Category: गण्डकी प्रदेश

  • पोखरामा आजदेखि ४ दिन दैनिक ५ घण्टा बिजुली बन्द हुने

    पोखरामा आजदेखि ४ दिन दैनिक ५ घण्टा बिजुली बन्द हुने

    कास्की पुस १८
    पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

    विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६:०० देखि ११:०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरू हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

    उनका अनुसार कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् ।

    यता, पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

    मेयर धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरेका छ्न् ।

  • माओवादी सांसदले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब

    माओवादी सांसदले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब

    पोखरा ९ असार
    नेकपा माओवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे किताब च्यातिदिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले रोष्ट्रमबाटै पुस्तक च्यातिदिएका हुन् ।

    उनी बजेट मार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै रुष्ट बने । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’

    जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस छ । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले भने । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट छन् ।

  • पोखरा-मुग्लिन सडक विस्तार : पश्चिमखण्डमा ४३ प्रतिशत भौतिक प्रगति

    पोखरा-मुग्लिन सडक विस्तार : पश्चिमखण्डमा ४३ प्रतिशत भौतिक प्रगति

    पोखरा फागुन २७
    पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ ।

    चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।

    पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनको भनाइ छ ।

    तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताए ।

    चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिए ।

    पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनगौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर नेपालले बताए ।

    वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

    कूल ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ ।

    गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताए । रासस

  • सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति

    सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति

    गण्डकी, मंसिर ११ –
    पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो ।

    निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असाजेदेखि पुल निर्माण सुरु गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ ।

    “तीनतिर टावरको काम सुरु भइसकेको छ, चालु आवभित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको छ”, इन्जिनियर नेपालले भन्नुभयो, “जग निर्माणमा समय बढी लाग्यो, अब टावरलगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ ।” उहाँका अनुसार हालको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्नेछन् ।

    एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्का लागेको हो । उक्त पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण थप बढ्ने आशा गरिएको छ । पुलको डिजाइन आकर्षक रहेको इन्जिनियर नेपालले बताउनुभयो ।

    निर्माणमा कुनै बाधा नआए आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने जनाइएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।  –  रासस

  • पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

    पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

    गण्डकी, मंसिर ९ –
    पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।

    आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो ।

    तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताउनुभयो । “तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ”, उहाँले भन्नुभयो ।

    चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिनुभयो ।

    वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताउनुभयो ।

    पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ ।

    चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा चार लेन र पाँच किमीमा दुई लेन सडक कालोपत्र भइसकेको बताउनुभयो ।

    एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा रु छ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा छ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ । – रासस

     

  • राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो

    राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो

    काठमाडौं, मङ्सिर ८ –
    नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको अवस्था चित्रित गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।

    अध्ययनअनुसार सो प्रदेशमा चार लाख लाख ३७ हजार नौ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ । त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र आठ दशमलव ३८ प्रतिशतले कमी आएको छ ।

    प्रमुख कृषि बालीको उत्पादनमा भने चार दशमलव ७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ । खाद्य तथा अन्य बालीको उत्पादनमा चार दशमलव ७१ प्रतिशत, तरकारी उत्पादनमा पाँच दशमलव ४४ प्रतिशत, फलफूल उत्पादनमा तीन दशमलव ८० प्रतिशत र मसला उत्पादनमा चार दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

    समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्पm दूधको उत्पादन तीन दशमलव ३८ प्रतिशत, अण्डाको उत्पादन १५ दशमलव २९ प्रतिशत र मासुको उत्पादन एक प्रतिशतले ह्रास आएको छभने माछाको उत्पादनमा चार दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

    वनजन्य उत्पादनतर्पm काठको उत्पादनमा २६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छभने दाउरा उत्पादनमा तीन दशमलव १४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव १४ प्रतिशत रहेको छ ।

    त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९।२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२ दशमलव चार प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छभने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ ।

    बैङ्क तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव ८८ प्रतिशत अर्थात् रु ३१ अर्ब एक करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या छ दशमलव एक प्रतिशतले वृद्धि भई ५५ हजार एक सय ४९ रहेको छ । त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४ दशमलव तीन प्रतिशतले वृद्धि भई ७३ हजार एक सय २६ रहको छभने होटलहरुको अकुपेन्सी ३० दशमलव ७३ प्रतिशत छ । जुन गत वर्ष २४ दशमलव ६१ प्रतिशत थियो ।

    आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार चार सय ८५ पटक उडान भएको छभने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७ दशमलव ८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४ दशमलव ५४ प्रतिशत थियो ।

    सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः तीन दशमलव ४० प्रतिशत र चार दशमलव १६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत दुई दशमलव ८२ प्रतिशतले कमी आएको छ ।

    समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई पाँच पाँच खर्ब ३४ अर्ब ४० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने एक दशमलव सात प्रतिशतले ह्रास भई तीन खर्ब ४९ अर्ब सात करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा नौ दशमलव ९० प्रतिशतले वृद्धि भई २३ अर्ब ७६ करोड पुगेको छ । – रासस

     

  • अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

    अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

    गण्डकी, मङ्सिर ४ –
    पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

    आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरे । “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उनले भने, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्छौँ ।”

    पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताए । आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन् ।

    शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामेरा पनि प्रयोग गर्न पाइँदैन । कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामेरा जफत गरिने उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताए ।

    अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो । आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ । मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख डा कडरियाले बताए ।

    पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न सुरु गरिएको उनको भनाइ छ । होटल व्यवस्थापन समिति, आमा समूहलगायत परिचालित गरेर फोहर व्यवस्थापनको काम अगाडि बढाइएको हो । पर्यटकीय क्षेत्रमा सङ्कलन भएको फोहरलाई पोखरामा ल्याइ प्रशोधन गर्ने योजना ‘एक्याप’ले बनाएको छ ।

    अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । “पर्यटकीयस्थलमा जथाभावी फोहर हुँदा राम्रो सन्देश नजाने हुँदा फोहर व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरिएको हो”, आयोजना प्रमुख डा कडरियाले भने ।

    सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् । – रासस

  • रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ: राजन गौतम

    रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ: राजन गौतम

    काठमाडौँ, असोज १-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावबाट सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी क्रियाशील रहेको जनाएको छ ।

    प्रदेशको तर्फबाट रिपोर्ट प्रस्तुत गर्दै सभापति राजन गौतमले आफू चुनाव नलड्न तयार रहेको तर लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर रहेको बताएका हुन् ।

    ‘एकपटक रवि लामिछाने प्रम बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ’, उनले भने । उनले तनहुँ र चितवन उपनिर्वाचनले पार्टीलाई हौस्याएपनि इलाम उपनिर्वाचनले संयमित बनाएको बताए ।

    गण्डकीको हकमा मनाङ र मुस्ताङमा सङ्गठन कमजोर रहेको उल्लेख गर्दै उनले प्रदेशमा पार्टी सञ्चालन गर्न पनि आर्थिक रुपमा सकस भइरहेको बताए । ‘प्रदेश सञ्चालन खर्च गाह्रो छ, केन्द्रबाट सहयोग छैन’, उनले भने ।

  • गण्डकी सरकारमा टुंगियो भागबण्डा, एमालेका केसी भौतिक पूर्वाधार मन्त्री

    गण्डकी सरकारमा टुंगियो भागबण्डा, एमालेका केसी भौतिक पूर्वाधार मन्त्री

    पोखरा, भदौ १७ –
    गण्डकीमा टुंगियो मन्त्रालय भागबण्डा, एमालेका केसीलाई भौतिक पूर्वाधार मन्त्रालय गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ।

    एमालेले पाउने ४ वटा मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाउने भएका छन्।

    केसी २०७४ सालमा मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एमालेमा प्रवेश गरेका थिए। एमाले नेता खगराज अधिकारीको जोडबलमा गण्डकीको समानुपातिक सांसद बनेका केसी खाद्य संस्थानका पूर्वअध्यक्ष हुन्।

    उनलाई मन्त्री बनाउने निर्णय गरेपछि एमालेका केही सांसद असन्तुष्ट छन्। आजीवन एमालेको राजनीति गरेर आएकालाई पाखा लगाएर केसीलाई शक्तिशाली मन्त्री बनाउनु गलत भएको उनीहरूको भनाइ छ।

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रदेशको ६० प्रतिशत बजेट रहेको छ। यसअघि उक्त मन्त्रालय राजीव गुरूङ ‘दीपक मनाङे’ले सम्हालेका थिए।

    मन्त्रालय भागबण्डा अनुसार अब मनाङेले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन्।

    कांग्रेस र एमालेबीच भएको भागबण्डा अनुसार एमालेबाट मन्त्री बनेका पद्मा जिसीलाई कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालय, कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।

    कांग्रेसबाट मन्त्री बनेका टकराज गुरूङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाएका छन्।

    यस्तै, बिन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा ऊर्जा, जलस्रात तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    एमालेका ४ जना मन्त्रीलाई सोमबार नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ।

  • गण्डकी प्रदेशमा खेतीयोग्य जमिन नासिँदै

    गण्डकी प्रदेशमा खेतीयोग्य जमिन नासिँदै

    गण्डकी, १५ असार :

    असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

    गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै झण्डै दोब्बर क्षेत्रफलमा रोपाइँ भएको उहाँको भनाइ छ । “अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिन्छ, बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ”, उहाँले भन्नुभयो, “अहिले रोपाइँका लागि मलको पनि अभाव छैन, वर्षात् पनि भइरहेकाले किसानलाई राहत पुगेको छ ।”

    निर्देशनालयले हरेक आइतबार रोपाइँको जिल्लागत तथ्याङ्क सङ्कलन गरेर केन्द्रमा पठाउने गरेको छ । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । निर्देशनालयका प्रमुख रेग्मीले धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको बताउनुभयो ।

    गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

    पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।

    गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । निर्देशनालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूलाठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा नासिँदै गएको छ ।