्जिनियर खतिवडाले बताए ।

    नगरपालिकाले कालिका–८ गैरीबारी झरना जाने बाटोलाई पक्कि बाटोको रुपमा बिकाश गरेको छ ।

    शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, नगरका प्रवक्ता लक्ष्मण पौडेल, वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, वडा सदस्य, स्थानीयहरुको सहभागीता रहेको थियो ।

  • सरल नेपालको आयोजनामा पुष २८ गते ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ सम्पन्न गरिने

    सरल नेपालको आयोजनामा पुष २८ गते ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ सम्पन्न गरिने

    नवलपुर, २८ मङ्सिरः
    ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ को सम्पन्न पुष २८ गते, सोमबार गरिने भएको छ ।

    नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सरल नेपालको अध्यक्ष तथा कार्यक्रम संयोजक समिर लामिछानेले भने‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ ।’

    उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको १५ देखि २९ वर्षका युवाहरूमा नेतृत्व, संचार सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम युवा – मैत्री अभिव्यक्ति प्लेटफर्मका रूपमा अघि सारिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्दारा मूल्यांकन हुने छ ।

    त्यस्तै, उक्त कार्यक्रममा सहभागिताको लागि नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । उक्त प्रतियोगिता २ चरणमा सञ्चालन हुने छ, जहाँ पहिलो चरण पूर्ण रूपमा खुला रहने छ र कुनै विषयवस्तुमा पनि प्रतिबन्ध नहुने भएकाले सहभागीहरूले आफ्ना विचार, अनुभव र सिर्जनशीलतासहित प्रस्तुत हुन सक्नेछन् ।

    यस्तै, दोस्रो चरणमा छनोट हुनको लागि आयोजकले नेपालभरिबाट आएको भिडियोमार्फत उनीहरुको प्रस्तुतिको आधारमा टप २० प्रतियोगी दोस्रो चरणको लागि छनोट गर्ने छ, भने उनीहरुको लागि १२ दिनको समय रहने छ, उक्त समयमा आयोजकले उचित शिर्षक प्रदान गर्ने छ, त्यस शिर्षकमा भिडियो बनाएर पठाउनु पर्ने छ । प्रतियोगितामा छनोट भएका २० जनाले २०८२ साल पुस ८ गतेदेखि आफ्नो भिडियो पठाउनु पर्ने छ, भने आयोजकले उक्त भिडियोको लागि १५ दिनको समय दिने छौँ ।

    दोस्रो चरणमा छनोट भएका प्रतियोगीहरुको भिडियो Saral Nepal/सरल नेपाल को फेसबुक पेजमा अपलोड गर्ने र छनोट प्रक्रिया ५० प्रतिशत उनीहरुको लाइक, कमेन्ट र शेयरको आधारमा हुने छ, भने ५० प्रतिशत निर्णायक मण्डलको हातमा हुने छ । त्यस पश्चात आयोजकले केही दिनको अन्तारलमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताको नाम घोषणा गर्ने र प्रथम हुनेलाई ३० हजार रुपैयाँ, प्रमाण – पत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, प्रमाण – पत्र र मेडल तथा तेस्रो हुने लाई १० हजार रुपैयाँ, प्रमाण – पत्र र मेडलद्दारा पुरस्कृत गरिने छ ।

    उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकले आग्रह गरेको छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट तथा ह्याप्पी एफ.एम. र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् ।

    त्यसैगरी, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ), अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज, शिक्षा साझेदारको रूपमा लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारको रूपमा निप्पोन एजुकेशनल सेन्टर र फार्मेसी साझेदारको रूपमा एसियन फार्मेसी रहेका छन् ।

  • चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

    चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

    चितवन, मंसिर २६-
    समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा सम्मान गरिएको हो।

    अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगर बाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्ष बाट प्रदिप शर्मा, युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो। यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई, राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।

    कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ्ग र महिला उद्यमी वर्ष २०८२ बाट सिता गुरुङ्ग सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्डले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।

    अवार्ड वितरण भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं ३ का अध्यक्ष शिवकान्त वली, वडा नं ५ का अध्यक्ष सिताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ्ग, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मि उत्तम थापा,राप्ती प्याव्सनका अध्यक्ष दिपक सारु लगायतका विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो ।

    हाम्रो राप्ती एफ.एम. र बिशाल न्युज को आयोजनामा, राप्ती नगरपालिका र हेटौडा उपमहानगरपालिका को प्रवद्र्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

  • संसद् राजनीतिको केन्द्र भएकाले विचारको टकराव हुन्छः सभामुख घिमिरे

    संसद् राजनीतिको केन्द्र भएकाले विचारको टकराव हुन्छः सभामुख घिमिरे

    काठमाडौँ, २८ मङ्सिरः
    सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वाेच्च निकायको रूपमा रहेको विधायिकी संस्था भएको बताउनुभएको छ ।

    उन्नाइसौँ संसद् सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् सेवालाई बन्द सेवाका रूपमा राखिनुको आफ्नै तर्क र आवश्यकता छ । यसको फाइदा र बेफाइदा दुवैलाई वस्तुनिष्ठ रूपमा हेरिनुपर्छ ।

    संसद् सेवालाई केवल बन्द मात्र राख्ने होइन, यसलाई जीवन्त र गतिशील बनाउनुपर्ने आवश्यकता छ ।”

    संसदीय अभ्यासलाई विशिष्टीकृत मर्यादित र व्यावसायिक बनाउन विगत १९ वर्षअघि आजकै दिन छुट्टै ऐनमार्फत ‘स्वायत संसद्’ सेवाको गठन गरिएको थियो ।

    संसद्ले बनाएका कानुन कार्यान्वनमा सरकारको कामको नियमन गरी प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै सभामुख घिमिरेले यस सेवाका विशिष्टीकृत क्षमता राख्ने कर्मचारीले राजनीतिक उतारचढावका बीच आफ्नो व्यावसायिक धर्म र कर्तव्य पूरा गर्न सक्ने मान्यता राखिने धारणा व्यक्त गर्नुभयो ।

  • सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने

    सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने

    काठमाडौं, मंसिर २८-
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन्।

    उनलाई सिजनका लागि राजशाही वारियर्सले टोलीमा भित्र्याएको हो।

    वारियर्सले सन्दीपलाई भित्र्याएको सार्वजनिक गर्दै भनेको छ, ‘नेपालले खेल मात्र हेर्नेछैन, प्रतियोगिताको हिस्सा समेत हुनेछ।’

    सिजनको बिपिएल पुस ११ देखि हुँदैछ। ६ टोलीबीच हुने लिगको उदघाटन खेलमा सन्दीप आबद्ध राजशाहीले सिलेट टाइटन्ससँग खेल्दैछ।

    सन्दीपले आइसिसी टी-२० विश्वकपअघि बंगलादेशको फ्रेञ्चाइज लिग खेल्न लागेका हुन्।

  • एमाले ११ औँ महाधिवेशन : यस्तो चयन हुनेछ केन्द्रीय कमिटीको संरचना

    एमाले ११ औँ महाधिवेशन : यस्तो चयन हुनेछ केन्द्रीय कमिटीको संरचना

    काठमाडौँ, २८ मङ्सिर : 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ ।

    आज सुरु भएको बन्दसत्रमा पारित प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

    नयाँ  संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन्, यसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ। वरिष्ठ उपाध्यक्षको व्यवस्था अब रहने छैन् । प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै आठ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिनुभयो ।

    खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । उक्त कोटामा ७१ जना खुला, ५२ जना महिला र दुई जना युवा समावेश गरिएका छन् ।

    समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला आठ, युवा २), मधेसीबाट १९ जना (खुला ११, महिला छ, युवा दुई), दलितबाट १२ जना (खुल्ला सात, महिला चार, युवा एक), थारु समुदायबाट आठ जना (खुला पाँच, महिला तीन), मुस्लिम समुदायबाट पाँच जना (खुला चार, महिला एक)  प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना, श्रमिकबाट तीन जना (खुला दुई, महिला एक), अपाङ्गता भएका व्यक्तिबाट एक जना, पिछडिएको क्षेत्रबाट दुई जना (खुला एक, महिला एक) सम्पर्क समन्वय कमिटीबाट दुई जना (खुला एक, महिला एक) रहने छ ।