Category: पत्रपत्रिका

  • नारायणगढ–मुग्लिन सडकको विकल्पमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

    नारायणगढ–मुग्लिन सडकको विकल्पमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

    – शालिग्राम नेपाल
    चितवन, माघ २५-
    मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ। यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो। निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको व्यवस्थापक घिमिरेले बताउनुभयो। अहिले नयाँ निर्माण भएको ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य धमाधम भइराखेको उहाँले जानकारी दिनुभयो। “३५ किलोमिटरमध्ये पाँच किलोमिटर जतिमा पहिरोको जोखिम हुने भएकाले त्यस स्थानमा कालोपत्रे कार्य बाँकी राखिएको छ,” घिमिरेले भन्नुभयो, “पहिरोको जोखिमलाई समाधान गरेपछि त्यहाँ कालोपत्रे गरिन्छ, अन्य स्थानमा अहिले कालोपत्रेको कार्य भइराखेको छ।” २० किलोमिटर क्षेत्रमा कालोपत्रे भएर ट्राफिक चिह्नसमेत निर्माण भएका छन्। उहाँले भन्नुभयो, “अब यो सडक भएर यात्रा गर्न सकिन्छ।”

    ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत प्रदेश सरकारको लगानीमा यो सडक निर्माण भएको हो। कार्यालयका अनुसार २०७५ फागुनमा ८७ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो। कोभिड–१९, सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले पाँच पटक म्याद थपिएर अहिले सम्पन्न हुने तयारीमा रहेको आयोजनाका व्यवस्थापक घिमिरेले जानकारी दिनुभयो।

    सोनाक्षी आशिष निर्माण कम्पनीले ठेक्का लिएको सडकको तीन स्थानमा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा अहिले वैकल्पिक मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन भइराखेको निर्माण कम्पनीका इन्जिनियर सञ्जय महतोले जानकारी दिनुभयो। सडक निर्माणको मात्र ठेक्का लिएको कम्पनीले शक्तिखोलादेखि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्मको १० किलोमिटर क्षेत्रमा अहिले कालोपत्रेको काम भइराखेको महतोले बताउनुभयो। “अन्य स्थानमा कालोपत्रे भइसकेको छ,” उहाँले भन्नुभयो, “बीच भागको १० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बेस तयारी अवस्थामा राखेका छौँ, दुई हप्ताभित्र काम सकिन्छ।”

    निर्माण सामग्री र अन्य कुनै विषयले अवरोध भएको छैन। त्यसैले फागुन १५ गते अगाडि नै काम सम्पन्न हुने गरी तयारी अवस्थामा रहेको इन्जिनियर महतोले बताउनुभयो। कालोपत्रे सकिएपछि सडक चिह्न र बिग्रेको स्थानमा मर्मत गरिनेछ। अबको दुई हप्तामा यो सडक भएर सवारीसाधनले यात्रा गर्न सक्नेछन्। यस सडकको रिद्धि र शक्तिखोलामा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा पनि पुलको ठेक्का लागिसकेको छ।

    पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ। मुग्लिनको सडकमा पहिरो आएर बाटो बन्द भएको अवस्थामा अब साना सवारीसाधन तथा बस यही सडक भएर सञ्चालन गर्न सकिने आयोजनाले जानकारी दिएको छ। “ठूला सवारीसाधनबाहेक अन्य साधन सञ्चालन गर्न समस्या हुँदैन,” ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक घिमिरेले भन्नुभयो। सडक निर्माणपछि यस क्षेत्रका स्थानीयको आर्थिक अवस्था माथि उकासिने इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले बताउनुभयो। उहाँका अनुसार चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीको अवलोकन गर्न आउने पर्यटकका लागि सहज हुनेछ। यस क्षेत्रमा उत्पादन भएको कृषि उपजले बजार पाउने भएकाले यो सडकको धेरै महत्त्व रहेको प्रमुख गुरुङले बताउनुभयो।

    दुई पालिका जोड्ने मात्र नभएर राजधानी काठमाडौँ जान अर्को वैकल्पिक सडकका रूपमा विकास भएकाले यसको महत्त्व ठूलो भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो। आन्तरिक पर्यटक तथा पहाडी यात्रा गर्न चाहने सडकको ट्र्याक सञ्चालनमा आएदेखि नै हिँड्न थालेका थिए। पूर्वी चितवनबाट काठमाडौँ जान साना तथा मझौला सवारीसाधनका लागि यो सडक उपयोगी हुने भएको छ। – गोरखापत्र दैनिकका लागि चितवनबाट शालिग्राम नेपालले तयार पारेको यो समाचार सामग्री हामीले यहाँ जस्ताको तस्तै साभार गरेका हौं ।

  • रबि लामिछानेका कारण विवादमा रास्वपा

    रबि लामिछानेका कारण विवादमा रास्वपा

    काठमाडौं माघ २०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

    कुरुक्षेत्रको युद्धमा कौरव पक्षका प्रधानसेनापति द्रोणाचार्यले पाण्डव पक्षलाई कमजोर पार्न चक्रव्यूहको रचना गरेका थिए। उक्त चक्रव्यूहभित्र पस्ने र छिचोल्ने सामथ्र्य पाण्डव पक्षतर्फ अर्जुनमा मात्र थियो। यसकारण अर्जुनलाई अल्झाएर टाढा पुर्‍याइयो। अर्जुनपुत्र अभिमन्यु चक्रव्यूहभित्र छिर्न त सक्थे तर बाहिर निस्कने सीप उनमा थिएन। यही कमजोरीमा कौरव पक्षको समस्त महारथीले अभिमन्युलाई घेराबन्दीमा हालेर हत्या गरेका कथा महाभारतमा पाइन्छ।

    रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन्। तर आफूलाई कसले घेराबन्दीमा हाल्यो? त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन्। उनी पछिल्ला केही दिनयता आलोचनाको केन्द्रमा छन्। आफ्नै पार्टीभित्रबाट आलोचना हुन थालेपछि सम्भवतः उनको यस्तो अभिव्यक्ति आएको हुनसक्छ। लामिछानको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि रास्वपा पनि विवादको भुमरीमा परेको छ। पार्टीका नेताहरू ‘अब के गर्ने ?’ भन्ने विषयमा तीन समूहमा विभक्त भएका छन्। नेतृत्वका विषयमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन्। सर्वोच्च अदालतको फैसलाले गुमेको उपप्रधान तथा गृहमन्त्री पद पाउन लामिछानेले गरेको दौडधुप र त्यसले सिर्जना गरेको राजनीतिक तरंग नै अहिले रास्वपाभित्र विवादको मूल कारण बनेको छ। लामिछानेले लिएको राहदानी पनि विवादमा परेको छ।

    अध्यागमन ऐन उल्लंघनलगायत उनका आधा दर्जन गल्ती सञ्चारमाध्यममा आएका छन्। कम्तीमा नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ र राहदानी छानबिन नसकिएसम्म लामिछानेलाई पुरानो जिम्मेवारीसहित सरकारमा नफर्काउने अडान प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन्।

    लामिछानेलाई पुरानै जिम्मेबारीसहित सरकारमा ल्याउनुपर्ने र ल्याउन नहुने विषयलाई लिएर ६ दिनदेखि सत्ता गठबन्धनभित्र गलफत्ती चलेको छ। लामिछानेले सरकारमा पुरानै हैसियत पाउन सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन जुटाएर प्रधानमन्त्री दाहालमाथि लगातार दबाब दिएका छन्। उनले सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबाट पनि प्रधानमन्त्री दाहालमाथि दबाब दिए। यसक्रममा लामिछानेले दर्जनौंपटक बालकोट (एमाले अध्यक्ष ओली निवास) र बालुवाटार (प्रधानमन्त्री दाहालको सरकारी निवास) मा दौडधुप गरिरहे। आफूले गृह मन्त्रालय नपाए सरकार छाड्ने धम्की पनि उनले दिइरहेका छन्। तर प्रधानमन्त्री दाहाल अहिलेसम्म आफ्नो अडानबाट टसमस भएका छैनन्। यसमा दाहाललाई उनको पार्टी नेकपा माओवादी केन्द्रले साथ दिएको छ।

    झन्डै ‘एक व्यक्ति पार्टी’ जस्तो देखिएको रास्वपामा सुरूवाती दिनमा लामिछानेको आलोचना गर्ने साहस कसैले जुटाउन सकेका थिएनन्। पछिल्ला केही दिनयता लामिछानेका कारण पार्टीको सार्वजनिक छविमा असर पुग्न थालेको भन्दै असन्तुष्टि प्रकट हुन थालेको छ। केन्द्रीय सदस्य अरनिको पाँडेले ट्विटमा आफ्नो असन्तुष्टि पोखेका छन्। गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने र त्यो लिन सबै जुट्नुपर्ने बताउँदै उनले गृह मन्त्रालयमा लामिछानेको विकल्प खोज्नुपर्ने आशय व्यक्त गरेका छन्। ‘अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादविहीन, अनि पार्टी र देशको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला ?’ मंगलबारको उनको ट्विटमा उल्लेख छ।

    पाँडेजस्तै अर्का केन्द्रीय सदस्य गणेश कार्कीले पनि बुधबार रास्वपालाई प्रधानमन्त्री दाहालले विधि र नैतिकताको पाठ सिकाउने र एमाले अध्यक्ष ओलीले समर्थन र सद्भाव देखाउनुपर्ने अवस्था आएको भन्दै व्यंग्य गरेका छन्। उनले लेखेका छन्, ‘यस्ता दिनको हामीलाई अपेक्षा थिएन। यस्ता दिन हामीले चाहेकै थिएनौं। तर भोगिरहेका छौं।’ राजनीतिक रूपमा रास्वपाबाट नै केही गल्ती भएको र केही हुन लागेको टिप्पणी उनले गरेका छन्। रास्वपाले संघीय प्रतिनिधिसभामा २० सिट जितेको अवस्थामा पनि सुरूमै उदाहरण बन्नबाट चुकेको टिप्पणी कार्कीले गरेका छन्। सुरूमा सिकेर सहज ढंगबाट सरकारका राम्रा कामको समर्थन र खराब कामविरुद्ध चनाखोपूर्ण र रचनात्मक प्रतिक्रिया जनाए पुग्नेमा सरकारमा गएका विषयमन उनले असन्तुष्टि पोखेका छन्।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?

    फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?

    काठमाडौं माघ १५

    निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थाल्ने भएका छन् ।
    अहिले सर्वोच्चले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ ।

    सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै उनले नागरिकता पुनप्र्राप्ति प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासन स्रोतले बतायो । सम्भवतः उनी एक दुई दिनभित्रै नागरिकता पुनप्र्राप्ति प्रक्रियामा आउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले राजधानीलाई बताए । लामिछानले पनि आफ्ना कानुनी सल्लाहकारसँग यस विषयमा छलफल गरिरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

    रविले सबैभन्दा पहिला नागरिकता पुनप्र्राप्ति थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी वैध ठहरिन सक्छन् । त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ भने चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै समस्या पर्दैन ।

    लामिछानले अहिले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थालेर नागरिकता पाएमा उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आउनुपर्नेछ । रविलाई चितवन–२ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न झनै सहज हुने उनी निकटस्थको दावी छ ।

    नागरिकता लिएपछि फेरी गृहमन्त्री

    रविका निकटस्थका अनुसार सर्वोच्च अदालतको फैसलासँगै नागरिकता पुनप्र्राप्ति र त्यसलगत्तै उनी पुनः गृहमन्त्रीमा नियुक्त हुने सम्भावना छ ।

    नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ ।

    सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक रहेको जनाइएको छ ।

    हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफंैले राखेका छन् । अन्यलाई गृहको जिम्मेवारी नदिनु ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ तयारी भएको हुनसक्ने गृह स्रोतको दाबी छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • एमालेसँग दुरी बढाउने माओवादी संकेत’

    एमालेसँग दुरी बढाउने माओवादी संकेत’

    काठमाडौं माघ १५

    प्रधानमन्त्री नियुक्तिदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। पूर्वसहमतिअनुसार एमालेले उठाउने उम्मेदवारलाई वर्तमान सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहने एमाले अध्यक्ष केपी ओलीले दोहोर्‍याउँदै आएका छन्।

    एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि कांग्रेसको समेत विश्वासको मत पाएका दाहालले परिस्थिति फेरिएको भन्दै दलीय सहमतिको प्रस्तावलाई अघि बढाएका छन्। माघ ३ गते सर्वदलीय बैठक राखेर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि सारेका दाहालले पार्टीको जारी स्थायी कमिटी बैठकमा पनि सोही विषय दोहो¥याएका छन्। एमालेसँग दुरी बढाउने र कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा दाहाल रहेको निकट एक नेताको दाबी छ।

    माओवादीको जारी स्थायी कमिटी बैठकले नयाँ राष्ट्रपति निर्वाचनमा पूर्वसमझदारीअनुसार एमाले उम्मेदवारलाई समर्थन गर्ने कि तोडेर अर्को समीकरण बनाउने भन्ने निर्णय गरिसकेको छैन। माओवादी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति बनाउनुपर्छ भन्ने पार्टी नीति रहेको बताए। ‘राष्ट्रपति साझा र राष्ट्रिय एकताको प्रतीक भएकाले यसमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्ने पार्टी नीति छ,’ शुक्रबारको बैठकपछि महराले भने, ‘एमाले वा अर्को उम्मेदवारलाई समर्थन गर्ने भन्ने नभएर सहमति बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो।’

    गणतन्त्र कार्यान्वयनपछिका दुवै राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको माओवादी बुझाइ छ। पहिलो राष्ट्रपति रामवरण यादवले सेनापति प्रकरणमा दोहोरो शासनको अभ्यास गरेर मन्त्रिपरिषद्को निर्णयलाई नमानेको माओवादीका नेताहरूको बुझाइ छ। त्यस्तै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दलविशेष र अझ गुटविशेषको हितमा काम गरेको आरोप लगाउँदै दाहालनिकट एक नेताले भने, ‘एमाले, कांग्रेस वा कुनै दलविशेषले जे भन्यो त्यही मान्ने होइन। विधि र विवेकको प्रयोग गर्ने र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाउनुपर्छ भन्ने हो।’

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

    राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

    काठमाडौं माघ १३

    नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

    माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए। ‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘सभामुख गइसक्यो, राष्ट्रपति पनि एमालेको हुने र दुई वर्षपछि प्रधानमन्त्री पनि ओली (केपी ओली) जी नै हुने। त्यसपछि के होला ? त्यसैले हामीले अहिल्यै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले बैठकमा भोलिको शक्ति सन्तुलनबारे कुरा उठाएको स्थायी कमिटीका अर्का सदस्य राम कार्कीले बताए। नागरिकसँग कार्कीले भने, ‘बैठकमा विगतको गठबन्धन टुट्नुका कारण, वर्तमान गठबन्धन बन्नुका कारण र भविष्यको राजनीतिक सम्भावनाबारे अध्यक्ष कमरेडले कुरा राख्नुभयो।’ कांग्रेसले सहमति पालन नगर्दा पुरानो गठबन्धन टुटाएर नयाँ बनाउनुपरेको कुरा दाहालले बैठकमा राखेका थिए।

    नयाँ गठबन्धन पनि सहज नभएको दाहालले बताएका थिए। ‘नयाँ गठबन्धन पनि स्वाभाविक रूपमा दसतिर फर्किएका दलहरूको छ। खँदिलो भइसकेको छैन। यसमा चुनौतीसँगै अवसर पनि छन् भन्ने कुरा अध्यक्षले राख्नुभयो,’ कार्कीले भने, ‘लोकतन्त्रका सबैजसो पिलर सभामुख, प्रधानमन्त्री, राष्ट्रपति र न्यायालयमा एकै पार्टीको उपस्थितिभन्दा पनि सबैको शक्ति सन्तुलन हुनुपर्नेतर्फ उहाँको विशेष चासो र चिन्ता छ।’

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • प्रोटोकल मिचेर आइसियुमा स्वास्थ्य राज्यमन्त्री

    प्रोटोकल मिचेर आइसियुमा स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं माघ १२

    संघीय संसद् भवन नयाँ बानेश्वरअघि मंगलबार दिउँसो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पतालमा लगियो। अस्पताल लगेलगत्तै बर्न वार्डको आइसियुमा राखेर उनको उपचार थालियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था गम्भीर थियो। आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगिन्। तर उनले बिरामीलाई भेट्दा अस्पतालको प्रोटोकल भने ख्याल गरिनन्।

    दलबलसहित अस्पताल पुगेकी कार्कीले आइसियुमा आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेक्रममा सहयोगीमार्फत भिडियो खिच्नसमेत लगाइन्। त्यो भिडियो यतिबेला भाइरल बनेको छ। भिडियोमा राज्यमन्त्री कार्कीको हातमा पन्जा देखिन्न। यसबाहेक उनीसँगै क्यामेराधारी केही व्यक्ति पनि आइसियुमा प्रवेश गरेको भिडियोमा देखिन्छ। भिडियोमा राज्यमन्त्री कार्कीले आचार्यलाई आफ्नो परिचय दिँदै कुराकानी सुरूवात गरेकी छन्। उनले आचार्यको आत्मलापमा आफ्नो नामसमेत उल्लेख भएको बताइन्। यसैक्रममा उनले भनेकी छन्, ‘किन यस्तो गर्नुभएको ? हामी थियौं नि, राज्य थियो नि। हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन।’

    राज्यमन्त्री कार्कीले यसरी आइसियुमा प्रवेश गरेर उपचारका क्रममा पालना गर्नुपर्ने प्रोटोकलको गम्भीर उल्लंघन गरेको एक प्लास्टिक सर्जनले बताए। ‘यो गम्भीर लापरबाही हो। बर्न वार्ड निकै संवेदनशील मानिन्छ। त्यसमा पनि आइसियु। जलेका बिरामीको उपचार निकै संवेदनशील हुन्छ,’ ती सर्जनले भने, ‘बर्न वार्डलाई हावाबाट हुन सक्ने संक्रमणबाट पनि जोगाएर राख्नुपर्ने हुन्छ। तर त्यहाँ त राज्यमन्त्रीज्यू दलबल लिएर जानुभएछ।’

    राज्यमन्त्री कार्की प्रोटोकल पालना नगरी वर्न वार्डको आइसियु छिरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक टीकाटिप्पणी भइरहेको छ। सामाजिक अभियन्ता उज्वलविक्रम थापाले ट्विटमार्फत राज्यमन्त्री कार्कीको उक्त कदम लज्जास्पद भएको टिप्पणी गरेका छन्। ‘उहाँ आफैं डाक्टर, जलन कक्षभित्र क्यामेरा लिएर चित्रण गर्न पाइँदैन भन्ने ज्ञान त हुनुपर्ने हो। काम गर्नुस्, कति देखाउनुपर्ने हो ?’ उनले लेखेका छन्, ‘यो लज्जास्पद र गैरकानुनी हो। कीर्तिपुर अस्पतालको त्रुटि हो। पदले नियम मिच्ने परम्परा यथावत्।’

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राज्यमन्त्री कार्कीको यो काम ठिक नभएको बताएका छन्। ट्विटमा उनले लेखेका छन्, ‘राज्यमन्त्री तोसिमा कार्की राम्रो सम्भावना भएकी व्यक्ति हुन्। राजनीतिमा उनको प्रवेश स्वागतयोग्य छ। बिरामी भेट्न जानु राम्रो हो। तर ८० प्रतिशत जलेर जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीलाई भेट्न भिडियो खिच्ने टोली लिएर आइसियुमा जाने स्वयं चिकित्सक पनि रहेकी कार्कीको काम ठिक लागेन।’ राज्यमन्त्री कार्कीले आइसियुमा गम्भीर अवस्थाका आचार्यसँग गरेको कुराकानीको भिडियोको सामाजिक सञ्जालमा आलोचना भएको छ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टी एकीकरणका लागि छलफल तीव्र

    विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टी एकीकरणका लागि छलफल तीव्र

    काठमाडौं माघ ११

    विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो ।

    नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तीनै पार्टीले एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल थालेका छन् । तीनै पार्टीले एकअर्काको दस्तावेज लिएर अध्ययनसमेत गरिरहेका छन् ।

    जसपासँग एकीकरणका लागि छलफल गरेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पनि छलफल थालेको छ । तीनै पार्टीबीच छुटाछुटै छलफल भएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • राष्ट्रपति निर्वाचन २५ फागुनमा

    राष्ट्रपति निर्वाचन २५ फागुनमा

    काठमाडौं माघ १०

    निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ ।

    आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि २५ फागुनमा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो ।

    आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार छलफलसमेत गरेको छ । प्रमुख आयुक्त दिनेश थपलिया प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सिंहदरबार पुगेका थिए ।

    ‘राष्ट्रपति निर्वाचन २५ फागुनमा गर्नेगरी आयोगले तयारी गरेको रहेछ, प्रधानमन्त्रीले सोही मितिमा निर्वाचन गर्ने गरी तयारी अघि बढाउन सुझाउनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

    राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुन्छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • प्रमुख प्रतिपक्षी दल बन्न कांग्रेसको हारगुहार

    प्रमुख प्रतिपक्षी दल बन्न कांग्रेसको हारगुहार

    काठमाडौँ, माघ ९

    संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई विपक्षी दलको दाबी गर्दै हारगुहार गरेको हो ।

    प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले बताए । उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दलबाहेकका दलहरूले सरकार बनाइसकेपछि ठूलो दलका हैसियतले कांग्रेस प्रतिपक्षी दल हो, हामी प्रतिपक्षी बेन्चमै बसेका छौं ।’

    सरकारलाई विश्वासको मत दिए पनि उसको गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने भन्दै खतिवडाले सरकारमा सामेल नहुने संसद्को सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्ष हुने दाबी गरे । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ ।

    यो समाचर नेपाल समाचारपत्र दैनिकमा छ ।

  • चितवनसहितका दजनौं सीडीओ, ७० सहसचिव र उपसचिवको सरुवा

    चितवनसहितका दजनौं सीडीओ, ७० सहसचिव र उपसचिवको सरुवा

    काठमाडौं, माघ ७ –
    गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

    गृहमन्त्रालयका अनुसार सरुवा गरिएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रकी उपसचिव मीना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रजिअमा, सिरहाका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिरहामा सरुवा गरेको छ । यसैगरी, गृहमन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा, रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै, अछामका प्रजिअ रामदत्त पाण्डेलाई गृहमन्त्रालयमा, सिन्धुलीका रमेश न्यौपानेलाई सिन्धुपाल्चोकमा, प्यूठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअमा, सर्लाहीका थानेश्वर गौतमलाई गृहमन्त्रालयमा, राष्ट्रिय परिचयपत्रका लक्ष्मण ढकाललाई अछामको प्रजिअमा, गुल्मीका पुण्यविक्रम पौडेललाई काभ्रेपलाञ्चोकमा, राष्ट्रिय परिचयपत्रका निर्देशक सागरमाणि पाठकलाई गुल्मीको प्रजिअमा, गृहमन्त्रालयकी लीलाकुमारी केसीलाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ ।

    यसैगरी, ओखलढुंगाका प्रजिअ दिलकुमार तामाङलाई गृहमन्त्रालयमा, काभ्रेकी हुमकला पाण्डेलाई सुनसरीमा, चितवनका आशमान तामाङलाई गृहमन्त्रालयमा, बाग्लुङका रमेश ढकाललाई धादिङमा, नुवाकोटका नारायणप्रसाद रिसाललाई गृहमन्त्रालयमा, झापाका छविलाल रिजाललाई तनहुँको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    यस्तै, तनहुँका प्रजिअ विश्वप्रकाश अर्याललाई नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रजिअमा, मोरङका प्रजिअ काशीराज दाहाललाई धनुषाको प्रजिअमा, धनकुटाका युवराज कटेललाई कैलालीको प्रजिअमा, गृहमन्त्रालयका सहसचिव शिवराम पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रका महानिर्देशक तीर्थराज भट्टराईलाई मोरङको प्रजिअमा, गृहमन्त्रालयका सुरेन्द्र पौडेललाई चितवनको प्रजिअमा, सल्यानका विपीन आचार्यलाई बाँकेको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यानको प्रजिअमा, धादिङका कृष्णप्रसाद लम्साललाई नवलपरासी बर्दघाट सुस्तापूर्वको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वका सुमन घिमिरेलाई गृहमन्त्रालयमा, दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीमा, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई गृहमन्त्रालयमा, जेलर बसन्तराज पुरीलाई जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअमा, भक्तपुरकी रुद्रादेवी शर्मालाई गृहमन्त्रालयमा, सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई भक्तपुरको प्रजिअमा सरुवा गरिएको छ । साथै, पर्वतका नारायणप्रसाद सापकोटा सुर्खेतको प्रजिअमा, तनहँुका सहायक प्रजिअ चित्रांगत बराललाई पर्वतको प्रजिअमा, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका श्रवणकुमार पोखरेललाई इलामको प्रजिअमा, अर्घाखाँचीका शशीधर घिमिरेलाई स्याङ्जाको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।