Category: अन्तर्राष्ट्रिय

  • खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि

    खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि

    नयाँ दिल्ली, २६ वैशाख-

    हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ ।

    तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा उनीहरूले सर्पको छाला फेला पारेका थिए । प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाएका थिए ।

    छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्‍यापिङ पेपरमा सर्पको छालाको अंश फेला पारिन । तुरुन्तै प्रियाले प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई जानकारी गराएकी थिइन् ।- एजेन्सी

  • सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको पशु भाइरसका कारण मृत्यु भएको वैज्ञानिकहरूको विश्वास

    सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको पशु भाइरसका कारण मृत्यु भएको वैज्ञानिकहरूको विश्वास

    न्युयोर्क, २६ वैशाख-

    मेरिल्याण्डका ५७ वर्षीय व्यक्ति डेभिड बेनेट सिनियर प्रत्यारोपण बिफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताए ।

    बेनेटको शल्यक्रिया ७ जनवरीमा बाल्टिमोर युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा भएको थियो । तर, शल्यक्रिया भएको दुई महिनापछि उनको मृत्यु भएको थियो ।

    ‘शल्यक्रियापछि प्रत्यारोपित मुटुले धेरै सातासम्म कुनै अवरोधबिना धेरै राम्रो काम गरेको थियो । तर, शल्यक्रियापछि उनको अवस्था झनै बिग्रदै गयो’, मेडिकल सेन्टरले एउटा विज्ञप्तिमा भन्यो ।

    सुँगुरको भाइरसले यस्ता प्रत्यारोपणका बिरामीहरूलाई आजीवन निगरानी गर्नुपर्ने चासोलाई उजागर गरेको विज्ञहरू विश्वास गर्छन् ।

    बेनेटको मुटु पोर्सिन साइटोमेगालो भाइरसबाट संक्रमित भएको जनाइएको छ । यस्ता संक्रमितलाई श्वासप्रश्वासको समस्या देखिने बताइएको छ ।
    बेनेटमा प्रत्यारोपण गरिएको सुँगुर बायोटेक कम्पनी रेभिभिकोरले हुर्काएको थियो ।-एजेन्सी

  • युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका

    युक्रेनको विद्यालयमा हमला, ६० जना मारिएको आशंका

    किभ, २६ वैशाख-
    पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
    गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो ।

    ’लगभग चार घण्टापछि आगो निभाइएको थियो । त्यसपछि भग्नावशेष खाली गरियो, र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्यो’, गैडाइले भने ।

    ‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे ।-एजेन्सी

     

  • रुसी सेनाको कब्जाबाट पाँच ओटा गाँउ पुनः फिर्ताः युक्रेनी सेना

    रुसी सेनाको कब्जाबाट पाँच ओटा गाँउ पुनः फिर्ताः युक्रेनी सेना

    किभ, २४ वैशाख-

    युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँच वटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ ।

    यसैबीच, पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ ।

    सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धार भएका थियो ।
    यसैबीच, रुसी सेनाविरुद्ध प्रतिकार गर्न अमेरिकले थप १५० मिलियन डलर बराबरको सैन्य सहयोगको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो सहयोग घोषणा गरेका हुन् ।-एजेन्सी

  • क्युबाको होटेलमा विस्फोट : २२ जनाको मृत्यु, ५० घाइते

    क्युबाको होटेलमा विस्फोट : २२ जनाको मृत्यु, ५० घाइते

    हवाना, २४ वैशाख
    मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    साराटोगा होटेलमो शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।

    ‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा भने । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो ।

    विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । – एजेन्सी

  • श्रीलंकामा फेरि आपतकाल घोषणा

    श्रीलंकामा फेरि आपतकाल घोषणा

    कोलम्बो, २४ वैशाख –
    श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।

    सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।

    श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

    लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ ।
    सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । – एजेन्सी

  • चीनमा हुने तय भएको एसियन्स गेम्स स्थगित

    चीनमा हुने तय भएको एसियन्स गेम्स स्थगित

    काठमाडौं, २३ वैशाख-

    चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

    चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

    प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएकाे छ ।- न्युज कारखाना

  • अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक

    अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक

    काबुल, २२ वैशाख-

    अफगानिस्तानमा तालिबान सरकारले राजधानी काबुल र अन्य प्रान्तहरूमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न बन्द गरेको छ । देश खाद्यान्न संकट र अन्य अत्यावश्यक आपूर्तिको अभावका कारण डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेका बेला तालिबानले महिलामाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

    तालिबानले सत्ता कब्जा गर्नुअघि काबुललगायत देशका केही प्रमुख सहरहरूमा महिलाहरूले गाडी चलाएको देख्न सकिन्थ्यो । महिलाहरूलाई ड्राइभिङ लाइसेन्स वितरण गर्न बन्द गरेकाले अब सडकमा यस्ता दृश्य क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।

    गत १५ अगस्टमा अफगान सरकार ढलेपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था दयनीय बनेको छ । देशमा द्वन्द्वको अन्त्य भए पनि मानवअधिकार उल्लंघनका घटनामा तीब्र बृद्धि भएका छन् । विशेषतः महिलाका हक अधिकारमा अंकुश लागेको छ ।

    एउटा पछिल्लो घोषणामा तालिवानले हालैको एउटा आदेशमा तालिबान शासनले ६ कक्षाभन्दा माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो, जसका कारण विश्वव्यापी निन्दा भएको छ ।

    शिक्षकहरूको अभावका कारण आफूहरुले यस्तो निणर्य लिनु परेको र छिट्टै छात्राहरूको अधिकार पुनर्स्थापित हुने तालिबान नेताहरूले बताउँदै आएका छन् ।- एजेन्सी

  • बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

    बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

    एजेन्स, २१ वैशाख-
    इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्री किनारमा खसालिदिन्छन् ।

    लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पुर्‍याउछन् । धन्य बिरालोलाई खासै चोट लागेको हुँदैन । यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको ।

    रेस्टुरेन्टमा बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा फाल्ने ती व्यक्ति पक्राउ परेका छन् । पशु दुर्व्यवहारकाे आरोप लागेर दोषी ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना हुनेछ ।

    पशुमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि दाेषीलाइ पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी मामिला मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    ‘म यस विषयमा जनताको ध्यानाकर्षण गराउनेहरूलाई हार्दिक धन्यवाद दिन्छु’, मन्त्री टाकिस थिओडोरिकाकोसले भने ।- एजेन्सी

  • हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामाः अध्ययन

    हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामाः अध्ययन

    बेलायत, २१ वैशाख-

    हरेक पाँचमध्ये एउटा घर्सने प्राणी लोप हुने खतरामा छन् । विश्वभरका १० हजारभन्दा बढी प्रजातिहरूको पहिलो बृहत मूल्यांकनपछि यस्तो विवरण सार्वजनिक भएको हो । वैज्ञानिकहरूले विशेष गरी डरलाग्दो अवस्थामा रहेका गोही र कछुवाहरूका लागि तत्काल संरक्षण गर्न आह्वान गरेका छन् ।

    वैज्ञानिकहरूका अनुसार सरीसृपहरूलाई संरक्षणमा लामो समयदेखि बेवास्ता गरिएको छ किनकी तिनीहरू भुत्ला र प्वाँख भएका प्राणीहरूभन्दा कम आकर्षक देखिन्छन् ।

    अहिलेसम्म ३१ प्रजाति लोप भइसकेका छन् ।

    नेचरमा प्रकाशित उक्त अध्ययन कार्यका लागि रकम जुटाउन समस्या भएकाले अध्ययन सम्पन्न हुन १५ वर्षभन्दा बढी समय लागेको थियो ।

    ‘धेरै मानिसहरूका लागि सरीसृपहरू आकर्षक हुँदैनन् र संरक्षणका लागि ढाड तथा धेरै भुत्ला भएका र प्वाँखयुक्त प्रजातिहरूमा ध्यान केन्द्रित भएको देखिन्छ’, नेचरसर्भको अन्तर्राष्ट्रिय प्रकृति संगठनका डा. ब्रुस योङले भने ।

    वैज्ञानिकहरूका अनुसार न्यून प्रचारबाबजुद चिसो रगत भएका र ढाड भएका प्राणीले जीवनको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् ।एजेन्सी