Category: अन्तर्राष्ट्रिय

  • गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’: अमेरिकी सर्वोच्च अदालत

    गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’: अमेरिकी सर्वोच्च अदालत

    न्युयोर्क, २१ वैशाख-

    लाखौं अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भन्ने चुहावट भएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । सो दस्तावेज मंगलबार चुहावट भएको थियो ।

    मस्यौदालाई पहिलो पटक अमेरिकी वेबसाइट पोलिटिकोले प्रकाशित गरेको थियो ।

    तर, मस्यौदाले अदालतको अन्तिम निर्णयको प्रतिनिधित्व नगर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले बताए । गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को एतिहासिक फैसलालाई उल्ट्याउन सक्ने विषय चुहावट भएको दस्तावेजमा उल्लेख छ ।

    यसैबीच राष्ट्रपति जो बाइडेनले सो निर्णय अगाडि बढे स्वतन्त्रता सम्बन्धी प्रश्न उठाउने बताएका छन् । चुहावट भएको दस्ताबेजलाई ‘फस्ट ड्राफ्ट’ भनिएको छ । त्यसमा अदालको बहुमतको राय प्रतिबिम्बित भएको देखिन्छ ।

    रो भी वेड नामको सो मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकामा आधा राज्यहरूमा गर्भपतनमाथि रोक लाग्न सक्छ ।

    मस्यौदा चुहावट भएको विषयप्रति सर्वोच्चले गम्भीर उल्लंघन भनेको छ । एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टसले त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई निर्देशन दिएका छन् ।- एजेन्सी

  • वैज्ञानिकहरू भन्छन्: कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

    वैज्ञानिकहरू भन्छन्: कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

    न्युयोर्क, २१ वैशाख-

    एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले कुकुरको नस्लले आफ्नो स्वभाव भविष्यवाणी गर्न नसक्ने पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले २ हजारभन्दा बढी कुकुरहरूमा उनीहरूको व्यवहारिक विशेषताहरू र जीन मूल्यांकन गर्न सर्वेक्षण गरेका थिए ।

    आफ्नो विश्लेषणबाट उनीहरुले कुकुरका मालिक वा पाल्नेहरूबाट २ हजार सर्वेक्षण जवाफहरू तयार गरे । तिनीहरूले आफ्नो तथ्यांक मालिकले कुकुरको विशेषता र स्वभावबारे बर्णन गरेको एउटा खुला तथ्यांक—डार्विनस आर्कबाट लिएका थिए ।

    यसको माध्यमबाट वैज्ञानिकहरुले यो पत्ता लगाए कि नस्लको आधुनिक अवधारणाले कुकुरहरुको अधिकांश व्यवहारबारे केबल आंशिक भविष्यबाणी गर्छ । जीनमार्फत स्वभावसम्बन्धी विशेषता थाहा पाउन सके पनि त्यसले कुकुर कति मायालु छ वा कति छिटो रिसाउछ भन्ने निर्धारण गर्न सकिदैन ।

    यूमास चान र एमआईटी तथा हार्वर्डको ब्रोड इन्स्टिच्युटका एलिनोर कार्लसन भन्छिन्, ‘आनुवंशिकीले कुनै एउटा कुकुरको व्यक्तित्वमा भूमिका खेल्छ । तर, कुकुरको विशिष्ट नस्ल ती लक्षणहरूको उचित भविष्यवाणी होइन । ’

    अध्ययन साइन्स जर्नलमा प्रकाशित छ ।- एजेन्सी

  • पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

    पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

    किभ, २१ वैशाख

    पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र  इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।

    ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।
    मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  एजेन्सी

  • युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

    युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

    जेनोभा, २० वैशाख-
    संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ ।

    अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि “विशेष कारबाही“ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् ।

    युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता विनानिस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनु पर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साताअघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको संकेत गरेका थिए ।

    युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ ।- एजेन्सी

  • के पुटिन क्यान्सरको शल्यक्रिया गर्दैछन् ?

    के पुटिन क्यान्सरको शल्यक्रिया गर्दैछन् ?

    मस्को, २० किभ-

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले दाबी गरेको छ ।

    चिकित्सकहरूले पुटिनलाई शल्यक्रिया गर्नुपर्ने बताएको रूसी पूर्वविदेशी गुप्तचर सेवाका लेफ्टिनेन्ट जनरलद्वारा सञ्चालित टेलिग्राम च्यानललाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ ।

    अपेक्षित शल्यक्रिया र ‘रिकभरी’ले पुटिनलाई ‘थोरै समयका लागि’ निस्कृय पार्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

    पछिल्ला दिनमा राष्ट्रपति पुटिनको ‘टिठलाग्दाे उपस्थिति र सार्वजनिक रूपमा उदासीन व्यवहार’ लाई सन्दर्भ जोड्दै सो पत्रिकाले पुटिनलाई क्यान्सर र पार्किन्सन रोगसहित अन्य गम्भीर समस्या भएको दाबी गरेकाे छ ।

    यद्यपि, एक अमेरिकी अधिकारीले मडियामा सार्वजनिक भएका रिपोर्टहरूलाई पुष्टि गर्न नसकिने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘मैले त्यसलाई पुष्टि गर्न सहयोग गर्ने कुनै पनि कुरा देखेको छैन । ’

    केही दिनअघि पुटिनले निकोलाई पात्रुसेभसँग दुई घण्टाको ‘हार्ट टु हार्ट’ कुराकानी गरेको टेलिग्राम पोस्टलाई उद्धृत गर्दै न्युयोर्क पोस्टको जनाएको थियो । ‘पुटिनले पात्रुसेभलाई संकेत गरेका थिए कि उनी व्यावहारिक रूपमा आफ्नो एकमात्र भरपर्दो सहयोगी र सरकारका सारथी हुन्’, पोस्टले दाबी गरेको छ ।- एजेन्सी

  • कसैलाई जबरजस्ती खोप नलगाउनूः भारतको सर्वोच्च अदालत

    कसैलाई जबरजस्ती खोप नलगाउनूः भारतको सर्वोच्च अदालत

    नयाँ दिल्ली, १९ वैशाख-

    एउटा महत्वपूर्ण फैसलामा भारतको सर्वोच्च अदालतले कसैलाई जबरजस्ती खोप नलगाउन भनेको छ । खोपको नकरात्मक असरबारे रिपोर्ट तयार गर्न पनि सर्वोच्चले केन्द्र सरकारलाई निर्देशन दिएको छ ।

    ‘कानूनअन्तर्गत शारीरिक निस्ठाको रक्षा गरिनेछ । कसैलाई पनि खोप लगाउन बाध्य पार्न सकिँदैन’ सर्वोच्चले भनेको छ । तर, सामुदायिक स्वास्थ्यको भलाइका लागि ‘व्यक्तिगत अधिकारहरूमा निश्चित सीमा’ लागू गर्न सकिने फैसलामा जनाइएको छ ।

    ‘कोविड–उपयुक्त व्यवहारबाहेक संक्रमणका घटनाहरु कम छन् भने हामी सार्वजनिक स्थान, सेवा र स्रोतहरूमा पहुँचका लागि खोप नलगाएका व्यक्तिहरूलाई अवरोध नगर्न हामी सुझाव दिन्छौँ’, फैसलामा भनिएको छ ।

    भारतमा पछिल्लो समयमा कोभिड संक्रमितहरूको संख्या फेरि बढेको छ । केही साताअघि निरन्तर घटेको संक्रमण पछिल्ला दिन फेरि बढ्न थालेको छ ।- एजेन्सी

  • आगलागीमा बालबालिकासहित ८ जनाको मृत्यु

    आगलागीमा बालबालिकासहित ८ जनाको मृत्यु

    मनिला, १९ वैशाख-

    फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् ।

    क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो ।

    मृत्यु हुनेमध्ये ६ जना बालबालिका छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने । एजेन्सी

  • विमान अवतणका क्रममा आँधी, १४ यात्रु घाइते

    विमान अवतणका क्रममा आँधी, १४ यात्रु घाइते

    नयाँ दिल्ली, १९ वैशाख-

    मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलाे आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।

    आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएकाे छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

    दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ ।

    आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो । ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

    नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।- एजेन्सी

  • युक्रेन युद्धः मारिओपोलको स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्दार

    युक्रेन युद्धः मारिओपोलको स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्दार

    किभ, १९ वैशाख-

    युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ । मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन् । करिव एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’, उनले ट्विट गरेका छन् ।

    उनले अगाडि भनेका छन्, ‘भोलि सोमबा हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू राष्ट्रसँग मिलेर कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् । ’

    राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको छ । सो कार्यमा रेडक्रसको पनि संलग्न थियो ।- एजेन्सी

  • मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन

    मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन

    न्युयोर्क, १९ वैशाख-

    तपाईले दैनिक कति मासु खानु हुन्छ ? त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाकाे अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् ।

    एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ ।

    यसको मतलब यो होइन कि आफ्नो आहारबाट मासु पूर्णरूपमा हटाउनु पर्छ । बरु, महत्वपूर्ण परिवर्तन आवश्यक छ । मासु व्यवसायले ठूलो वातावरणीय प्रभाव पारेको छ र पछिल्ला दशकहरूमा मानव आहारको आवश्यकताभन्दा धेरै मासुको माग बढेको छ ।

    प्रतिवेदनका लेखक तथ बोन विश्वविद्यालयका प्रोफेसर डा मतिन काइमका अनुसार सबै मानिसहरूले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने हामीले निश्चित रूपमा अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुमाउनेछौं र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन् ।

    काइमका अनुसार हामीले हाम्रो मासु खपतलाई आधा घटाउनुपर्छ–प्रतिवर्ष २० किलोग्राम वा त्योभन्दा कम । नयाँ अध्ययन एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्समा प्रकाशित छ ।

    उत्तरी अमेरिका, सामुद्रिक र युरोपका धनी देशहरूले प्रतिव्यक्ति सबैभन्दा बढी मासु खपत गर्छन् ।

    विश्लेषणअनुसार सन् २०५० सम्म मासुको माग बढिरहनेछ । मासुको अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउने तथ्यका बाबजुद पनि यसको माग बढ्दो छ ।- एजेन्सी