Category: गण्डकी प्रदेश

  • एमाले गण्डकी अध्यक्षमा नवराज शर्मासहितको प्यानल विजयी

    एमाले गण्डकी अध्यक्षमा नवराज शर्मासहितको प्यानल विजयी

    काठमाडौं, १९ असोज
    नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै शर्मासहितको प्यानल विजयी भएका हुन् ।

    उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी ५२० मतसहित विजयी भए ।

    ४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।

  • एमाले गण्डकी प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    एमाले गण्डकी प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    पोखरा असोज १५
    नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

    प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका एमालेले जनाएको छ । कास्कीको रूपा गाउँपालिकामा खुला प्रतिनिधिमा मतदानबाट प्रतिनिधि छनोट गर्नुपरेको थियो ।

    अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

    अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । गण्डकीमा ११ जिल्ला भए पनि चार जिल्लाले ५० प्रतिशतभन्दा बढी मत होल्ड गर्छन् । प्रदेश राजधानी रहेको कास्कीमा सबैभन्दा धेरै १४६ प्रतिनिधि छन् । स्याङ्जाबाट ११३ प्रतिनिधि आउँदा प्रदेशको सबैभन्दा सानो जिल्ला पर्वतबाट ११० र कान्छो जिल्ला नवलपुरबाट १०९ प्रतिनिधि छनोट भएका छन् ।

    यी चार जिल्लाका प्रतिनिधिको संख्या जोड्दा ४७८ हुन्छ । यो संख्या कुल मतदाता संख्याको झन्डै ५३ प्रतिशत मत हो । बाँकी जिल्लामध्ये गोरखाबाट ५३, बाग्लुङबाट ७२, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५ प्रतिनिधि छनोट भएका छन् । मनाङबाट १४ जना प्रतिनिधि छानिँदा म्याग्दीबाट ४२ जना र एमालेको जनसंगठनबाट ८६ प्रतिनिधि छनोट भएका छन् ।

    एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमितिका संयोजक रश्मि आचार्यका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिँदै छन् ।

    पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली हुने छ ।

  • एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै

    एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै

    गण्डकी, १४ असोज
    नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिनुभयो ।

    अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उहाँको भनाइ छ । “प्रतिनिधि छनोटलगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ”, उहाँले भन्नुभयो, “सोमबार अधिवेशनको उद्घाटन समारोह र मङ्गलबार बन्दसत्र हुन्छ ।”

    विभिन्न उपसमिति गठन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमाले गण्डकीले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको दिन नजिकिएसँगै नेतृत्वका आकाङ्क्षीको नाम चर्चामा आउन थालेको छ । अहिलेसम्म कसैले पनि आधिकारिकरूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

    प्रदेश अध्यक्षको आकाङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दबाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेत पनि प्रदेश अधिवेशनको प्रतिनिधिमा चुनिनुभएको छ ।

    केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वका लागि उम्मेदवारी दिनसक्ने चर्चा छ । अधिवेशनको सोमबार अमरसिंह चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र मङ्गलबार पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दबाडीले बताउनुभयो ।रासस

  • स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछी गण्डकी प्रदेशका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

    स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछी गण्डकी प्रदेशका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

    गण्डकी, ०८० असोज १० 
    मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

    चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ गण्डकीले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो ।

    गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताउनुभयो । आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् ।

  • यी भू–भागमा आज भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

    यी भू–भागमा आज भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

    काठमाडौं साउन २५,
    देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भारी वर्षाको समेत सम्भापवना रहेको छ ।

    आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै कोसी र मधेस प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    आज राति देशभर सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको सम्भावना रहेको विभागले जनाएको छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    नेपालमा अहिले मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

     

  • देवघाटमा ढुङ्गेधारा निर्माण

    देवघाटमा ढुङ्गेधारा निर्माण

    भरतपुर, ३ साउन-

    पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो ।

    बागमती प्रदेश सरकारको लगानीमा ढुङ्गेधारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९/८० को कार्यक्रमअन्तर्गत करिब रु २१ लाखको लागतमा ढुङ्गेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले हेटौँडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ ।

    ढुङ्गेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ । यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहजरुपमा पानी खान पाएका थिएनन् । “यो बाटो प्रयोग गर्ने बटुवा, मर्निङ वाकमा जाने स्थानीय र मलामीलाई खानेपानीको अभाव थियो, इन्जिनियर पौडेलले भन्नुभयो”, “ढुङ्गेधारा निर्माणपछि बाँदरलगायतका वन्यजन्तुले पनि पानी खान पाउनेछन् ।” आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीँ पनि पानीको व्यवस्था नभएका कारण ढुङ्गेधारा निर्माण गरिएको उहाँले बताउनुभयो । ढुङ्गेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन् । ढुङ्गेधारामा मूर्ति निर्माणलगायतका केही काम निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ढुङ्गेधारामा काठमाडौँबाट ढुङ्गा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन् । इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुङ्गेधारा हो ।

    खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमितरुपमा ढुङ्गेधारा निर्माणको कामलाई अघि बढाएको बताउनुभयो । उहाँले यो आवमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिने जानकारी दिनुभयो । कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताउनुभयो ।

    देवघाट क्षेत्रमा नियमितरुपमा मर्निङ वाक गर्दै अनुभएका युवा व्यवसायी चन्दन अग्रवालले ढुङ्गेधारा निर्माणपछि निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्रमा पानीको निकै समस्या थियो, ढुङ्गेधारा निर्माणपछि पानीको समस्या समाधानसँगै आकर्षकसमेत देखियो । उहाँले ढुङ्गेधाराले नेपालको परम्परा र संस्कृति जोगाउने भन्दै यसले देवघाटधाममा आउने भक्तजनलाई आनन्द प्रदान गर्ने बताउनुभयो । उहाँले सो क्षेत्रमा रहेका बाँदर र गाईलाई दैनिकरुपमा खानेकुरा दिँदै आउनुभएको छ । ढुङ्गेधाराले मानिससँगै वन्यजन्तुको प्यास मेट्ने उहाँले बताउनुभयो । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले ढुङ्गेधाराले देवघाटको सांस्कृतिक महत्वलाई थप टेवा प्रदान गरेको बताउनुभयो । रासस

  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    काठमाडाैं असार २१,

    मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

    बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिएको जनाएको छ ।

    भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
    हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

  • कास्कीसहित तीन जिल्लामा भारी वर्षा मापन

    कास्कीसहित तीन जिल्लामा भारी वर्षा मापन

    काठमाडौं असार ११,
    गोरखा, लमजुङ, कास्की आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ ।

    पछिल्लो एक घण्टा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कास्कीलगायत उक्त जिल्ला भइ बहने केही स–साना नदीमा आकस्मिक बाढी हुनसक्ने जनाएको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।

  • पोखरा महानगरको बजेट सात अर्ब १५ करोड

    पोखरा महानगरको बजेट सात अर्ब १५ करोड

    गण्डकी, १० असार-
    पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आज १३औँ नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले रु सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
    महानगरले पूर्वाधारतर्फ रु दुई अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ रु ७० करोड, आर्थिक विकासतर्फ रु १० करोड, सामाजिक विकासमा रु ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ रु ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा रु १४ करोड, सङ्घीय ससर्त अनुदानतर्फ रु दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ रु ८० लाख र सहरी विकास आयोजनामा रु आठ करोड ४० लाख ९१ हजार विनियोजन गरेको छ ।
    स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट रु दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट रु १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट रु दुई अर्ब २७ करोड ८७ लाख खर्च ब्यहोरिने उपप्रमुख गुरुङले जानकारी दिनुभयो । सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब एक करोड ७५ लाख स्रोत व्यवस्थापन गरिने भएको छ ।
    यस्तै, सङ्घीय सरकार सहरी विकास आयोजनाबाट रु आठ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने रु ४५ करोड ६८ लाख ६५ हजार चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट ब्यहोरिने जनाइएको छ । रासस
  • पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

    पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

    पोखरा (कास्की), ८ असार
    पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।

    नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् ।

    यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा प्रयोग गरिने बोट चीनबाट ल्याइएको हो । प्रतियोगिताका लागि चाहिने सामग्री पनि चीनबाट ल्याइएको थियो । उक्त सामग्री केरुङ नाका हुँदै भित्र्याइएको थियो ।

    बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका छन् । नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको हो । गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । – (रासस)