Category: गण्डकी प्रदेश

  • के हो क्यानभित्रको विवाद ?

    के हो क्यानभित्रको विवाद ?

    गण्डकी, १८ माघ –

    गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ ।

    बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो ।

    सो विषयले क्यानभित्र पनि फाटो ल्यायो । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापले नेपाली क्रिकेट बदनाम भएको भन्दै क्यान पदाधिकारीको राजीनामासमेतको माग उठ्यो । सात केन्द्रीय सदस्यले मङ्गलबार पोखरामा बसेको क्यानको बोर्ड बैठक नै बहिष्कार गरे ।

    क्यानको आफ्नै प्रतियोगितामा खेल मिलेमतो भएकाले यसको सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने असन्तुष्ट पक्षको माग छ । क्यानले लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर््स’लाई दिएको थियो ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने नेपाली क्रिकेटकै हित सोचेर भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । सोको निर्णय गर्दा बोर्डका सबै सदस्यको सहमति रहेको उहाँको भनाइ छ । “लिग सञ्चालन गर्दा भएका सामान्य प्रक्रियागत त्रुटिलाई लिएर राजीनामा नै माग गर्नु अनुचित छ”, उहाँले भन्नुभयो, “क्यानमा अनावश्यक विवाद सिर्जना गरी नेपाली क्रिकेटको भविष्यलाई अन्धकारतिर धकेल्ने नियतले एउटा पक्ष लागेको छ ।”

    अध्यक्ष चन्दले क्यानको विधानले तोकेबमोजिम सदस्यको दस्तखस्त लिएर आए आफू विशेष साधारणसभा डाक्न तयार रहेको उल्लेख गर्नुभयो । “बाहिर राजीनामा माग्दै हिँडेर केही हुँदैन, क्यान आफ्नो विधानले चल्छ”, उहाँले भन्नुभयो ।

    आउँदो फागुनमा साधारणसभा र जेठभित्र विशेष साधारणसभा गरी निर्वाचन गर्ने निर्णय बोर्ड बैठकबाट भइसकेकाले यो विषय उछाल्न आवश्यक नरहेको अध्यक्ष चन्दले बताउनुभयो । “लिगलाई किन यति नकारात्मक पाटोबाट मात्र हेरिँदैछ, नेपाली खेलाडीले १५ दिन खेलेर १५ लाख कमाउने वातावरण बनाएको क्यानले होइन ?”, उहाँले भन्नुभयो, “स्पट फिक्सिङमा संलग्न जोसुकै पदाधिकारी, खेलाडी वा कोही सदस्य भए पनि कारवाही हुन्छ ।”

    क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । सोबापत सेभेन थ्री स्पोर्टस्ले रु ३३ करोड दिने सम्झौता थियो । लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले समयमै पैसा नपाएको, अपारदर्शितालगायत विषयमा विवाद उत्पन्न भएको थियो ।

    स्पट फिक्सिङको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले क्यान र सेभेन थ्री स्पोर्टस् कम्पनीमाथि छानबिन गरिरहेको छ । खेल मिलेमतोको आरोपमा केही खेलाडीलाई पक्राउसमेत गरिएको छ । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापमा केन्द्रीय कार्यसम्पादन समिति जिम्मेवार रहेकाले राजीनामा माग गरिएको असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताउनुभयो ।

    लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरिएको र बोर्डलाई कुनै जानकारी नगराइएको उहाँको आरोप छ । नेतृत्व गैरजिम्मेवार बन्दा क्यान निलम्बनमा पर्ने देखिएकाले आफूहरू विरोधमा उत्रेको असन्तुष्ट पक्षको तर्क छ ।

    केन्द्रीय सदस्य गौतमले भन्नुभयो, “राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकालिएको छ । राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरिएको छ । क्यान निलम्बनको खतरामा छ ।”

    क्यानको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा नै नेपाली क्रिकेट बचाउने एक मात्र उपाय भएको उहाँको भनाइ छ ।

    “अहिले हामीले टी–२० लिग, क्यान र सेभेन थ्री स्पोर्टस्बीच भएको सम्झौताका बारेमा मात्र आवाज उठाएका छौँ । आगामी दिनमा क्यानका अन्य विषयसमेत विस्तारै बाहिर ल्याउँदै छौँ”, केन्द्रीय सदस्य गौतमले भन्नुभयो ।

    क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्यानको विवादले नेपाली क्रिकेटको विकासमा असर पुग्ने बताउनुभयो । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । “क्यानको विवादले नेपाली खेलकुद जगत्मा राम्रो सन्देश गएको छैन, यसको बेलैमा निरुपण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    क्यानको आसन्न चुनावलाई लिएर नेतृत्वको टकराव सिर्जना भएको कतिपयको बुझाइ छ । क्यानलाई कसले हातमा लिने भन्ने दाउले सिङ्गै नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने हो की भन्ने चिन्ता खेलप्रेमीमा छ ।

    विसं २०७६ असोजमा सम्पन्न भएको अधिवेशनबाट चार वर्षका लागि चन्द क्यानको नेतृत्वमा आउनुभएको थियो । उहाँले कार्यकाल सकिनुअगावै आउँदो जेठ मसान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।

  • जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार

    जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार

    लेखनाथ, ८ माघ –

    पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।

    दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उहाँहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडाँैबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।

    सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ ।

    तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए । डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत हुनुहुन्थ्यो । डा सोना पनि एमडी गर्दै हुनुहुन्थ्यो । डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको थियो ।

    शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए । मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत हुनुहुन्छ । परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन । घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाउनुभयो । सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा हुनुहुन्छ ।

    विभिन्न रोगसँग लड्दै आउनुभएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उहाँका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो ।

    परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडाँैबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो ।

    “आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उहाँकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ । सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, पालिखेले भन्नुभयो, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिन ।”
    –––

  • पोखरा विमान दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न पीडित परिवारको माग

    पोखरा विमान दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न पीडित परिवारको माग

    गण्डकी ,माघ ७ –

    पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् ।

    ‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरूसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन् ।

    दुर्घटनामा परी निधन भएका स्व एसबिन गुरुङका ठूलाबुवा काजीमान गुरुङले दुर्घटनाले निम्त्याएको शोकलाई शक्तिमा बदल्दै स्व आत्माहरूको शान्तिका लागि सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए । स्थानीय र संघीय सरकारले दुर्घटनास्थलमा स्मारक पार्क बनाउनुपर्ने उनको माग छ ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलका परिवारका प्रतिनिधि तथा नागरिक समितिका सदस्य खेमराज शर्माले दुर्घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन आग्रह गर्दै दुर्घटनामा पीडित परिवारलाई क्षतिपूर्तिको यथार्थ विवरण थाहा दिन सरकारसँग आग्रह गरे।

    भेलामा क्षेत्रगत प्रभावमा परेका अर्का समाजसेवी नागबेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनारायण शर्मा पौडेलले दुर्घटनापश्चात दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले उद्धारमा अवरोध पुगेकोमा दुःख व्यक्त गरे ।

    समाजले आगामी माघ १३ मा शोकसभा आयोजना गर्ने अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले बताए। समाजका सदस्य घनश्याम भण्डारीले १३औँ दिनमा स्वस्तिशान्ति, पूजापाठ गर्ने सबै तयारी गरिएको बताए।

  • पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो

    पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो

    गण्डकी, ३ माघ –
    पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ । गोताखोर परिचालन गरेर शवको खोजी कार्य गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डिएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।

    “हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको भएको परीक्षणमा देखिएमा ७२ शव पुग्छन्, नत्र बेपत्ताको खोजीकार्य जारी रहन्छ”, प्रहरी उपरीक्षक केसीले भन्नुभयो । दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ । तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ । अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ ।

    सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ । काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार दुर्घटनामा परेको थियो ।

  • २४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौंमा पोष्टमाटम गरिने

    २४ जनाको पोखरा र ४५ जनाको शव काठमाडौंमा पोष्टमाटम गरिने

    पोखरा । पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौं लग्ने निर्णय गरेको छ । शव पहिचान र परीक्षणका लागि विशेष टोलीको निर्णयअनुसार २४ जनाको शवको पोखरामै गरिने भएको हो ।

    आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान सेती खोँचमा खसेको थियो । दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ३४ जनाको सनाखत भएको भएपनि १० जनाको काठमाडौं लगेर पोष्टमाटम गरिने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    विदेशीहरूको शव पहिचान भएपनि पोखरामा गरेको नहुँदा काठमाडौं लैजानुपरेको भारतबाट शव लिन आइपुगेका एक आफन्तले बताए ।

    प्रतिष्ठानका अनुसार त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा। गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षण गरिने छ ।

  • हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

    हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

    काठमाडौं । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ ।

    क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार बिमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको हो ।

    दुर्घटनामा परेका यात्रुको बिमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । “बिमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बिमा गरेको हुन्छ । पुनर्बिमाबाट पैसा आएपछि बिमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बिमा रकम भुक्तानी हुन्छ,” उनले भने ।

    सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बिमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बिमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो राखेको उनको भनाइ छ ।

    “राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बिमा भुक्तानीबारे चासो राखेको थियो । बिमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ,” प्रवक्ता पौडेलले भने ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ ।

    आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चारजना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

  • प्रत्यक्षदर्शी भन्छन् : ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

    प्रत्यक्षदर्शी भन्छन् : ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

    लेखनाथ, १ माघ –

    “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो । जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो”, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजङ्ग गुरुङले भन्नुभयो, “आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइनँ ।”

    “जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकीसमेत ठूलो कालले बाच्यौँ भनेर घरभित्र पस्यौँ तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो”, उहाँले भन्नुभयो ।

    सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन् । शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश सेती खोँचमा नै खसेका छन् ।

    आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोँचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलबीचको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनास्थल नजिकै नयाँगाउँ निवासी विष्णुहरि सापकोटाले भन्नुभयो, “उत्तरतर्फको काहूँ डाँडातर्फबाट पुरानो विमानस्थलमा आज जहाज आयो भनियो । तर, जहाज पुरानो विमानस्थलबाट पश्चिम मोडेर नयाँ विमानस्थलमा लाने क्रममा एक्कासि ढलपल ढलपल हुँदै सेती नदीको खोँच डिलको बाँसको थानमा छुन पुग्यो । अनि ठूलो आवाजसहित भुईमा खस्यो । हामी दौडेर त्यहाँ पुग्दा आगोको मुस्लोसहित धुवाँ आइरहेको थियो”, उहाँले भन्नुभयो ।

    “दुर्घटनास्थलमा जान सक्ने अवस्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भए पनि सेती खोँचमा रहेको लास जलेको गन्ध आइतबार दिनभरि आइनै रहेको छ”, स्थानीय सापकोटाले भन्नुभयो । सेती खोँचको पूर्वी भागका एक दर्जन घर विमानचालकले बचाएर सेती खोँचमा खसालेको अनुमान स्थानीय प्रीती गुरुङ गर्नुहुन्छ ।

    अर्का प्रत्यक्षदर्शी स्थानीय मनिषा परियारले भन्नुभयो, “हामी त घाम तापेर बसिरहेका थियौँ, जहाज कोल्टे–कोल्टे हुँदै आयो, के भएछ भनेर हेरियो”, उहाँले भन्नुभयो, “त्यसको एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो, अनि त हामी झनै आत्तियौँ ।”

    विमान कोल्टे परेको दुईतीन मिनेटमै सेतीको खोँचमा ठोक्किएको उहाँले जानकारी दिनुभयो । विमान खोँचमा खसेकाले बस्ती जोगिएको उहाँको भनाइ थियो । “कोल्टे कोल्टे हुँदै वारि ठोकिएर पारि जोतिन पुग्यो, अनि आगो बल्न सुरु भइहाल्यो”, मनिषाले भन्नुभयो, “धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हाम्रो पनि बिचल्ली हुन्थ्यो ।”

    आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उहाँले बताउनुभयो । केही स्थानीयले प्रहरीलाई खबर गरे पनि जलिरहेको जहाज हेर्नुभन्दा अर्को उपाय नभएको उहाँको भनाइ थियो । “एकै छिनमा आगो बल्न सुरु भयो । हामीले बाल्टीमा पानी बोकेर त गयौँ तर त्यसले के हुन्थ्यो ?” उहाँले भन्नुभयो, “कसैले प्रहरीलाई फोन गर्न तिर लाग्यौँ । केही छिनमा बोरिङको ट्याङ्कर पनि आयो त्यसपछि दमकल, एम्बुलेन्स, प्रहरी, आर्मी सबै आए । अनि बल्ल हामीलाई बाँच्नेहरु बाँच्छन् कि भन्ने भयो ।”

    पोखराको सेती खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेकामध्ये ४ः३० बजेसम्म ६२ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

    दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।

    उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चारसदस्य थिए । जहाज खोँचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन् ।

  • गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

    गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

    काठमाडौं, पुष ३०-
    गण्डकी प्रदेशसभाले आज नयाँ सभामुख पाएको छ। माओवादी केन्द्रका कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित भएका छन्।

    कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गरेका धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन।

    धिताल गोरखा १ ९क०बाट निर्वाचित सदस्य हुन्। सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै भएको थियो।

    ६० सदस्य प्रदेश सभामा काँग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् । मतदानमा ५८ सांसद सहभागी थिए। धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदले मतदान गरेका थिए।

  • गण्डकीका मुख्यमन्त्रीलाई नगरसभामा आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि…

    गण्डकीका मुख्यमन्त्रीलाई नगरसभामा आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि…

    पोखरा, पुष २७-
    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि नगरसभामा तरंग ल्याएको छ । उनलाई पहिलो कार्यक्रममै आफ्नै कार्यकर्ताले कालो पट्टी देखाएका हुन् ।

    मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्ट म‌ंगलबार पोखरा महानगरको नगरसभामा सहभागी हुन पुगेका अधिकारीलाई एमाले तर्फकै दलित समुदायका जनप्रतिनिधिहरुले कालोपट्टी देखाएका हुन् । जसले नगरसभाभित्र तरंग ल्याएको हो ।

    महागरका एकजना वडाध्यक्षले आफ्नै वडा सदस्यलाई जातीय रुपमा विभेद गरेको आरोप छ । पोखरा २४ का अध्यक्ष भरत अधिकारीलाई जातीय विभेदको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

    सोही मुद्दालाई लिएर दलित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् ।

    त्यसको मारमा परे, मुख्यमन्त्री अधिकारी । मुख्यमन्त्रीले बोल्ने समयमा दलित समुदायका जनप्रतिनिधिले कालोपट्टी बाँधेर सम्बोधन गरेका हुन् । विरोध स्वरुप उठेका उनीहरुको नेतृत्व गरिरहेका दीपक घिमिरे विश्वकर्मालाई उपमेयर मन्जुदेवी गुरुङले बोल्न समय दिइन् । उनी सीधै रोष्ट्रममा पुगे र ध्यानाकर्षण पत्र बुझाए ।

    एक्कासि विरोध प्रदर्शन गरेपछि सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री अधिकारीले सम्वादबाट समस्या समाधान गर्न सकिने भन्दै विरोधलाई खासै वास्ता गरेनन् । उनले आफु पनि न्यायको पक्षमा रहेको प्रतिक्रिया दिए ।

    उद्घाटन समारोह सकिएपछि अदालती प्रक्रियामा प्रवेश भइसकेको विषयमा बखेडा झिकेर प्रमुख अतिथि माथि नै अपमान गरेको भन्दै कांग्रेसका जनप्रतिनिधिहरुले भने उक्त कार्यको विरोध गरेको छ ।

    कार्यसूचीमै नभएको विषय एमालेले झिकेको भन्दै उनीहरु बहिष्कार गरेर सभाबाट बाहिरिएपछि नगर सभा नै अनिश्चित कालका लागि स्थगित भएको छ ।

  • गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

    गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

    पोखरा पुस २५,
    गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ ।

    एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो ।

    गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ ।