Category: गण्डकी प्रदेश

  • अनुदानले तोरीखेतीप्रति पोखराका किसानको आकर्षण बढ्दो

    अनुदानले तोरीखेतीप्रति पोखराका किसानको आकर्षण बढ्दो

    गण्डकी, १५ माघ
    हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो ।

    महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उहाँले बताउनुभयो । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।

    महानगरपालिकाले हिउँदे बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको भनाइ छ ।

    “तोरीखेती बढ्दा घरघरमा हुन तेल आयातलाई न्यूनीकरणमा मद्दत पुग्छ, अर्कातिर तोरीबारी मौरीका लागि पनि उत्तम चरन क्षेत्र हो, तोरीले प्रकृतिमा सुन्दरता पनि थपेको हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष हिउँदे वर्षा नभएकाले सुक्खा र पाखो जमिनमा लगाइएको तोरीबालीमा केही समस्या आए पनि सिँचाइको सुविधा भएको ठाउँमा तोरीखेती फस्टाएको छ ।”

    किसानले चितवन लोकल र लुम्ले जातको तोरीखेती गरिरहेका छन् । तोरीबालीमा कुनै रोगकिराको समस्या पनि नदेखिएको कृषि महाशाखाले जनाएको छ । उत्पादन पनि छिटो दिने र कम लागत लाग्ने भएकाले किसान तोरीखेतीमा आकर्षित भइरहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । कात्तिकमा लगाएको तोरी माघ/फागुनभित्रमा किसानले भित्र्याइसक्ने उहाँको भनाइ छ ।

    उहाँले कम्तीमा सय रोपनी जग्गा व्यवस्थापन गरेर समूहमा आउने किसानलाई थप अनुदान र प्रोत्साहन रकम उपलब्ध गराइने बताउनुभयो । “धानबाली भित्र्याएपछि बाँझै रहने खेत अहिले तोरीले पहेँलपुर देखिएका छन्, महानगरपालिकाको उद्देश्य पनि हिउँदमा जग्गा खाली नरहोस् भन्ने हो”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “तोरीखेतीका लागि सिँचाइमा किसानलाई सक्दो सहयोग गरिरहेका छौँ ।” -राष्ट्रिय समाचार समिति (रासस)

  • देवघाटमा ‘मिनी ट्रक’ दुर्घटना, दुई जनाको मृत्यु

    देवघाटमा ‘मिनी ट्रक’ दुर्घटना, दुई जनाको मृत्यु

    तनहुँ माघ ८,

    तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।

    दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक गएराति सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

    ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

  • पोखरामा लालपुर्जा महोत्सव हुने

    पोखरामा लालपुर्जा महोत्सव हुने

    पोखरा, १७ पुस
    आगामी पौष २४ देखि २९ गतेसम्म पोखरामा लालपुर्जा महोत्सव हुने भएको छ । ‘सेवा सम्पुर्णताको समन्वय नै लालपुर्जा पोखरा’मा भन्ने नाराका साथ लालपुर्जा पोखरा प्रालिले शान्तिनगर चोकमा महोत्सव गर्न लागेको हो ।

    महोत्सवमा घर-जग्गाको अवलोकनसंगै बीना कमिसन खरिद/विक्रीको सुविधा रहेको पोखरा लालपुर्जाका प्रमुख मनिष ढुङ्गानाले जानकारी दिए । उनका अनुसार पोखरा आसपासका विक्री तथा खरिदकर्तालाई एकै ठाँउमा प्राविधिकसहित राखेर परामर्श समेत दिइनेछ ।

    महोत्सवमा ३५ लाखमा पोखरा–३३ मा ५ आना १ पैसा जग्गा उपलब्ध रहेको, ६५ लाखमा लेकसाइडमा ५.१ पैसाको जग्गा, तनहुँको जामुनेमा हाइवेबाट दुई मिनेटमाको दुरीमा २२ लाखमा घडेरी उपलब्ध रहेको र उक्त जग्गा खरिद गर्न सकिने बताइएको छ । साथै, पोखरामा अन्य आकर्षक घडेरीहरु समेत विक्रीमा रहेको छ ।

    महोत्सवमा जग्गाको अवलोकन र कारोबार गर्न सकिने ढुङ्गानाले जानकारी दिए । उनले केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार यस महोत्सवमार्फत् चलायमान बनाउने उद्धेश्य राखेको बताए । प्रमुख ढुंगाना मेलामा आएपछि दलालबाट ठगिनुपर्ने बाध्यता नहुने र सीधै सम्बन्धित व्यक्तिहरुलाई भेट्न सकिने सुविधा रहेको उनले बताए । जग्गा खरिद विक्रीका लागि विभिन्न ठाउँमा भौँतारिनुपर्ने समस्या महोत्सवबाट समाधान हुने उनको भनाई छ ।

  • बेनी-जोमसोम-कोरला सडक : ६ पुल निर्माण अन्तिम चरणमा

    बेनी-जोमसोम-कोरला सडक : ६ पुल निर्माण अन्तिम चरणमा

    म्याग्दी पुस ११,

    गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएका छन् ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

    आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिए । ‘९५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्,’ उनले भने, ‘पहुँच मार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।’

    बेनी-जोमसोम-कोरला आयोजनाले पाँच पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    रघुगङ्गा-१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो ।

    थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो ।

    २० मिटर लामो लोमान्थाङ पुलको लागत चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत छ करोड ८५ लाख हो ।

    पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए। योजनामार्फत १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण सकिएका छन् ।

    म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

    पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ ।

    छुसाङको मुस्ताङ गेटस्थित काली गण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित काली गण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

    म्याग्दीको अन्नपूर्ण–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने काली गण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सातवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।

    पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुईलेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

    छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु

    पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु

    गण्डकी, १० पुस
    कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ ।

    बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनापछि कारचालक फरार छन् । निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • एमालेको सङ्कल्प यात्रा आज पोखरामा

    एमालेको सङ्कल्प यात्रा आज पोखरामा

    कास्की, २२ मङ्सिर
    नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

    एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गर्नुभएको हो ।

    यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् ।

    अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गर्नुभयो । पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सङ्कल्प यात्रामा हुनुहुन्छ ।

    पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।

    एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो ।

    सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताउनुभएको थियो । उहाँले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताउनुभयो ।

  • सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

    सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

    गण्डकी, ११ मङ्सिर
    पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

    ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गर्नुभयो ।

    “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।”

    कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताउनुभयो ।रासस

  • नेपालगञ्जको जमुनाह नाकाहुँदै पोखरा लगियो  ७ वटा मुर्रा राँगा

    नेपालगञ्जको जमुनाह नाकाहुँदै पोखरा लगियो ७ वटा मुर्रा राँगा

    पोखरा मंसिर,९
    भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ ।

    नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।

    भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।

    ‘यहाँ ल्याइएका राँगालाई पहिलो चरणमा २१ दिन क्वारेन्टिनमा राखेर त्यसपछिमात्रै विर्य संकलनका लागि तयार हुनेछन्,’ उनले भने ।

    गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल(भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

    नेपाल(भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा बुधबार नेपाल भित्रिएका हुन् । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ ।

    भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।

    पोखरामा पहिल्यै थिए मुर्रा राँगो

    कार्यालय प्रमुख पाण्डेयका अनुसार शुक्रबार राति आएका मुर्रा प्रजाति पोखराका लागि नयाँ भने होइनन् । यसअघि नै पोखरामा ९ वटा मुर्रा राँगा छन् ।

    ‘तर, सरकारी तवरबाटै पहल गरेर आएको पहिलो पटक हो,’ पाण्डेयले भने, ‘पहिले पहिले व्यक्तिगत वा संस्थागत रुपमा आग्रह गरेर ल्याइएका मुर्रा हुन् ।’

    पाण्डेयका अनुसार हालै आएका मुर्रा राँगा भने अघिल्लाभन्दा पनि बढी उत्पादन क्षमताका हुन् । ‘पहिले हामीसँग भएका पनि मुर्रा नै हुन् । तर, ती अहिलेको भन्दा कम उत्पादन क्षमताका हुन् । अहिलेको ३ हजारदेखि ४५ सय लिटरसम्म दूध दिने क्षमताका मुर्रा सन्तान हुन् ।’

    यसअघि पनि यही उन्नत जातको मुर्रा पोखरा ल्याउन पटकपटक प्रयास गर्दा पनि असफल भएको पाण्डेयको दाबी छ । उनले पटकपटक टेन्डर गर्दा पनि रद्द भएको र नेपाल सरकारबाटै पहल भए पछि बल्ल प्राप्त गर्न सकेको बताए । ‘हामी आफैं इन्डिया गएर प्राविधिक चेकजाँच गरेका छौं । यसपटक भने सफल भयौं,’ उनले भने ।

    केही समयअघि पोखरामा कोरियन उन्नत जातका साँढे पोखरा ल्याइएको थियो । कोरियाबाट ल्याइएका उन्नत जातका १५ वटा गाईमा ६ वटा बाच्छा छन् भने ९ वटा बाच्छी छन् । तिनीहरु हुर्किँदैछन्,’ पाण्डेयले भने ।

    कार्यालयका अनुसार हाल राष्ट्रिय प्रजनन् केन्द्र पोखरामा ६० वटा उन्नत जातका राँगा तथा साँढे छन् । तर, ती सबै उत्पादनका लागि तयार भइसकेका छैनन् । ‘धेरै त साना छन्, तिनीहरु हुर्किनै समय लाग्छ । विस्तारै तिनीहरु पनि विर्य संकलनका लागि तयार हुँदैछन्,’ डा पाण्डेयले भने ।

    पोखरामा वार्षिक २० हजारभन्दा बढी हुन्छ कृत्रिम गर्भाधान

    हाल नेपालका ७० जिल्लामा कृत्रिम पशु गर्भाधान सेवा उपलब्ध हुँदै आएको छ । ती जिल्लाबाट वार्षिक करिब ९ लाख संख्यामा कृत्रिम गर्भाधान हुँदै आएको छ ।

    राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा प्रमुख डा पाण्डेयका अनुसार पोखराबाटमात्रै वार्षिक २० हजारभन्दा धेरैको संख्यामा कृत्रिम गर्भाधान सेवा दिइँदै आइएको छ । ‘कृत्रिम गर्भाधान गराउनेभरिमा पोखरा टप १० भित्रै पर्छ । त्यसो हुँदा यहाँबाटमात्रै वार्षिक ६ लाख १३ हजार डोज विर्य वितरण हुन्छ,’ उनले भने । उनले नेपालभर वार्षिक साढे ९ लाखको हाराहारीमा विर्य डोज वितरण हुँदै आएको जानकारी दिए ।

  • तनहुँमा डेङ्गु : गण्डकी प्रदेशमै सबैभन्दा बढी

    तनहुँमा डेङ्गु : गण्डकी प्रदेशमै सबैभन्दा बढी

    तनहुँ, २८ असोज
    तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ । त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन् । निर्देशनालयका अनुसार तनहुँमा पाँच हजार दुई सय ४२, कास्कीमा एक हजार पाँच सय ४४, गोरखामा पाँच सय ७४, म्याग्दीमा ९२, मनाङमा छ, बागलुङमा एक सय ७६, नवलपुरमा एक सय १०, स्याङ्जामा ५७, पर्वतमा छ, लमजुङमा एक सय ३९ सङ्क्रमित भएका छन् ।

    डेङ्गुबाट प्रदेशभर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका पाँच र स्याङ्जाका दुई जना रहेका निर्देशनालयले जनाएको छ ।

    तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यासमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ ।

    आँबुखैरेनीमा ३९, ऋषिङमा एक सय २९, घिरिङमा आठ, देवघाटमा सात, बन्दीपुरमा ३२ र म्याग्दे गाउँपालिकामा ६७ जना तथा भानु नगरपालिकामा ७१, भिमादमा एक सय २६, र शुक्लागण्डकीमा दुई सय २१ सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेको अधिकारीले जानकारी दिनुभयो ।

    सबैभन्दा बढी सङ्क्रमित रहेको व्यास नगरपालिकाको वडा नं १ मा एक हजार २६, २ मा एक हजार एक सय ७५, ३ मा पाँच सय २७, ४ मा छ सय ८०, ५ मा सय एक सय ९०, ६ मा ६३, ७ मा ५४, ८ मा १४, ९ मा ४१, १० मा एक सय ३८, ११ मा एक सय १५, १२ मा ४७, १३ मा ६५ र १४ मा ३० जनामा सङ्क्रमण भएको छ ।

    जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ । डेङ्गु सङ्क्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ ।

    डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई ‘खोज र नष्ट’अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्याका प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु ज्वरोबाट बच्न र सतर्कता अपनाउन सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गरी दैनिक सम्पर्क गर्ने गरिएको छ । सचेतनामूलक कार्यक्रमलाई पनि सँगै अगाडी बढाइएको छ ।”

    अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ । स्थानीय अस्पतालहरूको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुनसक्ने भएमा वा विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी प्रेषण गर्न सबै अस्पताललाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

    “एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन्”, अधिकारीले भन्नुभयो ।

    दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका उहाँले जानकारी दिनुभयो ।(रासस)

  • तालचोक–बेगनास सडक अब चार लेन

    तालचोक–बेगनास सडक अब चार लेन

    गण्डकी, २६ असोज
    पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।

    “ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो”, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भन्नुभयो, “सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।”

    विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उहाँले बताउनुभयो । तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले बताउनुभयो ।

    “रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्दैछ ।”

    सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा तीन पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर कोइरालाले बताउनुभयो । दसैँअघि मार्ग खुलेर पनि सडक स्तरीय नहुँदा सो क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।

    सो सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तालचोक–बेगनास सडक स्तरोन्नति महानगरकै गौरव गर्न लायक योजना रहेको सुनाउनुभयो ।

    “विस्तारै कामले गति लिइरहेको छ, केही ठाउँमा जग्गाको मादपण्डबारे स्थानीयले उठाएको मागका विषयमा पनि अध्ययन गर्न समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “समयमै काम सक्न दातृ निकाय र निर्माण कम्पनीलाई सबैको सकारात्मक सहयोग चाहिन्छ ।”

    निर्माण कम्पनीले काममा कुनै बाधा नआए तोकिएको समयभित्रै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताउनुभयो । “परामर्शदाता कम्पनी पनि काममा कुनै ढिलाइ नहोस् भन्नेमा सचेत देखिन्छ, जनप्रतिनिधिलाई पनि झक्झाइरहनुभएको छ”, उहाँले भन्नुभयो ।

    वडाध्यक्ष गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताउनुभयो । तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ ।

    कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताउनुभयो । निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उहाँले बताउनुभयो ।

    मुख्य पर्यटकीय याममै बेगनास क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या घटेको जनाइएको छ । “चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ”, पाण्डेले भन्नुभयो, “सडक निर्माणमा ढिलासुस्ती हुन दिनु हुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ ।” रासस